‘सय वर्षअघिको भाषा बोलेँ’

writer

मेनुका कोइराला

शनिबार, ११ साउन २०७६


दिलिप रायमाझी, अभिनेता

‘भानुभक्त’ मेरो डेब्यू फिल्म हो। निर्देशक यादव खरेलले मलाई ‘मह जात्रा’ नामक कार्यक्रममा भेट्नुभएको थियो। मसँग हरिवंश आचार्यको अनुहार मिल्ने भएका कारण उहाँले मलाई ‘फिल्म खेल्छौ’ भनेर सोध्नुभयो। मेरो अडिसन लिनुभयो। फिल्मका लागि हरिवंश दाइको उमेर नमिलेका कारण मैले फिल्ममा खेल्ने मौका पाएँ। ‘भानुभक्त’ फिल्म खेल्दा १८ वर्षको थिएँ।

फिल्म खेल्नुअघि मैले विभिन्न कार्यक्रममा नृत्य गरेको थिएँ। तर, क्यामेरा फेस गरेको थिइनँ। ‘भानुभक्त’ मा मेरो लिड रोल थियो। अहिलेजस्तो आधुनिक प्रविधि थिएन। क्यामेराले नेगेटिभमा फिल्म खिच्ने गरिन्थ्यो। वातावरणले फिल्ममा निकै असर गथ्र्यो। बादल लागेको, पानी परेको बेला सुटिङ हुँदैनथ्यो। टन्टलापुर घाम लाग्नुपथ्र्यो। ठूला रिफ्लेक्टर राखेर सुटिङ गरिन्थ्यो। लाइटले गर्दा क्यामेराको अगाडि आँखा खोल्न गाह्रो हुन्थ्यो। सुटिङको पहिलो दिन लाइटले गर्दा मेरा आँखा सुन्निएका थिए। ‘अब फिल्म खेल्न सक्दिनँ’ भन्ने मनमा पर्‍यो। उपचार गराएँ। दुई हप्ताको आरामपछि फेरि सुटिङमा गएँ। 

फिल्ममा साहित्यकारहरू कमलमणि दीक्षित, डा. वासुदेव त्रिपाठी, माधवप्रसाद घिमिरे र कलाकार रामचन्द्र पौडेल मुख्य कलाकारका रूपमा हुनुहुन्थ्यो। फिल्ममा एक सय वर्ष अगाडिको भाषा बोल्नुपर्ने थियो। स्क्रिप्ट आफैँमा जटिल थियो।

सिंहदरबारको बेलायती बैठकमा सुटिङ थियो। त्यहाँ बसेर भाषासम्बन्धी विवाद गर्नुपर्ने दृश्य थियो। त्यसअघि म सिंहदरबार गएको थिइनँ। 

वरिष्ठ कलाकार सिद्धान्तराम जोशीसँग बसेर त्यो सिन गर्नुपर्ने थियो। त्यहाँ भाषाविद्हरू पनि हुनुहुन्थ्यो। म पसिना–पसिना भएको थिएँ। मनमनै ‘कुन दशा लागेर फिल्म खेल्न आएछु’ भनिरहेको थिएँ। त्यतिबेला अभिनय सिक्ने ठाउँ थिएन। अग्रज कलाकारको अभिनय हेरेर हामीले सिक्नुपर्थ्यो। 

फिल्मको सुटिङ भानुभक्त जन्मेको घरमै गरिएको थियो। उनी जता–जता पुगेका थिए, फिल्मको छायांकन उतै–उतै गरिएको थियो। तनहुँमा सुटिङ गर्दा म दुई दिन ढिलो पुगेको थिएँ। तनहुँबाट हिँडेर सुटिङ भइरहेको ठाउँमा जाँदै थिएँ। मानिसहरू  सुटिङ हेर्न भनेर कुदिरहेका थिए। फिल्ममा फिस्टे भन्ने कलाकार पनि हुनुहुन्थ्यो। मैले फिल्ममा ‘हिरो को रहेछ’ भनेर सोध्दा सबैले ‘फिस्टे भन्ने हिरो रहेछ’ भने। मलाई मनमनै हाँसो लागिरहेको थियो। हिरोसँगै हिँडेर पनि दर्शकलाई हिरो को हो, पत्तो थिएन। 

फिल्मको प्रिमियर सोमा देशका विशिष्ट व्यक्तिहरू आएका थिए। तत्कालीन राजा ज्ञानेन्द्र पनि आएका थिए। सबैले मेरो कामको प्रशंसा गरे। फिल्मबाट अवार्ड पनि पाएँ। पहिलो फिल्मबाटै अवार्ड पाएपछि मलाई फिल्मका अफर आउन थाले।  

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट