‘प्रेम पत्र पाउँदा रुँदै सरलाई देखाएँ’

writer

सम्पूर्ण

सोमबार, २७ साउन २०७६


सुनीता दुलाल, गायिका

मैले सिन्धुपाल्चोक, जलबिरेस्थित गोल्डेन ब्राइट फ्युचर इंग्लिस स्कुलमा कक्षा पाँचसम्म पढेँ। कक्षामा नेत्र श्रेष्ठ र सरस्वती लामा मेरा मिल्ने साथी थिए। सधैँ फस्र्ट हुन्थेँ। पढ्ने विद्यार्थी थिएँ। स्कुलको वातावरण पनि कडा थियो। सरहरू पनि एकदमै कडा हुनुहुन्थ्यो। पढ्ने विद्यार्थी भएकाले सर÷मिस सबैले मलाई माया गर्थे। स्कुल पढ्दाताका द्वन्द्वको समय थियो। स्कुल प्रायः बन्दै रहन्थ्यो। कक्षा आठ पढ्न सरकारी विद्यालय गएँ। आठदेखि १० सम्म श्री आनन्द हायर सेकेन्डरीमा पढेँ।

बोर्डिङबाट सरकारी स्कुलमा जाँदा छ र सात कक्षा नपढी सीधै कक्षा आठमा भर्ना भएकी थिएँ। कक्षामा सबैभन्दा कम उमेर र उचाइ मेरै थियो। मेरा साथी ठूलठूला थिए। पहिलो बेन्चमा बसेर पढ्थेँ। स्कुलका सबै साथीसँग मिल्थेँ। बदमास थिइनँ। सरहरूले पढाउँदा ध्यान दिएर सुन्थेँ। स्कुल सकिएपछि यताउता नगई सीधै घर जान्थेँ। धेरै बोल्दिनथेँ। 

गणित विषय गाह्रो लाग्थ्यो। अरू विषयमा राम्रो थिएँ। स्कुलदेखि नै मलाई पढ्नबाहेक गीत गाउन मन पथ्र्यो। स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा भाग लिन्थेँ, गीत गाउँथे। स्कुलबाट गीत गाउन स्कुलबाहिरका कार्यक्रममा पनि जान्थेँ। गीत गाएर धेरै पुरस्कार पनि जितेकी छु। 

इंग्लिस पढाउने धीरज सर राम्रो हुनुहुन्थ्यो। उहाँले मलाई पढ्न सहयोग गर्नुहुन्थ्यो। स्कुल बदलिएपछि पढ्न गाह्रो भएको थियो। सुस्मिता श्रेष्ठ कक्षाकी प्रथम छात्रा थिई। बेन्चमा ऊसँगै बस्थेँ। नजानेका सबै कुरा उसले मलाई सिकाउँथी। उसलाई सधैँ सम्झिरहन्छु। कक्षा नौमा पढ्दा शैक्षिक भ्रमणमा गएका थियौँ। त्यतिबेला म धेरै बोलेको देखेर सर र साथीहरू छक्क परेका थिए। 

कक्षा नौ र दशमा पढ्दा मलाई प्रेम पत्र धेरै आए। केटाहरूसँग बोल्न, मिल्न डर लाग्थ्यो। एकदमै मिल्ने एक जना केटा साथीले मलाई कक्षा नौमा पुगेपछि एउटा सानो डायरीभरि नै प्रेम प्रस्ताव लेखेर दिएको थियो। साथीले प्रेम प्रस्ताव लेखेर डायरी दिँदा एकदमै डराएकी थिएँ। सरलाई त्यो डायरी रुँदै देखाएकी थिएँ। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि