एउटा चलेपछि सेलिब्रिटी

writer

गोपाल दाहाल

मङ्गलबार, १३ कार्तिक २०७५


कलाकारितामा स्थापित हुने चाहना धेरैको हुन सक्छ तर यो क्षेत्र सबैका लागि सहज हुँदैन। कोही वर्षौं प्रयास गर्दा पनि दर्शक–स्रोतामाझ ‘क्लिक’ हुन सक्दैनन्, अनि कोही चाहिँ एउटै फिल्म, म्युजिक भिडियो वा गीतबाट पनि सुपरहिट बन्छन्।

रंगमञ्च, फिल्म र संगीत क्षेत्रमा एकाएक करिअर मोडिएकाहरू दर्शक–स्रोतामाझ छाउँछन् र रातारात सेलिब्रिटी बन्छन्। अहिले नेपालमा चलेका रंगकर्मी, फिल्मकर्मी र संगीतकर्मीका करिअरका ती घुम्ती कुन–कुन थिए ?

हिट बनाउने त्यो फिल्म 

दयाहाङ राईः लुट 

रंगकर्ममा सक्रिय दयाहाङ राईले सुरुमा ‘अनागरिक’ फिल्ममा अभिनय गरेका थिए। त्यसपछि ‘मेरो एउटा साथी छ’, ‘दासढुंगा’ र ‘मेरो लभस्टोरी’मा अभिनय गरे। ‘दासढुंगा’मा उनको अभिनय मन पराइए पनि त्यो व्यावसायिक फिल्म थिएन। जब सन् २०१२ मा उनले फिल्म ‘लुट’मा गोफ्ले बनेर अभिनय गरे, त्यसपछि उनी स्टार बने।

‘लुट’पछि उनलाई फिल्म अफरको बाढी नै आयो। उनलाई अभिनय गराउन निर्माता–निर्देशकको लाइन लाग्न थाल्यो। अहिले पनि उनी फिल्म र नाटकमा व्यस्त छन्। उनले धेरै फिल्म खेल्न थालेपछि धेरैले ‘दोस्रो राजेश हमाल’ भनेर पनि आलोचना गरे। हालसम्म उनले ३० भन्दा बढी फिल्ममा काम गरिसके।

दयाहाङलाई आफूले काम गरेकामध्ये ‘दासढुंगा’, ‘लुट’, ‘कबड्डी’, ‘ह्वाइट सन’ र ‘त्यान्द्रो’ फिल्म चित्तबुझ्दा लाग्छन्, बाँकी त उनकै शब्दमा ‘दालभातका लागि गरिएका काम’ हुन्। भन्छन्, ‘काम गर्दै गएपछि एउटा टर्निङ प्वाइन्ट आउँछ।  त्यसैले हो मान्छेलाई स्थापित गराउने।’

खगेन्द्र लामिछानेः पशुपतिप्रसाद

खगेन्द्र लामिछाने नेपाली फिल्म क्षेत्रका प्रतिभाशाली कलाकार हुन्। फिल्म ‘वधशाला’बाट नै उनी दर्शकको नजरमा परे। त्यसपछि उनैले लेखेको र अभिनय गरेको ‘टलकजंग भर्सेस टुल्के’ले उनको चर्चा अझै बढायो। त्यो फिल्मबाट त उनलाई धेरैले ‘टुल्के’ उपनामसमेत दिए। फिल्म ‘पशुपतिप्रसाद’ले खगेन्द्रलाई स्थापित गरायो। उनी भन्छन्, ‘नाटकमा काम गरे पनि फिल्मबाट आम दर्शकमाझ चिनिएँ। दर्शकको त्यो माया जोगाउन बरु बिस्तारै काम गर्छु तर राम्रो गर्छु भन्ने सोचेको छु।’

