पहिले मिस नेवाः अहिले मिस लिपि

writer

सृजना खड्का

बिहिबार, १६ साउन २०७६


‘मिस नेवाः २०११’ सुनीता डंगोल रञ्जना लिपिको प्रचार–प्रसारमा लागिपरेकी छिन्। त्यसका लागि वर्कसप आयोजना गर्छिन्। फेसबुकमा ‘क्याली जात्रा’ पेज बनाएकी छिन्। र, चोक–चोकमा लिपि गफ गर्ने गर्छिन्।


‘मिस नेवाः २०११’ की विजेता हुन्, सुनीता डंगोल। अहिले उनी रञ्जना लिपि अभियन्ताका रूपमा परिचित छिन्। त्रिभुवन विश्वविद्यालयबाट सोसल वर्क विषयमा स्नातकोत्तर गर्दै छिन्। सानैदेखि कुनै न कुनै काममा व्यस्त हुन् रुचाउँथिन्। ‘काम नगरी खाली बस्न मन लाग्दैनथ्यो,’ उनले भनिन्, ‘त्यसैले प्लस टू सकिनेबित्तिकै रेडियोमा काम गर्न थालेँ।’ 

काठमाडौँमा हुर्किइन् उनी। परिवारको आर्थिक अवस्था कमजोर थियो। ‘आर्थिक रूपमा सक्षम नहुँदा अरूको हेपाइ खानुपर्छ भन्ने कुरा बुझेकी थिएँ,’ उनले भनिन्। प्लस टूपछि ‘मिस नेवाः’ मा आवेदन खुलेको थाहा पाइन्। आत्मनिर्भर हुन यो एउटा प्लेटफर्म हुन सक्ने उनलाई लाग्यो। ‘त्यहाँ गएर आफ्ना लागि केही गर्ने नयाँ बाटो खोल्छु भन्ने लाग्यो,’ उनले भनिन्, ‘मनमनै ‘जित्नलाई होइन, सिक्नलाई जाँदै छु’ भन्दै फारम भरेँ।’ 

बुबा बित्दा

मिस नेवाःको तयारी गरिरहेकै बेला उनका बुबा बिरामी भए। ‘त्यतिबेला ‘ट्यालेन्ट सो’ का लागि बिहानै सातदोबाटो डान्स सिक्न जान्थेँ,’ उनले भनिन्, ‘त्यसपछि रेडियोमा कार्यक्रम रेकर्डिङ गरेर दिउँसो कलेज र बेलुका मिस नेवाःको ट्रेनिङ भ्याउथेँ।’ ट्यालेन्ट सो हुनुभन्दा सात दिनअघि बुबा बिते। ‘घरमा मान्छे बित्दा बाहिर निस्किनु हुँदैन’, ‘ऐना हेर्नु हुँदैन’, ‘मेकअप गर्नु हुँदैन’ भन्ने संस्कार रहेकाले तीन दिनसम्म घरमै बसेको उनले बताइन्। ‘तीन दिनपछि मैले शोकलाई शक्तिमा बदल्ने निर्णय गरेँ,’ उनले भनिन्, ‘हुने कुरा भइसक्यो। ‘आफ्ना लागि कुरिरहेको अवसरसम्म आफैँ पुग्नुपर्छ’ भन्ने लाग्यो।’ यसमा उनलाई परिवारको पूर्ण साथ थियो। 

तर, प्रतियोगिताका लागि चिटिक्क परेर घरबाट निस्किँदा छिमेकी झ्यालबाट हेरिरहेका हुन्थे। ‘‘बुबा बितेको तीन दिनमा मेकअप गरेर क्याट वाक गर्न हिँडी’, ‘बाउ बितेको बेलामा के–के न पाउलाजसरी के हिँडेकी होला’ जस्ता वाक्य धेरैको मुखबाट सुनेँ,’ उनले भनिन्, ‘पहिला सिक्छु मात्रै भनेर फर्म भरेको मलाई उनीहरूको व्यवहारले जसरी भए पनि जित्नुपर्छ भन्ने बनायो।’ 

रोल मोडल बन्ने सपना

बुबा बितेको १३ दिनपछि मिस नेवाःको अन्तिम प्रतिस्पर्धा थियो। टोल समाजमा आफूलाई बलियो बनाएर उभ्याउनका लागि जित्नु जरुरी थियो। ‘फाइनलको दिन दायाँबायाँ केही नसोची आफ्नो शत प्रतिशत दिएँ,’ उनले सम्झिइन्, ‘बुबा बितेको १३ दिनमा मुस्कुराउँदै केही नभएको जसरी स्टेजमा उभिनु नै मेरा लागि ठूलो कुरा थियो। आफूलाई सम्हाल्दै बेस्ट दिने कोसिस गरेँ।’ प्रतियोगितामा उनी विजेता बनिन्। ‘उपाधि जितेपछि सबै रुन्छन्,’ उनले भनिन्, ‘म पनि रोएँ। तर, मेरो रुवाइ फरक थियो। म जितेर होइन, बुबा बितेको १३ दिन सम्झिएर रोएकी थिएँ।’ 

‘घर जाँदा आामाले धेरै बेरसम्म क्राउन नै फुकाल्न दिनुभएन,’ उनले थपिन्, ‘मेरो सफलतामा त्यो दिन आमा पनि धेरै रुनुभयो।’ त्यो बेला उनलाई बुबाको निकै याद आयो। ‘स्कुलमा फस्ट हुँदा, रेडियोमा कार्यक्रम चलाउँदा चोकभरिका मनिसलाई सुनाउनुहुन्थ्यो,’ उनले बुबालाई सम्झिइन्, ‘मिस नेवाःको उपाधि जितेको देख्न पाउनुभएको भए कति खुशी हुनुहुन्थ्यो होला !’ त्यसपछि जीवन बदलिएको, आत्मविश्वास बढेको सुनीताले बताइन्। ‘प्रतिस्पर्धामा जितेपछि जिन्दगीले एक हिसाबले फड्को मार्‍यो,’ उनले सुनाइन्, ‘आत्मविश्वास बढ्यो। मानिसहरूले विश्वास गर्न थाले। मेरा लागि नयाँ–नयाँ बाटा खुल्न थाले।’

प्रतियोगितापछि धेरैले उनलाई सोधे ‘अब के गर्छौ ?’ उनी भन्थिन्, ‘मलाई मोडल होइन, रोल मोडल बन्नु छ।’ प्रतियोगीबाट सुरु भएको उनको यात्रा अहिले प्रशिक्षकसम्म पुगिसकेको छ। उनी मिस नेवाःको संयोजन गर्नेदेखि कार्यक्रममा एमसीसमेत गर्दै आइरहेकी छिन्। 

रञ्जना लिपिको मोह

स्नातकोत्तरमा भर्ना हुनुअघि उनी एक पटक रञ्जना लिपि सिक्न गएकी थिइन्। लिपि उनलाई एकदमै मन पर्‍यो। ‘रञ्जना लिपि लेखिसकेपछि एकदमै सुन्दर देखिन्थ्यो,’ उनले भनिन्, ‘अक्षर आफैँमा एउटा उत्कृष्ट कलाजस्तो लाग्थ्यो। रेडियो कार्यक्रम, मिस नेवाः हुँदै मेरो खुशी रञ्जना लिपिमा पाएँ।’

यो लिपिबारे बुझ्दै गएपछि उनलाई दुःख लाग्यो। राष्ट्रिय लिपि भनिएको रञ्जना लिपिबारे थोरैलाई मात्र थाहा थियो। ‘एक सयमा तीन जना यो लिपि पढ्न जान्ने मानिस भेटिएनन्,’ सुनीताले सुनाइन्, ‘दिमाग रन्थनियो। आफूले सिकेपछि अरूलाई पनि सिकाउँछु भन्ने लाग्यो। अरू युवालाई पनि यसमा तान्ने योजना बनाउन थालेँ।’ यो अभियानमा उनलाई साथ दिए, ग्राफिक डिजाइनर आनन्द महर्जनले। ‘बौद्ध धर्मका अधिकांश मन्त्र यसै लिपिमा छन्,’ उनले भनिन्, ‘नेपालका धेरै शिलालेख पनि रञ्जना लिपिमै छन्। अहिले हामीले नसिके कसले सिक्छ ? हामीले नपढे कसले पढ्छ ? कसैले नबुझेपछि इतिहास लोप हुन्छ।’ 

‘बीउ छरे बिरुवा उम्रिन्छ’ 

सुनीता र आनन्दले सुरुमा रञ्जना लिपि सिकाउने वर्कसप राखे। ‘मानिसहरूले हाम्रो वर्कसपलाई मोटरसाइकल बनाउने वर्कसप भनिठान्थे,’ उनले हाँस्दै भनिन्। २०७५ साल वैशाख १ गते उनीहरूले काठमाडौँ, इतुम्बहालमा रञ्जना लिपिबारे पहिलो वर्कसप गरे। ‘१०–१५ जना नि हुन्छन् कि हुँदैनन् भन्दै धुकचुक थियो,’ उनले भनिन्, ‘त्यो दिन वर्कसपमा ३० जनाले सहभागिता जनाए।’ 

अहिलेसम्म उनीहरूले २७ वटा वर्कसप गरिसके। काठमाडौँ उपत्यकासहित काभे्र, लमजुङ, पोखरालगायत ठाउँमा रञ्जना लिपि सिकाइसकेका छन्। अहिले वर्कसपमा सयदेखि डेढ सय हाराहारीमा मानिस हुने उनले बताइन्। ‘एउटा वर्कसपबाट १० जना मात्र प्रेरित भए भने हाम्रो उद्देश्य पूरा हुन्छ,’ उनले भनिन्, ‘वर्कसपको प्रभावले अहिले लिपि पढाउने शिक्षकको डिमान्ड पनि बढेको छ। एसईई र प्लस टू सकिएपछि लिपि सिक्ने ट्रेन्ड बढ्न थालेको छ।’ 

‘लिपि सिक्न चाहनेका लागि उमेरको कुनै छेकबार छैन, जातको छेकबार छैन, देशको छेकबार छैन,’ सुनीताले भनिन्, ‘हाम्रो वर्कसमा विदेशी पनि लिपि सिक्न आउँछन्।’ अहिले धेरै ठाउँको नाम रञ्जना लिपिमा लेखिन थालिएको उनले बताइन्। ‘त्यो पनि हाम्रो लागि उपलब्धि नै हो,’ उनले भनिन्, ‘हामीले बीउ छर्ने काम मात्र गरेका हौँ, बिरुवा अब आफैँ उम्रिन्छ।’

क्याली जात्राको कथा

अहिले उनीहरूले ‘क्याली जात्रा’ नामक एउटा गु्रप बनाएका छन्। यो फेसबुक पेज हो। सुरु गरेको आठ महिना भयो। यसले रञ्जना लिपिको प्रचार–प्रसार गर्ने काम गर्छ। क्याली जात्रामा अहिले ग्राफिक डिजाइजरदेखि भिडियोग्राफर, व्यापारी, विद्यार्थी, शिक्षकलगायत सबै क्षेत्रका मानिस जोडिएका छन्। 

क्याली जात्राले बेला–बेला ‘लाइभ क्लाली जात्रा’ पनि गर्छ। त्यसमा सहभागीलाई उनीहरूको नाम रञ्जना लिपिमा लेखेर दिइन्छ। ‘आफ्नो नाम रञ्जना लिपिमा लेखेको देखेर कतिले यो लिपि सिक्ने इच्छा राख्नुहुन्छ,’ सुनीताले भनिन्, ‘कोही भने यसरी लेखिएको आफ्नो नाम घरको भित्तामा फ्रेम गरेर राख्छन्। यसले पनि रञ्जना लिपिको प्रचार–प्रसारमा निकै सहयोग गरेको छ।’

सुरुको दिनदेखि अहिलेसम्म आफूहरू स्वयंसेवी भएर काम गरिरहेको उनले बताइन्। ‘गाडी भाडा, खाजा कलम–कापी सबैको व्यवस्था हामी आफैँ गथ्र्यौं,’ उनले भनिन्, ‘पछिल्लो समय ‘हामी सहयोग गर्छौं’ भन्नेहरू पनि भेटिन थालेका छन्। त्यसले पनि हामीलाई काम गर्न हौसला मिलेको छ।’ समय अभाव हुनेले अनलाइन सिक्न खोज्छन्। उनीहरूको लागि युट्युबमा ट्युटरियल भिडियो पनि राखेका छन्। पेपर र पेनमा मात्र सीमित नहुने योजनामा ‘नेपाल लिपि रञ्जना लिपि एप’ पनि उनीहरूले बनाएका छन्। जसमा देवनागरीमा टाइप गरेको शब्द रञ्जना लिपिमा परिणत हुन्छ। एप प्रयोग गरेर पनि रञ्जना लिपि सिक्न सकिने सुनीताले बताइन्। यो अभियानमा उनीहरूलाई नेपाल लिपि गुठीले साथ दिएको छ। ‘आफूले गरेको कामको हल्ला गर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘हल्लाको मतलब सियो भाँचेर, फाली भाँचेको धाक दिने होइन, गरेको कामको जानकारी दिनु हो। नत्र, अरूलाई कसरी जानकारी होस् त ?’

क्याली जात्रालाई अझै बृहत् रूपमा लैजाने उनको योजना छ। ‘रञ्जना लिपिलाई बन्द कोठाबाट खुला आकाशमा पुर्‍याउने कोसिस जारी रहनेछ,’ उनले भनिन्। 

चोक–चोकमा लिपि गफ

केही महिनायतादेखि उनीहरूले एउटा अभ्यासको थालनी गरेका छन्। त्यो हो, ‘लिपि गफ’। ‘यसमा हामी टोलछिमेक, स्कुल, कलेजमा बसेर लिपिबारे गफ गछौँ,’ उनले भनिन्, ‘नेपाल भाषा र लिपिलाई अझै अगाडि कसरी बढाउन  सकिएला ? भनेर मानिसहरूसँग सल्लाह लिन्छाँै। गफ गर्छौं।’ 

‘सुरुको लिपि गफ एउटा होटलमा आफैँ पैसा तिरेर गरेका थियौँ,’ सुनीताले थपिन्, ‘अर्को पटक भने एउटा कलेजले ‘हाम्रोमा आएर लिपि गफ गरिदिनुस्’ भनेर आग्रह गरेपछि त्यहाँ गर्ने योजनामा छौँ। अहिले विभिन्न टोल, चोकबाट निम्ता आउन थालेको छ।’ 

तपाईको कमेन्ट

मुख्य समाचार