निर्माताको विलाप

writer

सम्पूर्ण

बुधबार, २९ साउन २०७६


निर्मल शर्मा ।

व्यंग्य

समाचारहरूमा फलानो कलाकारले यति लाख पारिश्रमिक पाए, ढिस्को कलाकारले उति लाख पारिश्रमिक पाए भन्ने पढेर रमाउँछु। फिल्मले करोडौँ कमाएको चर्चा सुन्छु। केक काटेका फोटोहरू हेर्छु। 

सामाजिक प्रतिष्ठाको भोकले म पनि लट्ठिएको छु। चाहन्छु, कुनै सुन्दर युवतीले मलाई म्यासेज गरोस्, भाइबरमा कल गरोस्। आग्रह अनि करबलमै सही, मैले थुप्रै मोबाइल, ल्यापटप, आइप्याड र उपहार बाँडेको छु। थुप्रैलाई विदेश घुम्ने टिकट उपलब्ध गराएको छु। अनि, मलहरूमा सयर गराएको छु। मेरो मन कमलो छ। 

समाचारहरूकै लागि मैले एक करोडजति सिध्याएँ। आज त्यो लगानीको प्रतिफल के छ मसँग ? समाचारका कटिङ छन्। सेलिब्रिटीहरूसँग खिचाएका तस्बिर छन्। रेस्टुरेन्टमा तिरेका बिलहरू छन्। 

एक जना थिए, मेरा शुभचिन्तक। आधा–आधा लगानी गरेर फिल्म बनाऊँ भनेर मलाई हौस्याए। आफू सोझो मान्छे। विदेशमा बसेर अलिकति जायजेथा जोडेको थिएँ। 

पैसा भएको तर बुद्धि नभएको मान्छे म ! मलाई के थाहा, शुभचिन्तकको आधा लगानी त मेरै लगानीको आधा रहेछ। फेरि पैसो मेरो, समाचारमा चाहिँ फलानो हिरो र हिरोइनका हेडलाइन। कम्ता चित्त दुख्या हो र मलाई ? 

मलाई के थाहा ? शुभचिन्तकले कलाकारलाई ६० हजार दिएर तीन लाखको काज बनाएको कुरा। मलाई के थाहा ? भान्छा, ड्रेस, यातायात, प्राविधिक, उपकरणलगायत सम्पूर्ण खर्चमा बन्ने बिल किर्ते हो भनेर। उनीहरू बिचराको पनि के दोष ? 

म कहिले–कहिले आउने निर्माता ! काठमान्डू झर्नासाथ उनीहरूकै दलका दुईचार मान्छेले समाचारमा मेरो बखान गरे। मख्ख पर्दै फेसबुकमा समाचार सेयर गरियो। साथीभाइ–नातागोतासामु ठूलै मान्छे देखिएँ क्यार। मलाई के थाहा ? त्यो त गड्यौँला हालेर बल्छी थाप्या रहेछन्। म सोझो मान्छे, फसि त हालेँ। त्यतिबेला श्रीमती पनि फुर्ती लगाउँदै हिँड्थिन्, ‘हाम्ले बनाको फिल्म’ भन्दै। आफ्नै नाक बचाउन कम्ता टिकेट किनेँ त सिनेमा हलमा ? 

मलाई थाहा छ, यो सबको मुख्य दोषी ‘छक्का पन्जा’, ‘नाइँ नभन्नू ल’, ‘ए मेरो हजुर’, अनि ‘जात्रैजात्रा’ हुन्। अहिले कम्ता रिस उठ्छ त तिनीहरूसँग ! फिल्म हिट बनाएर, पैसा कमाएर हामीलाई लोभ्याउने ? फसाउने ?

अहिले सोच्दै छु– त्यो फिल्ममा डुबेको पैसा कमाउन मलाई करिब छ वर्ष लाग्छ होला। श्रीमती नक्कली सुनको गहना लगाएर मलाई सहयोग गर्दै छिन्। नयाँ घर बनाउने प्रोजेक्ट हाललाई स्थगित भएको छ। छोरोले कुरो बुझ्यो र बाउको हालत देखेर एमबीबीएसजस्तो महँगो अध्ययन गर्दिनँ भन्यो। कति ज्ञानी मेरो छोरो ! 

म हाल विदेशमा तीनचार घण्टा ओभरटाइम गर्न थालेको छु। म नारान हो, एनआरएन हैन भन्ने बुझ्न थालेको छु। मैजस्ता विदेशका लगभग सबै निर्माता उत्रैकै रहेनछन्। डुबेको डुब्यै रहेछन्। केक कटाइ त फेसन पो रहेछ। 

हालसालै एक जना निर्देशकको फेसबुकमा स्ट्याटस देखेँ– ‘मेहनतको सुख्खा रोटी नै स्वादिष्ट।’ अनि, एक जना नायिकाले लेखेकी थिइन्– ‘सर्वे भवन्तु सुखिनः...।’  

तर, मैले त इन्डस्ट्रीमा रावण र शूर्पणखाहरूको भीडमा राम र सीताहरू अल्पमतमा परेको देखेँ। करोडौँ डुबाएँ मैले। अनि, चित्त र पित्त दुवै दुखेर यो विलाप गरेँ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट