‘सडक हो कि पोखरी?’

writer

आशक्ति फुयाल

बिहिबार, १६ साउन २०७६


ओमबहादुर प्रधान, चालक, कुलेश्वर, काठमाडौँ , बा १ ज ५१४३।

मेरो घर सिन्धुपाल्चोक हो। काठमाडौँमा ट्याक्सी चलाउन थालेको लगभग ११ वर्ष भयो। गाउँबाट छोराछोरी पढाउन भनेर काठमाडौँ आएको हुँ। मेरा दुई बच्चा छन्। छोरी आठ कक्षामा र छोरा चार कक्षामा पढ्छ। अहिलेसम्म यही ट्याक्सीको भरमा गुजारा चलेको छ। गाउँबाट काठमाडौँ आउँदा अरू काममा खासै कमाइ भएन। त्यसपछि ड्राइभिङ सिकेँ। पहिला अरूको गाडीमा लोड–अनलोड गर्ने काम गर्थें। मेरो मामा पनि काठमाडौँमा ट्याक्सी चलाउनुहुन्थ्यो। उहाँको सल्लाहअनुसार ट्याक्सी लाइनमा आइयो।

काठमाडौँका ट्याक्सी चालकलाई बाटोले साह्रै दुःख दिएको छ। बाटोको हालत एकदमै खत्तम छ। राजधानीजस्तो ठाउँको बाटो रोपाइँ गर्ने खेतजस्तो छ। बाटोमा जताततै खाल्डाखुल्डी छन्। बाटोमा गाडी चलाएको हो कि पोखरीमा पत्तै हुन्न। पानी मात्र होला भनेर ट्याक्सी लग्यो भने माटोमा फसिहाल्छ। बाटोको हालत देखेर त ‘यो पेशामा किन आइएछ’ भन्ने लागिरहेको छ। 

पानी परे हिलो, पानी नपरे धुलोधुँवाले हिँडिसक्नु बाटो हुन्न। बाटोले नै गर्दा ट्याक्सी पटक–पटक बिग्रिरहन्छ। कुन बेला ट्याक्सी कहाँ गएर फस्छ, कहाँ गएर ठोकिन्छ, पत्तै हुन्न। कमाएको जति पैसा ट्याक्सी बनाउँदैमा सकिन्छ। पार्टपुर्जाको मूल्य त्यस्तै बढेको छ। छोइनसक्नु छ। बाटो राम्रो भइदिए हामीजस्ता साना सवारीसाधन चलाउनेलाई काम गर्न सहज हुन्थ्यो। 

ट्राफिक जामले पनि उस्तै दुःख दिन्छ। जाम भएपछि प्यासेन्जर बीच बाटोमै ओर्लिएर जाने गर्छन्। यसो हुँदा घण्टौँ जाममा फसेर समय मात्र खेर जान्छ, कमाइ सुको हुँदैन। खाली हात फर्किनुपर्छ। जाम पनि यति हुन्छ कि त्यति समयसम्म दुई टिप गर्न भ्याइसकिन्थ्यो। 

प्यासेन्जर पनि अनेकथरी भेटिन्छन्। कोही–कोही त साह्रै फटाहा हुन्छन्। फटाहा प्यासेन्जरका कारण दुई पटक समस्यामा परिसकेँ। ‘गुरुजी यो ठाउँ जाऊँ’ भन्छन्। पुगेपछि ‘ल पर्स बिर्सिएछु’ भन्छन्। आफ्नो घर भनेर अर्काको घर चिनाउँछन्। गलत नम्बर दिएर जान्छन्। फर्किएर आउँदैनन्। ट्याक्सी चालकलाई सबैले हैरान पारे।

तपाईको कमेन्ट

मुख्य समाचार