सौगात मल्लः लुट

नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेताका रूपमा परिचित सौगात मल्ललाई धेरैले ‘हाक्कु काले’ भनेर पनि चिन्छन्। उनको त्यो परिचय ‘लुट’ फिल्मको क्यारेक्टर हो। हुन त उनले पहिला फिल्म ‘कागबेनी’मा पनि अभिनय गरेका थिए तर ‘लुट’ उनलाई चिनाउने फिल्म बन्यो। त्यसपछिका दिनमा उनले ‘छडके’, ‘सुनगाभा’, ‘फिट्किरी’ लगायत दर्जनौँ फिल्ममा काम गरे। उनले काम गरेका फिल्म व्यापारमा असफल भए पनि सौगातले निर्वाह गरेका चरित्र भने जमेका छन्।

निश्चल बस्नेतः लुट  

निश्चल बस्नेत नेपाली फिल्म क्षेत्रमा एकाएक चर्चामा आएको नाम हो। उनका निर्देशक, अभिनेता, निर्माता, गायक, लेखकलगायत बहुपरिचय छन्। एक दशकअघि फिल्म क्षेत्रमा आएका उनले निर्देशन गरेको फिल्म ‘लुट’ सर्वाधिक चर्चित बन्यो। त्यसपछि त उनको व्यस्तता बढिहाल्यो। ‘लुट’पछि उनले निर्देशन र अभिनय गरेको ‘कबड्डी’ पनि चर्चित बन्यो। उनले ‘टलकजंग भर्सेस टुल्के’, ‘कबड्डी कबड्डी’, ‘पर्व’, ‘लुट २’ लगायत फिल्म निर्देशन गरे। तिनमा अभिनय पनि गरे। दिनेश राउत निर्देशित फिल्म पर्वमा आफैँले गाएको आइटम गीत ‘काले दाइ’मा नाचेपछि उनलाई धेरैले ‘काले दाइ’ भनेर पनि चिने। उनको यो बहुमुखी प्रतिभा ‘लुट’ पछि नै सार्वजनिक भएको हो।

नाजिर हुसेनः वीरविक्रम 

कलाकार नाजिर हुसेनले ‘माथा पन्चर’, ‘डिग्री माइला’, ‘चरनदास चोर’ लगायत नाटकमा अभिनय गरेर चर्चा कमाएका थिए। पछिल्लो समय उनी रंगमञ्चबाट फिल्मी पर्दामा हाम्फाले। ‘पुन्टे परेड’मा सानो रोल गरेर फिल्म क्षेत्रमा प्रवेश गरेका उनले त्यसपछिका दिनमा ‘होस्टल रिटन्र्स’मा अभिनय गरे। तर, उनको परिचय आम दर्शकमाझ पुगेन। ‘वीरविक्रम’ फिल्ममा मानबहादुर विश्वकर्मा क्यारेक्टरमा जमेपछि उनी दर्शकका प्रिय कलाकार बने। अहिले उनी विभिन्न फिल्ममा अभिनय गरिरहेका छन्।

प्रियंका कार्कीः झोले 

प्रियंका कार्की पछिल्लो समयकी चर्चित र व्यस्त अभिनेत्री हुन्। मोडलिङबाट रंगयात्रा सुरु गरेकी उनले अभिनय भने ‘थ्री लभर्स’ फिल्मबाट सुरु गरेकी हुन्।

त्यसपछि उनले ‘कलिउड’, ‘भिजिलान्ते’, ‘कर्कश’, ‘नेपथ्य’ लगायत फिल्ममा काम गरिन्, तर आम दर्शकमाझ ‘नोटिस्ड’ भइनन्। दयाहाङ राईसँग ‘झोले’ फिल्ममा उनले गरेको अभिनय दर्शकले रुचाए। त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन। पछिल्लो समय उनी यति व्यस्त बनिन् कि केही समयपहिले उनले अभिनय गरेका चार फिल्म एकसाथ बजारमा आए। अहिले उनी अभिनीत ‘छक्कापञ्जा ३’ हलमा चलिरहेको छ। म्युजिक भिडियोमा पनि उनी उत्तिकै व्यस्त छिन्। केही समयअघि ‘सम्पूर्ण’सँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘आफूले सबैमा काम राम्रो गरौँ भनेरै अभिनय गरिएको हुन्छ तर दर्शकको मनमा जुन कामले छाप छाड्छ, त्यसैले हामीलाई स्थापित गराउँछ।’

साम्राज्ञीराज्यलक्ष्मी शाहः ड्रिम्स  

साम्राज्ञीराज्यलक्ष्मी शाह प्लस टू गरेर अस्ट्रेलिया जाने तयारीमा थिइन्। एक दिन भुवन केसीले साम्राज्ञीकी आमालाई फोन गरेर आफ्ना छोरा अनमोलसँग फिल्ममा खेलाउन अफर गरे। केसीले निर्माण गरेको फिल्म ‘ड्रिम्स’मा अभिनय गरेपछि साम्राज्ञी रातारात स्टार बनिन्।

फिल्मको ट्रेलर सार्वजनिक भएपछि फिल्म बजारमा उनको चर्चा सुरु भयो। पहिलो फिल्मबाटै उनी चर्चामा आइन्। त्यसपछि त निर्माताहरू उनलाई खोज्न थाले। उनले ‘ए मेरो हजुर २’, ‘कायरा’ ‘इन्टु मिन्टु लन्डनमा’ जस्ता फिल्ममा काम गरिन्। अहिले उनले १० लाख रुपैयाँसम्म पारिश्रमिक लिने गरेकी छिन्।

अनमोल केसीः जेरी 

अनमोल केसी नयाँ पुस्ताका चर्चित अभिनेता हुन्। अभिनेता भुवन केसीका छोरा हुनुले पनि उनलाई फिल्म क्षेत्रमा आउन सहज भयो। उनी १४ वर्षको उमेरमै बुबाले निर्माण गरेको फिल्म ‘सुपरस्टार’का निर्माता बने। त्यसपछि १९ वर्षको उमेरमा ‘होस्टल’ फिल्मका नायक बने। तर, त्यसबाट उनको उस्तो परिचय बन्न सकेन। जब ‘जेरी’ फिल्म सार्वजनिक भयो, अनमोल एकाएक चर्चाको शिखरमा पुगे। ‘जेरी’ले स्थापित गराएपछि उनले ‘ड्रिम्स’, ‘गाजलु’ लगायत फिल्म गरे।

प्रशान्त ताम्राकारः ऐश्वर्य

पछिल्लो समय ‘ह्यान्डसम भिलेन’का रूपमा परिचित छन्, प्रशान्त ताम्राकार। करिब २५ वर्षदेखि मोडलिङ, कोरियोग्राफी, इभेन्ट म्यानेजमेन्टजस्ता काम गर्दै आएका उनले फिल्म ‘मुखौटा’ र ‘सम्बोधन’ मा पनि अभिनय गरे। तर, गत वर्ष रिलिज भएको ‘ऐश्वर्य’ ले उनलाई फिल्म क्षेत्रमा स्थापित गरायो।

अहिले उनी अन्य फिल्ममा व्यस्त छन्। लामो समय यही क्षेत्रमा काम गरे पनि ‘ऐश्वर्य’मा अभिनय गरेपछि भने उनको पहिचानै बेग्लै बन्यो। भन्छन्, ‘ऐश्वर्यको ट्रेलर सार्वजनिक भएपछि नै दर्शकको राम्रो प्रतिक्रिया पाएको थिएँ। यही फिल्मले यस क्षेत्रमा मलाई चिनायो।’

स्वस्तिमा खड्काः दुई रुपैयाँ 

म्युजिक भिडियोमा अभिनय गर्दै आएकी स्वस्तिमा खड्काले ‘होस्टल रिटन्र्स’, ‘लभ लभ लभ’, ‘प्रेमगीत २’ लगायतमा अभिनय गरिन्, तर ‘दुई रुपैयाँ’ फिल्मको गीत ‘कुटुमा कुटु’ सार्वजनिक भएपछि स्वस्तिमा आम दर्शकको नजरमा परिन्। त्यसपछि ‘छक्कापञ्जा २’ र ‘छक्कापञ्जा ३’मा अभिनय गरेकी उनी अहिले फिल्मसँगै म्युजिक भिडियोमा पनि व्यस्त छिन्।

प्रदीप खड्काः प्रेमगीत 

सुरुमा निर्माताका रूपमा फिल्म क्षेत्रमा प्रवेश गरेका प्रदीप खड्का अहिलेका चर्चित अभिनेतामा पर्छन्। उनको कम्पनी प्रदीप मिडियाले ‘ठूलोमान्छे’ फिल्म निर्माण गरेको थियो। त्यसपछि उनले ‘इस्केप’ निर्माण गरे र त्यसमा अभिनय पनि गरे। तर, ‘प्रेमगीत’ फिल्ममा अभिनय गरेपछि उनी रातारात स्टार बने। उनी अहिले विभिन्न फिल्ममा व्यस्त छन्।

 

हिट बनाउने त्यो गीत

नेपाली संगीत क्षेत्रमा त्यस्ता धेरै गायकगायिका छन्, जो एउटै गीतबाट स्रोतामाझ चिनिए।

इन्दिरा जोशीः उध्रेको चोली 

गायिका र मोडल हुन्, इन्दिरा जोशी। पछिल्लो समय भने उनी नेपाल आइडलकी निर्णायकका रूपमा परिचित छिन्। उनी आफैँ कुनै बेला सांगीतिक प्रतियोगिता ‘नेपाली तारा’की प्रतिस्पर्धी थिइन्। रियालिटी सोमा सफल हुन नसके पनि उनी गीतबाट सफल भइन्। ‘लुट’ फिल्मको गीत ‘उध्रेको चोली’ गाएपछि इन्दिरा सेलिब्रिटी बनिन्। त्यसपछि आएको ‘रातो घाँघर’ले उनको चर्चामा निरन्तरता थप्यो। गायनसँगै बेली डान्स गर्ने इन्दिरालाई कतिपयले ‘नेपाली साकिरा’ पनि भन्ने गरेका छन्। अहिले नेपाल आइडल दोस्रो सिजनकी निर्णायक रहेकी उनी नेपाली संगीत क्षेत्रमा स्थापित बनिसकेकी छिन्।

कालीप्रसाद बाँस्कोटाः पारि त्यो डाँडामा

कालीप्रसाद बाँस्कोटा नेपाली संगीत क्षेत्रमा परिचित नाम हो। गायन तथा संगीतमा उनको बेग्लै पहिचान छ। उनले सुरुमा संगीत गरेको शशि रावलले गाएको ‘चाहना सकियो’ चर्चामा आएपछि कालीप्रसाद सांगीतिक क्षेत्रमा चिनिए। उनको संगीतमा हेमन्त रानाले गाएका ‘लैजा रे’, ‘साइँली’ लगायत धेरै गीत चर्चित छन्।

संगीतमा मात्र होइन, कालीप्रसाद गायनमा पनि परिचित नाम हो। उनको स्वर र संगीत रहेको ‘पारि त्यो डाँडामा’ सार्वजनिक भएपछि उनी गायकका रूपमा पनि हिट भए। गीत र संगीतबाट धेरै पुरस्कार र अवार्ड हात पारेका उनी अहिले चर्चित रियालिटी सो नेपाल आइडलका निर्णायक छन्।

