लालकाजीको कला लालसा

writer

रामकुमार डिसी

सोमबार, १२ कार्तिक २०७५


सोखले एउटा मान्छेको जिन्दगीमा के–कति हदसम्म फेरबदल गर्न सक्छ भन्ने कुराका साँची हुन्, कलाकार लालकाजी लामा। पेन्टिङ, मूर्तिकलामार्फत आफूलाई अभिव्यक्त गरिरहने उनको सोख हो। कलाकारिता नै उनको सोख, भोक र सबथोक  हो। 

स्कुले शिक्षालगत्तै कलाको भोकबाट निर्देशित हुन थालेको थियो उनको जिन्दगी। कलाकारिताप्रतिको मोहकै कारण उनले जीवनमा अनेकन हण्डर खाए। चितवन, भरतपुरका लालकाजी २०४८ तिर एसएलसी उत्र्तीण भएपछि त्यहीँको सप्तगण्डकी क्याम्पसमा भर्ना भए। भूगोल र स्वास्थ्य शिक्षा विषय पढ्न थाले। दुईचार दिन क्याम्पसतिर हानिए। तर, उनलाई त्यहाँको माहौलले उतिसारो आकर्षित गरेन। र, पढाइ बीचमै छाडे। ‘बाध्यताले रुचि नभएको विषय पढेँ,’ उनले सम्झिए, ‘निरस विषयमा धेरै अल्झिन सकिनँ, पढाइ बीचमै छाडेँ।’

आफ्नो रुचिअनुसारकै पढाइ र कामका निम्ति फराकिलो क्षेत्र खोज्दै उनी २०५१ सालतिर चितवनबाट काठमाडौँ उक्लिए। काठमाडौँको ललितकला क्याम्पसमा आफ्नै रुचिसँग मिल्दोजुल्दो विषय फाइन आर्ट पढ्न थाले। ललितकलामा बिहान पढाइ हुन्थ्यो, दिउँसो खाली। पढाइकै निम्ति घरबाट पैसा माग्न सकिने अवस्था थिएन। उनले साथीहरूसँग मिलेर काम गर्न थाले। त्यसले उनको पढाइ बिथोलियो। ‘दिउँसोको समय खाली भएकाले साथीहरूसँग मिलेर आर्टसम्बन्धी काम गर्न थालियो,’ उनले भने, ‘बढ्ता ध्यान काममै गएकाले पढाइ बिग्रन थाल्यो।’ 

काठमाडौँ आउनुपूर्व नै लालकाजीले चितवनमा साइनबोर्ड पेन्टिङमा दुई वर्ष बिताएका थिए। काममा सिपालु भइसकेका थिए। ‘दुई वर्ष काम गरेकाले म आफ्नो काममा दक्ष भइसकेको थिएँ,’ उनले सुनाए, ‘काम गरेबापत मैले चितवनमै राम्रै पैसा पाउन थालेको थिएँ।’ एक वर्षजति उनले काठमाडौँमा काम गरे। तर, यहाँको जत्तिकै पैसा चितवनमै कमाउन सकिने भएपछि उनी फेरि चितवनतिरै फर्किए। चितवनमा गएर आर्ट पसल खोले। दुई वर्ष चलाए। बिहे गरे। बिहेपछि पैसा कमाउनुपर्ने दबाब उनीमाथि आइलाग्यो। विदेशिने योजनामा उनी २०५४ सालमा काठमाडौँ आए।

थुप्रै म्यानपावर धाए। तर, गतिलो पैसा आउने खालको काम भेट्टाउन उनलाई निकै मुश्किल पर्‍यो। अनि, रोजगारीका लागि विदेशिने योजना पनि त्यागिदिए उनले। ‘राम्रो कामका लागि धेरै म्यानवर कम्पनी धाएँ,’ उनले भने, ‘तर, गतिलो काम पाउन गाह्रो। यसो हिसाब गर्दा विदेशको जति नेपालमै बसेर कमाउन सकिन्छ जस्तो लाग्यो। त्यसपछि विदेशको योजना त्यागेर काठमाडौँमै काम गर्न थालेँ।’ 

उनले ठूला–ठूला होर्डिङ बोर्ड, फ्लेक्स बनाउन थाले। पहिले यही काम उनले हातले गर्थे। ‘सबैतिर राम्रै हुँदै गइरहेको थियो,’ उनले सम्झिए, ‘चित्र राम्रो बनाउने भएकाले कामको अडर पनि धेरै आउन थाल्यो।’ ठूलठूला कम्पनीका काम उनले गर्न थाले। यसबीच उनले कलासम्बन्धी विभिन्न प्रदर्शनी, कला कार्यशालामा भाग लिने र आयोजना गर्ने अवसर पाए। त्यहाँ आउने दर्शकले कला सँगसँगै कलाकारको बायोडेटा पनि हेर्थे।

पढाइ नभएकाले उनलाई आफ्नो बायोडेटा देखाउनै अप्ठ्यारो लाग्थ्यो। पढाइको महत्व बुझेपछि उनी फेरि कलेज भर्ना भए। ललितकला क्याम्पसमा फाइन आर्ट लिएर प्रवीणतातहबाटै पढाइ थाले। काम गर्दै, पढे। मूर्ति विषयमा स्नातक गरे।  चित्रमा मास्टर गरे। ‘कला कार्यशाला र प्रदर्शनीमा जाँदा मलाई आफ्नो बायो देखाउन नै लाज लाग्थ्यो,’ उनले भने, ‘साथीहरूले राम्रो पढेका थिए, मेरो केही थिएन। लाजमर्दो भइरहेको थियो। मैले फेरि पढाइ सुरु गरेँ।’ 

२०६८ मा मास्टर सकेपछि उनले त्रिभुवन विश्वविद्यालयमा पढाउन थाले। उनको विषय थियो, क्रिएटिभ कम्पोजिसन। त्यो अहिलेसम्म जारी छ। फाइन आर्टको पढाइ सुरु गर्ने योजनासहित उनी त्रिविको जागिर छाडेर केही समय चितवन गए। तर, त्यो सफल हुन नसकेपछि फेरि काठमाडौँ फर्किए। 

यसबीच धेरै कला कार्याशाला गरेका छन्, लालकाजीले। चितवनमा १५ दिने ‘रूपान्तर’ मूर्ति कार्यशाला आयोजना गरे। परिर्वतनको सन्देश दिने उनको उद्देश्य थियो। काठमाडौँको टोखालाई चिनाउने उदेश्यले ‘पुरातात्विक टोखा नगरी कार्यशाला’ पनि आयोजना गरे। काठमाडौँको ठमेलमा ‘क्यान्भास आर्ट ग्यालरी’ पनि चलाउँछन्, उनी। हेटौँडामा नेताहरू बीपी कोइराला, मदन भण्डारी र गणेशमान सिंहको पूर्ण कदको मूर्ति स्थापना भएका छन्।

ती लालकाजीले बनाएका थिए। त्यस्तै,ओखलढुंगामा चार जना स्रष्टा कवि सिद्धिचरण श्रेष्ठ, नेपालकी आधुनिक गीतकी प्रथम गायिका मानिने मेलवादेवी गुरुङ र गायक पाण्डव सुनुवारको अर्धकदको मूर्ति बनाएर राखिएको छ। ती पनि लालकाजीले नै बनाएका थिए। 

आफूलाई ‘भिजुअल आर्टिस्ट’ भन्न रुचाउने उनले कलासम्बन्धी विभिन्न संस्थामा रहेर काम पनि गरेका छन्। ठूलो आर्थिक उर्पाजनको महŒवाकांक्षा नराखे कलामै जीविका चलाउन सकिने उनको बुझाइ छ। ‘आफ्नो रुचिको क्षेत्रमा काम गर्न पाइएको छ,’ उनले भने, ‘राम्रो काम गर्नेलाई कलामा लागेर ठिक्कको जीविका चलाउन धेरै अप्ठ्यारो छैन।’

कला पढाइरहेका उनलाई अझै राम्रो पाठ्यक्रम बन्न नसकेको र नेपाली लोककलालाई त्यसमा पर्याप्त समेट्न नसकेको भन्ने लागेको छ। ‘अझै पनि नेपाली कला पढाइँदैन,’ उनले भने, ‘लोककला त्यसमा पनि टिपिकल कलालाई प्राज्ञिक पाठ्यक्रममा राख्नुपर्छ भन्ने चेत अझै पलाउन सकेको छैन।’

तपाईको कमेन्ट