लोकस्टार प्रतियोगी भन्छन् ‘लोकगीत देशको हृदय हो’

writer

युवराज भट्टराई

बुधबार, १५ साउन २०७६


एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको ‘नेपाल लोकस्टार’मा देशका विभिन्न जिल्लाबाट लोकगीतका प्रतिभा सहभागी भएका छन्। उत्कृष्ट २० प्रतियोगीले ‘सम्पूर्ण’सँग आफ्ना संगीत अनुभव बाँडेका छन्। 



प्रभुराज पाण्डे, बाजुरा 

लोकगीत–संगीतप्रति पहिलादेखि नै रुचि थियो। २०७० सालयता संगीतमा सक्रिय छु। काठमाडौँ, दरबारमार्गस्थित ‘किङ प्यालेस’ मा दोहोरी गाउँछु। अहिलेसम्म पाँच वटा गीत निकालेको छु। म डेढ वर्षको हुँदा आमा बित्नुभयो। आमा नहुनुको पीडालाई संगीतले केही हदसम्म भए पनि कम गर्न मद्दत गर्छ। त्यसैले संगीतमा लागेको हुँ। लोकस्टारमा आउनुअघि कुनै प्रतियोगितामा भाग लिएको थिइनँ। स्नातकसम्म पढेको छु। गायक राजु परियारका गीतबाट प्रभावित छु। हामीले आफ्ना मौलिक संगीत र लोकगीतलाई बचाउनुपर्छ। लोकगीत नेपालको हृदय हो।   


रविराज शाह, सर्लाही

शास्त्रीय संगीतमा लागेको १० वर्षजति भयो। भारतीय विद्यापीठ र अखिल भारतीय गन्धर्व महाविद्यालयबाट शास्त्रीय संगीतको अध्ययन गरिरहेको छु। अहिले ब्याचलर्स दोस्रो वर्षको परीक्षा दिँदै छु। २०६४ सालमा प्लस टू पढ्न काठमाडौँ आएँ। जनमैत्री मल्टिपल क्याम्पसमा कमर्स पढ्न थालेँ। गीत–संगीतमा रुचि भएकाले कमर्स पढ्न मन लागेन। पढाइ छोडेर संगीततर्फ लागेँ। २०६७ सालमा रेडियो नेपालको स्वर परीक्षा पास गरेँ। त्यसपछि संगीतमै लाग्ने सोच बनाएँ। संगीत सिक्न भारत, मुम्बई गएँ। चार वर्षदेखि त्यहाँ संगीत सिकिरहेको छु। अहिले लोकस्टारका लागि नेपाल आएको हुँ। लोकगीत नेपालको ढुकढुकी हो। 

चेतन गोतामे, स्याङ्जा
लोकस्टारमा आउनुअघि गीत–संगीत एरेन्ज गर्ने काम गर्थें। मेरो लाइभ दोहोरी रेकर्डिङ स्टुडियो छ। २०६६ सालमा गाउँबाट काठमाडौँ आएको हुँ। दोहोरी साँझमा काम गर्न थालेँ। आफ्ना एल्बम पनि निकालिरहेँ। एसएलसीपछि गीत–संगीतमा लागेँ। औपचारिक संगीत नसिके पनि निरन्तर यही क्षेत्रमा छु। ८० भन्दा बढी गीत सार्वजनिक गरिसकेको छु। लोकदोहोरीबाहेक केही आधुनिक गीतमा पनि काम गरेको छु। राजु परियार, बिमाकुमारी दुरा, पुरुषोत्तम न्यौपाने, लक्ष्मी न्यौपानेलगायत गायक–गायिकाका गीत मन पर्छन्। लोकगीत नेपालको धड्कन हो। 

रेश दुदराज विश्वकर्मा, महोत्तरी 
पूर्वतिर मारुनी भाका गाउने चलन छ। मेरा हजुरबुबा मारुनीका सोखिन थिए। हाम्रो घरमा हार्मोनियम, मादल हुन्थ्यो। हजुरबुबाले गीत सुनाउनुहुन्थ्यो। लोकभाकामा रुचि त्यहीँबाट सुरु भएको हो। एसएलसीपछि २०५७ मा काठमाडौँ आएर कलानिधि इन्दिरा संगीत महाविद्यालयमा संगीत सिक्न थालेँ। चौथो वर्षसम्मको पढाइ सकेपछि भारत गएर संगीत सिकेँ। त्यसपछि नेपाल आएर संगीत सिकाउन थालेँ। मुटुको समस्या देखिएपछि केही समय संगीतबाट टाढिएँ। अहिले फेरि संगीतमा सक्रिय भएको छु। रेडियो नेपालमा २०५८ सालमा आधुनिक गीत प्रतियोगितामा उत्कृष्ट भएपछि ‘सिसाझैँ जिन्दगी’ बोलको गीत सार्वजनिक गरेँ। गायिका मेलिना राईसँग ‘जाउली माया रेलैमा’ गीत सार्वजनिक गरेको छु। २०६१ सालमा नाचघरले गरेको लोकगीत प्रतियोगितामा प्रथम भएको थिएँ। नेपाली ताराको पहिलो सिजनमा टप ट्वान्टीसम्म पुगेको थिएँ। लोकगीत हाम्रो देशको अस्तित्वसँग जोडिएको छ। 

रामकुमार नेपाली, रामेछाप
भर्खरै भएको इमेज लोककलाकारको उपाधि जितेँ। २०६६ सालमा रामेछाप लोकतारामा पनि प्रथम भएको हँु। बाल्यकालदेखि लोकभाका सुन्ने बानी थियो। काठमाडौँ आएपछि २०६४ सालमा ललितकला क्याम्पसमा दुई वर्ष संगीत सिकेँ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानद्वारा आयोजित एकल गायन प्रतियोगितामा पनि पहिलो भएको थिएँ। शास्त्रीय संगीत सिके पनि लोकगीततिर बढी रुचि छ। लोकगीत गाउँदा संगीतको ज्ञान हुनुपर्छ भनेर संगीत सिकेँ। पूर्वको हाक्पारेदेखि पश्चिमको देउडासम्म सबै गीत मन पर्छन्। कुमार बस्नेत, राम थापा, नवीन खड्कालाई रुचाउँछु। लोकगीतको संरक्षण भयो भने मात्र संसारमा हाम्रो पहिचान कायम रहन्छ।  

पविन्द्र सुनार, बाजुरा 
कैलालीको टीकापुर मल्टिपल क्याम्पसबाट भर्खरै प्लस टू सकाएँ। सानैदेखि लोकगीतमा रुचि भए पनि गाउँमा गाउने मौका पाइनँ। कैलाली आएपछि खप्तड सांस्कृतिक क्लबको सहयोगमा विभिन्न ठाउँमा गीत गाउने अवसर पाएँ। कलेजमा हुने सांकृतिक कार्यक्रममा पनि गाउँथेँ। कैलालीवरिपरि हुने कार्यक्रम, महोत्सवमा पनि गाउने मौका पाउँथेँ। औपचारिक संगीत सिकेको छैन। आफैँले गाउँदै सिकेको हुँ। त्यसै सिकाइको भरमा यहाँसम्म आइपुगेँ। रामजी खाँड, पुष्कल शर्मा, नारायणगोपाल, रामकृष्ण ढकाल, राज सिग्देल र शिव परियारका गीत मन पर्छन्। मेरो विचारमा हाम्रो अस्तित्व भनेको लोकगीत हो। यसलाई जोगाउनुपर्छ। लोकगीत नेपालको मुटु हो। 

रेशम  निर्दोष परयिार, बाग्लुङ
म जन्मिएको ठाउँ नै लोकसंगीतको खानी भएकाले यसतर्फ रुचि भयो। सुरुमा लाइभ दोहोरीमा काम गर्थें। गाउँबाट प्लस टू सकेपछि २०६८ सालमा काठमाडौँ आएँ। दुई वर्षजति दोहोरी साँझमा काम गरेँ। पछि बाग्लुङ फर्किएर स्कुलमा पढाउन थालेँ। केही समय संगीतमा विश्राम लाग्यो। दुई वर्षपछि पोखरा फर्किएर फेरि संगीतमा लागेको छु। दोहोरी साँझमा काम गर्छु। २०७२ मा ‘पोखरा लोकतारा’को विजेता भएँ। राष्ट्रिय लोक तथा संगीत प्रतिष्ठान धौलागिरी तथा गण्डकीले गरेको कार्यक्रम २०७४÷२०७५ सालमा पनि जितेँ। २०७५ सालमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालले आयोजना गरेको एकल गायन प्रतियोगितामा दोस्रो भएँ। इमेज च्यानलको इमेज लोककलाकार सिजन दुईमा पनि टप टेनसम्म पुगेँ। लोकगीतलाई जोगाउन लोकस्टारजस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छन्। 

भीम नेपाली, गुल्मी 
२०७० सालमा गुल्मी लोकतारामा विजेता भएँ। त्यसको केही समयपछि काठमाडौँ आएँ। यहाँ रोधीघर र दोहोरी साँझमा काम गरेँ। हाल किंग्स प्यालेस रोधी क्लबमा काम गर्छु। औपचारिक संगीत नसिके पनि युट्युबबाट संगीत सिक्छु। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा टप फाइभसम्म पुगेको थिएँ। कुलेन्द्र विश्वकर्मा, राज सिग्देललगायत गायकका गीत बढी सुन्छु। सबै किसिमका गीत मन परे पनि लोकगीतमा विशेष रुचि छ। संसारले नेपाललाई लोकगीतबाटै चिन्छ। 

दया सुवेदी, धादिङ 
अहिले कक्षा ११ मा भर्ना हुँदै छु। लोकस्टारमा आएको कारण कलेज भर्ना हुन पाएको छैन। १५ वर्ष पुगेँ। बाल्यकालबाटै मलाई गीतसंगीतमा रुचि थियो। स्कुलका सरहरूले मेरो स्वर राम्रो छ भनेर गीतसंगीतमा लाग्न भन्नुभयो। २०७५ सालको थाक्रे आइडलमा प्रथम भएकी थिएँ।

परिवारमा ममी, बुबा र दिदी हुनुहुन्छ। परिवारको साथ भएकै कारण यहाँसम्म आइपुगेँ। आधुनिक र लोकगीतमा बढी रुचि छ। नेपाली लोकसंगीतका क्षेत्रमा केही गर्न चाहन्छु। मलाई तारादेवी, कुन्ति मोक्तानका गीत मन पर्छन्। लोकगीतले नेपाल र नेपालीको परिचय बोकेको हुन्छ।  

विशाखा शाही, दाङ 
म १५ वर्षकी भएँ। कक्षा १० मा अध्ययन गरिरहेकी छु। मेरो बुबा पनि गीत गाउनुहुन्छ। घरको माहौल सांगीतिक भएकाले यो क्षेत्रमा आउन प्रेरित भएँ। आफ्नो गाउँमा हुने मेला–महोत्सवमा गाउने गर्छु। भर्खरै पोखरामा भएको नेपाल गोल्डन आइडलमा फस्ट रनरअप भएकी थिएँ। आधुनिक गीत मन पर्छन्। अञ्जु पन्त, मेलिना राईको गीत बढी सुन्छु। विष्णु माझी, जुना श्रीष मगर, रामजी खाँडका गीत पनि मन पर्छन्। १३ वर्षकी हुँदा पहिलो पटक गीत रेकर्ड गरेकी थिएँ। लोकगीतले नेपालीको आत्मा बोल्छ। 

सनी विश्वकर्मा, रोल्पा
११ वर्षको हुँदा पहिलो पटक महोत्सवमा गीत गाएको थिएँ। अहिले १७ वर्षको भएँ। प्लस टू सकाएर बसेको छु। २०७२ सालमा जलजला तारामा टप टेनमा पुगेको थिएँ। त्यसपछि २०७३ मा भएको राप्ती आइडलमा दोस्रो भएँ। राजेश पायल राई, रामजी खाँड लगायतका गीत मन पर्छन्। संगीतको औपचारिक शिक्षा लिएको छैन। नेपालीको आफ्नो संगीत भन्नु नै लोकगीत हो। 

दिवस लिम्बू, पाँचथर
२०७५ सालबाट पूर्वाञ्चल संगीतालय, पथरीमा संगीत सिकेँ। गाउँले परिवेशमा हुर्किएकाले लोकसंगीतमा निकै रुचि छ। बाल्यकालमा आमाबुबा पनि लोकगीत सुन्नुहुन्थ्यो। त्यसले म लोकगीतप्रति आकर्षित भएजस्तो लाग्छ। बीएड दोस्रो वर्षको विद्यार्थी हुँ। पढाइ र संगीत सँगसँगै लैजान गाह्रो छ। भरसक मिलाउने प्रयास गरिरहेको छु। कलेजमा हुने कार्यक्रममा गीत गाउँछु। सुगम पोखरेल, शिशिर योगी, कमलीकान्त भेटुवाल, कुलेन्द्र विश्वकर्मा, प्रकाश सपुत मन पर्ने गायक हुन्। 

