मेहदीमा ‘मन्त्र’

writer

अस्मिता खड्का

बिहिबार, २३ साउन २०७६


साउने महिना लागेसँगै नेपाली महिलाहरूको हातमा हरियो, रातो, पहेँलो चुरा, मेहन्दी देखिन थालिएको छ। मेहदी फेसनजस्तै भएपछि त्यसका नयाँ–नयाँ डिजाइन बजारमा भित्रिन थालेका छन्। यतिखेर बजारमा अरेबियन, राजस्थानी, पञ्जाबी, पाकिस्तानी, म्याजेस्टिक मन्त्रलगायत डिजाइन चलेका मेहदी आर्टिस्ट सुवर्ण श्रेष्ठ बताउँछन्। ‘पहिला ग्राहकलाई जस्तो डिजाइन बनाइदिए पनि हुन्थ्यो,’ उनी भन्छन्, ‘आजभोलि पुराना र आधुनिक डिजाइन मिक्स गरेर नयाँ डिजाइन निकाल्ने चलन आएको छ।’

नयाँ र पुरानोको फ्युजन गर्दा फरक र सुन्दर डिजाइन बन्ने सुवर्ण बताउँछन्। ‘परम्परागत डिजाइनमा फूलबुट्टा र भगवान्का नाम मात्र हुन्थे,’ उनी भन्छन्, ‘नयाँ डिजाइनमा चाहिँ भगवान् शिवको सांकेतिक रूपमा त्रिशुल÷त्रिनेत्र बनाइ माग्छन्।’ फ्युजन डिजाइनमा समय र खर्च बढी लाग्ने उनी बताउँछन्। ‘महँगो भए पनि अहिलेका केटीहरूले त्यस्तै डिजाइन मन पराउँछन्,’ उनी भन्छन्।

यस्तो डिजाइनलाई ‘डिभाइन’ र ‘म्याजेस्टिक मन्त्र’ भनिने उनी बताउँछन्। मेहदी आर्टिस्टबाट म्याजेस्टिक मन्त्र बनाउँदै गरेकी प्रिया लामा आफूलाई धर्ममा धेरै आस्था नभएको बताउँछिन्। ‘मलाई धर्ममा त्यति धेरै आस्था छैन,’ उनी भन्छिन्, ‘तर, मेहदीको डिजाइनमा भने मन्त्र लेखेकी छु।’ उनले आफ्नो हातमा बौद्ध धर्मको मन्त्रको डिजाइन कोरेकी छिन्। ‘मन्त्रले मनलाई शान्त बनाउँछन्,’ उनी भन्छिन्, ‘सकारात्मक सोच निर्माण गर्छ।’

काठमाडौँ, न्युरोडको फुटपाथमा मेहदी बनाउन बसेका छन्, भारत, बिहारका मुकेश मण्डल। यसपालि आफूले महिलाहरूको हातमा राजस्थानी, पञ्जाबी, हरियाणवी र अरेबियन डिजाइन बढी बनाएको उनी बताउँछन्। ‘पहिले बिहेमा लगाउने मेहदी डिजाइन र साउनमा लगाउने डिजाइन उस्तै–उस्तै थिए,’ उनी भन्छन्, ‘अहिले त्यस्तो छैन। विवाहित महिलाले धेरैजसो हातै भर्ने गरी राजस्थानी, पञ्जाबी मेहदी डिजाइन बनाउँछन्। युवतीहरूले भने अरेबियन डिजाइन मन पराउँछन्।’ 

अहिले ‘स्टोरी टेलिङ’ डिजाइन पनि चलेको मेहदी आर्टिस्ट मेघा श्रेष्ठ बताउँछिन्। ‘यो डिजाइन विशेष गरी युवतीले बढी रुचाउँछन्,’ उनी भन्छिन्, ‘उनीहरूले आफ्नो जीवनमा भएको महŒवपूर्ण क्षणलाई सम्झिने गरी विभिन्न सांकेतिक रूप दिएर मेहदी डिजाइन बनाइमाग्छन्।’ यस्ता डिजाइनमा आफू घुम्न गएको ठाउँ, मान्छेको नाम र रमाइलो क्षणलाई वर्णन गर्न सांकेतिक चिन्ह बनाइने श्रेष्ठ बताउँछिन्। 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि