भद्रगोलको व्यवस्थित स्वाद व्यवसाय

writer

मनोज नेपाल

शनिबार, ११ साउन २०७६


काठमाडौँ, डिल्लीबजार, चारखालमा रहेको ‘इचिवान’ अन्य रेस्टुरेन्टभन्दा भिन्न छ । नाम जापानी भए पनि यस रेस्टुरेन्टमा इन्डियन, चाइनिज, कन्टिनेन्टल, थकाली खाना सेटलगायत खानाका स्वाद लिन पाइन्छ । इचिवानको अर्थ ‘नम्बर वान’ भन्ने हुन्छ । नामजस्तै इचिवानले खानाको स्वाद र सर्भिसमा नम्बर वानको सेवा दिने गरेको म्यानेजर नीरज खड्का बताउँछन् । 

रेस्टुरेन्टको उद्देश्य व्यवसायसँगै समाजसेवा गर्ने पनि रहेको छ । हास्य टेलिसिरियल ‘भद्रगोल’का कलाकारहरू कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’, अशोक धिताल ‘बाहुन डन’, दीपक आचार्य ‘काकु’ र मधुसदन पाठक ‘सिते बा’ मिलेर यो रेस्टुरेन्ट सञ्चालन गरेका हुन् । कलाकारितासँगै व्यवसाय गर्ने र त्यसबाट हुने आम्दानीको केही प्रतिशत समाज सेवामा लगाउने उपाय मधुसुदन पाठकले निकालेका हुन् । सहकारी र विभिन्न व्यवसायमा आबद्ध उनी समूहमा काम गर्न रुचाउँछन् । ‘साथी÷साथी मिलेर समूह बनाएर काम गर्दा सफल भइन्छ,’ पाठक भन्छन् । 

कलाकार कुमार कट्टेल इचिवान नफा कमाउने उद्देश्यले मात्र खोलिएको रेस्टुरेन्ट नभएको बताउँछन् । ‘हामीले आम्दानीको कम्तीमा पनि दुई प्रतिशत समाजसेवामा लगाउने घोषणा गरेर रेस्टुुरेन्ट खोलेका छौँ,’ उनी भन्छन् । कामको सिलसिलामा गर्नुपर्ने मिटिङ इचिवानमै गर्ने र साथीभाइसँग खानपिन पनि हुने भएकाले इचिवानमा भद्रगोल टिमले लगानी गरेको उनी बताउँछन् । 

अर्का कलाकार अर्जुन घिमिरे कलाकारितासँगै सानोतिनो व्यवसाय गर्दा जीवन चलाउन सहज हुने बताउँछन् । ‘यहाँ आउँदा आफ्ना फ्यानसँग पनि भेट्न पाइन्छ,’ उनी भन्छन्, ‘फ्यानसँग भेट्न पाउँदा रमाइलो लाग्छ ।’ 

भद्रगोलका एपिसोड निर्देशक दीपक आचार्य कलाकार बन्नका लागि काठमाडौँमा संघर्ष गर्दा डेरी पसल, होटल, एक्टिङ र डान्स सिकाउने इस्टिच्युट खोलेको स्मरण गर्दै इचिवानमा सहभागी हुन पाउँदा पुराना दिनको याद आइरहेको बताउँछन् । मधुसुदन पाठकले संयोजन गरेर सबै साथीहरूलाई इचिवान सञ्चालन गर्न लगाएकोमा उनी खुशी छन् । ‘सिरियलमा हामी उनलाई निर्देशन गर्छौं, व्यवसायमा उनले हामीलाई निर्देशन गरिरहेका छन्,’ आचार्य भन्छन् । 

इचिवानको सेटिङ निकै आकर्षक छ । सोफा, कुर्सी, प्राइभेट रुम, मिटिङ हल, टेरेसलगायत थुप्रै सिटिङ अरेजमेन्ट गरिएको छ । एकै पटक विभिन्न कार्यक्रम आयोजना गर्न सकिन्छ, यहाँ । भद्रगोलका कलाकारसँग बर्थडे मनाउने सुविधा पनि रेस्टुरेन्टले उपलब्ध गराउँछ । बिहे, व्रतबन्ध, बर्थ डे, इन्गेजमेन्ट, आउटडोर क्याटरिङलगायत सुविधा इचिवानले उपलब्ध गराउँदै आएको छ । गुणस्तरीय परिकार, सरसफाइमा विशेष ध्यान दिने गरिएको रेस्टुरेन्टको सर्भिस पनि चुस्त छ । कलाकारले सञ्चालन गरेको रेस्टुरेन्ट भएकाले यहाँ अन्य कलाकार पनि खानपिन गर्न, मिटिङ गर्न र विभिन्न कार्यक्रमका लागि आउने गरेका छन् । 

तपाईको कमेन्ट

मुख्य समाचार