‘योगले जीवन सुन्दर बनाउँछ’

writer

सम्पूर्ण

सोमबार, ३० असार २०७६


सबैभन्दा फिट ‘पूर्व मिस नेपाल’को नाम लिनुपर्‍यो भने सबैको मुखमा उषा खड्गीको नाम आउँछ। दुई सन्तानकी आमा उनी आज पनि फिट र तन्दुरुस्त छिन्। उषाले सन् २००० मा ‘मिस नेपाल’ को उपाधि जितेकी थिइन्। कतिपय मिस नेपालले फिल्मलाई करिअर बनाउँदा उषा भने म्युजिक भिडियोभन्दा अगाडि बढिनन्। तर, उनले पेपर एड, इलेक्ट्रोनिक एड भने अनगिन्ती गरेकी छिन्। उनले ‘सम्पूर्ण’ लाई आफ्नो फिटनेस अनुभव सुनाएकी छिन्।


वक्रासनको कमाल

सन् २००२ सम्म जिम जान्थेँ। तर, जिम नफापेजस्तो लागिरहन्थ्यो। छोरी जन्मिएपछि त चाहेर पनि जिम जान सकिनँ। त्यसपछि मैले योग गर्न थालेँ। गर्भवती अवस्थापछि बढेको शरीरलाई मेन्टेन गर्न योग गर्न थालेँ। योग गर्नु पछि दैनिकी नै बन्यो। 

हरेक दिन नियमित अभ्यासपछि योग गर्ने गरेको छु। सुरुमा स्ट्रेचिङ गर्छु, अनि त्यसपछि योग सुरु गर्छु। योगमा सिंहासन र वक्रासन नियमित गर्छु। यी दुवै आसनका फाइदा के हुन् भने यिनको नियमित अभ्यासले शरीर स्वस्थ रहनुका साथै पेट कसिलो बन्छ। फेसमा ग्लो आउँछ, डबल चिन हट्छ। वक्रासन गर्दा पेटको बोसो पनि कम भएर जान्छ। योगले शरीर फिट मात्रै राख्ने काम गर्दैन। यसले मन पनि शुद्ध बनाउँछ। खासमा योगले जीवन सुन्दर बनाउँछ। 

१५ देखि २० मिनेट योग गर्छु। नियमित गर्ने भएकाले छोटो समय मात्र गर्ने गरेकी छु। छुट्टीमा हुँदा, बिरामी पर्दा वा कहिलेकाहीँ धेरै नै व्यस्त हुँदा मात्र योग गर्न भ्याउँदिनँ। धेरै समय गरेर चटक्क छाड्यो भने शरीरमा यसको असर त्यसै गरी देखिन्छ। त्यही भएर कम गर्ने बरु नियमित गर्ने गरेकी छु। मेरो दैनिकी मौसमअनुसारको छ। गर्मीमा दिनहुँ गर्छु, जाडोमा जम्मा तीन दिन गर्छु। जाडोमा शरीरलाई आराम चाहिन्छ। त्यही भएर तीन दिन मात्र गर्नु राम्रो हो। 

आलु खान्छु, चिनी खान्नँ
 

सौन्दर्य र स्वास्थ्य दुवैका लागि खानपिनको ठूलो महत्त्व हुन्छ। त्यति धेरै कुरा बार्दिनँ। तर, जथाभावी खान्नँ। मनतातो पानी खाएर मेरो दिनको सुरुवात हुन्छ। खानामा कार्बाेहाइड्रेट कम प्रोटिन बढी खान्छु। चिनी छोडेको धेरै भइसक्यो। हरेक दिन ताजा जुस खान्छु। गर्मीमा सुन्तला र मौसमको जुस बढी खान्छु भने जाडोमा उखुको जुस खान्छु। घरमै जुसर छ। जुस बनाएर खान्छु।

खानामा दालभात, तरकारी खान्छु। बेलुकी रोटी खान्छु। मैदा खान्नँ। खानामा छोड्न नसकेको आलु हो। आलु मलाई साह्रै मन पर्छ। मन लागेको बेला आलु खान्छु तर आलु खाएको दिन खाना खान्नँ। कि आलु खान्छु, कि खाना। दाल, गेडागुडीको रस पनि मेरो नियमित आहारमा पर्छन्। दिनमा पालैसँग फलफूल खान्छु। स्याउ, स्ट्रबेरी, किवी नियमित खान्छु। दूध र दही पनि बार्दिनँ। मज्जाले खान्छु। तर, ड्रिंक्समा कोक, फ्यान्टा खान छाडेको धेरै भयो। 

नियमित योग र सन्तुलित खाना नै मेरो स्वास्थ्य र सौन्दर्यको रहस्य हो। जे गरे पनि नियमित गर्नुपर्छ। यसो गर्दा शरीरलाई फाइदा हुन्छ। खानामा अनुशासित बन्ने हो भने पनि धेरै फाइदा हुन्छ।

तस्बिर-प्रस्तुतिः कुबेर डंगोल

तपाईको कमेन्ट

मुख्य समाचार