मेलिना राईः कम्मरमाथि पटुकी

पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा लगातार चर्चामा रहेको नाम हो, मेलिना राई। उनले पहिले अरू गीत गाए पनि ‘नाइँ नभन्नू ल ३’ फिल्मको गीत ‘कम्मरमाथि पटुकी’ सार्वजनिक भएपछि रातारात सेलिब्रिटी बनिन्। त्यसपछि उनले गाएको फिल्म ‘दुई रुपैयाँ’को गीत ‘कुटुमा कुटु’लाई स्रोताले अत्यधिक मन पराए। पछिल्लो समय राजनराज शिवाकोटीसँग उनले गाएका धेरैजसो गीत हिट छन्। अहिले धेरै फिल्ममा मेलिनाले गाउने गरेकी छिन्। भन्छिन्, ‘मलाई ‘कम्मरमाथि पटुकी’ले स्थापित गरायो।’

राजनराज शिवाकोटीः सुर्केथैली खै 

राजनराज शिवाकोटी यस्ता गायक–संगीतकार हुन्, जसका धेरैजसो गीत युट्युबमा करोडभन्दा बढीले हेरेका छन्। पहिले नै राजनराजका केही गीत चर्चित थिए तर उनलाई स्रोताले चिन्दैनथे। फिल्म ‘वडा नम्बर ६’मा उनको संगीत र स्वर रहेको गीत ‘सुर्केथैली खै’ सार्वजनिक भएपछि राजनराजको नाम स्रोताको कानमा गुञ्जिन थाल्यो।

त्यसपछि त उनका ‘कुटुमा कुटु’, ‘पूर्वपश्चिम रेल’, ‘चरी चट्ट परी’, ‘उम्लियो भने पोखिन्छ’ लगायत गीत लगालग हिट भए। अहिले उनको संगीत र स्वरमा रहेको फिल्म ‘चंगा चेट’को गीत ‘गोजीमा दाम छैन’ हिट छ। ‘एक दिन पैसा चोरौँ भनेर आमाको सुर्केथैली खोल्न खोज्दा च्यातियो,’ उनी भन्छन्, ‘मैले कुटाइ खाएँ। त्यही घटना दिमागबाट हटेन र गीत बन्यो। यही गीत मेरो करिअरको टर्निङ प्वाइन्ट बन्यो।’

सुगम पोखरेलः मेरो संसार तिमी नै हौ

गायक सुगम पोखरेलले पहिले नै ‘म माया गर्छु’, ‘पाएर तिमीलाई’, ‘पन्छी’ लगायत गीत रेकर्ड गराएका थिए तर उनलाई खासैले चिनेनन्। उनको गीत ‘मेरो संसार तिमी नै हो’ बजारमा आएपछि भने उनी रातारात हिट भए। त्यसपछि नेपाली संगीत बजारमा उनको परिचय बन्यो। अहिले उनी फिल्मका प्लेब्याक सिंगिङदेखि पपआधुनिक गीतमा व्यस्त छन्।

रियालिटी सोबाट हिट

नेपालमा पछिल्लो समय भित्रिएका रियालिटी सोहरूले पनि गायनमा क्षमता भएकालाई एकाएक सेलिब्रिटी बनाउन थालेको छ। संगीत क्षेत्रमा नामै नसुनिएका बुद्ध लामा नेपाल आइडलको विजेता बने। त्यस्तै, निशान भट्टराई, प्रताप दास, प्रमिला राईलगायत धेरै गायक–गायिका जन्मिए। नामै

नसुकिएकी कविता नेपाली नृत्य रियालिटी सो ‘बुगीवुगी’की विजेता बनेर चर्चामा आइन्। अहिले भिडियोमा व्यस्त छिन् उनी। अहिले पनि रियालिटी सोका सहभागी दिनदिनै चर्चित बन्दै छन्। संगीतकार न्ह्यू वज्राचार्यका शब्दमा संगीत क्षेत्रमा चम्किन सुर र ताल जानेर मात्र पुग्दैन। उनी भन्छन्, ‘कलाकारितामा फरक रूपमा प्रस्तुत हुनेहरू सफल हुन्छन्, त्यो नै उनीहरूको टर्निङ प्वाइन्ट बन्छ।’

 

रंगमञ्चबाट हिट

पछिल्लो समय युवा पुस्ताको थिएटरमा रुचि बढ्दो छ। नाटक हेर्न नाटकघरसम्म पुग्ने धेरै छन्। एउटै नाटक महिनौँ प्रदर्शन हुने गरेको छ। नाटकप्रति दर्शकको चासो बढेसँगै नाटकमा अभिनय गर्ने कलाकार सेलिब्रिटी बनिरहेका छन्।

सृजना सुब्बाः चरनदास चोर

नाटक ‘चरनदास चोर’मा मन्त्रीको रोल पाएकी थिइन्, सृजना सुब्बाले। राजन खतिवडाले निर्देशन गरेको नाटकको ‘रानी’को मुख्य भूमिकामा लुनिभा तुलाधर थिइन्। नाटकको प्रदर्शन पूर्वयोजनाभन्दा अलि ढिलो हुने भयो। त्यही बेला नाटककी मुख्य कलाकार लुनिभाको विवाह भयो। नाटक प्रदर्शन गर्ने बेलामा टोलीलाई समस्या आयो। एक महिना अर्कै रोलका लागि रिहर्सल गरेकी सृजनाले ‘रानी’को रोल गर्नुपर्ने भयो। तर, नाटक प्रदर्शन हुन दुई दिन मात्र बाँकी थियो। उनले त्यसलाई च्यालेन्जका रूपमा लिईन्। दुई दिन अभ्यास गरेर उनी ‘रानी’का रूपमा मञ्चमा उत्रिइन्।

पहिलो सोमा दर्शकले ‘रानीजस्तो लागेन’ भनेर प्रतिक्रिया दिए। त्यसपछि सृजनाले क्यारेक्टरका बारेमा अझ अध्ययन गरिन्। कडा मेहनत गरिन्। उनले दर्शकको मन जित्न सकिन्। त्यो नाटक देशका विभिन्न गाउँशहरमा प्रदर्शन भयो। सृजना त्यही नाटकबाट उम्दा अभिनत्रीका रूपमा स्थापित भइन्। भन्छिन्, ‘त्यो क्यारेक्टर मेरा लागि टर्निङ प्वाइन्ट बन्यो।’

विभिन्न फिल्ममा पनि अभिनय गरेकी उनले युग पाठक लिखित नाटक ‘युमा’ निर्देशन गरिन्। मिडियामा ‘युमा’ले राम्रो समीक्षा प्राप्त गर्‍यो। सृजना अहिले फिल्म र नाटकमै सक्रिय छिन्।

सरिता गिरीः स्वास्नीमान्छे

रंगमञ्चमा परिचित नाम हो, सरिता गिरी। उनले पहिलो पटक अभिनय गरेको नाटक ‘पत्थरको कथा’बाटै चर्चा कमाइन्। त्यसपछि ‘स्वास्नीमान्छे’ नाटकमा एकल अभिनय गरेपछि त उनी रंगमञ्चमा चर्चित बनिन्। त्यही नाटकबाट उनले बेस्ट एक्ट्रेसको अवार्डसमेत पाइन्। उनी अहिले पनि रंगकर्ममा सक्रिय छिन्।

पशुपति राईः हेत्छाकुप्पा

रंगमञ्चमा अभिरुचि राख्नेहरूबीच पशुपति राईको बेग्लै पहिचान छ। विभिन्न नाटक र फिल्ममा अभिनय गरेकी पशुपतिले निर्देशन गरेका नाटक ‘हेत्छाकुप्पा’, ‘धोंच्वलेचा’ले उनलाई सफल नाटक निर्देशकका रूपमा चिनाएका छन्। उनले ‘कबड्डी’, ‘कबड्डी कबड्डी’ लगायत फिल्ममा गरेको अभिनयले फिल्म क्षेत्रमा पनि उनको परिचय बनेको छ।

तपाईको कमेन्ट