छोरा बचाउने वीरु

writer

सम्पूर्ण

शनिबार, ११ साउन २०७६


अभिनेता अजय देवगनका बुबा वीरु देवगनको मृत्यु गत मे महिनामा भयो। वीरु बलिउडका द्वन्द्व निर्देशक थिए। एक अन्तर्वार्तामा अजयले आफूले थुप्रै पटक पब्लिकबाट कुटाइ खाएको बताएका थिए। ‘मसँग एउटा सेतो कार थियो,’ अजयले अन्तर्वार्तामा भनेका थिए, ‘त्यसमा साथीहरूसँग घुम्न निस्किन्थेँ। एक पटक एउटा साँघुरो गल्लीबाट निस्किँदा एक्कासि सानो बच्चा चंगाको पछि दौडिँदै मेरो कारका अगाडि आयो।

मैले झयाप्पै ब्रेक लगाएँ। धन्न बच्चालाई चोटपटक लागेन। ऊ सुरक्षित थियो।’ तर, अचानक भएको घटनाले बच्चा डरायो र रुन थाल्यो। बच्चा रोएको सुनेर वरिपरिका मान्छे जम्मा भए। ‘छिनमै त्यहाँ एक हजारभन्दा बढी मान्छे जम्मा भए,’ अजयले भने, ‘सम्झाउने प्रयास गर्दा पनि भीडले हाम्रो कुरा सुनेन। सबैले हामीलाई घेरे। गाली गर्न थाले र पिट्न थाले। हामी डरायौँ।’

१० मिनेटपछि घटनाको समाचार अजयका बुबा वीरुसम्म पुग्यो। ‘बुबा दुई सय फाइटरसहित त्यहाँ पुग्नुभयो,’ अजयले अन्तर्वार्तामा भने, ‘कराउन थाल्नुभयो– मेरो छोरालाई कसले पिट्यो? उहाँ कराएपछि त्यहाँ भएको भीड शान्त भयो। त्यसपछि हामी चुपचाप त्यहाँबाट निस्कियौँ।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि