बर्खा याममा घरको स्याहार यसरी गरौं

writer

सम्पूर्ण

शनिबार, ०४ साउन २०७६


बर्खाको मौसममा काठका फर्निचर, झ्याल–ढोकाको स्याहारसम्भार गर्नुपर्छ । बर्सातमा चिसो हुने भएकाले काठका सामान बिग्रने डर रहन्छ । त्यसैले यस मौसममा घरको विशेष हेरविचार गर्नुपर्छ ।

फर्निचरको सरसफाइ 

काठको गुणवत्ता र आकारमा बर्सातमा हुने चिसोपनको नराम्रो असर पर्छ । त्यसमा ढुसी पर्न सक्छ । त्यसैले बर्खा याममा चिसो कपडाले भन्दा पनि सफा, नरम र सुक्खा कपडाले फर्निचर सफा गर्नुपर्छ । दराज, टेबललगायत सफा गर्दा साबुन–पानी प्रयोग गर्न सकिन्छ । दराज सफा गरेपछि कपडा राख्नुअघि त्यो सुक्यो÷सुकेन, हेक्का राख्नुपर्छ । दराज राम्ररी सुकेपछि मात्र त्यसमा कपडा थन्काउनुपर्छ । दराजमा नीमका सुकेका पात राख्दा राम्रो हुन्छ । नीमका पातले गर्दा गन्ध हराउँछ, ढुसी पर्दैन ।

कार्पेटको सरसफाइ

बर्सातको चिसोले कार्पेटमा असर गर्छ । त्यसैले झ्याल खुला छोड्नु हुँदैन । झ्यालबाट चिसोपन भित्रिन्छ र कार्पेटले सोस्छ । चिसो कार्पेटमा ढुसी पर्ने गर्छ । कार्पेटमा चिसो जुत्ताचप्पल लग्नु हुँदैन । कार्पेट भएको ठाउँमा पंखा चलाइरहनुपर्छ । पंखाको हावाले त्यसलाई सुक्न मद्दत गर्छ । यसै गरी, कार्पेटलाई भ्याक्युम क्लिनरले सफा गर्नुपर्छ । भ्याक्युमको हावाले पनि कार्पेटको चिसोपन सोस्छ । बर्सातमा भरसक ठूला र भारी कार्पेट नओछ्याएको राम्रो !

ओसिलो भित्ताको हेरचाह

बर्खा याममा घरका भित्ता, छत ओसिला हुन्छन् । चिरा परेको भित्तामा चिसोले झनै प्रभाव पार्छ । भित्ताको पेन्ट पनि पाप्रो–पाप्रो भएर निस्कन थाल्छ । त्यसैले वर्षा ऋतु सुरु हुनुअघि नै भित्तामा चिरा परेको छ÷छैन, हेक्का गर्नुपर्छ । घरका पाइप, नालीको चेकजाँच गर्नुपर्छ । सरसफाइ गर्नुपर्छ ।

सोफाको सरसफाइ

पानी पर्ने मौसममा सोफालाई भ्याक्युम क्लिनरले सफा गर्नुपर्छ । भ्याक्युमलाई तातो हावाको मोडमा राख्नुपर्छ । 

भान्छाको सरसफाइ

भान्छाको सामान राखिएको ठाउँ राम्ररी सफा गर्नुपर्छ । खाना खुला छोड्नु हुँदैन । फ्रिज पनि राम्ररी सफा गर्नुपर्छ । बासी खानेकुरा फ्याँक्नुपर्छ ।

विद्युतीय उपकरणको हेरचार

बर्सातको मौसममा विद्युतीय उपकरणमा ध्यान दिनुपर्छ । इलेक्ट्रिक ग्याजेट्सलाई ओसिलो हुनबाट बचाउनुपर्छ ।

तपाईको कमेन्ट