सुषमा झा,  सप्तरी
हाम्रा घरमा गीत–संगीतको राम्रो प्रभाव छ। बुबा गीत गाउनुहुन्छ। उहाँले मलाई पनि गीत–संगीतमा लाग्न प्रेरित गरिरहनुभयो। आफ्नो ठाउँको मैथिली गीतको संरक्षण गर्नुपर्छ भन्ने लाग्छ। अहिले १६ वर्षको भएँ। पाँच वर्षको हुँदा पहिलो पटक स्टेजमा गीत गाएकी थिएँ। प्लस टूमा साइन्स पढिरहेको छु। पढाइसँगै संगीतलाई अगाडि बढाइरहेको छु। लता मंगेशकर, रञ्जना झाका गीत मन पर्छन्।

मुना अर्याल, चितवन
कक्षा आठमा हुँदादेखि रेडियोमा काम गर्न थालेँ। पढाइका कारण बीचमा केही समय ग्याप भयो। पछि फेरि एफएममा काम गर्न थालेँ। लोकगीतसम्बन्धी कार्यक्रम चलाउँथेँ। त्यहीँदेखि लोकगीतप्रति रुचि जाग्यो। रेडियोमा कार्यक्रम चलाउँदा धेरैले  ‘स्वर राम्रो छ’ भन्थे। बीबीएस दोस्रो वर्षमा पढिरहेकी छु। पढाइ र जागिरका कारण संगीतको अध्ययन गर्न पाएकी छैन। तर, आफैँ सिक्ने गरेकी छु। विष्णु माझी, कुलेन्द्र विश्वकर्मा, खेम सेन्चुरीलगायत गायक–गायिकाका गीत मन पर्छन्। लोकगीत नेपालको प्राण हो।  

सुशील आचार्य, अर्घाखाँची
घर अर्घाखाँची भए पनि बुटवलमा बस्छु। पढाइसँगै संगीत सिकिरहेको छु। बीबीएस दोस्रो वर्षमा अध्ययनरत छु। एसएलसीपछि संगीतमा बढी ध्यान दिन थालेँ। शास्त्रीय संगीत भारत, इलाहाबादबाट अध्ययन गरिरहेको छु। गीत–संगीतबाहेक अर्घाखाँची जिल्लाबाट ब्याड्मिन्टन पनि खेल्ने गरेको छु। ‘लुम्बिनी राइजिङ स्टार’ मा दोस्रो भएको थिएँ। २०७४ मा भएको ‘बुटवल आइडल’मा प्रथम भएँ। ‘भैरहवा आइडल २०७५’ टप फोरसम्म पुगेको थिएँ। शिव परियार, सत्यराज–स्वरूपराज आचार्य, भक्तराज आर्चाय, प्रमोद खरेल मन पर्छन्। 
 
जितेश थापा, सुर्खेत
२०६४ सालमा आमाको निधन भयो। त्यसको नौ महिनापछि बुबा पनि बित्नुभयो। जिन्दगीमा पाएका दुःखले मलाई संगीतमा लाग्न प्रेरित गर्यो। आमाबुबाको मत्युपछि मामाघर बर्दियामा बस्न थालेँ। त्यहाँ हुँदा नवयुवा मैत्रीभाव एकता समाज क्लबले मलाई गीत गाउने मौका दियो। २०६५ सालमा टीकापुर महोत्सवमा गीत गाउने अवसर पाएँ। प्लस टूपछि २०६९ सालमा काठमाडौँ आएर कान्तिपुर दोहोरी साँझमा काम गर्न थालेँ। त्यसपछि पढ्न सकिएन। २०७५ सालमा ‘राष्ट्रिय एकल लोकगायन’मा भाग लिएँ। अहिलेसम्म दोहोरीमा काम गरिरहेको छु। 

दीपेन्द्र राई, भोजपुर 
नुन बोक्न धरान आउँदा बाल्यकालमा ओमप्रकाश राईसँग एक महिना संगीत सिकेँ। पछि इटहरीमा रहेको संगीत साधना स्कुलमा छ महिना क्लास लिएँ। त्यसपछि इटहरीमै रहेको पूर्वाञ्चल संगीत विद्यालयमा चार वर्ष संगीत सिकेँ। बीचमा सेक्युरिटी गार्डको जागिर गरेँ। राति ड्युटी पथ्र्यो। ड्युटीमा गीत गाउँदै बस्थँे। २०६८ देखि २०७३ सालसम्म दोहोरी साँझमा काम गरेँ। नेपाली ताराको पहिलो शृंखलामा भाग लिएको थिएँ। अहिले इटहरीमा एउटा स्टुडियोमा प्राविधिकको काम गरिरहेको छु। तुलसी पराजुली, महेश बुढाथोकी, राजेश पायल राई, शम्भु राई लगायतका गीत बढी सुन्छु। लोकगीत हामी नेपालीको सर्वस्व हो। 


राजु गुरुङ, गोरखा
गाउँमा रोधी बस्ने, चुट्का गाउने चलन थियो। त्यसबाटै लोकसंगीतमा लाग्ने प्रेरणा मिल्यो। २०६९ सालमा काठमाडौँ आएर ब्रिटिस गोरखा कलेजमा म्यानेजमेन्ट पढ्न थालेँ। कलेजसँगै आस्था कला केन्द्रमा संगीत सिक्न थालेँ। दुई वर्षजति संगीत सिकेँ। प्लस टूपछि मार्केटिङको काम गर्न थालेँ। २०७२ सालबाट दोहोरी साँझमा काम गर्न थालेँ। छ वर्षअगाडि ‘सुरताल’ प्रतियोगितामा भाग लिएको थिएँ। राजु परियार, याम क्षत्रीका गीत खूब मन पर्छन्। लोकगीतले नेपालीको मन–मुटु हो। 

विनोद दनुवार, उदयपुर
२०६९ सालमा आफ्नो पहिलो एल्बम ‘निर्दोष’ सार्वजनिक गरेँ। एक पटक मैले १२ वर्षको हुँदा काम नबिराउँदा पनि कुटाइ खाएँ। त्यही घटनाले गीत लेख्न, गाउन प्रेरित गर्यो। त्यही घटनाबाट प्रभावित भएर पहिलो एल्बम निकालेँ। अहिले २६ वर्ष पुगेँ। एसएलसीपछि २०६५ सालमा काठमाडौँ आएको थिएँ। म्यानेजमेन्ट पढ्दै संगीत सिक्न थालेँ। बागिना संगीतालयमा एक वर्ष संगीत सिकेँ। प्लस टूपछि पढाइ अगाडि बढाउन सकिनँ। २०७० सालमा मलेसिया गएँ। मलेसियामा हुँदा एउटा गायन प्रतियोगिता जितेँ। रामचन्द्र काफ्ले, रामकृष्ण ढकाल, राजु परियार लगायतका गीत मन पर्छन्। लोकगीत भनेको नेपालीको आफ्नो गीत हो। आफ्नो भनेपछि यसै पनि प्यारो हुन्छ। 

मोहन केसी, प्युठान 
२०७० सालमा एसएलसी सकेर काठमाडौँ आएँ। त्यही साल पहिलो गीत सार्वजनिक गरेँ। कलानिधि संगीत पाठशालामा तीन महिना संगीत सिकेँ। २०७१ सालबाट लाकुरीभञ्याङ दोहोरी साँझमा काम गर्न थालेँ। त्यही बेला मलाई दोहोरीकै लागि भनेर विदेश लगियो। तर, त्यहाँ गएपछि हामीलाई अर्कै काम गर्न लगाइयो। म भागेर नेपाल आएँ। २०७२ सालमा चाबहिलको स्वरसम्राट दोहोरीमा काम गर्न थालेँ। नेपाल राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा नवगायक र पब्लिक च्वाइस अवार्ड पाएँ। भर्खरै सम्पन्न इमेज लोककलाकारमा टप फाइभसम्म पुग्न सफल भएको थिएँ। मलाई रामजी खाँड, राजु परियारलगायत गायकका गीत मन पर्छन्। लोकगीत नेपालको हृदय हो, आत्मा हो।

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि