क्यान्टिन गफ : ‘सानैदेखि यौन शिक्षा दिनुपर्छ’

writer

सम्पूर्ण

आइतबार, १८ कार्तिक २०७५



काठमाडौँ, सलम्बुटारस्थित सुषमा कोइराला मेमोरियल कलेजको क्यान्टिनमा चिया र खाजा खाँदै गफिँदै थिए, शिरीषा सिलवाल, सविना राई, सिमरन शाक्य, सोनिया खतिवडा, सुम्निमा राई। उनीहरू बीएससी दोस्रो वर्षका विद्यार्थी हुन्। 


सोनियाः आज हामी के खाजा खाने ?
शिरीषाः क्यान्टिनमा मःमः र चाउमिनबाहेक के पाउँछ र ? म त चाउमिन खान्छु।
सोनियाः लल सबै जना चाउमिन खाऔँ।
सविनाः म त मःमः खान्छु बिहानबिहानै चाउमिन के खानु ?
सोनियाः शिरीषा, अस्ति विदेशबाट आ’को तेरो पल्लो घरको अंकलले त्यसको भतिजीलाई कस्तो नराम्रो नजरले हेरिरहेको थियो। मलाई त चित्त बुझेन।
सुम्निमाः के भन्छ यो ? 
शिरीषाः हाम्रो घरनजिकको एउटा अंकलले उसको भतिजीलाई नराम्रो नजरले हेर्छ भनेकी सोनियाले। हो मलाई पनि त्यो मान्छेको नियत ठीक लाग्दैन। 
सोनियाः अझ घरमा एक्लै भएको बेलामा आउँछ। त्यो नानीको ममीबाबा अफिस जानुहुन्छ। नानी स्कुलबाट घर फर्किने बेला सधैँ घरमा बस्छ त्यो मान्छे। मैले अस्ति घर बसेको बेलामा याद गरेकी थिएँ। 
सिमरनः त्यो नानीको उमेर चाहिँ कति हो ?
शिरीषाः त्यस्तै आठ÷नौ वर्षजति होला। टू क्लासमा पढ्छे। 
सविनाः सानै रैछिन्। उनलाई त त्यो पापीको नियत थाहा छैन होला। 
शिरीषाः केटी नै नदेख्या जस्तो गर्छ। हामीलाई पनि कसरी हेर्छ ! उसको अगाडि परियो भने माथिदेखि तलसम्म हेर्छ।
सोनियाः म त उसलाई जहिल्यै पनि चकलेट लिएर गएको देख्छु। गाउँमा कतिको मुखबाट त्यो मान्छे ठीक छैन भनेर सुनेकी छु।
सुम्निमाः अनि, त्यो नानीको आमाबुबाले ख्याल गर्दैनन् यस्ता कुरा। 
शिरीषाः छोरी भन्दै आउँछ चकलेट बोकेर। बच्चा न हो मक्ख भइहाल्छ। ममीबाबा हुँदा चाहिँ आउँदैन फेरि।
सविनाः तिमीहरूलाई त्यस्तो लागेको भए बच्चाको ममीबाबालाई भनदेऊ न। उनीहरूले नोटिस गर्लान् नि !
शिरीषाः अँ, भन्नुपर्ला जस्तो छ।
सोनियाः के हुँदै गा’को होला हाम्रो देशमा। घरमा त्यस्तै, बाटोमा त्यस्तै झन् सार्वजनिक बसका त के कुरा गर्नु ? 
सिमरनः त्यही त, आजकल बलात्कारका समाचार कति छापिएका ? न कानुनले केही गर्छ, न सरकारले। त्यसलै बलात्कारीको हौसला बढेको छ।
सविनाः कानुन र सरकारले केही गर्ला भनेर बस्नुभन्दा पनि बालबालिकालाई ‘गुड टच’ र ‘ब्याड टच’ बारे ज्ञान दिनुपर्छ। बच्चाहरूलाई सानैदेखि यौन शिक्षा दिनुपर्छ। 
शिरीषाः हो भन्या, मान्छेहरूलाई नराम्रो र राम्रो छुवाइ के हो ? कस्तो हो ? भन्ने ज्ञान छैन।
सुम्निमाः यस्ता कुरा त स्कुलमा सानो कक्षादेखि नै पढाउनुपर्ने हो।
शिरीषाः कम्मर, छातीमा ब्याड टचबारे कतिलाई थाहै छैन। मैले त स्कुलमा यस्तो केही सिकिनँ। बीएस्सी पढ्दा मात्र थाहा पाएँ। म पनि बसमा कति पटक नराम्रो छुवाइको शिकार भएकी रहेछु। अहिले पढेपछि थाहा पाएँ।
सविनाः हामीलाई पनि स्कुलमा यस्तो केही सिकाइएन। सर लजाएर आफैँ पढ भन्नुहुन्थ्यो।
सिमरनः आजभोलि त कुनै मान्छेले एकोहोरो मलाई हेर्‍यो भने नि ‘कतै केही गर्ने पो हो कि’ भनेर डर लाग्छ।
सोनियाः स्कुलदेखि नै यौन शिक्षा दिनु जरुरी भइसक्यो। यसो हुँदा घरमा आमाबुबा पनि सर्तक हुन पाउँछन्। 
शिरीषाः तिम्रो कुरा एकदमै ठीक हो, सोनिया। जनचेतनाको कमी छ नेपालमा। प्य्राक्टिकली बुभाउन सकियो भने प्रभावकारी हुन्थ्यो होला।
सुम्निमाः समाज सेवाका नाममा अनेकथरी काम गर्नेले यसो सेक्स एजुकेसन दिनु नि बच्चालाई। 
सिमरनः अरू धेरै गर्न नसके ‘गुड टच’ र ‘ब्याड टच’ मात्र सिकाए पनि धेरै राम्रो हुन्थ्यो।
सविनाः अँ, यसो हुँदा धेरै बालबालिका यौन शोषणबाट बच्थे।
सुम्निमाः अनि, शिरीषा तिमीले त्यो नानीको ममीबाबालाई भनिदेऊ है। आफूले सकेजति हामीले पनि गर्नुपर्छ।
सोनियाः हो हो हामीले भन्नुपर्छ उनीहरूलाई।
शिरीषाः अँ उनीहरूलाई भेटेर त्यो अंकलबारे भनौँला। अहिले चाहिँ क्लासतिर लागौँ।


प्रस्तुतिः मेनुका कोइराला


 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि