‘आमाबाबुको गालीमा पनि माया हुन्छ’

writer

मेनुका कोइराला

सोमबार, ०६ साउन २०७६


काठमाडौँ, बानेश्वरस्थित नोबेल एकेडमीमा कक्षा १२ का विद्यार्थी हुन्, कृस्टिना घिमिरे, इच्छा कँडेल, रोहन खड्का, प्रथम खनाल, श्रीजन नेपाल, अमिशा खनाल, महिमा बस्नेत र लोचन साउद। उनीहरू कलेजको क्यान्टिनमा जेनरेसन ग्यापमाथि गफिएर बसेका थिए।


लोचनः आज त बिहानैदेखि मुड अफ छ।

प्रथमः किन ? के भो ?

लोचनः कपाल काटेको भएन भनेर बाबाले एकदमै गाली गर्नुभयो। 

प्रथमः कुन ठूलो कुरा भयो ? तैँले आज एक दिन मात्र गाली खाइछस्। म त दिनकै गाली खान्छु। बानी परिसक्यो। अरू नयाँ कुरा गर्। 

लोचनः मेरो एकदमै चित्त दुखेको छ। किन सधैँ ममी–बाबालाई मैले गरेको काम मन पर्दैन। कपाल काटेको कुरामा पनि कराउनैपर्छजस्तो मलाई लाग्दैन। 

महिमाः ममी–बाबासँग मेरो पनि झगडा पर्छ। कहिलेकाहीँ खाना खाइरहेको बेला पनि गाली गर्न थाल्नुहुन्छ। म त खाना छोडेर हिँडिदिन्छु। 

इच्छाः मेरो अवस्था पनि त्यही हो। ममी–बाबासँग सोच फिटिक्कै मिल्दैन। घरमा बस्यो कि हाम्रो पालामा यस्तो–उस्तो, अहिलेका छोराछोरी किन बिग्रेका भनेर भाषण दिन थाल्नुहुन्छ। उहाँहरू घरमा बस्नुभन्दा अफिस जानुभएकै ठीक लाग्छ।

महिमाः मलाई झन् कलेजबाट दुई मिनेट मात्र ढिला आउँदा पनि कराउनुहुन्छ। कोठामा बसिरहँदा पनि गाली खान्छु, साथीकोमा जान्छु भन्दा पनि कराउनुहुन्छ। जे गरे पनि सुख छैन। 

रोहनः साथीहरू, ममीबाबा हाम्रै राम्रोको लागि कराउनुहुन्छ। हामीलाई अनुशासनमा राख्न चाहनुहुन्छ। उहाँहरूको नियन्त्रणलाई सकारात्मक हिसाबले पनि सोचौँ न। उहाँहरूको समयभन्दा अहिले समाजमा निकै परिवर्तन भइसक्यो। त्यसैले यो समय उहाँहरूलाई नौलो लाग्छ। हामीले रिसाउनुभन्दा उहाँहरूलाई सम्झाउनुपर्छ। आमाबाबुको गालीमा पनि माया हुन्छ।   

लोचनः अनुशासनको नाममा एक्काइसौँ शताब्दीमा पनि पुरानै सोच लिएर हुन्छ ? उहाँहरू हामीलाई बुझ्ने कोसिससम्म गर्नुहुन्न। हाम्रो पनि इच्छा हुन्छ, चाहना हुन्छ, समयअनुसार चल्नुपर्ने हुन्छ। उहाँहरूले भनेको कुरा सधँै टेर्नुपर्छ। कहिलेकाहीँ त घरमै नबसूँजस्तो लाग्छ।

श्रीजनः हो भन्या, ममी–बाबालाई कराउन ठूलो कुरा पनि चाहिन्न। तरकारी किन नखाको, कोठामा किन एक्लै बसिराखेको, फोन किन चलाको भनेर स–साना कुरामा पनि कराउन थाल्नुहुन्छ। गाली नगरी भात पनि खान दिनुहुन्न। यस्तो छ मेरो अवस्था। 

महिमाः अझ मेरो घरमा त दिउसभरि मैले ममीसँग झगडा गरेको थाहा पाएपछि ‘वल्र्ड वार थ्री’ नै हुन्छ। ममीसँग मुख लाग्यो भनेर बाबाले पनि गाली गर्नुहुन्छ। 

अमिशाः घरमा सानो–सानो कुरामा गाली म पनि खाइरहेकै हुन्छु। तर, उहाँहरूले हाम्रो भलोका लागि भन्नुभएको हो। यसलाई हामीले सकारात्मक तरिकाले लिनुपर्छ। 

प्रथमः घरमा ममी–बाबाको किचकिचबाट वाक्क भएर मेरो एक जना साथी होस्टेलमा बस्छ। कहिलेकाहीँ मात्र घर आउँछ। घर आउँदा पनि कहिले मामाघर, कहिले साथीकोमा बस्छ। 

श्रीजनः हो नि, कलेज आउँदा ‘बाबा पैसा चाहियो’ भन्दा ‘हिजो दिएको कता हालिस् ?’ भन्दै कराउनुहुन्छ। साथी हुन्छन् खाजा खाइन्छ, पैसा सकिहाल्छ। बाबालाई बुझाउन थाल्यो भने ‘आफैँ कमाएर खर्च गर्, म सक्दिनँ’ भन्नुहुन्छ। रिस उठेर कहिलेकाहीँ पैसा नमागी निस्कन्छु। 

प्रथमः पकेट मनीका लागि मैले पनि सधैँ गाली खानुपर्छ। हिसाब गरेर पैसा दिनुहुन्छ। एक महिनामा एक रुपैयाँ दायाँबायाँ हँुदा हिसाब बुझाउनुपर्छ। नियन्त्रण गर्नुको पनि हद हुन्छ नि ! दिक्क लाग्छ। 

रोहनः हाम्रो अहिले उमेर काँचो छ। सबै कुराको निर्णय हामीले लिन सक्दैनौँ। ममी–बाबाले सबै पैसाको हिसाब गरेर कता, कति खर्च भयो भनेर सोध्नु भनेको उहाँहरूको डर हो। हामी कतै नराम्रो बाटोमा पो लागिरहेका छौँ कि भनेर उहाँहरूले बुझ्न खोज्नुभएको हो। 

कृस्टिनाः हामीले सबै कुरामा ममी–बाबालाई मात्र दोष दिनु हुँदैन। गल्ती हामीबाट पनि भएको हुन्छ। 

प्रथमः कृस्टिनाको कुरा पनि ठीकै हो। सबै कुरामा गल्ती ममी–बाबाको मात्र हुँदैन। उहाँहरूले हाम्रो राम्रोको लागि गरेको काम हामीलाई नराम्रो लागेको हुन सक्छ। तर, उहाँहरूले हामीलाई बुझ्नुपर्‍यो।

लोचनः बुझाउन खोज्यो भने ‘हामीभन्दा जान्ने हुन्छस्’ भन्दै पिट्न आउनुहुन्छ, ममी। 

अमिशाः मलाई पनि ‘मुखमुखै लागिस्, ठूलो मान्छेसँग बोल्ने सोमत छैन’ भन्दै हप्काउनुहुन्छ। उहाँहरूको कुरामा सहमति जनाइएन भने मुखमुखै लागेको हुन्छ रे ! अचम्म। 

रोहनः ठूलो स्वर गर्दै ममीसँग झगडा गर्दै सम्झाउने हैन नि। आरामले राम्रोसँग ‘यो गर्दा यस्तो हुन्छ’ भन्दै बुझाउनुपर्छ। जेनरेसन ग्यापका कारण यस्तो भएको हो। घरमा सल्लाह गरी काम गरियो भने यस्तो समस्या देखिँदैन।

इच्छाः उहाँहरूले हाम्रो कुरा सुन्दै नसुनेपछि सल्लाह कसरी हुन्छ ? के गर्ने, कसरी गर्ने ? हाम्रो कुरा सुन्ने वातावरण त उहाँहरूले सिर्जना गर्ने हो। यसो गर्दा हामीलाई पनि सहज हुन्छ। हामीले पनि आफ्ना कुरा राख्न पाउँछौँ। 

कृस्टिनाः चुप लागेर झगडा कम हुन्छ भने चुप लाग्ने। ममी–बाबाको मुड ठीक भएपछि आरामले बसेर कुरा गर्ने। बाबा दिनभरि अफिसको कामबाट थाकेर घर फर्किनेबित्तिकै तिमी पनि बाबासँग कराउँदा उहाँलाई रिस उठिहाल्छ नि। पछि बिस्तारै खाना खाँदा वा बस्दा कुरा गर्ने हो।  

प्रथमः  कृस्टिनाको कुरा सुनेर त मलाई ममी–बाबालाई ‘सरी’ भन्न मन लाग्यो। उहाँहरूले हाम्रो लागि कति धेरै गर्नुभएको छ। हामी भने उहाँहरूका मायाप्रेम, स्याहारलाई गाली सोच्ने रैछौँ।

लोचनः कृस्टिना र रोहनको घरमा कहिल्यै झगडा हुन्न होला, है ? तिमीहरू कति धेरै कुरा बुझ्ने रहेछौ। मलाई त सानो कुरामा पनि इरिटेसन भइहाल्छ। 

रोहनः त्यस्तो होइन, झगडा हाम्रो पनि हुन्छ। धेरै कुरामा चित्त बुझ्दैन तर सबै कुरामा ममी–बाबाको गल्ती देख्नु हुँदैन पो भनेको। उहाँहरूले भनेको कुरा ठीक लाग्यो भने मान्छु, नत्र यस्तो हो भनेर बुझाउँछु। 

प्रथमः हामीले पनि रोहनले जस्तै गर्नुपर्छ। बल्ल परिवारमा सबै खुशी हुन्छन्। 

लोचनः यसो हुँदा ममी–बाबाले हामीलाई र हामीले ममी–बाबालाई कम्प्लेन गर्ने अवस्था हुँदैन होला। 

तपाईको कमेन्ट