‘सार्वजनिक शौचालयले घरको सपना देखायो’

writer

सम्पूर्ण

शनिबार, १७ कार्तिक २०७५


घर संवाद : शिवहरि पौडेल, हास्य कलाकार


रिनधन गरेर नयाँ नैकापमा आठ आना जग्गा किनेँ। बैँकबाट ऋण लिएँ र घर बनाएँ। पैसाको अभावले दुई वर्षसम्म झ्यालमा सिसासमेत राख्न सकिनँ। प्लास्टिक ठोकेर बसेँ। खेतको बीचमा घर बनाएकाले भ्यागुता ट्वारट्वार कराउँथे। त्यो पनि आफूलाई सारंगीको धुनजस्तो लाग्थ्यो।


काठमाडौँमा एउटा घर होस् भन्ने सपना थियो कि थिएन?

२०४० सालमा हेटौँडाबाट काठमाडौं आएको थिएँ। त्यो बेला काठमाडौँमा घर बनाउनु मेरो लागि कल्पनाभन्दा बाहिरको कुरा थियो। सपना त थियो। तर, त्यो सपना पूरा होला भन्ने चाहिँ लागेको थिएन। भाडा तिरेर कोठामा बस्नै धौधौ परेको बेला घरको सपना ‘आकाशको फल, आँखा तरी मर’ भनेजस्तै थियो।

कति वर्ष बसियो डेरामा?

पूरै एक दशक डेरामा बिताइयो। सानो केही झगडा प¥यो कि अर्को कोठा खोज्न फुत्त निस्किएर हिँडिहाल्थेँ। दश वर्षमा लगभग आठ ठाउँ डेरा सरेँ।

डेरा जीवनका दुःखसुखलाई कसरी सम्झिनुहुन्छ?

डेरामा प्रायः पानीको समस्या हुन्थ्यो। डेरामा बसुञ्जेल मैले सधैँ अफिसमै नुहाएँ। पाँच बजेपछि सबै घरतिर जान्थे। म चाहिँ अफिसमा नुहाउन थाल्थेँ। समयमा भाडा तिर्न नसकेर ‘निस्केर जा’ भनेर धेरै घरबेटीले भने। उनीहरूले त्यसो भन्नेबित्तिकै निस्केर जान्थेँ। तर, फेरि पैसा भएपछि उनीहरूलाई बाँकी भएको पैसा पुर्‍याउन जान्थेँ। ‘साह्रै इमानदार बाहुन रहेछ’ भनेर खुशी हुन्थे उनीहरू। एक पटक एक जना घरबेटीले छोरी दिन आएर फसाद पर्‍यो। त्यहाँ कोठा छोडेर भागेको थिएँ।

घरको कल्पना चाहिँ कहिलेबाट गर्न थाल्नुभयो?

एक दिन सुन्धारामा डुलिरहेको थिएँ। त्यहाँ एउटा चिटिक्क परेको घरजस्तै सार्वजनिक शौचालय देखेँ। यस्तो राम्रो घरलाई किन शौचालय बनाइएको होला जस्तो लाग्यो। त्यो देखेपछि मेरो पनि काठमाडाँैमा यत्रै घर भए नि हुन्थ्यो भन्ने लाग्न थाल्यो। त्यही दिनबाट मैले काठमाडौँमा घर बनाउने सपना देख्न थालेँ।

कसरी साकार भयो त त्यो सपना?

जागिर र जम्मा गरेको पैसा गरेर ८० हजार साथबाट निस्कियो। त्यो पैसाले मलाई जग्गा किन्न मन लाग्यो। कुलेश्वरमा १ लाख ५९ हजारमा जग्गा बिक्रीमा राखिएको थाहा पाएँ। आफूसँग भएको पैसामा साथीहरूसँग सापटी मागेर थपथाप बनाएँ। त्यो जग्गा किनेँ। जग्गा किनेपछि ऋण र सापटी दुवै तिर्न सकिनँ। आपत् परेपछि बैँकबाट फेरि ८४ हजार ऋण लिएँ। तिरोतारो गर्नुको सट्टा जग हालेँ। जग त हालेँ तर घर बनाउने पैसा भएन। त्यो ठाउँलाई पाँच लाख दिने मान्छे पाएँ। ऋणमा ब्याज बढ्दै थियो। त्यसैले बेचेर सबै ऋण तिरँे। ऋण तिरेर बाँकी भएको पैसाले बल्खुको भिरालो ठाउँमा जग्गा किनेँ।

घर कहिले बनाउनुभयो?

बल्खुको जग्गा डेढ लाखमा किनेको थिएँ। जग्गा किनेकै साल आफूसँग भएको केही पैसा र हेटौँडामा सानो टुक्रा जग्गा बेचेको पैसाले एक तले सानो घर बनाएँ। वर्षाको बेला बल्खु खोला घरभित्रै छिर्‍यो। दलालले नराम्रोसँग ठगेछ। नक्सामा बाटो पनि रहेनछ। लगभग ढेड वर्ष अरूकै घरको पानी र बिजुली चलाएँ। एक जना थकाली दाइ त्यही बेला मेरो भगवान् बनेर आउनुभयो। कहाँ लगेर हुत्याउनुजस्तो भएको घर र जग्गा साढे सात लाखमा उहाँले किन्नुभयो। उहाँको त्यहाँ अरू पनि जग्गा भएकाले त्यो जग्गाको लागि मरिहत्ते गर्नुभएको रहेछ। थकाली दाइबाट आएको पैसाले नैकापमा जग्गा किनेँ। ऋणधन गरेर घर पनि बनाएँ। सुरुमा एक तला मात्रै थियो। बिस्तारै थपेर तीन तलाको बनाएँ। त्यो घरमा पनि साह्रै दुःख पाइयो। पुरानो बस्तीको ढल बगेर घरभित्रै आउन थाल्यो। पानीको पनि त्यस्तै समस्या थियो। ११ लाखको जायजेथा घाटा खाएर १० लाखमै बेच्नुपर्‍यो। घरको मामिलामा म साहै्र अभागी मान्छे हुँ।

अहिलेको नैकापको अर्को घर चाहिँ कसरी बन्यो?

घर बेचेको पैसाले आनाको एक लाखको दरले नयाँ नैकापमा आठ आना जग्गा किनेँ। त्यो बेलासम्म म कलाकारिता क्षेत्रमा जम्न थालिसकेको थिएँ। त्यहाँबाट कमाएको पैसा र बैँकबाट लिएको ऋणले फेरि घर बनाएँ। पैसाको अभावले गर्दा दुई वर्षसम्म झ्यालमा सिसासमेत राख्न सकिनँ। प्लास्टिक ठोकेर बसेँ। आफ्नो घरमा प्लास्टिक ठोक्दा पनि सुन ठोकेको जस्तो लाग्थ्यो। खेतको बीचमा घर बनाएकाले भ्यागुता ट्वारट्वार कराउँथ्यो। त्यो पनि आफूलाई सारंगीको धुनजस्तो लाग्थ्यो। पछि बिस्तारै घरको तला थप्दै गएँ। झ्यालढोकामा सिसा राख्दै गएँ। इनार खनेँ। पानीको समस्या पनि कम हुँदै गयो। अहिले घरबाहेक सिजनअनुसार तरकारी लगाउने सानो टुक्रो जग्गा पनि छ। १९ वर्षसम्म त घरको ऋण तिरेरै बसेँ। अझै पनि ऋण तिर्दै छु।

अहिले बेच्नुपर्‍यो भने घरको मूल्य कति आउँछ?

घरको मुल्य खासै तोकेको छैन। लगभग १६ वर्ष भयो बनाएको। त्यो बेलामा ३५ लाखमा बनेको घर अहिले दुईतीन करोड त आउला। जग्गाकै आनाको ३०–३५ लाख पुगिसक्यो भन्छन्।

घर बनाइसकेपछि पार्टी पनि त दिनुभयो होला नि?

मैले यहाँ जस्तो दुःखले घर बनाए पनि गाउँमा ‘फलानो पौडेलको छोराले काठमाडौँमा घर बनायो रे !’ भन्ने हल्ला चल्यो। तर, काठमाडौँमा सबै साथीभाइलाई मैले ऋण लिएर घर बनाएको थाहा थियो। त्यसैले कसैले ‘पार्टी दे’ भन्नै सकेनन्। मैले पनि दिइनँ। 

कति जनाको परिवार छ?

परिवार त चार जनाको हो। अहिले ९७ वर्षको आमा मसँग बस्नुहुन्छ। उहाँ र म मात्रै बस्छौँ। छोरी र श्रीमती अमेरिकामा छन्।

घरमा केही सामान जोड्न पाए हुन्थ्यो भन्ने लागेको छ?

म डेरा र घर सर्दा–सर्दा, पलङ खोल्दा र जोड्दा, घरको सामान गाडीमा लोड र अनलोड गर्दा–गर्दा हत्तु भएको मान्छे ! भद्रगोल सामान मिलाउनुको पीडा मलाई राम्रोसँग थाहा छ। त्यसैले अनावश्यक सामान कहिल्यै जोड्दिनँ। जोड्न पनि मन लाग्दैन।

घरलाई केले सुन्दर बनाउँछ?

परिवारमा मेलमिलाप भएको घर एकदमै सुन्दर हुन्छ। घरमा सधँै हाँसीखुशी खाना पस्किएर खाने वातावरण हुनुपर्छ। घरका सदस्यको महत्वाकांक्षा बढ्दै जानु भएन। महँगो र मीठो ल्याउँदा रमाउने, सस्तो र नमीठो ल्याउँदा मुख खुम्च्याउने नहोस्। घरको भित्ता मात्र आर्कषक भएर हुँदैन, मन आकर्षक हुनुपर्छ। आफूसँग जे छ, त्यसमा सन्तोष मान्नुपर्छ।

घर बहालमा पनि दिनुभएको छ?

छ। तल्लो फ्ल्याटमा एक जना चिनेको साथीको परिवार बस्नुहुन्छ।

घर बसेको बेला के गर्न मन पराउनुहुन्छ?

मेरो घरतिर असाध्यै धुवाँधुलो छ। त्यसैले घर बसेको बेलामा घरको सरसफाइ गर्छु। फुर्सद भयो भने मकै भटमास भुटेर खान्छु। मलाई शहरिया बजारको खानेकुरा पिज्जा, बर्गर, मःमः खासै मन पर्दैन। गाउँमा जे खाएर हुर्किइयो, त्यही खान मन लाग्छ। त्यो घरमा बसेको बेला मात्र खान जुर्छ।

घर हुनुको मज्जा के रहेछ?

घर हुनुको मज्जा कम, नमज्जा धेरै छ। मलार्ई त कहिलेकाहीँ घरभन्दा डेरा नै ठीकजस्तो लाग्छ। डेराको भित्ता चर्किए, पानी नआए, धाराको टुटी टुटेफुटे घरबेटीलाई गुहारे पुग्यो। ‘मैले पैसा तिरेको छु’ भन्न पाइयो। आफ्नो घरमा त्यसो गर्न मिलेन। कहिले प्लम्बर, कहिले इलेक्ट्रिसियन, कहिले डकर्मी, कहिले सिकर्मी खोज्दै हिँड्नुपर्छ।


प्रस्तुतिः सृजना खड्का

तपाईको कमेन्ट

मुख्य समाचार