नाम प्रस्तोता, प्रस्तुतिको ढंग भने छैन

writer

सुरेश पौडेल

बिहिबार, २६ असार २०७६


रेडियोमा अन्तर्वार्ता गर्दा प्रश्नकर्ताले हरेक उत्तरपछि ‘हँ...हँ...’ गर्नु स्वाभाविक हो। किनकि, त्यस्तो गराइले बोलाइएका पाहुनालाई ‘अटेन्ड’ गर्दै गरेको स्रोतालाई महसुस हुन्छ। तर, त्यस्तै ‘हँ... हँ...’ टेलिभिजनमा पनि गरिन्छ, जुन आवश्यक हुन्न। किनभने, सारा कुरा देखिएकै हुन्छ। उत्तरैपिच्छे ‘हँ... हँ...’ गर्ने चलन टेलिभिजनमा हुन्न।


गीतको बिन्ति 

२०६० सालतिरको कुरा हो। भर्खरै खुलेको एक निजी टेलिभिजनले बेलुका ५ बजे दर्शकसँग फोनमा प्रत्यक्ष वार्तालाप गर्ने र गीत बजाउने दैनिक कार्यक्रम सुरु गर्यो‍। टेलिभिजनमै पहिलो थियो त्यो ‘लाइब’ (लाइभ होइन)। एंकरहरू पनि ‘क्लास’का थिए। कार्यक्रम खूब चल्यो। त्यसपछि खुलेका अनेकन् टेलिभिजनका लागि उक्त कार्यक्रम संविधानसरह भयो। बेलुका हुनासाथ प्रायः सबैले त्यस्तै कार्यक्रमको पसल थाप्ने सिको गरे। यतिसम्म कि एंकरको हाउभाउ, शैली सबै उस्तै। तर, नक्कल बेढंगको भयो। उनीहरू टेलिफोन सम्पर्कमा रहेका दर्शकसँग प्रश्न गर्थे, ‘कुन गीत रिक्वेस्ट गर्न चाहनुहुन्छ ?’ कस्ता प्रस्तोता ?

बिन्ति र अनुरोध (रिक्वेस्टको नेपाली अर्थ) गर्न लगाएरै भए पनि गीत देखाउनुपर्ने, त्यसपछि टेलिफोन सम्पर्कमा रहेका दर्शकले ‘बिन्ति’ गरेपछि फेरि प्रस्तोता गर्जन्थे, ‘कसलाई ‘डेडिकेट’ गर्न चाहनुहुन्छ ?’ अब ती दर्शकले आफूले सुन्न र हेर्न खोजेको गीत कसैलाई ‘डेडिकेट’ अर्थात् समर्पण गरिदिनुपर्ने भयो। वास्तवमा आफूले रचना गरेको वा आफ्नो अधिकारमा रहेको कुनै वस्तु श्रद्धापूर्वक मान्यजनलाई अर्पण गर्नु समर्पण हो। तर, कुनै रचनाकारको शब्द, कुनै संगीतकारको धुन र कुनै गायकको स्वरको संगम त्यो गीतलाई आफ्नै पिताश्रीको सम्पत्ति ठानेर ‘डेडिकेट’ गराइन्छ, नेपाली टेलिभिजनमा। सम्भवतः यस्तो कतै हुँदैन। हो, बरु ‘कसलाई देखाउन चाहनुहुन्छ ?’ भनेर सोध्न सक्थे प्रस्तोताले। त्यस्तै, महाजन बनेर फोनमा गीतका लागि दर्शकलाई बिन्ति गराउनु पनि सर्वथा अनुचित छ। यहाँबाहेक अन्यत्र कतै त्यस्तो चलन छ भने पनि त्यो अनुचित छ।  

दर्शक कुरिबसेका छन् भन्ने भ्रम  

रोजगारीसम्बन्धी एउटा कार्यक्रम आयो, सरकारी टेलिभिजनमा। प्रस्तोता प्रकट भए, सर्ट, टाई लगाएका। दुई हात जोडेर नमस्कार गर्दै उनले बोल्न आरम्भ गरे, ‘कार्यक्रम...... कति बेला आउँछ भनी आफ्नो टेलिभिजन सेटअगाडि पर्खेर बसिरहनुभएका सम्पूर्ण आदरणीय दर्शकवृन्दहरूलाई म निर्माता, निर्देशक, प्रस्तोता ..... यहाँहरूलाई हार्दिक स्वागत गर्दछु।’ यो ‘क्लिसे’ वाक्यले यस्तो अर्थ दिन्छ, मानौँ दर्शकले उनलाई होइन कि उनले पनि आफू प्रकट भएको टेलिभिजन सेटबाट कोठाकोठामा बसेका दर्शकलाई हेरिरहेका छन्। मतलब, सारा देश उनको कार्यक्रम कुरेर बसेको छजस्तो ! सयौँ च्यानलमा पहुँच भएका आजका दर्शकका बारेमा यतिसम्म भ्रम नपाल्नु नि। 

अलपत्र अन्तर्वार्ता, बहस

अनेक थरी अन्तर्वार्ता देख्न पाइन्छ, नेपाली टेलिभिजनमा। यहाँ स्टुडियोसम्म अन्तर्वार्ता वा बहसका लागि बोलाएर दुई जनाबीच भालेजुधाइ गराउने अन्तर्वार्ताको कल्पना गरिएको छैन। किनकि, त्यस्तो अन्तर्वार्ता आदर्श टेलिभिजनको मूल्य–मान्यताभित्र पर्दैन। त्यसबाहेक ध्यान दिनुपर्ने बुँदा यी हुन्ः  

‘हँ... हँ...’ को हुंकार 

सबैलाई थाहा छ, रेडियो र टेलिभिजनको आधारभूत भिन्नताका बारेमा। रेडियोमा अन्तर्वार्ता गर्दा प्रश्नकर्ताले हरेक उत्तरपछि ‘हँ...हँ...’ गर्नु स्वाभाविक हो। किनकि, त्यस्तो गराइले बोलाइएका पाहुनालाई ‘अटेन्ड’ गर्दै गरेको स्रोतालाई महसुस हुन्छ। तर, त्यस्तै ‘हँ...हँ...’ टेलिभिजनमा पनि गरिन्छ, जुन आवश्यक हुन्न। किनभने, सारा कुरा देखिएकै हुन्छ। उत्तरैपिच्छे ‘हँ...हँ...’ गर्ने चलन टेलिभिजनमा हुन्न। नत्र टिम सेबास्टियन, एन्डरसन कुपर, रिज खान, क्रिस्टिएन अमानपुर, रिचर्ड क्वेस्ट आदि विश्वप्रसिद्ध टेलिभिजन जर्नालिस्ट सबैले ‘हँ...हँ...’ गर्थे होलान्। 

‘कस्तो महसुस’को उकुसमुकुस 

‘कस्तो महसुस गरिरहनुभएको छ ?’ 
यो प्रश्न निकै सोधिन्छ। कतिपय परिस्थितिमा ठीकै लाग्ला तर अधिकांश अवस्थामा गहकिलो प्रश्नको अभावमा यस्तो सोधिएजस्तो लाग्छ। ठूलो उपलब्धि हासिल गरेकादेखि आफन्त बितेका सबैसामु यस्तो प्रश्न तेस्र्याउने गरिन्छ। यस्ता दुवै परिस्थितिका लागि यो प्रश्न बेकार छ। किनकि, स्वाभाविक हो, सगरमाथा आरोहण गरेको मानिस खुशी हुन्छ भने आफन्त बितेको मानिस दुःखी। थाहा भएकै कुरा सोध्नुको तुक छैन।  

प्रहसन प्रश्न नम्बरको  

कतिपय प्रश्नकर्ता प्रश्नको नम्बरमा अल्झेका हुन्छन। उनीहरूलाई उत्तरमा खासै ध्यान हुन्न। बरु, अन्तर्वार्ताका लागि तयार गरिएका ती १२–१५ प्रश्न कति बेला सक्याऊँ भन्ने हुन्छ। त्यसैले आठ नम्बर प्रश्नको उत्तर तीन नम्बर प्रश्नको उत्तरमै आइसकेको हेक्का राखिन्न र आठ नम्बर प्रश्न सोधिन्छ। अनि, उत्तर दिनेले पनि ‘मैले अघि पनि भनेँ नि’ भनेर फेरि त्यस्तै उत्तर दोहो¥याउँछन्। ल, यतिसम्म त ठीकै थियो, किनकि एडिटिङमा मिलाउन सकिन्थ्यो। तर, एडिटिङमा समेत त्यति मिलाउने कष्ट गरेको देखिँदैन र त्यही प्रसारण हुन्छ।

खोक्रो ‘एकदम राम्रो प्रश्न’

प्रस्तोताले प्रश्न गर्नासाथ ‘एकदम राम्रो प्रश्न गर्नुभयो’ भनेर अन्तर्वार्ता दिनेबाट उत्तर सुरु भयो भने बुझे हुन्छ– त्यहाँ प्रश्न गरिएको छैन। तर, यस्तो उत्तर आउनासाथ आफ्नो अहिलेसम्मको सारा ज्ञान ती उत्तर दिने महानुभावले सार्थक  तुल्याइदिएझैँ ठानेर त्यो भनाइ एडिटिङपश्चात् पनि राख्ने गरिन्छ, आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्न। ‘एकदम राम्रो प्रश्न’ त्यति बेला एकदम राम्रो हुन्छ, जब दर्शकले त्यस्तो महसुस गर्छ, न कि उत्तर दिनेले।

लामो प्रश्न, छोटो उत्तर 

सामान्यतया प्रश्नभन्दा उत्तर लामो हुनुपर्छ, ‘¥यापिड फायर’मा बाहेक। तर, कैयौँ पटक देखिने गरेको छ, उत्तर दिन हतार भइसक्दा पनि प्रश्न सकिएको हुँदैन। त्यस्तै, लामो भूमिका बाँधेर प्रश्न सोधिएको हुन्छ तर उत्तर भने ‘हो÷हैन’, ‘हुन्छ÷ हुँदैन’मै सकिने गर्छ। विचार गर्नुहोस् त कस्तो लाग्ला यस्तो खालको जवाफ आउँदा ? 

हुस्सु प्रस्तोता

निजी टेलिभिजनका समाचार प्रमुखले बिहानको कार्यक्रममा कुराकानीका लागि नेता बोलाए। ती नेताले भएको आफ्नो पार्टी फोडेर भर्खरै नयाँ पार्टी बनाएका थिए। परिचय दिने क्रममा प्रस्तोता ‘आज हामीसँग हुनुहुन्छ...’ भनेपछि अघि बढ्नै सकेनन्। ती चिरपरिचित नेताका नाम उनलाई थाहा नहुने कुरै थिएन, तर ‘नवगठित फलानो पार्टीका अध्यक्ष’ भनेर बल्ल उनको नाम लिनुपर्ने योजना थियो होला, उनी त्यहीँ अड्केको अड्क्यै भए। केही बेर पल्याकपुलुक ती नेता र उनको अनुहार टीभीमा गएपछि बाध्य भएर नेता स्वयंले आफ्नो पार्टीको नाम लिइदिनुप¥यो।   

धन्यवाद खान हतार

स्टुडियोबाहिर कुनै पनि प्रकारको प्रश्नोत्तर गर्नुप¥यो भने हाम्रा रिपोर्टर र प्रस्तोतालाई धन्यवाद खान हतार हुन्छ। ‘फलानोजी कार्यक्रममा स्वागत छ’ भन्न पाएका हुँदैनन्, ‘अटोमेटिकल्ली’ ती रिपोर्टर र प्रस्तोताले माइक्रोफोन फलानोजीतर्फ फर्काइहाल्छन्, धन्यवाद खान। अब ‘धन्यवाद भन्’ भनेर मुखमै माइक्रोफोन झोसेपछि धन्यवाद नभनी सुख ? अनि, बल्ल प्रश्न सोध्ने काम आरम्भ हुन्छ। कसले कहिलेदेखि यो चलन चलायो ? थाहा भएन। तर, अपवादबाहेक सबैमा धन्यवाद खाने प्रवृत्ति विद्यमान छ। अन्यत्रका च्यानलहरूमा यस्तो चलन भेटिन्न।

‘अन्त्यमा केही भन्न चाहनुहुन्छ ?’

यस्तो सोध्नु तब ठीक ठहरिन्छ, जब उत्तर अघिल्ला प्रश्नभन्दा पृथक् आओस्। तर, “त्यै हो, मैले अघि पनि भनेको थिएँ नि’ भनेर उही उत्तर आउन थाल्यो भने त्यो ठीक लाग्दैन। यस्तो बेला एडिटिङको कैँची चलाउनैपर्ने हुन्छ, तर चलाइँदैन र अघि नै बोलिएको कुरा अन्त्यमा पनि जान्छ।

‘अर्को हप्ता ठीक यसै समयमा उपस्थित हुनेछौँ’ 

प्रायः कार्यक्रमको अन्त्यमा प्रस्तोताहरूले भन्ने वाक्य हो यो। तर, सोच्नुहोस्, ती कति गलत छन्। कार्यक्रम सकिने बेला ‘अर्को हप्ता ठीक यसै समयमा हामी उपस्थित हुनेछौँ’ भन्छन्। भनेअनुसारै गरिदिने हो भने साँझ आठ बजे प्रसारण हुने आधीघण्टे कार्यक्रमको चौथो एपिसोड डेढ घण्टा ढिलो अर्थात् साढे नौ बजे प्रसारण गर्नुपर्ने हुन्छ।  

‘बिदा चाहन्छु’

र, अन्त्यमा प्रस्तोता भन्छन्, ‘हस् त आजको कार्यक्रमबाट बिदा चाहन्छु, नमस्कार।’ यो त बिदा हुने चाहना मात्र राखेको भयो तर अलप भइहाल्छन। आफ्नै बोली र क्रियामा तालमेल नमिलेजस्तो ! बरु ‘हस् त आजको कार्यक्रमबाट बिदा हुन्छु’ भन्दा बढी ठीक लाग्छ। किनकि, यसमा चाहना राखिएको नभई निर्णय सुनाइएको छ।  
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि