रहरकै भरमा लिम्बू फिल्म

writer

गोपाल दाहाल

शनिबार, २८ असार २०७६


लिम्बू भाषा र संस्कृतिमा थुप्रै फिल्म बनेका छन्। तर, पर्याप्त खोज अनुसन्धान, लगानी, उच्च प्रविधि, प्रशिक्षित कलाकार र बजारको अभावले फिल्मको स्तर माथि उठ्न नसकेको लिम्बू फिल्मकर्मी बताउँछन्। 


हङकङमा बस्ने मौसम इम्बुङ लिम्बू केही समययता नेपालमा आएर फिल्म बनाइरहेका छन्। लिम्बू संस्कृतिमा आधारित फिल्म ‘घरजम’का लागि उनी कहिले पाँचथर पुग्छन् त कहिले काठमाडौँ। 

नेपालमा रहँदादेखि नै उनी लिम्बू भाषा र संस्कृतिका फिल्म, म्युजिक भिडियो बनाउन व्यस्त रहन्थे। उनले निर्देशन गरेको लिम्बू सांस्कृतिक फिल्म ‘चेसुङ’ देशविदेशका लिम्बू समुदायका मानिसमाझ प्रदर्शन भयो। उनले निर्देशन गरेका भिडियो पनि समुदायबीच चर्चित थिए। तर, चर्चाले मात्र उनले यो क्षेत्रमा निरन्तरता दिन सकेनन्। १० वर्षअघि उनी हङकङ हानिए। पैसा कमाउन हङकङ गए पनि उनलाई कलाकारिताको नशाले छाडेको थिएन। उतै फुर्सद निकालेर भिडियो बनाउन थाले। उनले लिम्बू जीवनशैलीमा आधारित हास्य क्यारेक्टर ‘फुलेन्देको बाउ’ बनेर बोल्न थाले। क्यारेक्टर हिट भयो। त्यसपछि ‘फुलेन्देकी आमा’, ‘बोजु’ जस्ता क्यारेक्टर पनि जन्मिए। त्यसपछि उनलाई लामो समयदेखि गरेको कलाकारिताको तिर्सना झनै बढ्यो अनि नेपाल आएर फिल्म बनाउन थाले। ‘फिल्मलाई मौलिक बनाउन लिम्बू बस्तीमै पाइने चरा, जनावरको आवाज रेकर्ड गरिरहेको छु,’ उनी सुनाउँछन्।

च्यारिटी सोमै सीमित

फिल्मलाई सांस्कृतिक, कलात्मकसँगै व्यावसायिक पनि बनाउन बुद्धि तामाङ, सिर्जना सुब्बालगायत चिनिएका अनुहार पनि समेटेका छन्। ‘त्यति मेहनत र लगानी गरेर बनाएको फिल्मले लगानी उठाउला कि नउठाउला थाहा छैन,’ उनी भन्छन्, ‘किनकि, लिम्बू भाषा संस्कृतिमा बनेका अधिकांश फिल्मको विगत राम्रो छैन। उता पैसा कमाउन छाडेर यहाँ फिल्ममा खर्च गरिरहेको छु तर सबै कुरामा नाफा–घाटा मात्र पनि हेर्नु हुँदैन।’ फिल्मबाट पैसा नउठे पनि संस्कार–संस्कृतिबारे अरूलाई बताउन पाउँदा खुशी लागेको उनी बताउँछन्।
 
डेढ दशकदेखि लिम्बू भाषा संस्कृतिका भिडियो निर्देशन गर्दै आएका लोकेन साँवा लिम्बूलाई लिम्बू समुदायको लोकसंस्कृतिमा आधारित फिल्म ‘के साङ्ला’ बनाउन निकै संघर्ष गर्नुपर्‍यो। बल्ल फिल्म तयार भयो। त्यसरी बनाइएको फिल्म नेपालका हलमा चल्लान् र लगानी उठ्ला भन्ने उनलाई लागेन। किनकि, उनको फिल्ममा मल्टिप्लेक्सहरूले खोज्ने स्टार थिएनन्। त्यसपछि उनले आफ्नै समुदायका मानिस बस्ने ठाउँ हङकङ, सिंगापुरतिर च्यारिटी सोका नाममा फिल्म प्रदर्शन गरे। ‘बाहिर चलाउन नसक्नेको लगानी चुर्लुम्मै डुब्छ,’ उनी भन्छन्, ‘नेपालमै प्रदर्शन गर्नु त रहर मात्र हो।’ 

