विश्वकप क्रिकेट २०१९ : कीर्तिमानै कीर्तिमान

writer

विष्णु थापा

बुधबार, २५ असार २०७६


इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेट समापनतर्फ बढेको छ। आगामी आइतबार लड्र्समा हुने फाइनलपछि आगामी चार वर्षसम्मका लागि नयाँ विश्व विजेताको टुंगो लाग्नेछ। विश्वकपअन्तर्गत अहिले सेमिफाइनलका खेल भइरहेका छन्। सेमिफाइनलसम्म आइपुग्दा थुप्रै रोचक र रोमाञ्चक खेलका साथै विश्व क्रिकेटको थुप्रै कीर्तिमान पनि बनेका छन्। 

यस विश्वकपमा ठूलठूला योगफल बन्ने क्रम जारी छ। विश्वकपमा तीन सय रन सामान्य बनेको छ। यस विश्वकपमा सबैभन्दा ठूलो योगफल इंग्ल्यान्डले अफगानिस्तानविरुद्ध बनाएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको आयोजक इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ३ सय ९७ रन बनाएको थियो। उक्त खेलमा इंग्ल्यान्ड १ सय ५० रनले विजयी भएको थियो। यसै गरी, इंग्ल्यान्डले नै बंगलादेशविरुद्ध ३ सय ८६ रनको योगफल खडा गरेको थियो। 

रोहितको रोमाञ्चक प्रदर्शन 

विश्वकपको बाह्रौँ संस्करणमा थुप्रै कीर्तिमान भंग हुने र बन्ने क्रम जारी छ। ती कीर्तिमानमध्ये सबैभन्दा ठूलो कीर्तिमान भारतीय क्रिकेटर रोहित शर्माले बनाएका छन्। विश्वकपको एउटै संस्करणमा सर्वाधिक शतक बनाउने कीर्तिमान उनले आफ्नो नाममा लेखाएका छन्। समूहगत चरणका खेलमा अहिलेसम्म बनेका ३० शतकमध्ये रोहित एक्लैले पाँच शतक बनाइसकेका छन्। उनले समूहगत चरणका नौ खेलबाट यो कोसेढुंगा बनाएका हुन्। उनी लगातार तीन खेलमा शतक बनाउने पनि पहिलो खेलाडी बनेका छन्। रोहित सन् २०१५ को विश्वकपमा श्रीलंकाका कुमार संगकाराले बनाएको चार शतकको कीर्तिमान तोडेका हुन्। संगकाराले अघिल्लो विश्वकपमा चार शतक बनाएका थिए। रोहितले दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड, बंगलादेश र श्रीलंकाविरुद्ध शतक बनाएका थिए।  

भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित जारी विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीमा पनि पहिलो स्थानमा छन्। उनले नौ खेलबाट ६ सय ४७ रन बनाइसकेका छन्। उनी एउटै विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन्। उनीअघि अस्ट्रेलियाका म्याथुज हेडन र भारतकै सचिन तेन्दुलकर रहेका छन्। तेन्दुल्करले सन् २००३ को विश्वकपमा ६ सय ७३ रन बनाएका थिए भने म्याथुजले सन् २००७ को विश्वकपमा ६ सय ५९ रन बनाएका थिए। म्याथुजको कीर्तिमान तोड्न १२ र तेन्दुलकरको कीर्तिमान तोड्न रोहितलाई अब २७ रनको मात्र आवश्यकता छ। उनलाई अस्ट्रेलियाका डेभिड वार्नरले पछ्याइरहेका छन्। वार्नरले पनि नौ खेलबाट ६ सय ३८ रन बनाइसकेका छन्।

शानदार अलराउन्डर सकिब 

विश्वकपको इतिहासमा छ सय रन कटाउने र १० विकेट लिने एक्लो खेलाडी बंगलादेशका सकिब अल हसन बनेका छन्। उनले विश्वकपको आठ खेलमा ६ सय ६ रन बनाए भने १० विकेट पनि लिए। 

यस विश्वकपमा रोहितपछि अस्ट्रेलियाका डेभिड वार्नरले अहिलेसम्म तीन शतक बनाएइसकेका छन्। उनले बनाएको १ सय ६६ रन यस विश्वकपको सबैभन्दा ठूलो योगफल हो। यसै गरी, आयोजक इंग्ल्यान्डका जोनी बेयरस्ट, जोए रुट, न्युजिल्यान्डका केन विलियम्सन, अस्ट्रेलियाका एरोन फिन्च र बंगलादेशका सकिब अल हसनले दुई शतक बनाएका छन्। यस विश्वकपमा अहिलेसम्म ३० शतक बनिसकेका छन्। यसअघिको विश्वकपमा भने ३७ शतक बनेको थियो।   

स्टार्कको कीर्तिमान

जारी विश्वकपमा ब्याट्सम्यानबाट लगातार शतक बनिरहँदा बलरले पनि आफूलाई प्रमाणित गर्दै आएका छन्। अहिलेसम्म सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा अस्ट्रेलियाका मिचेल स्टार्क रहेका छन्। उनले समूहचरणका नौ खेलबाट २६ विकेट लिएका छन्। उनी एउटै विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडीमा दरिन पुगेका छन्। सन् २००७ को विश्वकपमा अस्ट्रेलियाकै ग्लेन म्याकग्राको २६ विकेटसँग बराबरी गरेका छन्। स्टार्क अघिल्लो विश्वकपमा पनि सर्वाधिक विकेट लिने खेलाडी बनेका थिए। उनले उक्त विश्वकपमा २२ विकेट लिएका थिए। सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा बंगलादेशका मुस्ताफिजुर रहमान दोस्रो र भारतका जसप्रीत बुमराह तेस्रो स्थानमा छन्। रहमानले २० र बुमराहले १७ विकेट लिएका छन्। 

यस विश्वकपमा ह्याट्रिक भने एक खेलाडीले मात्र गरेका छन्। भारतका मोहम्मद सामीले अफगानिस्तानविरुद्ध ह्याट्रिक विकेट लिएका थिए। कम योगफलको खेलमा अफगानिस्तान जीततर्फ लम्किरहेका बेला उनले अर्धशतक बनाएका मोहम्मद नाबी, आफताब आलम र मुजिब उर रहमानको विकेट लिँदै भारतलाई ११ रनले विजयी बनाएका थिए। सामीले उक्त खेलमा चार विकेट लिएका थिए। उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दशौँ स्थानमा छन्। उनले चार खेलबाट १४ विकेट लिइसकेका छन्। 

अब्बल डेब्युट्यान्ट

यस विश्वकपमा पहिलो पटक खेलिरहेका खेलाडीले पनि आफूलाई अब्बल साबित गरेका छन्। ब्याटिङतर्फ श्रीलंकाका अभिस्का फर्नान्डो, दक्षिण अफ्रिकाका रासी भान्डर डुसेन, वेस्ट इन्डिजका निकोलस पुरन र अस्ट्रेलियाका विकेटकिपर एलेक्स क्यारीले ब्याटमार्फत आफ्नो क्षमता देखाए। यसै गरी, बलिङतर्फ घरेलु टोली इंग्ल्यान्डका जोफरा आर्चर, पाकिस्तानका सहिन अफ्रिदी, न्युजिल्यान्डका लुकी फर्गुसन र वेस्ट इन्डिजका सेल्डन कोट्रेलले आफ्नो क्षमता देखाए। जोफरा र फर्गुसनले समान १७ विकेट लिएका छन्। यस्तै, अफ्रिदीले १६ र कोट्रेलले १२ विकेट लिइसकेका छन्। 

यसरी यस विश्वकप थुप्रै खेलाडीका लागि अविस्मरणीय बनेको छ भने केही खेलाडीले यही विश्वकपमार्फत आफूलाई स्थापित पनि गरेका छन्। बल टेम्परिङ (बल बिगारेको) को आरोपमा एक वर्ष प्रतिबन्ध झेलेर फर्किएका अस्ट्रेलियाका डेभिड वार्नरले लगातार रन बनाइरहेका छन्। उनीसँगै अन्य स्थापित खेलाडीले कीर्तिमानको चाङ लगाइरहँदा उदीयमान खेलाडीले पनि आफ्नो दरिलो उपस्थिति जनाइहेका छन्। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि