पाको उमेरमा पढ्ने जोश

writer

मेनुका कोइराला

सोमबार, २७ साउन २०७६


उनीहरूले बाल्यकालमा पढ्न पाएनन्। घर, परिवार, छोराछोरी भन्दाभन्दै जीवन बिताए। अहिले आफ्ना लागि अलिकति समय निकालेका छन् र पढ्ने अधुरो रहर पूरा गरिरहेका छन्। 


पिठ्यूँमा ब्याग, ब्यागभित्र टिफिन र पानीको बोतल बोकेर ठीक १० बजे स्कुल पुग्छिन्, शीतकुमारी कटवाल। ६३ वर्षीया उनले सानैदेखिको पढ्ने रहर अहिले पूरा गरिरहेकी छिन्। बसमा उनले स्कुलको आईडी कार्ड देखाउँदा सहचालकले पत्याउँदैनन्। ‘सहचालकसँग सधैँ झगडा पर्छ,’ शीतकुमारी भन्छिन्, ‘‘वृद्ध कार्ड देखाउने ठाउँमा कहाँ स्कुलको आईडी कार्ड देखाएको’ भन्छन्। 

उनी काठमाडौँ, तीनकुनेमा रहेको उत्प्रेरणा महिला माध्यमिक विद्यालयमा कक्षा सातमा पढ्छिन्। ‘सानोमा स्कुलको नाकमुखै देख्न पाइएन,’ उनी सुनाउँछिन्, ‘बुबा बित्दा तीन वर्षकी थिएँ। घरको आर्थिक अवस्था नाजुक थियो। घरकी जेठी छोरी थिएँ। मपछि एक जना भाइ थियो।’ त्यतिखेर छोरीहरूलाई स्कुल पढाउने चलन नभएको उनी बताउँछिन्। ‘आमाले जेनतेन भाइलाई त पढाइन्, तर मलाई पढाइनन्,’ उनी गुनासो गर्छिन्, ‘चाँडै बिहे भयो। बालबच्चा भए। घरपरिवारको जिम्मेवारीमा पूरै अल्झिएँ। किताबकपी कुन जन्तुका नाम हुन् भन्ने नै थाहा भएन।’ 

छोरालाई अमेरिका भेट्न जाँदा त्यहाँको विमानस्थलमा भोग्नुपरेको घटनाले उनलाई झस्कायो। ¬‘छोरालाई भेट्न अमेरिका गएकी थिएँ,’ उनी सम्झिन्छिन्, ‘नेपालमा त गाह्रो भएन। आफ्नै भाषा भयो। तर, अमेरिका पुग्दा अलमलिएँ। भाषाकै कारण निकै दुःख पाएँ।’ अंग्रेजी बोल्न र बुझ्न नसक्नाले उनी घण्टौँसम्म अमेरिकाको विमानस्थलमा रुमलिइन्। ‘त्यतिखेर प्रण गरेँ ‘नेपाल फर्केपछि जसरी पनि पढ्छु’,’ उनी सुनाउँछिन्, ‘नेपाल फर्केपछि स्कुल खोजेँ। आफन्तबाट महिला स्कुलबारे थाहा पाएँ। सात वर्षअघि कक्षा एकमा भर्ना भएँ।’

आफूले स्कुल जाने इच्छा व्यक्त गर्दा आफन्त, टोलछिमेकका मान्छे हाँसेको उनी बताउँछिन्। तर, घरपरिवारले उनलाई सहयोग गर्‍यो। ‘परिवारले मलाई सपोर्ट गर्‍यो,’ उनी भन्छिन्, ‘एसईई पास गरेर ममाथि हाँस्नेलाई सर्टिफिकेट देखाउने रहर छ।’

‘पढ्छु’ भन्दा शीतकुमारीजस्तै कृष्णकुमारी श्रेष्ठले पनि ‘बुढेसकालमा किन पढ्नुपर्‍यो ?’ भन्ने प्रश्नको सामना गरेकी थिइन्। समय सदुपयोग गर्न पढ्न थालेको उनी बताउँछिन्। ‘छोराछोरीले पढेको देख्दा के चाहिँ लेखिराहोलान्, मैले पनि बुझ्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो,’ उनी सम्झिन्छिन्। पढेलेखेको नहुँदा सबैका सामु हेपिनुपर्ने उनको अनुभव छ। ‘घरमा मलाई सल्लाह नै नगरी निर्णय गरिन्थे,’ उनी भन्छिन्, ‘छोराछोरीबाट ‘तपाईंलाई केही थाहा छैन, हाम्रो कुराबाट टाढै बस्नू’ जस्ता कटु वचन सुन्नुपथ्र्यो।’ यी र यस्ता कुराले आफूलाई पढ्ने प्रेरणा दिएको उनी बताउँछिन्। ‘अहिले घरमा बिहेभोजका कार्ड आउँदा आफैँ सबैलाई पढेर सुनाउँछु,’ उनी भन्छिन्, ‘कसैलाई ‘सुनाइदे’ भनिराख्नुपर्दैन। आफैँ अक्षर चिनेर पढ्न सक्ने भएकी छु।’

पाँच कक्षामा पढ्छिन्, कृष्णकुमारी। मन्टेसरीमा पढ्ने नातिनातिनालाई होमवर्क सिकाउने गर्छिन्। ‘अहिले त नातिनातिनालाई होमवर्क सिकाउने भइसकेँ,’ उनी भन्छिन्, ‘मैले बच्चालाई पढाएको देख्दा सबै छक्क पर्छन्। ‘हिजोसम्म अक्षरै नचिन्नेले कसरी पढाइरहेकी छे’ भन्ने लाग्दो हो।’

उत्पे्ररणा महिला माध्यामिक विद्यालयमा शीतकुमारी, कृष्णकुमारीजस्ता थुप्रै महिला पढिरहेका छन्। स्कुलमा पढ्ने अधिकांश महिला २० देखि ६५ वर्षसम्मका छन्। बाल्यकालमा कमजोर आर्थिक अवस्था, घरपरिवारको जिम्मेवारीलगायत कारणले पढ्न नपाएकाहरूलाई स्कुलले पढ्ने अवसर जुटाइदिएको प्रिन्सिपल सुमित्रा मैनाली बताउँछिन्। विद्यालयले २०६६ सालमा माध्यमिक विद्यालय चलाउने अनुमति पाएको थियो। ‘पहिला कक्षा आठसम्म पढाइ हुन्थ्यो,’ प्रिन्सिपल सुमित्रा भन्छिन्, ‘अहिले १० सम्म पढाउँछौँ।’ विद्यालयमा अहिले २ सय ५० जना विद्यार्थी पढिरहेका छन्। कामकाजी महिला बिहान ६ देखि १० बजेसम्म पढ्छन्। बाँकीका लागि दिनमा विद्यालय सञ्चालन हुन्छ। ‘यहाँ पढ्न आउने महिलाका आ–आफ्नै कथा छन्,’ प्रिन्सिपल सुमित्रा भन्छिन्, ‘सबैमा पढ्ने रहर छ। सानोमा अधुरै रहेको रहर अहिले पूरा गरिरहेका छन्।’

पढाइको महत्त्व बुझेर महिलाहरू पढ्न आकर्षित भएको सुमित्रा बताउँछिन्। ‘पुरानो सामाजिक संस्कारमा हुर्केका महिलाले त्यति बेला पढ्न पाएनन्,’ सुमित्रा भन्छिन्, ‘अहिले उनीहरूलाई पढाइको महŒव थाहा भएको छ। पढ्नेलाई उमेरले छेक्दैन। हिम्मत हुनुपर्छ।’ 

उषा गिरी गृहिणी हुन्। घरधन्दा सकेर ठीक १० बजे उनी पनि स्कुल आइपुग्छिन्। उनी कक्षा तीनकी विद्यार्थी हुन्। ‘परिवारको सबै सदस्य आ–आफ्नो कामतिर लागेपछि, घरको काम सकाएर म पनि ब्यागमा किताब हालेर विद्यालय आउँछु,’ उनी सुनाउँछिन्। ढिला भए पनि पढ्न पाएकोमा उनी खुशी छिन्। ‘पढ्नलाई उमेरले छेक्दैन,’ ४५ वर्षीया उषा भन्छिन्। ‘पढेर के गर्छेस् ?’ भन्ने प्रश्न उनलाई धेरैले गर्ने गरेका छन्। ‘‘पढ्ने रहर छ, त्यसैले जान्छु’ भन्ने गरेकी छु,’ उनी भन्छिन्, ‘६८ वर्षकी युगमाया कार्कीले भर्खरै यसै स्कुलबाट एसईई पास गरेकी छिन्। मेरो त अझै उमेर बाँकी छ। सर्ट प्यान्ट लगाएर कलेज पनि जान सक्छु।’ 

काठमाडौँ, लाजिम्पाटबाट पढ्न आउँछिन्, रीता तामाङ। उनी कक्षा नौमा पढ्छिन्। ‘अर्को वर्ष एसईई दिन्छु, त्यसपछि कलेज जान्छु,’ उनी आफ्नो योजना सुनाउँछिन्, ‘घरको सबै काम भ्याएर स्कुल पढ्न टाढाबाट आउँदा कहिलेकाहीँ ढिला हुन्छ। हतार–हतार स्कुल आउँछु।’ पढाउने मिस आफूभन्दा साना भएकाले लाज लाग्ने गरेको उनी बताउँछिन्। घरको काम सँगसँगै पढाइलाई पनि अगाडि बढाइरहेकी छिन्, उनले। भन्छिन्, ‘होमवर्कमा नजानेका कुरा छोराछोरीलाई सोध्ने गर्छु,’ उनी भन्छिन्। उनलाई गणित विषय गाह्रो लाग्छ। ‘पहिला फोनमा आउने म्यासेज अरूलाई पढ्न लगाउनुपर्ने अवस्था थियो,’ उनी भन्छिन्, ‘अहिले आफैँ पढ्न सक्छु। मज्जाले फोन चलाउन सक्छु। फेकबुकमा स्ट्याटस लेख्न सक्छु। कसैको सहारा चाहिँदैन।’ 

उत्प्रेरणा महिला विद्यालयले धेरै महिलाको पढ्ने सपना पूरा गरिरहेको स्कुलकी शिक्षिका सीता कोइराला बताउँछिन्। ‘यस विद्यालयमा कक्षा १० सम्म पढेर थुप्रै महिला अहिले कलेज पढिरहेका छन्,’ सीता भन्छिन्, ‘थुप्रैले जागिर पनि खाएका छन्।’ यही विद्यालय पढेर अहिले ‘आमा नेपाल अभियान’की अध्यक्ष छिन्, हीरादेवी तिमल्सिना। ‘महिलाहरू यहाँ आउँदा सपना र रहर बोकेर आउँछन्,’ सीता भन्छिन्, ‘उनीहरूका सपना पूरा गर्न हामी मद्दत गर्छौं।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि