स्कुल स्मृति : ‘सरहरूको अनेक नाम राख्थ्यौँ’

writer

सम्पूर्ण

आइतबार, १८ कार्तिक २०७५


केदार घिमिरे, हास्य कलाकार

कक्षा पाँचसम्म मकवानपुरको सिमासमा रहेको कालिकादेवी विद्यालयमा पढेँ। त्यहाँ म जेहेनदार विद्यार्थी थिएँ। सबै शिक्षकले माया गर्नुहुन्थ्यो।

कक्षामा सधैँ फस्ट हुन्थेँ। त्यसपछि कान्तिदेवी विद्यालय पढेँ। त्यहाँ पनि मेरो पढाइ राम्रै थियो। त्यतिबेला पञ्चायत शासन थियो। पञ्चायतको विरोध गर्दै शिक्षकहरूले स्कुल छोडे। पढाउने शिक्षक नभएकाले त्यो विद्यालय छोडेर म अर्को विद्यालयमा गएँ।

ललितपुर भट्टेडाँडाको महाकाली माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएँ। मेरो पढाइ बिस्तारै खस्किँदै गयो। कक्षा आठमा पुग्दा म नपढ्ने भइसकेको थिएँ।

पढाइभन्दा कवितामा बढी ध्यान दिन्थेँ। कवितावाचनमा पहिलो हुन्थें। स्कुलमा सबैले प्रशंसा गर्थे। कविताको लत लागेको थियो। त्यसको नतिजा कक्षा नौमा फेल भएँ। पहिलो हुने विद्यार्थी फेल भएपछि साह्रै लाजमर्दो भयो। सँगैका साथी १० मा पढ्द थाले, आफू चाहिँ कक्षा नौमा। पढ्न लाज लाग्यो। स्कूल फेरें। हेटाँडाको वंशगोपाल विद्यालयमा कक्षा नौमा भर्ना भएँ। त्यहीबाट एसएलसी पास गरेँ। 

स्कूल पढ्दाताका लुरे, खासै नबाल्ने स्वभावको थिएँ। साथीहरू सबैले हेप्थे। ‘बिराले’ भनेर जिस्काउँथे। मेरो अनुहार पनि बिरालेजस्तै थियो। अलि ठूलो भएपछि सरहरूले ‘सानो कवि’ भन्नुहुन्थ्यो। एसएलसीका बेला सबै साथी सँगै बसेर पढ्थ्यौँ। राति ८–९ बजेतिर नुहाउन जान्थ्यौँ। उखु चोरेर खान्थ्यौँ। साथीहरूसँग मिलेर अरूको दाउरा पनि चोरियो। सरहरूका अगाडि सोझो बने पनि एकदमै फटाहा थिएँ। 

हेटौँडामा पढ्दा एक जना मण्डल सर हुनुहुन्थ्यो। उहाँ सधैँ ‘तिमीहरूलाई चार जुत्ता हान्छु’ भन्नुहुन्थ्यो। हामीले सरको नामै ‘चार जुत्ता’ राखिदिएका थियौँ। एक जना सरका आँखा साना र मुख चाहिँ ठूलो थियो। उहाँको नाम ‘मैरी सर’ भन्ने गरेका थियौँ। जति फटाहा भए पनि स्कुलमा गर्लफ्रेन्ड भने बनाउन सकिएन। अरूका गर्लफ्रेन्डका लागि चिठी बोक्ने, साथीहरूको गर्लफ्रेन्डसँग झगडा पारदिने काम चाहिँ खूब गरियो। 


प्रस्तुतिः मेनुका


 

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि