‘दुःखको बानी परेपछि दुःखै गर्न मन लाग्छ’

writer

सम्पूर्ण

सोमबार, २७ साउन २०७६


सुमित्रा राई (३८), फुटपाथ व्यापारी, जोरपाटी, काठमाडौँ

सञ्चै हुनुहुन्छ, दिदी ?
ठीकै छु।

कति भयो नाङ्ले पसल थापेको ?
तीन महिनाजति।

यसअघि के काम गर्नुहुन्थ्यो ?
ज्यामी काम गर्थें। अहिले बच्चा सानो भएर त्यो काम गरेको छैन। 

पसलमा किन यति थोरै सामान राख्नुभएको ?
धेरै राख्न पैसा पनि त हुनुपर्‍यो नि ! यति सामान त बल्लतल्ल ल्याएको।

चुरोट, सुर्ती मात्र किन राख्नुभएको ?
नाङ्लोमा अरू सामान राख्दा बिकेन। यो चाहिँ अलिअलि भए पनि बिक्छ।

सामान कहाँबाट ल्याउनुहुन्छ ?
होलसेल पसलबाट ल्याउँछु।

सामान किन्नेहरू के भन्छन् ?
के भन्नु ! ‘महँगो भयो, बाटोमा भन्दा पसलमै सस्तो पाउँछ’ भन्छन्,। कोही–कोही केही नभनी किन्छन्। कोही चाहिँ एउटा चुरोट किन्दा पनि किचकिच गर्छन्। कोही चाहिँ मेरो पसल हेरेर हाँसेर जान्छन्।

नाफा कति हुन्छ ?
केको नाफा हुनु ? एक बट्टा चुरोट बिक्री हुन चारपाँच दिन लाग्छ। त्यसमा १०–२० रुपैयाँ नाफा हुन्छ। कहिले त साँवामै बेच्ने गर्छु।

दिदीको घर कता पर्‍यो ?
ओखलढुंगा।

यहाँ कता बस्नुहुन्छ ?
जोरपाटी, नयाँबस्ती।

परिवारमा को–को हुनुुहुन्छ ?
हामी बूढाबूढी, दुई छोरी छन्, अनि यही काखको छोरो।

श्रीमान् के गर्नुहुन्छ ?
ज्यामी काम गर्नुहुन्छ। 

पसल थाप्दा उहाँले के भन्नुभयो ? 
‘मेरो कमाइले गुजारा चलिहाल्छ नथाप’ भन्नुभयो। तर, दुःखको बानी लागेपछि दुःखै गर्न मन लाग्दो रहेछ। कोठामा त्यतिकै बस्न मन लाग्दैन। खाना खाएपछि सामान र बच्चा बोकेर आइहाल्छु।

श्रीमान्को कमाइले घरखर्च पुगेको छ ?
कहाँ पुग्नु ? यस्तो महँगी छ। धौधौ पर्छ नि ! जेनतेन गुजारा चलाएका छौँ। श्रीमान्लाई सजिलो होस् भनेरै यो पसल राखेकी हुँ। नुनतेल खर्च भए नि आउँछ भनेर। 

अन्त पनि जानुहुन्छ कि यतै बस्नुहुन्छ ? 
अहिलेसम्म त यहीँ बसेकी छु। कोठानजिक भएकाले आउन–जान गाह्रो हुँदैन।

सधैं बस्नुहुन्छ ?
पानी परेको बेला चाहिँ आउँदिनँ। अरू बेला चाहिँ सधैँ आउँछु।

सडकछेउमा बस्न मान्छन् त तपाईंको छोरा ?
सुरु–सुरुमा खूब रुन्थ्यो। अहिले उसलाई बानी परिसक्यो। 

घाम, धुलोमाटोमा बस्दा बच्चा  बिरामी होला नि ?
गरिबको बच्चा यस्तै त हो। घामपानी, धुलोमाटो सबै सहनुपर्छ। कोठामा हेर्ने कोही छैन। छोरीहरू स्कुल जान्छन्। त्यसैले सँगै लिएर आउँछु। 

घाममा बस्दा तपाईंलाई पनि गाह्रो हुन्छ होला ? 
ज्यामी कामभन्दा त यो सजिलै छ। पैसा मात्र हुँदैन। 

बच्चा ठूलो भएपछि फेरि ज्यामी काममा फर्किनुहुन्छ?
आफूले जानेको त्यही हो। गर्नु परिहाल्यो नि ! जानेको काम नगरे के खाएर बाँच्नु ? बाँच्नु त प¥यो।

प्रस्तुतिः उर्मिला

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि