‘फिट रहन मार्सल आर्ट गर्छु’

writer

कुबेर डंगोल

शुक्रबार, १० साउन २०७६


सन् २०१२ मा सम्पन्न ‘मिस तामाङ’को उपाधि विजेता सुमी मोक्तान म्युजिक भिडियो मोडलिङमा स्थापित नाम हो। भारतको दिल्लीमा पढेकी उनले सन् २००८ मा ‘मिस दिल्ली’को उपाधि जितेकी थिइन्। सन् २०१३ मा ‘मिस नेपाल’मा भाग लिएकी उनले त्यहाँ चौथो स्थान हात पारिन्। ‘दुई रुपैयाँ’ र ‘जानी नजानी’गरी दुई फिल्ममा आइटम डान्स गरिसकेकी छिन्। फिल्म ‘झ्यानाकुटी’मा छोटो भूमिका निर्वाह गरेकी छिन्। असोज ३ गते प्रदर्शन हुन लागेको फिल्म ‘सरौतो’मा एक्सन भूमिकामा देखिने सुमी मिक्स मार्सल आर्टकी खेलाडी पनि हुन्। उनले ‘सम्पूर्ण’सँग आफ्नो फिटनेस अनुभव बाँडेकी छिन्। 


फिटनेसका लागि मार्सल आर्ट

डेढ वर्षअघि अरूजस्तै शरीर फिट राख्न जिम जान्थेँ। बडी टोन्ड राख्न र स्लिम देखिन जिम जाने गर्थें। जिममा कार्डियो, वेट लिफ्टिङ आदि गरिन्थ्यो। तर, डेढ वर्षयता मिक्स मार्सल आर्टको अभ्यास गरिरहेकी छु। 

फिल्म ‘सरौतो’ गर्ने भएपछि चरित्रको हिसाबले मैले मार्सल आर्टको स्किल देखाउनुपर्ने भयो। फिल्ममा थुपै्रै एक्सन गर्नुपर्ने थियो। चरित्रलाई विश्वसनीय बनाउन मैले मिक्स मार्सल आर्टको ट्रेनिङ सुरु गरेँ। यसमा तेक्वान्दो, उसु, ह्यान्ड फाइट सबै पर्छन्। फिल्मका लागि सुरु गरे पनि पछि मार्सल आर्ट गर्न मज्जा लाग्यो। सुटिङ सकिएको धेरै भइसक्यो तर अहिले पनि निरन्तर गइरहेकी छु। जिमभन्दा यो सही लाग्यो। किनभने, यसले शरीर फिट राख्छ र सेल्फ डिफेन्स पनि सिकाउँछ। राम्रो गर्दै गइयो भने प्रतियोगितामा भाग लिन सकिन्छ।  

सुरु–सुरुमा ट्रेनिङ गर्न एकदमै गाह्रो लाग्यो। किक हान्नै गाह्रो हुन्थ्यो। धेरै दिनसम्म शरीर जता छोयो, त्यतै दुख्थ्यो। तर, केही दिनपछि सहज हुँदै गयो। शारीरिक रूपमा फिट रहन मानसिक रूपले फिट रहनु जरुरी छ।

जे खाए पनि चल्छ

जिम र मार्सल आर्टमा धेरै फरक हुँदो रहेछ। जिम गर्दा केही सप्लिमेन्ट लिनुपर्छ। तर, यो गेममा जे खाए पनि चल्छ। धेरै चिल्लो–पिरो खानु भएन। सामान्य खाना खान कुनै समस्या हुन्न। हिजोआज कसैले जिम र गेममा कुन राम्रो भनेर सोध्यो भने गेम रोज्छु। शरीर फिट राख्ने सजिलो उपाय रहेछ। यसमा न डाइटको चिन्ता, न खानेकुराको पिर।

तपाईको कमेन्ट

मुख्य समाचार