विद्यार्थीका प्रिय देश

writer

सूर्यप्रसाद पाण्डे

सोमबार, २७ साउन २०७६


उच्च शिक्षा अध्ययन गर्न विदेश जाने नेपाली विद्यार्थीको संख्या प्रतिवर्ष बढिरहेको छ। अस्ट्रेलिया, जापान, साइप्रस, क्यानडा आदि देश विद्यार्थीका रोजाइमा परेका छन्।  


आर्थिक वर्ष २०७५-७६ मा उच्च शिक्षाका लागि ६३ हजार २ सय ५९ नेपाली विद्यार्थीले शिक्षा मन्त्रालयबाट अध्ययन अनुमतिपत्र (नो अब्जेक्सन लेटर) लिए। विश्वका ६९ मुलुक जान ती विद्यार्थीले यस्तो पत्र लिएका हुन्। तीमध्ये कति विद्यार्थी विदेश गए भन्ने यकिन तथ्यांक शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग छैन। तर, पछिल्ला १० वर्षको अवधिमा उच्च शिक्षा अध्ययन गर्न विदेश जाने विद्यार्थी संख्या निकै बढेको मन्त्रालयकै तथ्यांकले स्पष्ट पार्छ। 

ठीक १० वर्षअघि अर्थात् आर्थिक वर्ष २०६५-६६ मा २४ हजार ८ सय २४ जना विद्यार्थीले मात्र नो अब्जेक्सन लेटर लिएका थिए। स्तरीय शिक्षाको खोजीमा विदेशिने विद्यार्थी बढेसँगै नेपालबाट वार्षिक रूपमा ठूलो धनराशि बाहिरिने गरेको छ।
मन्त्रालयका अनुसार यसरी अनुमतिपत्र लिएकामध्ये १५ देखि २० प्रतिशत विद्यार्थी विविध कारणले स्वदेशमै रोकिने गरेका छन्। केही वर्षअघिसम्म विद्यार्थीको रोजाइमा युरोप, अमेरिका, अस्टे«लियामा अब्बल ठहरिएका विश्वविद्यालय तथा कलेज पर्दथे। त्यसो त, त्यतिबेला स्वदेशमा पढाइमा अब्बल र आर्थिक हैसियत राम्रो भएका विद्यार्थीका लागि मात्रै विदेश हो भन्ने आम बुझाइ थियो। तर, पछिल्ला वर्षमा यो सोच बदलिएको छ। सम्पन्न परिवारदेखि मध्यम वर्गका विद्यार्थीलाई पनि सहज रूपमा प्रवेशाज्ञा (भिसा) पाइने हुनाले यसतर्फ विद्यार्थी आकर्षण बढ्न थालेको हो।

लामो समयदेखि नेपाली विद्यार्थीको मुख्य आकर्षक गन्तव्य अस्ट्रेलिया बन्ने गरेको छ। ब्रुनाइ, हङकङ, केन्या, कुवेत, रोमानिया, स्पेन, तान्जानिया, युक्रेनलगायत देशमा विद्यार्थीको ध्यान कमै जान्छ। यी देशमा पढ्न एक वर्षको अवधिमा एक–एक जना विद्यार्थीले मात्र अध्ययन अनुमतिपत्र लिएका छन्।

अस्ट्रेलिया

मन्त्रालयको केशरमहलस्थित वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार सबैभन्दा धेरै विद्यार्थी अस्ट्रेलियाया गएका छन्। एक वर्षको अवधिमा अस्ट्रेलियाका लागि ३६ हजार ३ सय २४ जनाले नो अब्जेक्सन लेटर लिएका छन्। शैक्षिक परामर्श व्यवसायीका अनुसार अस्ट्रेलियाया सरकारको आम्दानीको स्रोतमध्ये विदेशी विद्यार्थीले पढाइको लागि खर्च गरेको रकम तेस्रो स्रोतको रूपमा पर्ने गरेको छ।

अस्ट्रेलियाले विदेशी विद्यार्थीबाट वार्षिक २० खर्ब रुपैयाँ आम्दानी गरिरहेको उनीहरूको भनाइ छ। उक्त रकममध्ये नेपाली विद्यार्थीले वार्षिक एक खर्ब रुपैयाँ पढाइका नाममा अस्ट्रेलियालाई बुझाउने गरेका छन्। विश्वविद्यालय तथा कलेजलाई सुरुको किस्ता बुझाएर गएका विद्यार्थीले उतै गएपछि कमाएर तिर्ने गरेको रकम पनि यसमै पर्छ।

जापान

विद्यार्थीको दोस्रो रोजाइमा जापान परेको छ। त्यहाँका लागि एक वर्षको अवधिमा ८ हजार ५ सय २३ जना विद्यार्थीले अध्ययन अनुमतिपत्र लिएका छन्। पछिल्ला वर्षमा जापान सरकारले नेपाली विद्यार्थीलाई सहज रूपमा प्रवेशको व्यवस्था गरेपछि यो देशतर्फ विद्यार्थी आकर्षित भएका हुन्। यहाँबाट जापान गएकामध्ये अधिकांश विद्यार्थी सुरुमा जापानी भाषा सिक्नका लागि जान्छन्। निश्चित समयसम्म जापानी भाषा सिकेपछि मात्र उनीहरू विश्वविद्यालय वा कलेज भर्ना हुन योग्य हुन्छन्। जापानी भाषा सिक्दै गर्दा पनि विद्यार्थीलाई निश्चित समय काम गर्ने अवसर दिइन्छ।
तर, भाषा सिक्दै गर्दा पैसा कमाउने उद्देश्य लिएर गएका विद्यार्थीले सोचेअनुसार काम गर्न नसकेमा विश्वविद्यालय वा कलेज भर्ना नगरी फेरि जापानी भाषा कक्षामै भर्ना हुने गरेका छन्। सुरुमा सहज रूपमा नेपालबाट प्रवेशको व्यवस्था भएका कारण त्यतातिर जान नेपाली विद्यार्थीले रुचि देखाएको शिक्षा मन्त्रालयका अधिकारी बताउँछन्।

साइप्रस 

साइप्रस पनि पछिल्लो समय विद्यार्थीको आकर्षक गन्तव्य बनेको छ। युरोप महादेशमा माल्टा र लक्जेमबर्गपछि तेस्रो सानो मुलुकको रूपमा रहेको साइप्रस पढ्नका लागि २ हजार ३ सय २ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएको मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका उपसचिव महेश्वर शर्माले जानकारी दिए। विश्वविद्यालय तथा क्याम्पस छनोटमा सहज प्रक्रिया, सहज भिसा प्रक्रियालगायत कारणले साइप्रस नेपाली विद्यार्थीको रुचिमा परेको हो।

भारत

मन्त्रालयबाट नो अब्जेक्सन लेटर प्रदान गरिएको देशमा भारत चौथो नम्बरमा छ। एक वर्षको अवधिमा भारत जान मन्त्रालयबाट २ हजार ५९ जना विद्यार्थीले अनुमतिपत्र लिएका छन्। तर, खुल्ला नाका भएका कारण थुप्रै नेपाली विद्यार्थी स्कुले शिक्षाका लागि समेत भारत जाने गरेका छन्। यद्यपि, विद्यालय तहको अध्ययनका लागि जाने विद्यार्थीले नो अब्जेक्सन लेटर लिन नपर्ने भएकाले कति विद्यार्थी भारतमा पढिरहेका छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन। उच्च वर्गका परिवारले अहिले पनि भारतका महँगा स्कुलमा नानीबाबुलाई पढाइरहेका छन्। हरेक वर्ष भारतका स्कुल सञ्चालकले नेपाली विद्यार्थीलाई लक्ष्य गरेर काठमाडौँलगायत शहरमा शैक्षिक मेला आयोजना गर्ने गरेका छन्

चीन

चीन पढ्न जान १ हजार ८ सय ८१ जना विद्यार्थीले अनुमतिपत्र लिएका छन्। यस देशमा विशेष गरी विद्यार्थी सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस तथा इन्जिनियरिङ र अन्य स्वास्थ्यसँग सम्बन्धित विषय पढ्न जाने गरेका छन्। त्यसबाहेक अन्य विषयको अध्ययनका लागि पनि विद्यार्थी जाने गर्छन्। यस्ता विद्यार्थीलाई विश्वविद्यालय तथा कलेज छनोट गर्न र भर्ना प्रक्रिया अघि बढाउन परामर्श दातृ संस्थाले सहयोग गर्दै आएका छन्। 

क्यानडा

क्यानडा नेपाली विद्यार्थीको वैदेशिक शिक्षाको लागि छैटौँ गन्तव्य बनेको छ। यो देशमा १ हजार ६ सय ७१ जना विद्यार्थीले अध्ययनका लागि अनुमतिपत्र लिएका छन्। झन्झटिलो प्रक्रिया र भिसा पाउन कठिन भएका कारण क्यानडाप्रति नेपाली विद्यार्थीको रुचि कम देखिएको थियो। तर, पछिल्ला वर्षमा यो संख्या बढिरहेको छ। नेपाली विद्यार्थी क्यानडा विशेष गरी स्नातकोत्तर, एमफिल र पीएचडी उपाधिका लागि जाने गरेका छन्। यस्ता विद्यार्थीमध्ये परामर्श दातृ निकायको परामर्शमा भन्दा पनि सीधै विश्वविद्यालयमा सम्पर्क गरेर जाने धेरै छन्।

अमेरिका

धेरै विद्यार्थीको सपनाको देश मानिने अमेरिकामा एक वर्षमा १ हजार ४ सय ९१ जनाले अनुमतिपत्र लिएका छन्। पछिल्लो समय आप्रवासी विद्यार्थीका लागि कडाइ गर्ने हल्ला चलेसँगै यस मुलुकतर्फ विद्यार्थी विकर्षण बढेको परामर्श व्यवसायीहरूको अनुभव छ। भिसा पाउन कठिन हुने तर भिसा पाएर गइसकेपछि जीवन गुजारा गर्न सहज हुने मुलुकका रूपमा अमेरिकालाई लिइन्छ।

न्युजिल्यान्ड

नेपाली विद्यार्थीको आठौँ आकर्षक गन्तव्यका रूपमा न्युजिल्यान्ड रहेको छ। अधिकांश परामर्श व्यवसायीले यो देशमा विद्यार्थी पठाउने गरे पनि पछिल्लो एक वर्षमा १ हजार ३ सय ८५ जनाले मात्र अनुमतिपत्र लिएका छन्। विद्यार्थी आकर्षण रहे पनि सानो मुलुक भएका कारण त्यतातिर जाने विद्यार्थी थोरै हुन्छन्। 

दक्षिण कोरिया

मन्त्रालयको तथ्यांकअनुसार दक्षिण कोरिया पछिल्लो समय नेपाली विद्यार्थीको लागि आकर्षक मुलुक बन्दै गएको छ। यो मुलुकमा जान एक वर्षमा १ हजार १ सय ९८ जनाले अनुमतिपत्र लिएका छन्। रोजगारीका लागि मात्र नेपाली त्यतातर्फ जाने गरेको आम बुझाइ रहे पनि यो तथ्यांकले अध्ययनका लागि पनि विद्यार्थी यो देशमा जाने गरेको पुष्टि हुन्छ। अन्य मुलुकको तुलनामा सस्तो शुल्क, खान-बस्न सजिलो, सहज भिसा प्रक्रिया र भिसा पाउने सम्भावना पनि धेरै भएका कारण विद्यार्थीले यो मुलुकलाई रुचाएका हुन्।

यूएई
 
नेपालीहरूको वैदेशिक रोजगारीको आकर्षक गन्तव्य रहेको युनाइटेड अरब इमिरेट्स (यूएई) पढ्न जाने विद्यार्थीका लागि पनि आकर्षक मुलुक बनेको छ। यो देशमा पढ्न जान एक वर्षमा ८ सय ४१ जनाले एनओसी लिएका छन्। 

कस्तो छ प्रक्रिया ?

उच्च शिक्षाका लागि विदेश जाने योजना बनाएका विद्यार्थीले सर्वप्रथम आफू जान चाहेको देश, त्यहाँंको सरकार र शैक्षिक संस्थाले मान्यता दिएको भाषा परीक्षणसम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्छ। त्यसका लागि विद्यार्थीले आईईएलटीएस, टोफल, पीटीई वा क्याम्ब्रिज एड्भान्स इंग्लिस कोर्समध्ये एकको परीक्षा दिनुपर्छ। यस्तो कोर्समा विद्यार्थीले प्राप्त गर्नुपर्ने अंक विद्यार्थीले पढ्न चाहेका विश्वविद्यालय र विषयअनुसार फरक–फरक हुन सक्छ।

विद्यार्थीले पढ्न चाहेको कलेज वा विश्वविद्यालय, विषय छनोट गरिसकेपछि अध्ययनका लागि आवश्यक पर्ने शुल्क, विद्यार्थीले पढ्ने समयभर लाग्ने खर्चको जोहो गर्नुपर्छ। त्यसका लागि विद्यार्थीले नेपालमा सम्बन्धित देशको सरकारले मान्यता दिएको वित्तीय संस्थामा आफूलाई पढाइ खर्च र त्यहाँ जाँंदा लाग्ने शुल्कबाहेक आवश्यकताअनुसार अन्य रकम पनि जम्मा गर्नुपर्ने हुन्छ।

देशअनुसार जम्मा गर्नुपर्ने रकम र कारोबार गरिरहेको समय अवधि पनि फरक–फरक हुनुपर्छ। यति गरिसकेपछि विद्यार्थीले भाषा परीक्षण परीक्षाको नतिजा, बैंक ब्यालेन्सलगायत आफूले पढ्न चाहेको कलेजले पठाएको कन्फर्मेसन अफ इन्रोलमेन्ट (सीओई) सहित अन्य कागजपत्र लिएर भिसा प्राप्तिका लागि निवेदन दिनुपर्छ। भिसाको लागि निवेदनसँगै विद्यार्थीले सम्बन्धित देशको दूतावासले तोकेको मापदण्ड अथवा उसैले तोकेको मेडिकलमा स्वास्थ्य परीक्षण गराउनुपर्छ। साथै, उनीहरूले बायोमेट्रिक्स परीक्षण पनि गर्नुपर्छ।
यी सबै प्रक्रिया पूरा गरिसकेपछि कहिलेकाहीँ सम्बन्धित मुलुकका दूतावासले थप अध्ययनका लागि थप कागजपत्र माग्न पनि सक्छ। अथवा, टेलिफोनबाट पनि सम्बन्धित विद्यार्थीसँग केही जानकारी लिन सक्छ। सबै प्रक्रिया पूरा गरेर विद्यार्थीले भिसा पाएपछि आफू अध्ययन गर्न जाने कलेजको ठेगाना, त्यहाँं गएपछि बसोबास गर्ने स्थान तथा विमानस्थलबाट आफू बस्ने स्थानसम्म लिन पुग्ने तरिकाबारे अध्ययन गर्नुपर्छ। 

मन्त्रालयबाट एनओसी लिएका विद्यार्थी विवरण 
आर्थिक वर्ष            एनओसी लिएका विद्यार्थी

२०६६-६७            २६,९१३
२०६७-६८            ११,९१२
२०६८-६९            १०,२५८
२०६९-७०            १६,४९९
२०७०-७१            २८,०२५
२०७१-७२            ३०,६९६
२०७२-७३            ३२,४८९
२०७३-७४            ५०,६५९
२०७४-७५            ५८,७५८
२०७५-७६            ६३,२५९

तपाईको कमेन्ट

मुख्य समाचार