श्रवण मुकारुङका चार कविता

सम्पूर्ण
बिहिबार, ०९ साउन २०७६
देश खोज्दै जाँदा
घाँसको भारी उचाल्न नसकेर
असिनपसिन भएकी थिइन्– दिदी
मैले सघाएँ,
उनले भनिन्–
‘भाइ, देश ज्यादै गह्रौँ छ ।’
ढाकरको पिँधमा टेकुवा अडाउन नसकेर
भिरालो बाटोमा लर्खराउँदै थिए– दाइ
मैले सघाएँ,
उनले भने–
‘भाइ, देश ज्यादै अप्ठ्यारो छ ।’
एक बथान बस्तुहरूलाई गोठमा हुल्न नसकेर
चिच्याई–चिच्याई रुँदै थिइन्– बहिनी
मैले मद्दत गरेँ,
उनले भनिन्–
‘दाइ, देश नसक्नुको छाडा छ ।’
कापी–कलम राखेको झोला हराएर उदास–उदास
घर फर्किरहेका थिए– भाइ
मैले सान्त्वना दिएँ,
उनले भने–
‘दाइ, देश साह्रै बदमास छ ।’
मैले जेजति गरेँ
त्यो
म आमाबालाई सुनाउन चाहन्थेँ
तर म के
घरभित्र पसेको मात्रै थिएँ
आमाबाका संयुक्त स्वरहरू उर्लिए–
बद्मास !
छाडा !
माटोलाई भार !
म देश खोजिरहेको थिएँ ।
माझीगाउँको हल्ला
नदीमा
ताराहरू डुबेका छन् भन्ने
गाउँभरि हल्ला चलेपछि
ऊ सबेरै
बल्छी बोकेर हिँड्यो ।
उसलाई सबभन्दा
ध्रुव ताराप्रति अगाध मोह थियो
कारण
उसको जस्केलोबाट चिहाएर
ध्रुव तारा
उसको ओछ्यानभरि पोखिन्थ्यो
भोकै सुतेको रात होस्
या रक्सी धोकेर सुतेको रात होस्
ध्रुव तारा
उसको निधारमा टप्लक्क बस्थ्यो
र, ऊ धपक्कै बल्दथ्यो ।
ऊ
नदीको छातीमा एकाग्र
बल्छी थापिरहेको थियो
परबाट
एक हूल नानीहरू रमाउँदै आए–
‘माझी दाइ ! माझी दाइ !
हामीले ताराको गुहु भेट्यौँ ।’
पालैपालो सुम्सुम्याएपछि
निष्कर्षमा
सबैले एकै स्वरले भने–
‘ताराको गुहु ढुंगाजस्तै हुँदो रहेछ ।’
बल्छी थापिरह्यो
तर कहिल्यै
तारा अल्झिन आएन
बरु, धेरै माछाहरू अल्झिए
र, गाउँभरिकालाई सितन भयो ।
अब त ऊ
ध्रुव तारा झिकिछोड्ने अठोट लिएर
वारपार गर्नेहरूलाई डुंगाबाट तार्दा पनि
बल्छी खेल्न छोडेन
नानीहरू किनार उचाल्दै कराउन थाले–
‘माझी दाइ ! माझी दाइ !
हामीलाई तारा छिटो झिकिदिनुहोस् न ।’
वर्षाको याम न थियो
एक रात
ठूलो बाढी आयो
र, निष्ठुरी बाढीले
ध्रुव तारा झिक्न अभ्यस्त उसलाई
बगाएर कहाँ...कहाँ पुर्यायो
भोलिपल्ट बिहान
सबेरै
गाउँमा अर्काे हल्ला चल्यो–
‘नदीमा
रहरलाग्दो जून पनि डुबेको छ ।’
यौटा योद्धाको सम्बोधन छोरीलाई
यौटा भयानक युद्धपछि तिमी जन्मियौ
तिम्री आमाको प्रसव चित्कारको अन्तिम पंक्ति
तिम्रो अन्तिम भोजन थियो– यस पृथ्वीको ।
जब तिमी आयौ यहाँ...
अब तिमीसित छैन त्यो
छैन धरती
छैन देश
छैन घर
छैन त्यो गर्भको स्वतन्त्रता ।
तिम्रो बाबुको थाकेको बन्दुकको मोहोरीछेउ
यूएनओको आलो छाप लागेको छ
जसको वरिपरि
भोका कमिला र हरिया झिँगाहरू घुमिरहेका छन् ।
भोकले
जब तिमी रोयौ पहिलोपल्ट
तिम्री आमाले पिलाइन् आफ्नो सपना
तिमी लामबद्ध भयौ संर्घषमा ।
छोरी !
जब तिमी टुकुटुकु हिँड्न थाल्नेछौ– यो बाटोमा
पुतली, फूल, पानी र धुलोसित खेल्न थाल्नेछौ तिमी
बारुदले चिथोरेको आमाको स्तन चुस्न छोड्नेछौ जब
तिमीलाई तिम्रो नाम सोधिनेछ– पहिलोपल्ट ।
जब तिमी यी खेत र जंगलहरूमा
गाउन थाल्नेछौ गीत र बगाउन थाल्नेछौ पसिना
तिमीलाई सोधिनेछ– तिम्रो देश
आखिर तिमी एक योद्धाकी छोरी हौ
तर उनीहरूलाई कुनै मतलब हुनेछैन– त्यो
पटक–पटक सोध्नेछन् उनीहरूले तिमीलाई तिम्रो नाम
तिमी उत्तर दिनेछैनौ ।
किनकि–
यस धरतीमा त्यस्ता धरतीहरू छन्
जसको कुनै नाम छैन
त्यहाँ तिमी जन्मियौ
किनकि–
यस धरतीमा त्यस्ता मानिसहरू छन्
जसको कुनै धरती छैन
त्यहाँ तिमी जन्मियौ ।
त्यसैले तिमी–
अमेरिकी, चिनियाँ, रुसी, जर्मनी,
अफ्रिकी, इराकी, भारतीय वा नेपाली...कुनै
आरोपित हुनेछौ
तर त्यो प्रमाणित हुनेछैन
र, तिमी आफू उभिएको
भुइँको माटो मुठ्याएर हेर्नेछौ– यो कुन देश हो...
अफसोच !
तिम्रो योद्धा बाबुको मृत्यु भइसकेको हुनेछ !
तिम्री आमा बन्दी भएको यो शिविरको एकान्तमा उभिएर तिमी
आफ्नो बाबुको रातो डायरीको अन्तिम पाना पल्टाउनेछौ
र, खिया लागेको बन्दुक सफा गर्न थाल्नेछौ ।
हुलिया
‘मान्छे जूनमा पुग्यो’ भन्ने थाहा पाएपछि
हाम्रो ठूलेले पनि घर छोडेको छ ।
कञ्चनजंघाजस्तो छाती
गुरासँजस्ता आँखा
र, रकेटजस्तो रहर बोकेर हिँडेको
कहाँ पुग्यो ?
कुनै खुटखबर छैन
कोही भन्छन्–
हिमाल चढ्नेहरूका पैताला सुम्सुम्याउँदै
स्वाभिमानको हाँक दिँदैछ कि– सोलुखुम्बतिर
कोही भन्छन्–
बयलगाडा चोराएर
चतुर गोर्खालीको परिभाषा फलाक्दै छ कि– बहादुरगञ्जतिर
चार–चौरास खोजेँ
पत्तो लागेन
अस्ति,
एउटा मान्छे
नुनको भारीसँगै सप्तकोशीमा झर्यो
धन्य, ठूले होइन रहेछ
अर्को मान्छे–
खाडीमा मर्यो
धन्य, ठूले होइन रहेछ
उस्तै–उस्तै मान्छे
जुलुसमा पर्यो
धन्य, ठूले होइन रहेछ
कोही भन्छन्–
चारखालमा निहुँ खोज्दै होला– सरकारसित
कोही भन्छन्–
एयरपोर्टमा घुस खुवाउँदै होला– सरकारलाई
कोही भन्छन्–
सिंहदरबारमा सिन्दुर लगाउँदै होला– सरकारको
कञ्चनजंघाजस्तो छाती
गुराँसजस्ता आँखा
र, रकेटजस्तो रहर बोकेर
जूनमा पुग्ने मान्छेको सेखी झार्न हिँडेको ठूले
तपाईंहरू कसैकामा भाँडा माझ्दै छ कि
खबर गर्नुहोला
हामीलाई साह्रै सुर्ता लागेको छ ।
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७