लोकेनको फिल्मका अधिकांश दृश्य पूर्वका लिम्बू गाउँमा खिचिएका छन्। लिम्बू सांस्कृतिक समूह र फिल्मका कलाकार भीम तुम्बाहाम्फे, लक्ष्मी योङहाङ लिम्बू, विशाल सेनेहाङ, याम्मनिङवा योङहाङ, मेनुका साउदेन, सनम पङयाङ्गु, कुमार सुब्बा, कुमार लिम्बू, महिमा लिम्बू र गंगा तुम्बाहाम्फेलगायत कलाकारले अभिनय गरेका छन्। लिम्बू समुदायका पुराना निर्देशक किशोर सुब्बाले निर्देशन गरेको लिम्बू भाषाको अर्को फिल्म ‘साम’को पनि विभिन्न ठाउँमा च्यारिटी सो भइरहेको छ। सागर केरुङको फिल्म ‘के’ पनि विभिन्न अवार्ड र कार्यक्रममा प्रदर्शन भइरहेको छ।

पुरानै शैली पछ्याउँदै

२०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालका विभिन्न जातिका भाषा, संस्कृतिले पनि विकास हुने अवसर पाए। गाउँघर, चाडपर्वमा सीमित लिम्बू कला संस्कृतिले पनि त्यसपछिका दिनमा सार्वजनिक रूप लिन थाले। लिम्बू फिल्म निर्माणको इतिहास पनि त्यही बेलाबाट सुरु भएको पाइन्छ। २०४९ सालमा नवीन सुब्बाको निर्देशन, शोभा खजुमको निर्माणमा लिम्बू फिल्म ‘तरेवा’ निर्माण भयो।

नवीन सुब्बाले निर्देशन गरेको लिम्बू संस्कृतिमा आधारित फिल्म ‘नुमाफुङ’ले राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड पाएपछि भने लिम्बू फिल्म धमाधम बन्न थाले। हालसम्म तीन दर्जन हाराहारी लिम्बू फिल्म निर्माण भएका छन्। त्यसमध्ये कति लिम्बू भाषामा र कति लिम्बू संस्कृति र नेपाली भाषामा बनेका छन्। तर, पछिल्लो समय निर्माण भएका धेरैजसो फिल्मले नयाँ विचार र सिर्जना दिनुको साटो ‘नुमाफुङ’कै शैली र कथा कपी गर्न खोजेको देखिन्छ। कलाकार प्रेम सुब्बा लिम्बू समाजमा धेरै नयाँ नयाँ कथा भए पनि त्यसलाई राम्रोसँग प्रस्तुत गर्न नसक्नु चुनौती बनेको बताउँछन्। 

‘नुमाफुङ’को चर्चापछि नेपाली फिल्म निर्देशन गरिरहेका प्रताप सुब्बाले ‘थत्थामा’ र किशोर सुब्बाले ‘आनी साक्थिम’ बनाए। तर, उनीहरूले निर्देशन गरेको ती फिल्मले चर्चा पाउन सकेनन्। किशोरले ‘आनी साक्थिम’ पछि ‘थोक्ला’, ‘अम्लारीफुङ’, ‘हेत्लुक्वा’ र ‘साम’ निर्देशन गरेका छन्। नयाँ पुस्ताका निर्देशक सागर केरुङले ‘नाहेन’, ‘पुङ्साम’, ‘तुम्याहाङ’ र ‘के’ फिल्म निर्देशन गरेका छन्।

त्यस्तै,     सूर्यप्रकाश चेम्जोङले ‘माराम’, रवि शेर्माले ‘क्येबा कोक्मा’, अरुण प्रधानले ‘फुङ्वामा’, गोविन्द इङ्समले ‘सिसाम’, थेयुसा फागोले ‘लुङमा तुक्किल्ले’, दुर्गा नेम्वाङले ‘खाप्पुना मरङ्ना’ निर्देशन गरेका छन्। यीबाहेक अन्यले पनि लिम्बू भाषा र संस्कृतिका फिल्म बनाएका छन्। तर, पर्याप्त खोज, अनुसन्धान, लगानी, उच्च प्रविधि, प्रशिक्षित कलाकार र बजारको अभावले लिम्बू फिल्मको स्तर माथि उठ्न नसकेको कलाकार तथा निर्माता किशोर सम्बाहाम्फे बताउँछन्।
 
निर्माता तथा अभिनेत्री शोभा खजुमको भनाइ पनि उस्तै छ। ‘लिम्बू भाषाका फिल्म धेरै बने पनि पर्याप्त अध्ययन र लगानीको अभाव छ,’ उनी भन्छिन्, ‘तर, यस्ता फिल्मले लिम्बू समुदायको संस्कृति र भाषा संरक्षणमा भने महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।’ यस्ता भाषा संस्कृतिको लागि बनेका फिल्मलाई सरकारले सहयोग गरे गुणस्तरीय बन्न सक्ने उनी बताउँछिन्। 

फिल्ममा सक्रिय कलाकार

लिम्बू फिल्मका पहिलो नायक भनेर चिनिने नरप्रसाद लुङ्फुङ्वा लिम्बूदेखि हालसम्म ५० भन्दा बढी लिम्बु कलाकार जन्मिसकेका छन्। नियमित काम गरिरहेका लिम्बू कलाकारमध्ये प्रेम सुब्बा, किशोर सम्बाहाम्फे, भिस्मा चेम्जोङ, सिर्जना सुब्बा, अप्सरा शेर्मा, आशिष लिङ्देन, रेखा लिम्बू लगायतले नेपाली फिल्मसँगै लिम्बू सांस्कृतिक फिल्ममा काम गरिरहेका छन्।

त्यस्तै, याशेली योङहाङ, नवीन मेन्याङ्बो, कल्पना योङहाङ, आइन्द्रसुन्दर नेम्वाङ, पुष्पा लिम्बू, रुकमान लिम्बू, हस्त लिवाङ, कल्पना योङहाङ, उदय सुब्बा, केदार श्रेष्ठ, बिमू थेगिम, चन्द्र लिम्बू, देउमान केरुङ, सावित्रा इङनाम, विक्रम फागो वनेम, विष्णु चेम्जोङलगायत कलाकार पनि सक्रिय छन्। 

कुनै बेला रमेश सिंगक, अनुपमा सुब्बा लगायतले पनि अभिनयबाट चर्चा कमाएका थिए। त्यसो त लिम्बू भाषाकै फिल्म र भिडियोमा अभिनय गरेर रञ्जिता साउदेन, बबिता फोम्बो, प्रविण पन्धाक, सविन तुम्बाहाम्फे, राजकुमार आङ्देम्बे, पुष्पा आङ्देम्बे, राजकुमार लिङ्देन लगायतको नयाँ पुस्ता पनि यो क्षेत्रमा आइरहेको छ। 

लगानी उठाउनै हम्मे

लिम्बू भाषा संस्कृतिका फिल्म निर्माण गरिरहेका निर्माताहरूका अनुसार एउटा फिल्म बनाउन छ महिनादेखि एक वर्ष समय लाग्ने गरेको छ भने २० देखि ५० लाख रुपैयाँसम्म खर्च हुने गरेको छ। व्यावसायिक रूपमा बनाउन चाहनेले अझै बढी खर्च गर्ने गरेका छन्। यसरी लगानी गरेर बनाइएका फिल्ममध्ये अधिकांशलाई लगानी उठाउन हम्मेहम्मे पर्छ। यस्ता फिल्म नेपालका फिल्म हलमा चल्दैनन्। निर्माता किशोर सम्बाहाम्फे भन्छन्, ‘हलमा सम्बन्धका आधारमा आग्रह गर्दा मात्र प्रदर्शन गर्न पाइन्छ। तर, पनि दर्शक तान्न सकिँदैन। च्यारिटी सो गरेर लगानी उठाउन मुश्किल छ। धन्न बनिरहेका छन् फिल्म।’

धेरैले आफ्नो संस्कार–संस्कृतिको माया र रहरमा फिल्म बनाउने गरेका छन्। निर्देशक लोकेन साँवा लिम्बू यसरी रहरमा बनेका फिल्मले नाफा नकमाए पनि भाषा, संस्कृतिको प्रवद्र्धन गरेकोमा आत्मसन्तुष्टि लिनुपर्ने अवस्था भएको बताउँछन्। विदेशमा रहेका समुदायसँग पहुँच हुनेहरूले भने हङकङ, बेलायत, सिंगापुर, अमेरिकामा बसेका लिम्बू समुदायमा च्यारिटी सो गरेर लगानीसम्म उठाउने गरेको उनको भनाइ छ। 
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि