कस्तो छ बालबालिकाको 'जेल' ?

writer

सृजना खड्का/युवराज भट्टराई

मङ्गलबार, २८ साउन २०७६


बाल सुधारगृह , सानो ठिमी, लाइभ

बालबालिकासम्बन्धी ऐन, २०४८ को दफा ४२ ले कानुनको विवादमा परेका बालबालिकालाई सुधारका लागि बाल सुधारगृहको स्थापना र सञ्चालनको व्यवस्था गरेको छ। सो प्रावधानबमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कारागार व्यवस्थापन विभाग र न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम (यूसेप) नेपालबीच सम्झौता भई हाल भक्तपुर, कास्की, विराटनगर र नेपालगञ्जमा चार वटा बाल सुधारगृह सञ्चालनमा छन्। त्यस्तै, नेपाल सरकारले डोटी, मकवानपुर, रूपन्देही र पर्सामा अन्य चार सुधारगृह सञ्चालन गर्दै आइरहेको छ।

नेपालको कानुनले बालबालिकालाई वयस्क बन्दीसँग राख्न नहुने व्यवस्था गरेअनुसार बाल सुधारगृहको व्यवस्था गरिएको हो। बालबालिकाले कसुरजन्य कार्य (बालबिज्याइँ) गरेमा उनीहरूलाई कडा सजाय दिनुको सट्टा सुधार गरिनुपर्छ भन्ने मान्यता बालबालिकासम्बन्धी ऐनमा उल्लेख छ। ऐनअनुसार ती बालबालिकालाई सामान्य जीवनशैलीमा फर्काउनु बाल सुधारगृहको प्रमुख जिम्मेवारी हुन्छ। शिक्षा, खेलकुद, योग, ध्यान, व्यायामसँगै उनीहरूलाई सुधार्नका निम्ति विभिन्न उपलब्धिमूलक सीप तथा तालिमको व्यवस्था गरिनुपर्छ भन्ने अवधारणा बाल सुधारगृहको छ।

‘सम्पूर्ण’को यस अंकमा भक्तपुर, सानो ठिमीस्थित बाल सुधारगृहभित्रका गतिविधि र त्यहाँको अवस्था नियालिएको छ। 

यूसेप नेपालको परिसरसँग जोडिएर रहेको बाल सुधारगृह सार्वजनिक यातायात, अस्पताल, सामुदायिक विद्यालयको पहुँच भएको स्थानमा छ। २०५८ सालदेखि यो बाल सुधारगृह सञ्चालनमा आएको हो। यहाँ जो कोही छिर्न पाउँदैनन्। बालबालिकालाई भेट्न आउने अभिभावकले नाता प्रमाणित वा परिचय खुल्ने कागजपत्र लिएर आउनुपर्छ। अन्यको हकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र भक्तपुर जिल्ला प्रशासन कार्यालयबाट स्वीकृतिपत्र लिएर जानुपर्छ। 

मिति: २०७६ साउन १२, आइतबार
समय: बिहान १०:३० बजे
स्थान: बाल सुधारगृह, भक्तपुर

यूसेपको परिसरसँगै जोडिएको बाल सुधारगृहको दोस्रो गेटबाट प्रवेश गर्दा देब्रेपट्टि बाल सुधारगृह विद्यालय देखियो। पाँच वटा कक्षाकोठा भएको उक्त भवनमा पढाइ भइरहेको थियो। केही कक्षाकोठा भने खाली थिए। कोही रातो, कोही निलो सर्ट लगाएका बालबालिका बाहिर घुमिरहेका थिए। कोही भने क्याजुअल पहिरनमा पनि देखिन्थे। हामीसँगै भएका यूसेप नेपालका कार्यक्रम संयोजक सञ्जय श्रेष्ठ बाल सुधारगृहबारे हामीलाई जानकारी दिँदै थिए। 

ठीक अगाडिपट्टि भवन निर्माण कार्य भइरहेको देखिन्थ्यो। श्रेष्ठले त्यसलाई देखाउँदै भने, ‘बालबालिका धेरै भएपछि पढाउने ठाउँ अभाव भएर नयाँ भवन निर्माण हुन लागेको हो।’ उक्त ठाँउमा दुईतले भवन निर्माणको काम भइरहेको उनले बताए। प्रांगणमा गिट्टी र बालुवा थुपारिएका थिए। ठाउँ केही साँघुरिएको जस्तो देखिन्थ्यो। ‘निर्माणको कामले गर्दा केही साँघुरिएजस्तो देखिएको छ,’ श्रेष्ठले भने, ‘निर्माण सम्पन्न भएपछि सबै ठीक हुन्छ।’

गेटको दाहिनेपट्टि दुईतले प्रशासनको भवन थियो। भवनभित्र बालबालिकाले बनाएका चित्रहरू देखिए। ढोकाबाट सीधा अगाडि केही नियमहरू लेखेर टाँसिएको थियो। ‘सुधारगृहमा रहँदा अभिभावकसँग कुन समयमा बोल्ने’, ‘कति समय बोल्ने’ जस्ता निर्देशन टाँसिएको थियो। 

प्रशासन शाखामा छिर्नेबित्तिकै देब्रेपट्टि ह्वाइट बोर्डमा यूसेपले सञ्चालन गरेका सुधारगृहमा भएका विद्यार्थीको संख्या लेखिएको थियो: 

यूसेपले सञ्चालन गरेका बाल सुधारगृहमा रहेका बालबालिकाको संख्या

भक्तपुर            बालक: १९६   बालिका: २४    जम्मा: २२०
कास्की            बालक: ६९    बालिका: ०    जम्मा: ६९
बिराटनगर         बालक: १३३   बालिका: ०    जम्मा: १३३
नेपालगञ्ज         बालक: ७८    बालिका: ०    जम्मा: ७८ 

श्रेष्ठले सुधारगृहका कर्मचारीसँग परिचय गराए। त्यहाँ होस्टेल वार्डेन रामहरि पौडेल, बाल सुधारगृह विद्यालयकी प्रिन्सिपल रेखा पोखरेल थिए। 
होस्टेल वार्डेन पौडेलसँग बालबालिकाको दिनचर्याबारे सोधियो। ‘बिहान ५ बजेदेखि ६:३० सम्म रोटेसनअनुसार उनीहरू बाल सुधारगृहको सरसफाइ गर्छन्,’ उनले भने, ‘हरेक दिन आठदेखि १० जनाको समूह बनाइदिएका हुन्छौँ। त्यहीअनुसार सरसफाइ गर्छन्।’ सरसफाइपछि केही समय उनीहरूलाई पिटी खेलाइन्छ। त्यसपछि चिया–खाजा खाएर उनीहरू केही समयलाई पढ्न बस्छन्। बिहान ९–१० बजेसम्म खाना खाएर उनीहरू स्कुल जाने पौडेलले बताए। ‘दिनभरि उनीहरू स्कुलमा नै हुन्छन्,’ उनले भने, ‘दिउँसो १ बजे खाजा खाने ब्रेक हुन्छ। साढे ३ बजे स्कुल सकिएपछि बेलुका ५ बजेसम्म खेलकुदको समय हुन्छ।’ 

बालबालिकालाई खेल्ने पर्याप्त ठाँउ त्यहाँ थिएन। ‘बाहिर खेलकुदको लागि ठाँउ नै छैन, कहाँ खेलाउनुहुन्छ ?’ उनलाई प्रश्न गरियो। ‘ठाउँ साँघुरिएको कारण उनीहरूले आउटडोर गेम खेल्न पाएका छैनन्,’ उनले भने, ‘क्यारमबोर्ड, लुडोजस्ता खेल खेलेर बस्छन्।’ बेलुकीको खानापछि भने बालबालिकालाई साढे ७ देखि १० बजेसम्म टेलिभिजन देखाइने उनले बताए। ‘बढीजसो उनीहरू फुटबल हेर्न रुचाउँछन्,’ वार्डेन पौडेलले भने, ‘त्यसबाहेक फिल्म पनि देखाइन्छ।’

अभावग्रस्त सुधारगृह 

प्रशासनमा कुराकानी गरिरहँदा विद्यार्थीहरू कक्षाकोठाबाट भट्टाभट बाहिरिए। बिहानको साढे ११ बजेको थियो। ब्रेक हुने समय भएको थिएन। हामीले त्यसबारे जिज्ञासा राख्यौँ। प्रिन्सिपल पोखरेलले भनिन्, ‘आज यहाँ हेपाटाइटिस र आँखा जाँच्ने शिविर छ। चेकअपका लागि विद्यार्थीहरू निस्किएका हुन्।’ पोखरेल विगत छ वर्षदेखि सुधारगृहमा कार्यरत छिन्। ‘‘सुधार्नका लागि शिक्षा’ भन्ने उद्देश्यका साथ हामीले बालबालिकालाई शिक्षामा बढी जोड दिएका छौँ,’ उनले भनिन्, ‘यहाँ आउँदा पढ्दै नपढ्नेहरू पनि राम्रो पढ्ने भएर निस्कन्छन्।’ उनका अनुसार बाल सुधारगृहभित्रै अध्ययन गरेर गएका कतिपय विद्यार्थी सरकारी जागिरे भइसके।

‘शिक्षामा जोड त दिएका छौँ, तर केही अभाव भने झेलिरहेका छाँै,’ प्रिन्सिपल पोखरेलले भनिन्, ‘हामीसँग विद्यार्थी संख्यालाई थेग्न सक्ने पर्याप्त शिक्षकको संख्या छैन। जसोतसो चलाइरहेका छौँ।’ सुधारगृहमा अहिले जिल्ला शिक्षा कार्यालयले छ जना शिक्षकको दरबन्दी दिएको छ। छ जना शिक्षकलाई सुधारगृहले नै उत्पादन गरेको छ। शिक्षक अपुग भएको कारण सुधारगृहबाटै अध्ययन गरेका विद्यार्थीलाई पढाउन दिइएको छ। पोखरेलले भनिन्, ‘यहाँ पढेकै छ जना विद्यार्थीलाई लिखित परीक्षा र अन्तर्वार्ता लिएर पढाउन दिएका छौँ।’ 

पहिला १६ वर्षसम्मका बालबालिका मात्रै आउने गर्थे, सुधारगृहमा। तर, अहिले १८ वर्षसम्मका बालबालिका आउने भएकाले अध्ययन–अध्यापनमा कठिनाइ भएको पोरखेलले बताइन्। ‘नौ कक्षामै ४० जना विद्यार्थी छन्,’ उनले भनिन्, ‘यस वर्ष मात्रै ३० जनाले एसईई दिए। उनीहरूलाई प्लस टू पढाउनुपर्ने आवश्यकता देखिए पनि सुधारगृहभित्रको पुर्वाधार त्यसअनुसारको छैन।’ प्लस टू पढ्नेहरूले ‘सेल्फ स्टडी’ गरिरहेको उनले बताइन्। ‘उनीहरू बाहिर कलेजमा भर्ना हुन्छन्,’ उनले भनिन्, ‘यहीँ सेल्फ स्टडी गरेर यहीँबाट जाँच दिन्छन्।’

प्रिन्सिपल पोखरेलसँग सुधारगृहभित्र बालबालिकाले लगाएका फरक–फरक पोशाकबारे सोधियो। ‘बाहिरबाट आएको कपडा उनीहरू लगाउन मान्दैनन्,’ उनले भनिन्, ‘यूसेपले दिएको ड्रेस पनि कतिले लगाउँछन्, कतिले लगाउँदैनन्। दिनैपिच्छे विद्यार्थी जाने–आउने भएकाले कोही भने जे लगाएर आएको छ, त्यही कपडामा बस्छन्।’ 

जाडो र गर्मी गरेर वर्षमा दुई जोर कपडा दिन्छ, कारागार व्यवस्थापन विभागले। तर, त्यो लुगा कहिल्यै प्रयोगमा आउँदैन। कपडाको गुणस्तर राम्रो नभएर बालबालिकाले लगाउन नमान्ने वार्डेन पौडेल बताउँछन्। ‘लुगा अस्पतालमा लगाउने एप्रोनजस्तो हुन्छ,’ उनले भने, ‘कारागारमा बस्ने कैदीले लगाउनेजस्तो हुन्छ। त्यो पनि थानमा पठाइदिन्छ। बच्चाहरू सिलाएर लगाउन मान्दैनन्। यूसेपले दशैँमा स्कुल ड्रेस हालिदिन्छ। त्यही स्कुल ड्रेस लगाएर उनीहरू वर्षदिनसम्म बस्छन्। कसैलाई घरबाटै ल्याइदिन्छन्।’ दुई वर्षअघि यूसेपले रातो सर्ट र खैरो प्यान्ट दिएको थियो। गत वर्ष नीलो सर्ट र खैरो प्यान्ट दिएको थियो। सुधारगृहमा बालबालिका तिनै दुई थरी लुगा र घरबाट ल्याइदिएको लुगा लगाएर बसेका छन्। सुधारगृहमा बीचबीचमा आउने बालबालिकाको संख्या पनि धेरै भएकाले सबैलाई व्यवस्थापन गर्न कठिन भएको प्रिन्सिपल पोखरेलले बताइन्।

साँघुरो सुधारगृह 

बाल सुधारगृहको क्षमता स्थापनाकालमा ५० जना बालबालिका अटाउने मात्रै थियो। पछि त्यसलाई बढाएर १ सय १० बनाइयो। तर, अहिले २ सय २० जनाभन्दा बढी बालबालिका यहाँ बस्छन्। ‘बालबालिका बढ्दै छन्, ठाँउ घट्दै छ,’ वार्डेन पौडेलले गुनासो गरे, ‘पहिला एउटा कोठामा आठ जना बस्थे। अहिले १६ जना बस्छन्। आधा खाटमा सुत्छन्, आधा भुइँमा। हेर्दाखेरि नै म आफैँलाई उनीहरूलाई भेदभाव गरेको जस्तो लाग्छ। उनीहरूलाई झन् कस्तो लाग्दो हो ?’ पौडेलले उनीहरूलाई ‘पुराना जान्छन्, अनि तिमीहरूलाई नै सुताउने हो खाटमा, त्यसपछि पालो तिमीहरूकै हो’ भनेर फकाउने गरेका छन्। 

प्रशासन शाखाको ठीक सामुन्ने बालकहरूको बस्ने भवन छ। बालिकाहरूलाई प्रसाशनको भवनकै माथि एउटा हलमा राखिएको छ। आठ वर्षदेखि होस्टेल वार्डेनका रूपमा कार्यरत पौडेललाई यो ठाउँमा बस्दा गुम्सिएको जस्तो लाग्छ। ‘पहिला असाध्यै खुल्ला थियो,’ उनले भने, ‘अहिले धमाधम भवन बनिरहेका छन्। खेलाउने चौर छैन। ठाँउ साँघुरिँदै छ। म आफैँलाई उकुसमुकुस हुन थालिसक्यो।’ 

कर्मचारीका अनुसार १० रोपनी क्षेत्रफलमा फैलिएको छ, सुधारगृह। पूर्वाधार नबनाई धमाधम बालबालिका थपेको भन्दै यहाँका हरेक कर्मचारी गुनासो गर्छन्। 

पढाइभन्दा यहाँका बालबालिका खेलकुदमा रमाउन मन पराउने होस्टेल वार्डेन पौडेलले बताए। खेल्ने ठाँउ नभएपछि बालबालिका उनीकहाँ सधैँजसो गुनासो गरिरहेका हुन्छन्। ‘यहाँका बालबालिका बरु भात नखाई बस्न सक्छन्, तर खेल नखेली बस्न सक्दैनन्,’ पौडेलले भने, ‘केही बदमासी गरेका छन् भने ‘आज तिमीहरू खेल्न पाउँदैनौ’ भनिदिँदा अर्को चोटिदेखि त्यो गल्ती दोहोर्‍याउँदैनन्।’ अहिले भवनको निर्माण भइरहेकाले उनीहरूलाई गराउने बिहानको पिटी पनि रोकिएको उनले बताए।

अपर्याप्त सुरक्षाकर्मी 

कुराकानी गर्दागर्दे सुधारगृहका सुरक्षा इन्चार्ज हिराबहादुर कार्की आइपुगे। सुधारगृहमा प्रहरीले सुरक्षाको काम कसरी गरिरहेको छ भन्नेबारे उनलाई सोधियो। उनको आफ्नै गुनासो थियो। ‘यहाँ २२ जना प्रहरीको दरबन्दी छ,’ कार्कीले भने, ‘तर, हामी १५ जनाले मात्रै काम चलाइरहेका छौं।’  

