शाकाहारीविरुद्ध  ‘मासु अभियन्ता’

writer

सम्पूर्ण

बिहिबार, १६ साउन २०७६


इंग्ल्यान्डको राजधानी लन्डनका बासिन्दा डियोनिजी ख्लेब्निकोभ र गाटिस लाजडिन्स बेला–बेला समाचारमा आउने गर्छन्। आफूलाई ‘मासु अभियन्ता’ भन्ने यी दुई चर्का अभियन्ता शाकाहार र शाकाहारीविरुद्ध विभिन्न गतिविधि गरिरहेका हुन्छन्। आफ्ना युट्युब च्यानलमार्फत उनीहरू शाकाहारीको खेदो खनिरहेका हुन्छन्। 

गत मार्च ३० मा लन्डनको सोहोस्थित शाकाहारी बजारमा यी दुई मासु अभियन्ताले सिंगै लोखर्केको काँचो मासु खाएका थिए। उनीहरूको मांसाहारलाई धेरैले भिडियोमा कैद गरेका थिए। 

भिडियोमा २२ वर्षीय ख्लेब्निकोभ र २९ वर्षीय लाजडिन्सलाई मान्छेहरूले गाली गरेको सुन्न पाइन्छ। तर, उनीहरू कसैको पर्वाह नगरी लोखर्केको मासु खाइरहेका हुन्छन्। ‘मीठो छ, यसलाई काँचै खानुपर्छ,’ लाजडिन्स भनिरहेका हुन्छन्, ‘पकाएर खायो भने यसको पौष्टिकता नष्ट हुन्छ।’ 

प्रहरीले उनीहरूलाई सार्वजनिक स्थानमा उपद्रो मच्चाएको आरोपमा समातेको थियो। दुवैलाई दुई सय पाउन्ड जरिवाना तिराइएको थियो। 

लाजडिन्सले त्यसअघि पनि यस्तै मांसाहारी हर्कत गरेका थिए। लन्डनको ब्राइटनमा एउटा शाकाहारी भेला हुँदै गर्दा उनले सुंगुरको टाउकोको मासु खाएका थिए। यो पनि शाकाहारीविरोधी काम थियो। उनले त्यतिबेला भनेका थिए, ‘शाकाहार भनेको मानवीय क्रूरता हो। शाकाहारी भोजनको पोषण मूल्य हुँदैन।’ 

शाकाहारविरुद्ध उनले केही युट्युब भिडियो बनाएका छन्। ‘थकित शाकाहारी मानसिक रोगको लक्षण देखाइरहेको छ’, ‘जीवन भनेको अरूको ऊर्जा उपभोग गर्नु हो’जस्ता लामा शीर्षक भएका उनका भिडियोमा शाकाहारीको उछित्तो काढिएको हुन्छ। 

तपाईको कमेन्ट