पशुपतिका चित्रकार

writer

उर्मिला स्याङ्तान

सोमबार, २७ साउन २०७६


वाग्मतीको किनारमा रूखमुनि बसेर अशोकले हजारौँ चित्र बनाएका छन्। दैनिक सात–आठ जना मान्छे उनका हातबाट आफ्नो अनुहारको चित्र बनाइमाग्छन्। स्केचबाटै उनको गुजारा चलेको छ। 


भगवान् शिवको दर्शन गर्न होस् वा मृत व्यक्तिको अन्तिम संस्कार गर्न अथवा घुमघाम गर्न, थुप्रै मानिस पशुपति क्षेत्र पुग्ने गरेका छन्। त्यही क्षेत्रको वाग्मती नदीको किनारमा रूखमुनि बसिरहेका हुन्छन्, अशोक थपलिया। 

उनी कलाकार हुन्। क्यानभास, स्केचका लागि केही ब्रस र पेन्सिल छन्। यति नै हो, उनको जायजेथा। ‘पशुपति क्षेत्रको खुला आकाशमुनि अफिस खोलेर बसेको छु,’ उनी भन्छन्, ‘क्यानभास, ब्रस, पेन्सिल नै मेरा सम्पत्ति हुन्।’ अशोक फेस स्केच अर्थात् अनुहारको चित्र बनाउँछन्। अहिलेसम्म १० हजारजति स्केच बनाइसकेको उनी बताउँछन्। स्केच गरेका अनुहारमध्ये केही स्वदेशी छन् भने केही विदेशी। मान्छेको अनुहार कागजमा दुरुस्तै उतार्न सिपालु छन्, उनी। 

काठमाडौँ, जयबागेश्वरीमा अशोकको बाल्यकाल बित्यो। बाल्यावस्थादेखि नै चित्र कोर्न रुचाउँथे। ‘सानो छँदा सिमी, राजमाका दाना र पिपलको पातमा आफूलाई मन लागेको चित्र कोर्थें,’ उनी सम्झिन्छन्। एक पटक स्कुलमा चित्रकला प्रतियोगिता भयो। उनले पनि भाग लिए। प्रतियोगितामा उनले माछा र हिमालको चित्र बनाए। चित्र देखेर साथीले गिज्याएको अहिले पनि झलझली सम्झिन्छन्। ‘त्यसबेलादेखि चित्रकलाप्रति झन् लगाव बढ्यो,’ उनी भन्छन्, ‘स्कुलबाट फर्केपछि लगातार चित्र बनाएको बनाई गरेँ।’ 

चित्र र चित्रकलासँग प्रेम भए पनि त्यसका लागि स्रोतसाधन जुटाउन उनलाई हम्मे–हम्मे पथ्र्यो। ‘पैसा हुन्थेन,’ उनी सुनाउँछन्, ‘चित्र कोर्नका लागि पेन्सिल किन्न धेरै पटक आमाको पैसा चोरेको छु।’ त्यतिबेला कक्षा तीनमा पढ्थे। पशुपतिनजिक बसोबास भएकाले देवीदेउताका मूर्ति र मन्दिर उनका ‘अब्जेक्ट’ बने। एक दिन पशुपति मन्दिरको चित्र कोरिरहेका थिए। त्यही बेला उनको कानमा एउटा आवाज ठोक्कियो– ‘अंकल, मेरो पनि चित्र बनाइदिनुस् न।’ उनले फर्केर हेरे, एक जना आठ÷नौ वर्षका बालक थिए। जो उनीसँग आफ्नो तस्बिर बनाइदिन अनुरोध गरिरहेका थिए। ‘सुरुमा त बच्चाले भनेको कुरा बेवास्ता गरिरहेँ,’ अशोक भन्छन्, ‘मान्छेको चित्र कहिल्यै बनाएको थिइनँ। ‘नसकिएला कि’ भन्ने डर मनमा थियो।’ तर, बालकको आग्रहलाई टार्न सकेनन्। आधा घण्टामा चित्र तयार भयो। स्केच हेरेर बच्चा जोड–जोडले ‘मै हुँ’ भनेर कराउन थाले। भीड जम्मा भयो। अशोक अत्तालिए। ‘बेइज्जत हुने भो’ भन्ने लाग्यो। डरले काम्न थाले। उनले सोचेको भन्दा ठीक विपरीत भीडमा उपस्थित मान्छेले चित्रको प्रशंसा गरे। अशोकले राहतको सास फेरे। डर र आनन्दको त्यही क्षण बन्यो, उनको जीवनको ‘टर्निङ प्वाइन्ट’।

भर्खरै पाएको प्रशंसाबाट मक्ख उनी कोठातिर लम्किए। आमा खुशी होलिन् भनेर घटना सुनाए। तर, आमाको अनुहारमा खुशीको भाव पढ्न सकेनन्। ‘‘छोराले पढेर राम्रो जागिर खाओस्’ भन्ने उहाँको चाहना थियो,’ अशोक भन्छन्, ‘मेरो चित्रकला प्रेममा उहाँलाई खासै रुचि थिएन।’ उनले पढाइ सँगसँगै आट्र्सलाई पनि अगाडि बढाए। आईए ललितकला क्याम्पसबाट गरे। यता उनी दिनहुँ पशुपतिमा बसेर मानिसहरूका चित्र कोर्थे, उता आमा चिन्तित भइरहन्थिन्। तर, उनले वास्ता गरेनन्। निरन्तर स्केच गरिरहे। ‘निरन्तर प्रयासकै कारण आज यहाँसम्म आइपुगेँ,’ उनी भन्छन्।

अशोकको पुरानो घर काभ्रे हो। अहिले उनी काठमाडौँ, थलीमा बस्छन्। चित्र कोर्न दिनहुँ थलीबाट पशुपति आइपुग्छन्। घरमा आमा, श्रीमती र छोरी छन्। परिवारले साथ दिएको छ। चित्रकला सिकाउने पनि गर्छन्। काठमाडौँ इन्टरनेसनल स्कुल, काठमाडौँ युनिभर्सिटी स्कुल र सेवा सदन स्कुलका विद्यार्थीलाई चित्रकला पढाउँछन्। ‘पढाएर पशुपति आउने गर्छु,’ उनी सुनाउँछन्, ‘स्केच गर्ने कोही भेटेँ भने गरिदिन्छु। नत्र, पशुपतिको वातावरणमा रमाउँदै घर फर्किन्छु। वर्षौंदेखि आइरहेकाले एक दिन पनि पशुपति आइएन भने खल्लो लाग्छ।’

अशोकले पशुपतिमा बसेर चित्र बनाउन थालेको १३ वर्ष भइसक्यो। सादा र रंगिन दुवै किसिमका स्केच कोर्छन्। सुरुमा एउटा सादा स्केचको १० रुपैयाँ लिन्थे। ‘महँगीका कारण स्केच बनाउन चाहिने आवश्यक सामग्री किन्न गाह्रो हुन थाल्यो,’ उनी भन्छन्, ‘स्केचको मूल्य बढाउन बाध्य भएँ।’ सादा स्केचको मूल्य १० देखि ५० रुपैयाँ हुँदै अहिले ३ सय ५० रुपैयाँ पुगेको छ। रंगिन चित्र बनाएको पाँच हजार रुपैयाँ लिने गरेको उनी बताउँछन्। 

एक दिनमा सातदेखि आठ वटासम्म स्केच कोरेको अनुभव उनीसँग छ। उनी फोटोबाट पनि स्केच बनाउने गर्छन्। ‘कोही–कोही स्केचका लागि फोटो छोडेर जान्छन्,’ उनी भन्छन्। उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका स्केच बनाइसकेका छन्। ‘ती स्केच उहाँहरूलाई नै उपहार दिएँ,’ अशोक भन्छन्, ‘उहाँहरूले मेरो चित्रकलाको प्रशंसा गर्नुभयो।’

अरू नेपाली युवाझैँ विदेशिने रहर ३३ वर्षीय अशोकमा छैन। ‘आफ्नै देशमा केही गर्ने हो,’ उनी भन्छन्, ‘मेहनत गरे यहाँ पनि पैसा कमाउन सकिन्छ।’ स्केच गरेरै आफूले महिनामा २५ देखि ३० हजार रुपैयाँसम्म कमाइरहेको उनी बताउँछन्। ‘यही कमाइले थलीमा घर बनाएको हुँ,’ उनी सुनाउँछन्, ‘अहिलेसम्म घरखर्च यसैबाट चलेको छ। कामबाट सन्तुष्ट छु।’

तपाईको कमेन्ट