दरबन्दीअनुसार प्रहरी नखटाइएको विषयमा कार्कीले भने, ‘हामीले पटक–पटक गृह मन्त्रालयलाई पत्राचार गरेका थियौँ। हाम्रो मागको खासै सुनुवाइ भएको छैन। कहिलेकाहीँ एकै जनाले दुई सिफ्ट काम गर्नुपर्छ।’ १५ जना प्रहरीमध्ये एक जना महिला प्रहरी छिन्। होस्टेलमा महिला वार्डेन छैनन्। उनको भूमिका महिला प्रहरीले निर्वाह गरिरहेकी छिन्। सुधारगृहमा खटिएका सबै प्रहरी सिभिल ड्रेसमा ड्युटी गर्छन्। 
प्रशासन शाखाको केही अगाडि सरस्वतीको मन्दिर छ। मन्दिरको छेवैमा सुरक्षाकर्मीको भवन छ। ‘सुरक्षाकर्मी यही भवनमा बस्छन्,’ यूसेपका श्रेष्ठले भने, ‘यहाँ आफन्त र आफन्तले ल्याएको खानेकुराको चेकजाँच हुन्छ। चेक गरेपछि मात्रै बालबालिकालाई अभिभावकले ल्याएको खानेकुरा दिइन्छ।’

हामीले जानकारी लिइरहँदा रातो कुर्ता–सुरुवाल लगाएकी एक जना महिला सुधारगृहमा छिरिन्। हातमा टिफिन बोकेर छिरेकी उनी सुरक्षाकर्मीको कोठातिर लागिन्। त्यहाँ उनले आफूले ल्याएको खानेकुरा परीक्षण गराइन्। त्यहाँ आउने मानिसले ल्याएको खानेकुरा हरेक पटक जाँचिन्छ। ‘बालकालिको सुरक्षालाई ध्यानमा राखेर हामीले यसो गर्ने गरेका हौँ,’ श्रेष्ठले भने, ‘उनीहरूसँग कसैको रिसईबी हुन सक्ने भएकाले खानामा केही मिसाएर ल्याएको छ कि भनेर परीक्षण गरिन्छ।’ 

सुरक्षाकर्मी बस्ने भवनको अगाडिपट्टि सुधारगृहमा प्रवेश गर्ने पहिलो गेट छ। त्यहाँबाट देब्रे लाग्दा टेबल टेनिस खेल्ने ठाउँ छ। त्यसको ठीकअगाडि एउटा प्रतीक्षालय छ। त्यहाँ अभिभावक आफ्ना बालबालिकालाई भेट्छन्। ‘अभिभावकलाई यहाँ ४५ मिनेटसम्म भेट्न दिइन्छ,’ श्रेष्ठले भने, ‘काठमाडौँ बाहिरबाट आउनेलाई अलि बढी समय भेट्न दिने गरेका छौँ।’ अगाडिपट्टि दुइटा कोठा छन्। पहिलो कोठामा पुस्तकालय छ। त्यहाँ दुइटा र्‍याकमा पुस्तक राखिएका छन्। हामी पुगेको दिन आँखा शिविर भएकाले त्यहाँ बालबालिकाको आँखा जाँच भइरहेको थियो। ‘पहिला बालबालिका थोरै हुँदा पुस्तक पर्याप्त थिए,’ श्रेष्ठले भने, ‘अहिले बालबालिका बढेका छन्। पुस्तक कम भएका छन्। लाइब्रेरीलाई थप व्यवस्थित गर्ने कोसिस हुँदै छ।’ 

विद्यालय समयमा शिविर 

विद्यालयमा आँखा तथा हेपाटाइटिस जँचाउने शिविर लागेको थियो। बालबालिका लाम लागेका थिए। दिउँसोको १२ बज्दा स्कुल बन्द भइसकेको थियो। यूसेपका श्रेष्ठसँग यस्ता शिविरले बालबालिकाको पढाइलाई असर गर्दैन भनी सोधियो। ‘सधैँ आउने होइन, यस्ता शिविर कहिलेकाहीँ आउँछन्,’ उनले भने, ‘सरकारले पठाउने डाक्टर नियमित नआएपछि विभिन्न संस्थासँग समन्वय गरेर यस्ता शिविर सञ्चालनमा ल्याएका हाँै।’ सरकारले खटाएका डाक्टर पहिला हप्ताको एक पटक आउँथे। तर, अहिले आउँदैनन्। ‘सुरुमा हप्तामा एक चोटि आएर चेक गर्नुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘अहिले कहिले दुई हप्तामा त कहिले २०÷२५ दिनमा मात्रै आउनुहुन्छ।’

पुस्तकालयभन्दा पल्लो कोठामा हेपाटाइटिसको जाँच भइरहेको थियो। केही विद्यार्थी कुरिरहेका थिए। घाम चर्को भएकाले केही विद्यार्थी भने नजिकैको रूखको छहारीमा बसिरहेका थिए। लाम लागेका बालिकामध्ये एक जना गर्भवती थिइन्। उनका बारे बुझ्न खोज्दा श्रेष्ठले भने, ‘बालबालिकाले यहाँबाट निस्किएपछि नयाँ जीवन जिउन पाऊन् भन्ने हाम्रो ध्येय हो। त्यसैले उनीहरूबारे केही पनि जानकारी दिन मिल्दैन।’ 

उनलाई अन्य बालबालिकालाई जस्तै खानपिन र व्यवहार हुन्छ वा फरक व्यवस्था हुन्छ भनी श्रेष्ठलाई सोधियो। ‘उनका लागि पौष्टिक आहारको व्यवस्था गरेका छाँै,’ उनले भने, ‘नियमित स्वास्थ्य जाँचका लागि हामीले डाक्टरको पनि व्यवस्था मिलाइदिएका छौँ।’

साँघुरैसाँघुरो... 

पुस्तकालय भएको भवनसँगै बालकहरू बस्ने होस्टेल छ। बीचमा सानो बाटो छ। दाहिनेपट्टि कपडाहरू सुकाएका देखिन्छन्। त्यसैको अगाडिपट्टि क्यान्टिन छ। ‘यहाँ बालबालिका आफ्ना लागि आफैँ खाना तयार गर्छन्,’ श्रेष्ठले भने। क्यान्टिनका दुइटा कोठामा तीनचार वटा टेवल छन्। तिनै टेबलमा बसेर बालबालिकाले खाना खान्छन्। हामी साढे १२ बजे त्यहाँ पुग्दा केही बालक खाना खाने तरखरमा थिए। एउटा भाँडोमा खाना र अर्को भाँडोमा तरकारी राखिएको थियो। केही थाल भात पस्किएर यसै छोडिएको थियो। टेबलमा जताजतै फोहोर र जुठो छरिएको देखिन्थ्यो।

‘यति सानो क्यान्टिनमा कसरी यत्रा बालबालिकाले खाना खान्छन् ?’ होस्टेल वार्डेन पौडेललाई सोधियो। ‘उनीहरूलाई पालैपालो खाना खुवाउने गरेका छाँै,’ उनले भने, ‘समूह छुट्याएर खाना खान्छन्। क्यान्टिन साँघुरो भएकाले एकपटकको खाना चार लटसम्म गरेर खाने गरेका छन्। बिहान पहिलो लटमा खानेले बेलुका अन्तिम लटमा खान्छन्। यसरी हामीले रोटेसन लगाइदिएका छौँ।’ 

कारागार व्यवस्थापन विभागबाट सुधारगृहमा रहेका बालकबालिकाका लागि प्रतिव्यक्ति सात सय ग्राम चामल र ६० रुपैयाँ प्राप्त हुन्छ। तर, सो सामग्रीले नपुग्ने सुधारगृहका कर्मचारीले बताए। ‘सरकारबाट प्राप्त हुने सामग्रीको भर परियो भने पुग्दै पुग्दैन,’ पौडेलले भने, ‘यसका लागि यूसेपले आफ्नो तर्फबाट सहयोग गरिरहेको छ।’

क्यान्टिनको अर्को ढोकाबाट निस्किनेबित्तिकै भाँडा माझ्ने, नुहाउने र कपाल काट्ने ठाउँ आउँछ। सानो ठाउँलाई टिनको जस्ताले बारिएको छ। बालबालिकाको संख्या बढेसँगै पानीको समस्या पनि भएको श्रेष्ठले बताए। ‘पानीको समस्या छ,’ उनले भने, ‘अहिले यूसेपले केही नयाँ ट्याङ्की थपेको छ।’ 

होस्टेलको भुइँ तलाबाट माथि उक्लिने भर्‍याङका भित्तामा मदर टेरेसा, महात्मा गान्धी र बुद्धका प्रेरक भनाइहरू टाँसिएका थिए। बालकहरू भुइँ तला र पहिल्लो तलामा बस्छन्। होस्टेल वार्डेन पौडेलका अनुसार उनीहरूका निम्ति १६–१७ वटा कोठा छन्। 

एउटा कोठामा छिर्दा दुई तला भएका खाटहरू खचाखच थिए। खाटमा टाँगिएका झुलमा बालकहरूका नाम लेखिएका थिए। ढोकाको छेवैमा रहेको सामान राख्ने काठको दराजमा खापा थिएन। ‘ठाउँ नभएर उनीहरूले आफ्ना सामान खाटमुनि पनि राखेका छन्,’ श्रेष्ठले भने, ‘दराजमा सबैको सामाज अट्दैन।’ 

कोठाबाट बाहिर निस्कँदै गर्दा ढोकामा लेखिएको नाम देखियो– ‘आर्सनल’। ‘बालकहरूको रुचिअनुसार नाम राखिएको छ,’ श्रेष्ठले भने, ‘उनीहरूलाई जे मन लाग्छ, कोठाको नाम त्यही राख्छन्। फुटबलप्रेमी बालकहरूले अंग्रेजी फुटबल क्लब आर्सनलको नामबाट आफ्नो कोठालाई चिनाएका हुन्।’ अन्य कोठाका नाम पनि फुटबल क्लबबाट राखिएका थिए। 

दोस्रो तलामा ‘निष्मा स्मृति हल’ छ। यूसेपका एक जना आजीवन सदस्यले आफ्नी छोरीको स्मृतिमा सरस्वतीको मन्दिर र त्यो हल बनाइदिएका हुन्। हलभित्रबाट गीत गाएको आवाज आइरहेको थियो। भित्र छिरेपछि देखियो, तीन जना बालक  गीतको अभ्यास गरिरहेका थिए। हलको भुइँमा रातो कार्पेट ओछ्याइएको थियो। एउटा टेलिभिजन सेट पनि थियो। 

श्रेष्ठका अनुसार बालबालिकालाई समय–समयमा विभिन्न सिर्जनशील तालिम दिने गरिन्छ। केही महिनाअघि संगीतको प्रशिक्षण दिइएको थियो। ‘एक हप्ताअघि किरिङ बनाउने तालिम राखेका थियौँ,’ उनले भने, ‘आज त्यही कार्यक्रमको समापन छ। यस्ता तालिमले भोलि समाजमा गएर यहाँका बालबालिकाले पनि केही गर्न सकून् भन्ने हाम्रो उद्देश्य हो।’

व्यक्तिगत परामर्शमा कठिनाइ 

सुधारगृह प्रशासनका अनुसार बालकमा ८० प्रतिशतभन्दा बढी बलात्कारको अपराधमा यहाँ आएका छन् भने बालिका बढीजसो लागुऔषधको केसमा आएका छन्। 

सुधारगृहकी परामर्शदाता हुन्, ज्योति श्रेष्ठ। उनका अनुसार यहाँका बालबालिका सुरुमा निकै रिसाहा हुन्छन्। केही हप्ताको परामर्शपछि भने उनीहरूमा केही परिवर्तन हुने उनले बताइन्। बालबालिकाको चाप धेरै भएका कारण आफूलाई काम गर्न गाह्रो भएको उनले बताइन्। ‘कहिले समूहमा परामर्श दिइन्छ, कहिले व्यक्तिगत,’ उनले भनिन्, ‘सुरुमा बोल्दै नबोल्नेहरू पनि खुल्दै जान्छन्। यस्ता बालबालिकालाई व्यक्तिगत काउन्सिलिङ गर्न पाए एकदमै प्रभावकारी हुन्थ्यो। तर, बालबालिका धेरै भएकाले त्यो सम्भव छैन।’ 

मनोचिकित्सक प्रा.डा. रवि शाक्यका अनुसार यस्तो अवस्थामा उनीहरूलाई व्यक्तिगत काउन्सिलिङ चाहिन्छ। ‘अपराध जे–जे कारणले घटेका हुन्, त्यही अनुरूपको मनौवैज्ञानिक उपचार गर्नुपर्छ,’ उनले भने। 

अपुग बजेट

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको तथ्यांकअनुसार यूसेप नेपाललाई सरकारले आर्थिक वर्ष २०७५-०७६ मा ८४ लाख रुपैयाँ अनुदान दिएको थियो। त्यस्तै, यो आर्थिक वर्षमा ९० लाख रुपैयाँ यूसेपले पाएको छ। 

यूसेपका कार्यकारी निर्देशक विपिन आचार्य यति बजेटले संस्थालाई काम गर्न गाह्रो भएको बताउँछन्। ‘सरकारको योजनामा जति बजेट आउँछ, त्यसैअन्तर्गत रहेर हामी काम गरिहरहेका छौं,’ उनले भने, ‘हामीलाई सरकारले व्यवस्थापनको जिम्मा दिएको हो। व्यवस्थापनको जिम्मा लिनु चानचुने कुरा होइन। काम गर्दै जाँदा थुप्रै अप्ठ्यारा आउँछन्। कहिलेकाहीँ बच्चालाई ठूलै रोग लाग्न सक्छ। त्यसमा पनि हामीले हेर्नुपर्ने हुन्छ।’

आचार्यका अनुसार सुधारगृहमा अहिले धान्न सक्नेभन्दा बढी बालबालिका छन्।  ‘१० जना बस्न मिल्ने घरमा २० जना बसे भने कस्तो हुन्छ ?’ उनले भने, ‘सुधारगृहमा अहिले भएको त्यस्तै हो। हामी जसोतसो मिलाएर बालबालिकालाई राखिरहेका छौँ।’ 

सुधारगृहको व्यवस्थापनका लागि सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला तथा बालबालिका महाशाखा प्रमुख (सहसचिव) को संयोजकत्वमा समिति गठन गरेको छ। सुधारगृह व्यवस्थापन समितिका अध्यक्ष सहसचिव वीरबहादुर राई हुन्। ‘सरकार ‘लर्निङ बाई डुइङ’ प्रोसेसमा छ,’ अध्यक्ष राईले भने, ‘हामी अवधारणाअनुसार काम गर्न खोजिरहेका छौँ। सुधारगृहलाई व्यवस्थित गर्दै लैजानेछौं।’


‘केही सरकारी अधिकारी सुधारगृहलाई कारागार ठान्छन्’ 

विपिन आचार्य, कार्यकारी निर्देशक, यूसेप नेपाल-गृह प्रशासक, बाल सुधारगृह

सन् २००२ मार्च १२ बाट भक्तपुर, सानो ठिमीको बाल सुधारगृह सुरु भएको हो। सुधारगृह ‘करेक्सन सेन्टर’ हो। यो राज्यको दायित्व हो। सरकारको कार्यक्रममा यूसेप नेपालले व्यवस्थापन गरिदिएको मात्र हो। 

अन्तर्राष्ट्रिय कानुनमा १८ वर्षभन्दा मुनिकालाई बालबालिका मानेर सुधारगृहमा राख्ने गरिन्छ। हाम्रोमा पहिले १६ वर्षका व्यक्तिलाई राखिन्थ्यो। अघिल्लो वर्षदेखि १८ वर्षमुनिका बालबालिकालाई पनि राखिएको छ। सरकारको योजनामा जति बजेट आउँछ, त्यसैअन्तर्गत रहेर हामी काम गर्छौं। हामीले व्यवस्थापनको जिम्मा लिएका हौँ। व्यवस्थापनको जिम्मा लिनु चानचुने कुरा होइन। काम गर्दै जाँदा थुपै्र अप्ठ्यारा आउँछन्। कहिलेकाहीँ बच्चालाई ठूलै रोग लाग्न सक्छ। त्यसमा पनि हामीले हेर्नुपर्ने हुन्छ। 

बच्चाले अपराध गरेपछि प्रहरीले समात्छ। प्रहरीले समातेपछि उनीहरूलाई अदालतमा लगिन्छ। त्यहाँबाट उनीहरू बाल सुधारगृहमा आउँछन्। सुधारगृहले ती बालबालिकाको गाँस, बास, कपाससहित शिक्षा, खेलकुद, स्वास्थ्य सबैमा जोड दिने गरेको छ। 

बालबालिकाका आफन्तलाई सम्पर्क गर्न पनि एकदमै गाह्रो छ। कसैका परिवारले बालबालिकालाई वास्तै गर्दैनन्। ३० देखि ४० प्रतिशत अभिभावक फोन गर्दा फोन उठाउँदैनन्। ‘यो हाम्रा लागि मर्‍यो’, ‘हामीलाई यसको मतलब छैन’ भन्ने खालको मानसिकता छ। त्यसैले हामीलाई बालबालिका छुट्ने समय भएपछि कसको जिम्मा लगाउने भन्ने चिन्ता हुन्छ। 

बालसुधार गृहको भूमिका बालबालिकालाई ‘रिह्याबिलिटेसन’, ‘रेस्टोरेसन’ र ‘रिइन्ट्रिगेसन’ गर्नु हो। अदालतबाट आएका बच्चालाई हामीले राख्दैनौँ भन्न मिल्दैन। राख्दैनौँ भन्यो भने हामीलाई विभिन्न प्रेसर आउँछ। आफ्नो क्षमताभन्दा बढी कसैले पनि गर्न सक्दैन। हामीले चलाउन सक्दैनौँ भनेर पत्र पनि पठाएका थियौँ। हामीले सक्दैनौँ भनेपछि सरकारले डोटी, मकवानपुर, रूपन्देही र पर्सामा बाल सुधारगृह चलाइरहेको छ। 

बाल सुधारगृहका आफ्नै प्रावधान हुन्छन्। बालबालिकालाई शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सहभागी गराउनुपर्ने भनिएको छ। नाम लिन चाहन्नँ, तर कतिपय सरकारी अधिकारी बाल सुधारगृहलाई कारागार ठान्छन्। यहाँ बस्ने बालबालिकालाई उनीहरू अपराधी मान्छन्। ‘यी अपराधीलाई किन सुविधा दिने ?  यिनीहरूलाई पिटेर राख्नुपर्छ’ भन्ने खालको मानसिकता उनीहरूमा छ। त्यो मानसिकता जहिलेसम्म परिवर्तन हुँदैन, तबसम्म सुधारगृह परिवर्तन गर्न गाह्रो छ। बालबिज्याइँमा परेका भन्नेबित्तिकै हेयको दृष्टिकोणले हेरिन्छ। सुरक्षाकर्मीका लागि बाल सुधारगृह आराम गर्ने ठाँउजस्तो भएको छ। काम गर्न सक्ने ‘स्मार्ट’ प्रहरी बाहिर छन्। बाहिर काम गर्न नसक्ने, स्वास्थ्य स्थिति ठीक नभएका प्रहरीहरू यहाँ ड्युटीमा खटिन्छन्। हामीले गुनासो गरेपछि परिवर्तन पनि भएका छन्। यहाँ भएकामध्ये पनि कार्यक्रम हुँदा बाहिरै खटिन्छन्। हामीले केही भन्ने ठाउँ हुँदैन। उनीहरूलाई पनि माथिबाट आदेश आएको हुन्छ। सय जना बालबालिकालाई २२ जना सुरक्षाकर्मीको दरबन्दी थियो। अहिले हाम्रोमा २ सय २० जना बालबालिका हुँदा ४४ जना सुरक्षाकर्मी चाहिने हो। तर, १० देखि १५ जनाले काम चलाइरहेका छौँ। 

यहाँबाट बाहिर निस्किएका बालबालिकाको ख्याल राख्न सकिएको छैन। उनीहरूलाई ख्याल राख्ने जनशक्ति हामीसँग छैन। यहाँबाट बाहिर गएका बालबालिकालाई साथीभाइले कस्तो व्यवहार गर्छन्, उनीहरूले त्यो वातावरण कसरी फेस गर्छन् भन्नेबारे कसैले सोचेकै हुँदैन। बाहिर गएपछि उनीहरूलाई हौसला र प्रेरणा दिनुपर्छ। हौसला पाएनन् भने उनीहरू मानसिक रूपले झन् कमजोर हुन्छन्। यो एकदमै डरलाग्दो पक्ष हो। जुन तरिकाले सोचेर बाल सुधारगृहको अवधारणा ल्याइएको छ, त्यहीअनुसार काम गर्ने हो भने बालबिज्याइँमा परेकाहरू सामान्य जीवनमा फर्किन सक्छन्, भविष्य बनाउन सक्छन्। 


‘सुधारगृहमा बालमैत्री व्यवहार हुनुपर्छ’ 

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक

यौनजन्य अपराधको केसमा बालबालिका आफू यौन हिंसाको शिकार भएका छन् भने उनीहरूले अरुलाई पनि यौन हिंसा गर्ने विभिन्न मनोवैज्ञानिक अध्ययनले देखाएका छन्। यौनका बारेमा राम्रोसँग थाहा नहुँदै पीडित हुँदा ‘यस्ता कुरा सामान्य हुन्’, ‘मैले पनि गर्दा हुने रहेछ’ भन्ने उनीहरूलाई लाग्छ। 

हाम्रो समाजमा जाँड, रक्सी, चुरोटदेखि लिएर नशालु पदार्थ बालबालिकाको पहुँचमा छ। ती चिज बिहान उज्यालो भएदेखि राति अबेरसम्म खुलेआम बिक्रीवितरण हुन्छ। ९९ प्रतिशत सडक बालबालिका ड्रग एडिक्ट भइसकेका छन्। यो बेला उनीहरू होशमा हुँदैनन् र अपराधका घटना हुन्छन्। 

अपराध गर्ने अथवा कानुन तोड्ने बालबालिकामा ‘कन्डक्ट डिसअर्डर’ भन्ने रोग भएको हुन सक्छ। यो ठूलो मानिसमा हुने ‘एन्टी सोसल पर्सनालिटी’ को ‘चाइल्ड भर्सन’ हो। हाम्रोमा यसबारे चेतना छैन। ‘सानो बच्चा त हो नि’ भनेर हामी बालबालिकाले गरेका गल्तीलाई बेवास्ता गर्छौं। बच्चाको मामलामा हाम्रो समाज सहनशील छ। आमाबुबाले गाली गर्दा हजुरआमा–हजुरबुबाले बचाउ गर्ने संस्कार छ। बालबालिकामा हुने कन्डक्ट डिसअर्डरलाई मानिसहरूले सहजै स्विकारेको अवस्था छ। यसलाई रोग र उपचार चाहिने भनेर कसैलाई थाहा छैन। कसैले झुट बोल्यो, बदमासी गर्‍यो, चोरी गर्‍यो भने ‘सानो केटाकेटी त हो नि, सध्रिन्छ’ भन्ने चलन छ। तर, त्यही कुरा पछि रोग भएर निस्किन्छ। 

केही बालबालिकामा भने ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’ हुन्छ। यो भनेको आवेगलाई नियन्त्रण गर्न नसक्ने समस्या हो। हामीले कतिपय बच्चा देखेका छौं, जो रिस उठ्नेबित्तिकै बाङ्बुङ गरेर आफ्नो रिस पोखिहाल्छन्। आवेगमा आउने बच्चाले रिसको झोकमा अपराध गर्न सक्छन्। 

बालबालिकामा ‘मुड डिसअर्डर’ वा डिप्रेसन पनि हुन सक्छ। डिप्रेसन भएको बच्चा चुपचाप बस्दैनन्। उनीहरू ‘ओभरएक्टिभ’ हुन्छन्। कसैको कुरा सुन्दैनन्। जिद्दी, रिसाहा हुन्छन्। तोडफोड गर्ने खालका हुन्छन्। उनीहरूलाई ‘मेनिया’ पनि भएको हुन सक्छ। यस्तो अवस्थामा बच्चा चाहिनेभन्दा बढी खुशी हुन्छन्। 

कसैले भने यस्ता खालका रोग नहुँदानहुँदै पनि अपराध गरिरहेका हुन्छन्। त्यसको कारण भनेको ‘पियर प्रेसर’ हो। उनीहरूको उमेर नै त्यस्तै हुन्छ। साथीभाइको उक्साहटमा अपराध भएको हुन सक्छ। बालबालिका साथीभाइबाट एकदमै छिटो प्रभावित हुन्छन्। एउटाले जे गर्‍यो, अर्काले त्यही गर्छन्। आमाबुबाले भनेको नमान्ने बालबालिका पनि साथीभाइले भनेको मान्छन्। साथीभाइबाट एक्लो भइने डर उनीहरूमा हुन्छ। 

हाम्रो समाज संक्रमणकालीन अवस्थामा छ। हामी आधुनिक पनि हुन सकेका छैनौँ, परम्परागत कुरालाई पनि चटक्कै छाड्न सकिरहेका छैनाँे। यस्तो अवस्थामा मानिसहरू बरालिन्छन्। नेपालमा ‘प्यारेन्टिङ’को पनि खासै संस्कार छैन। ‘प्यारेन्ट एजुकेसन’को उस्तै कमी छ। 

अचेलका बच्चा सबै कुरामा पहुँच राख्छन्। इन्टरनेट छ। औँलामा संसार छ। यसले उनीहरूमा देखासिखी गर्ने बानीको विकास गर्छ। हाम्रो समाजले उनीहरूलाई रोल मोडल दिन सकेको छैन। नैतिक शिक्षा भएन भने उनीहरू अपराधतिर होमिन सक्छन्। 

बाल सुधारगृहमा राखिएका सबै बालबालिकाको समस्या एउटै हुँदैन। कसैलाई ‘कन्डक्ट डिसअर्डर’, कसैलाई ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’, कसैलाई ‘मुड डिसअर्डर’ र कसैलाई ‘पियर प्रेसर’ भएको हुन सक्छ। यस्तो अवस्थामा उनीहरूलाई व्यक्तिगत परामर्श चाहिन्छ। सबैलाई एकै ठाउँमा राखेर हुँदैन। कहिलेकाहीँ भने गु्रप काउन्सिलिङले पनि काम गर्छ। अपराध जे–जे कारणले भएका हुन्, त्यही अनुरूपको मनौवैज्ञानिक उपचार गर्नुपर्छ। 

बालबालिकाले अपराध गरेपछि यातना दिएर सजाय दिँदैमा उनीहरू सुध्रिँदैनन्। यसरी यातना दिँदा झन् उग्र भएर निस्कन सक्छन्। कुटेर–पिटेर बालबालिकालाई कहिल्यै ठीक ठाउँमा ल्याउन सकिँदैन। ठूलो मानिसले आफूलाई पिटेर सजाय दिने गरेको छ भने उसले पनि आफूभन्दा सानालाई पिट्न थाल्छ। यहाँ पनि उसले नक्कल गर्छ। 

सुधारगृहमा राखिएका बालबालिकालाई पर्याप्त खेलकुद चाहिन्छ। कक्षाकोठामा राखी ज्ञान दिएर मात्र हुँदैन। उनीहरूलाई रमाइलो पनि गराउनुपर्छ। खेल्दाखेल्दै पनि बालबालिकाले धेरै कुरा सिकिरहेका हुन्छन्। उनीहरूलाई अपराधीलाई जस्तो होइन, बालमैत्री व्यवहार गर्नुपर्छ। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि