देशमा पत्नीपिडीत पनि छन्

writer

उपेन्द्र अर्याल/युवराज भट्टराई

मङ्गलबार, २४ असार २०७६


जेठ २८ गते काठमाडौँ, रत्नपार्कमा पर्चा बाँड्दै थिए, गंगाराम चौरसिया। पर्चामा सहयोगका लागि अपिल गरिएको थियो। श्रीमतीबाट अंश पाउनका लागि अदालतमा मुद्दा लड्ने पैसा नभएर सहयोगका लागि अनुरोध गरिएको थियो। तर, उनलाई प्रहरीले जथाभावी पर्चा बाँड्न दिएन। चौकीमा लगेर सम्झाएर छाड्यो।

गंगारामसँग अहिले सम्पत्तिका नाममा केही जोर लुगा मात्र छन्। कहाँ बस्ने, के खाने, टुंगो छैन्। सबै सम्पत्ति श्रीमतीले जालसाज गरेर सकिदिएको उनको आरोप छ। अहिले निन्याउरो अनुहार लिएर सडकमा सहयोगका लागि भौँतारिरहेका छन् उनी।

राजबिराज बस्छन्, गंगाराम। परिवारमा श्रीमती लक्ष्मी र चार जना छोराछोरी छन्। नेपालमा बसेर छोराछोरी पढाउन नसकेपछि उनी २०६५ सालमा दुबई, यूएई हानिए।  त्यहाँ कन्स्ट्रक्सन कम्पनीमा काम पाए। दुई वर्षसम्म काम गरे। अनि, नेपाल फर्किए। विदेशमा कमाएको पैसाले उनले जनकपुरमा घरजग्गा किनेका थिए।

नेपाल फर्किएपछि उनले राजबिराजको घरमा किरानापसल खोले। ‘किरानापसलको आम्दानीले घरपरिवार मात्रै चल्ने भयो,’ उनी भन्छन्, ‘छोराछोरीलाई राम्रो पढाउन सकिएन।’ त्यसपछि उनले नाइट बसमा लगानी गर्ने सोच बनाए। तर, लगानी गर्न उनीसँग ‘क्यास’ थिएन। जनकपुरको जग्गा बेच्न खोजे। भन्नेबित्तिकै बिक्री भएन। ‘त्यसपछि मैले गाउँको शम्भु मण्डलसँग राजबिराजको जग्गा दृष्टिबन्धक राखेर १० लाख ऋण लिएँ,’ उनी भन्छन्, ‘केही समयपछि जग्गा बिक्री भयो। केही पैसाले ऋण तिरेँ।’ 

तर, जग्गा फिर्ता गर्ने क्रममा श्रीमतीले आफ्नो नाममा राख्न अनुरोध गरिन्। ‘मेरो सम्पत्ति परिवारकै त हो भनेर श्रीमतीको नाममा गरिदिएँ,’ गंगारामले भने, ‘घर बेचेको बाँकी रकम पनि श्रीमतीलाई नै राख्न दिएँ।’ त्यसपछि बस पनि चल्न थाल्यो। उनको परिवार काठमाडौँ आएर बस्न थाल्यो। तर, उनलाई बसको काममा सन्तोष भएन। २०६७ सालमा साउदी अरब उडे।

‘विदेशमा हुँदा फोन गर्दा सधैँ जेठी छोरीले उठाउँथी,’ उनले भने, ‘आमा खोइ भन्दा ‘राजबिराज जानुभएको छ’ भन्थी।’ सधैँ राजबिराज भनेपछि छोरीलाई सोध्दा घर बनाउन गएको बताइन्। ‘पहिले नै हाम्रो चार कोठाको घर थियो,’ उनी भन्छन्, ‘घर बनाउने सल्लाह पनि थिएन। अचम्ममा परेँ।’ त्यसपछि उनी २०६९ सालको चैतमा नेपाल फर्किए। 

‘घर आएपछि थाहा भयो, गाडी पनि बेचिछे,’ गंगाराम भन्छन्, ‘जनकपुरको घर बेचेको पैसासमेत चलाइछ।’ अब घरव्यवहार चलाउन गाह्रो भयो। तर, श्रीमतीले उनलाई सबै आफूले मिलाउने भन्दै ढुक्क पार्न खोजिन्। छोराछोरीको खर्च धान्ने उपाय नदेखेपछि फेरि २०७० सालमा उनी कतार गए। तर, एक वर्ष नबित्दै उनलाई टीबी रोग लाग्यो। उनी नेपाल फर्किए। 

घर फर्किएको भोलिपल्टै गाउँकै शम्भु मण्डल उनलाई भेट्न आए। ‘गफ गर्दा श्रीमतीले उनीसँग घर बन्धकी राखेर ऋण लिएको थाहा भयो,’ उनी भन्छन्, ‘२० लाख ऋण लिएकी रहिछे। यो सुनेपछि छाँगाबाट खसेजस्तै भएँ।’ श्रीमतीले ऋण त लिइन्, तर के कामका लागि भन्ने गंगारामलाई थाहा भएन।
त्यसपछि उनले छोराछोरी, सासूआमा, जेठान सबैलाई सोध्दा पनि केही थाहा पाएनन्। ‘पछि बुभ्mदा पाट्नरसिपमा जग्गा किनेको थाहा लाग्यो,’ गंगारामले भने, ‘ऋणमा किन किनेको भन्दा ‘तपाईं चिन्ता नलिनुस्, तपाईंको जग्गा फिर्ता दिन्छु’ भनी।’  

केही हप्तापछि राजबिराजमा गंगारामको श्रीमतीले जग्गा बेच्न लागेकी छिन् भन्ने हल्ला चल्यो। तर, गंगाराम बेखबर थिए। त्यसबेला उनको घरजग्गाको मूल्य करिब १ करोड १० लाख थियो। ‘श्रीमतीले आफूखुशी जग्गा बेच्न लागेको थाहा पाएपछि गाउँको मान्छे बोलाएर भेला गराएँ,’ उनले भने, ‘तर, ऊ आइन।’ त्यही दिनदेखि उनको घरबाट बास उठ्यो। श्रीमतीले उनका सबै सामान घरबाट फ्याँकिदिइन्। ‘उसले आफ्ना पक्षका मान्छे बोलाएर मलाई कुट्न पनि लगाई,’ गंगाराम सम्झन्छन्। 

घटनाको खबर प्रहरीमा भएपछि प्रहरीले दुवैलाई बोलाएर सोध्यो। श्रीमतीले  सम्पत्तिको प्रयोग गरेको पनि स्विकारिन्। प्रहरीले सम्झाएर पठायो। ‘ज्यान ज्याला भन्ने डर लाग्यो,’ उनले भने, ‘दाइको घरमा बस्न थालेँ। जिल्ला प्रशासन कार्यालयमा सुरक्षा पाऊँ भनेर निवेदन दिएँ। प्रहरीले पनि ‘तपाईंलाई घरमा असुरक्षा हुन सक्छ, अन्तै बस्नुस्’ भन्यो।’ त्यसपछि उनले श्रीमतीलाई विपक्षी बनाएर जिल्ला अदालतमा अंश मुद्दा लगाए।

‘जालसाजको हदम्याद सकिएकाले अंशबण्डाको मुद्दा हालेँ,’ उनले भने, ‘मुद्दा चलेपछि जग्गा रोक्का गर्न लगायो।’ तर, त्यसबेलासम्म उनको जग्गा शम्भु मण्डल र उनकी श्रीमती लक्ष्मी मिलेर अर्कैको नाममा राखिसकेका थिए। ‘पहिले २० लाख लिएर जग्गा दृष्टिबन्धक राखेको थियो,’ उनले भने, ‘पछि अदालतमा पुग्दा ८० लाख लिएर तेस्रो व्यक्तिको नाममा जग्गा बन्धकी राखेको देखियो।’ अहिले उनी अदालतमा अंशमुद्दा लडिरहेका छन्।

फर्केन गुमेको सम्पत्ति

पुख्र्यौली घर इटहरी, सुनसरी भएका राम गुरुङ (नाम परिवर्तन) विगत छ वर्षदेखि हङकङ बस्थे। विवाह भएको दुई वर्षपछि उनी त्यहाँ रोजगारीका लागि गएका थिए। परदेशिएपछि काठमाडौँमा उनले आफ्नो कमाइमा पुख्र्यौली सम्पत्ति जोडजाड गरी दुई करोड रुपैयाँभन्दा बढीको घरजग्गा जोडेका थिए। आफूले कमाएको रकम श्रीमतीलाई पठाउँथे उनी। काठमाडौँमा भएको घर, सम्पत्ति पनि श्रीमतीकै नाममा थियो। राम भन्छन्, ‘म विदेश थिएँ। पैसा पठाएपछि उसले सम्पत्ति किनेकी छु भनेकी थिई।’

तर, वास्तविकता अर्के थियो। ‘बिस्तारै–बिस्तारै मैले थाहा पाएँ, उसले अर्कै केटासँग मिलेर मलाई धोका दिएकी रहेछ,’ रामले भने, ‘मैले उसको प्रेमीसँगको फोटो भेला पारेर मुद्दा पनि हालँे। तर, पनि मेरो सम्पत्ति फिर्ता पाइनँ।’
रामका अनुसार उनले विदेशबाट पठाएको पैसा श्रीमतीले प्रेमीसँग मोजमस्तीमा उडाएकी थिइन्। काठमाडौँमा भएको घरलगायत सबै सम्पत्ति पनि उनले बेचिसकेकी थिइन्। ‘नेपाल फर्किएपछि संसारै उल्टिएजस्तो लाग्यो,’ रामले भने, ‘श्रीमती पनि मेरी रहिन, आफूले त्यत्रो दुःख गरेर जोडेको सम्पत्ति पनि थिएन।’ 

पहिला नै विवाहित रहेका पुरुषसँग श्रीमतीको सम्बन्ध रहेको थाहा भएपछि उनले ‘महिला सेल’ अन्तर्गत बहुविवाहमा जाहेरी दिए। अदालती कारबाहीमा बहुविवाहको मुद्दा चल्यो। फैसला रामकै पक्षमा भएर उनकी श्रीमती र उनको प्रेमीलाई सजाय पनि भएको थियो। पछि उनीहरू धरौटीमा रिहा भए। तर, रामले गुमेको सम्पत्ति फिर्ता पाएनन्। ‘मैले दुःख गरेर जोडेको सम्पत्ति स्वाहा भयो,’ उनी भन्छन्, ‘घरजग्गा श्रीमतीले अर्कैको नाममा राखेकी रहिछे। मलाई धोका पनि दिई, सम्पत्ति पनि खाई।’ 
            
सम्पत्ति हत्याउन ‘करणीको आरोप’ 

निकिता (नाम परिवर्तन) र भक्त शर्मा (नाम परिवर्तन) विवाह १४ वर्षअघि भएको थियो। स्थायी घर लमजुङ भएका उनीहरू थापागाउँ, काठमाडौँमा बस्दै आएका थिए। उनीहरूका ११ वर्षीया छोरी र सात वर्षीय छोरा छन्। 
देवराज केही वर्षदेखि कतारमा थिए। विदेशमै हुँदा उनले श्रीमती परपुरुषको सम्बन्धमा रहेको थाहा पाए। भन्छन्, ‘म विदेशमा दुःख गरेर कमाएको पैसा उसलाई पठाउँथेँ। उसले अर्कैसँग मिलेर मेरो पैसा खाइरहेकी थिई।’

दुई वर्षअघि भक्त नेपाल आए। श्रीमतीसँग दैनिक झगडा हुन्थ्यो। त्यसैले उनले सम्बन्ध विच्छेद गर्न चाहे। ‘आफ्नो नाममा भएको सम्पत्ति बेचेर पैसा बैंकमा लुकाएको थिएँ,’ उनले भने, ‘सम्बन्ध विच्छेदपछि सम्पत्ति उसलाई दिनु नपरोस् भनेर पैसा बैंकमा राखेको थिएँ। तर, उसले सम्पत्तिकै लागि मलाई आफ्नै छोरी करणी गरेको आरोप लगाई।’
देवराजलाई श्रीमतीले आफ्नै छोरीलाई करणी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा हालिन्। 

‘छोरीलाई बाबाले करणी गरेको भन्नू भनेर सिकाएकी रैछे,’ उनले भने, ‘डरले होला छोरीले पनि उसले भनेको जस्तै गरी।’ अदालतमा मुद्दा हालेपछि पनि निकिताले भक्तलाई एक करोड रुपैयाँ दिएमा मुद्दा फिर्ता लिने प्रस्ताव गरेको उनी बताउँछन्। ‘मलाई एक करोड दिएमा मुद्दा फिर्ता लिन्छु भनेकी थिई,’ देवराजले भने, ‘तर, मैले मानिनँ। गर्दै नगरेको अपराधको सजाय मलाई दिइयो।’

हाल भक्त छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा छन्। ‘सम्पत्तिकै लागि यस्तोसम्म आरोप लगाउँछे भन्ने लागेको थिएन,’ हाल काठमाडौँ, सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी भन्छन्, ‘आफ्नै छोरीलाई करणी गरेको आरोप लगाएर मलाई फसाई। मलाई कति पीडा भएको छ, कसैले बुझ्न सक्दैन।’ ‘सम्पूर्ण’ ले उनकी श्रीमती निकितासँग सम्पर्क गर्दा उनले कुरा गर्न मानिनन्। 
 
शंखमूल, काठमाडौँका रमेश ढकाल (नाम परिवर्तन) को श्रीमतीसँग विवाह भएको चार वर्षपछि सम्बन्ध चिसिँदै गएको थियो। ‘दिनहुँ मसँग झगडा गर्थी,’ काठमाडौँ, सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका उनी भन्छन्, ‘उसको अन्तै सम्बन्ध छ जस्तो लागेर प्रश्न गर्दा उल्टै ममाथि अनेक आरोप लगाउँथी।’ 

केही समयपछि छोडपत्र गर्ने सोच बनाएका थिए, रमेशले। ‘मैले श्रीमतीलाई भनेको त थिइनँ,’ उनी भन्छन्, ‘तर, आमाबुबासँग सरसल्लाह गरेको थिएँ। उसले थाहा पाइछे र मलाई वैवाहिक करणीको मुद्दा लगाई। अघिल्लो रात सहमतिमा शारीरिक सम्बन्ध भएको थियो तर उनले भोलिपल्ट वैवाहिक करणीको मुद्दा हालिन्।’ ‘मेडिकल टेस्ट’ मा पनि शाररिक सम्बन्ध रहेको भेटियो। रमेशलाई अदालतले दोषी ठहर गर्‍यो। ‘समाजमा मुख देखाउन नमिल्ने भएको थियो,’ उनले भने, ‘पछि सम्पत्ति लगेर छोडपत्र दिई। तर, म यहाँ जेलमा नगरेको अपराधको सजाय भोगिरहेको छु।’ उनकी श्रीमतीसँग ‘सम्पूर्ण’ले कुरा गर्न खोजेको थियो। तर, उनले ‘विगतको कुरा नगर्ने’ भन्दै कुरा गर्न मानिनन्। 

श्रीमान्लाई मानव बेचबिखनको मुद्दा

सुनीता खत्री (नाम परिवर्तन)ले सरकारी कर्मचारीका रूपमा काम गर्न थालेको १२ वर्ष भएको थियो। १३ वर्षअघि हरिशरण खत्री (नाम परिवर्तन) सँग उनको मागी बिहे भएको थियो। उनी आयात–निर्यातको व्यापार गर्थे। स्थायी घर बत्तीसपुतली, काठमाडौँ भएका यो दम्पतीको छ वर्षअघि छोरी जन्मिएकी थिइन्। 

छोरी जन्मिएको दुई वर्षपछि सम्बन्ध बिग्रिँदै गएको हरिशरण बताउँछन्। ‘छोरी जन्मिएका केही वर्षपछि सम्बन्ध खराब हुँदै गयो,’ उनी भन्छन्, ‘सँगै बस्न सक्ने अवस्था नभएपछि मैले छोडपत्रका लागि मुद्दा दर्ता गराएको थिएँ।’ काठमाडौँमा मुद्दा दर्ता गराएपछि व्यापारका क्रममा उनी नेपालगञ्ज गएका थिए। ‘फर्किएर आउँदा थाहा पाएँ, मैले उसलाई सँगै लगेर भारतमा बेचेको मुद्दा लगाएकी रैछ,’ हरिशरण भन्छन्, ‘अदालतमा पुगिसकेको मुद्दाका कारण म पक्राउ परेँ। कैयौँ दिन हिरासतमा बस्नुपर्‍यो।’ 

त्यसपछि सुनीताले पटक–पटक सम्पत्ति माग्दै धम्क्याउने गरेको उनी बताउँछन्। ‘छोडपत्र गर्दा त्यसले आधा सम्पत्ति त पाउँथी,’ उनले भने, ‘तर, उसले मलाई मानव बेचबिखनको मुद्दा लगाएर जेलमा हाल्ने काम गरी। मुद्दा फिर्ता लिन तीन करोड र आफ्नो भागको अंश मागेकी थिई।’ उनले सुनीतालाई तीन करोड रुपैयाँ दिए। ‘मागेजति पैसा दिएपछि मुद्दा फिर्ता लिई,’ उनी भन्छन्, ‘तर, समाजमा मेरो ठूलो बदनामी भयो।’ 

‘डिपेन्डेन्ट’ भिसाको शिकार

लोकन्थली, भक्तपुरका सुजन पुरी (नाम परिवर्तन)ले चार वर्षअघि अस्ट्रेलिया जाने सोच बनाए। ‘आईईएलटीएस’ को तयारी गरिरहेको बेला उनका आफन्तले आफ्नी छोरीलाई पनि सँगै ‘डिपेन्डेन्ट भिसा’मा लैजान आग्रह गरे। ‘मेरो नाता पर्ने नजिकको आफन्त हुनुहुन्छ,’ उनले भने, ‘छोरीको उद्धार हुन्छ भन्दै मलाई ऊसँग कागजी विवाह गरेर डिपेन्डेन्टमा लैजान आग्रह गर्नुभएको थियो।’

कागजी रूपमा सुजन र शर्मिला चापागाईं (नाम परिवर्तन)को विवाह भयो। नाताले उनीहरू दाजुबहिनी थिए। तर, कागजी रूपमा श्रीमान्–श्रीमती भएर अस्ट्रेलियाको लागि प्रक्रिया अगाडि बढाए। सबै प्रक्रिया सकिँदा सुजनको मात्रै भिसा लाग्यो। शर्मिला भने जान पाइनन्। ‘बाहिर जाने बेलामा केही समयपछि छोडपत्र गरौँला भन्ने सहमति भएको थियो,’ सुजनले भने, ‘तर, अहिले आएर त्यही कागजको आधारमा मसँग उनले अंश मागिरहेकी छिन्।’

सुजनका अनुसार उनी अस्ट्रेलिया पुगेको दुई वर्षपछि शर्मिलाको परिवारबाट विवाह भएको कागजको आधारमा ‘ब्ल्याकमेल’ गर्न सुरु गरियो। ‘विवाहको कागज देखाएर २० लाख देऊ, नत्र मुद्दा हाल्दिन्छु भन्न थाले,’ हाल छुट्टीमा नेपाल आएका उनी भन्छन्, ‘मैले दिनुपर्ने कारण नभएकाले दिन्न भनेँ।’ आफूले मागेको रकम नपाएपछि शमिर्लाको परिवारले सुजनमाथि मुद्दा हाल्यो। मुद्दा शर्मिलाकै पक्षले जित्यो।

सम्बन्ध विच्छेद पनि भयो। तर, सुजनले उनलाई आफ्नो सम्पत्तिको आधा हिस्सा दिनुपर्‍यो। ‘मैले त्यस्तो होला भनेर कहिल्यै सोचेको थिइनँ,’ उनी भन्छन्, ‘उसैको भलो होस् भनेर डिपेन्डेन्टमा लैजाने प्रयास गरेको थिएँ। तर, अहिले आएर आफ्नो आधा सम्पत्ति नै गुमाउनुपर्‍यो।’

एक वर्षअघि जोरपाटी, काठमाडौँका सुयोग श्रेष्ठ (नाम परिवर्तन)लाई ‘डिपेन्डेन्टमा अस्ट्रेलिया लैजान्छु’ भन्दै आइपुगेकी थिइन्, चितवनकी अनुशा पुरी (नाम परिवर्तन)। ‘मेरो पढाइ पनि राम्रो थिएन, आईईएलटीएस पनि राम्रो गर्न सकिनँ,’ सुयोग भन्छन्, ‘डिपेन्डेन्टमा जाने सोचमा थिएँ। त्यत्तिकैमा पैसा हाले लैजान्छु भन्दै आएकी थिई।’

फेसबुकमा भएको ग्रुपबाट अनुशालाई चिनेको बताउँछन्, सुयोग। ‘अस्ट्रेलियासम्बन्धी ग्रुपमा भेटिएकी थिई,’ उनी भन्छन्, ‘आफूलाई जसै पनि बाहिर जानु थियो। त्यसैले ऊसँगै डिपेन्डेन्टमा जाने सोचेँ।’ सुयोगले डिपेन्डेन्टमा जानका लागि अनुशाले भनेजति पैसा दिए। ‘कागजी रूपमा विवाह पनि भयो,’ उनी भन्छन्, ‘त्यसपछि प्रोसेस हुँदै छ भनेर उसले भनिरही। पछि सम्पर्क हुनै छाड्यो।’

सुयोगले अनुशालाई १५ लाख रुपैयाँ दिएका थिए। सम्पर्क हुन छाडेपछि जिल्ला अदालमा उनले मुद्दा हाले। ‘मुद्दा हालेपछि थाहा भयो, उसले तीन महिनामै छ जनासँग विवाह गरेकी रहिछे,’ उनी भन्छन्, ‘मजस्तै अरूलाई पनि डिपेन्डेन्टमा लैजान्छु भन्दै पैसा लिएर विवाह गरेको पत्ता लाग्यो।’ छ महिनादेखि सुयोग अदालत धाइरहेका छन्। ‘अहिलेसम्म पनि त्यसको सम्पर्क पाउन सकिएको छैन,’ उनी भन्छन्, ‘न उसको परिवार सम्पर्कमा छ, न ऊ आफैँ। मलाई विदेश पठाउन परिवारले ऋण लिएको पैसा तिर्न सकेको छैन। यसरी फसिएला भन्ने सोचेको पनि थिइनँ।’   
       
महिलाको आर्थिक सशक्तीकरण जरुरी

समाजशास्त्री निर्मला ढकाल समाजमा महिलाबाट पनि पुरुष पीडित भएका घटना थुप्रै भएको बताउँछिन्। यस्तो समस्या बढ्नुका तीनटा कारण औँल्याउँछिन् उनी।

पहिलो कारण, वैदेशिक रोजगारी रहेको उनको भनाइ छ । ‘हाम्रो समाजमा लामो समयसम्म पुरुष वैदेशिक रोजगारीमा जान्छन्,’ उनी भन्छिन्, ‘पुरुषहरूले लामो समय विदेशमा बिताउँदा महिलाले  एक्लोपन महसुस गर्छन्। यो अवस्थामा उनीहरूले अर्को पुरुष खोजेर साथी बनाउने गरेको पाइन्छ।’ जसले गर्दा श्रीमान्ले विदेशबाट पठाएको पैसा अर्को पुरुषसँग खर्च गर्ने गरेको उनको भनाइ छ। वैदेशिक रोजगारीका कारण पनि धेरैको सम्पत्ति उडेको उनी बताउँछिन्। भन्छिन्, ‘यो वैदेशिक रोजगारीको एउटा ‘साइड इफेक्ट’ हो।’  

दोस्रो कारण, उनी पारिवारिक संरचनालाई मान्छिन्। ‘संयुक्त परिवारमा रहँदा परिवारको एउटा सर्कल हुन्थ्यो,’ उनी भन्छिन्, ‘यस्तो परिवारमा महिलालाई एक्लोपन महसुस हुँदैन।’ तर, अहिले पुरानो पारिवारिक  संरचना भत्किएर एकल परिवार बनेको छ। एकल परिवारमा हुँदा अलिक बढी यो समस्या हुने गरेको उनको तर्क छ। ‘एकल परिवारमा सुख पनि हुने भयो,’ उनी भन्छिन्, ‘तर, सुखसँगै यस्ता विविध समस्या पनि आइपर्छन्।’  यसलाई महिलाले दिएको धोकाभन्दा पनि सामाजिक संरचनाले ल्याएको समस्या भन्न सकिने उनको तर्क छ। 

तेस्रो कारण महिलाको आर्थिक सशक्तीकरण नहुनु रहेको बताउँछिन्, समाजशास्त्री ढकाल। ‘विदेशतिर महिला–पुरुष दुवै जना सक्षम हुन्छन्,’ उनी भन्छिन्, ‘श्रीमान्– श्रीमती दुवै कमाउँछन्। डिभोर्स हुँदा पनि आ–आफ्नोे सम्पति लैजान्छन्।’ तर, हाम्रो समाजमा ज्याला पाउने काममा पुरुष बढी सक्रिय छन्। महिलाले गर्ने कामको मूल्य छैन। ‘महिलाहरू अर्थिक रूपले कसरी बलिया हुन्छन् भन्ने कहिल्यै सोचिएन,’ उनी भन्छिन्, ‘अधिकारको कुरा मात्र खोज्दा केही पुरुष पीडित देखिए।’

कतिपय सन्दर्भमा महिलालाई दिइएको अधिकारसमेत गलत प्रयोग हुने गरेको उनी बताउँछिन्। ‘समस्याको समाधान ठ्याक्यै यही हो भन्न त सकिन्न,’ उनी भन्छिन्, ‘तर, आर्थिक रूपमा महिला पनि सक्रिय हुनुपर्छ। यसो हुँदा सम्बन्ध विच्छेद हुँदा पनि सम्पत्ति आधा–आधा बाँड्दा कोही पनि पीडित हुन्न।’ पुरुष पीडित हुने समस्या पनि महिलाको आर्थिक सशक्तीकरणसँग नै जोडिएको उनी बताउँछिन्। ‘अर्को कुरा भनेको महिला अधिकार र नियम तत्कालीन ‘कन्टेक्स्ट’ हेरेर प्रयोग गर्नुपर्छ,’ उनी भन्छिन्, ‘महिलाका गलत काममा अधिकार लगेर जोड्नु हुन्न।’

कानुनमा स्पष्ट व्यख्या नहुँदा

कानुनमा स्पष्ट व्याख्या नभएका कारणले पनि पुरुषहरू पीडित हुनु परेको बताउँछन्, अधिवक्ता राजेशकुमार बटाला। ‘कानुनमा वैवाहिक करणीको आरोपमा पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान छ,’ उनी भन्छन्, ‘तर, वैवाहिक करणीलाई नाप्ने, छुटयाउने एउटै मात्र आधार महिलाको बोली रहेको छ।’ श्रीमान्–श्रीमतीबीच भएको शारीरिक सम्बन्धलाई सहमति वा जबर्जस्ती करणी भनेर छुट्याउने ठोस आधार नहुने उनी बताउँछन्। ‘यस्तो केसमा श्रीमतीको भनाइ नै प्रमाण हुन्छ,’ उनी भन्छिन्, ‘यही आधारमा श्रीमतीले श्रीमान्लाई सहमतिमा भएको सम्बन्धलाई जबर्जस्ती करणी भनेर फसाउने गरेका घटना थुप्रै भेटिन्छन्।’ 

जबर्जस्ती करणी सम्बन्धमा कानुनमा ‘गुदद्वार वा मुखमा लिंग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिंग केही मात्र पसेको भएमा, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जबर्जस्ती करणी गरेको मानिनेछ’ उल्लेख गरिएको छ। ‘तर, लिंगबाहेक अन्य कुनै वस्तु योनीमा छिराएको आरोप लागेमा त्यो मेडिकल टेस्टबाट करणी गर्ने को हो, प्रमाणित हुन्न,’ बटाला भन्छन्, ‘यसमा पीडितले जसलाई आरोप लागायो, त्यो दोषी ठहर्छ। यसको आधारमा पनि धेरै पुरुषले नगरेको अपराधको सजाय भोगिरहेका छन्।’


‘पत्नीपीडित ह्वात्तै बढेका छन्’ 

राजेशकुमार बटाला, अधिवक्ता

पछिल्लो समयमा पुरुष पीडित हुनुमा दुई किसिमको ‘ट्रेन्ड’ देखिएको छ। एउटामा कुनै पनि महिलाबाट कुनै पनि पुरुष पीडित हुने वा प्रेमिकाबाट प्रेमीदेखि चिन्दै नचिनको महिलाबाट समेत पुरुष पीडित भएका भेटिन्छन्। अर्को श्रीमतीबाट श्रीमान् पीडित हुने। अहिले यो समस्या महामारीकै रूपमा छ। पत्नीपीडित ह्वात्तै बढेका छन्। 

आजभन्दा करिब १० वर्षअघि श्रीमतीबाट पीडित भएका श्रीमान् भनेर निकै कम सुन्न पाइन्थ्यो। उच्च घरपरिवारमा मात्रै यस्ता घटना हुने गरेको थियो। श्रीमान्–श्रीमती आफ्नै खुट्टामा उभिएको अवस्थामा यस्ता घटना थोरै मात्र भएको भेटिन्थ्यो। कानुनले श्रीमतीलाई दिएको अधिकारको दुरुपयोग गरेर यस्ता घटनामा श्रीमतीले श्रीमान्लाई फसाउने गरेको पाइन्थ्यो। 

तर, पछिल्लो समय निम्नमध्यम वा मध्यमवगीय परिवारमा पनि श्रीमान् पीडित हुने गरेको भेटिन्छन्। यसलाई विकास गराउने तत्त्व भनेको शिक्षा र चेतना हो। यी तत्त्वले मान्छेलाई सचेत बनाउनुपथ्र्यो। तर, यस्ता घटनाको हकमा भने यसले नकारात्मक रूप लिएको छ। 

आम मान्छेले वैदेशिक रोजगारीका कारण यस्तो घटना हुने गरेको बताउँछन्। वैदेशिक रोजगारीमा गएका श्रीमान्का श्रीमतीले गर्ने गरेका बदमासी बाहिर आउने भएर यो बुझाइ बनेको हो। तर, वास्तविकता यति मात्र होइन। श्रीमान्–श्रीमती बीचमा दूरी भएको कारणले यस्तो भएको भन्ने कुरा आंशिक सत्य हो। 

पछिल्लो समयमा विकास भएको सामाजिक सञ्जालको कारणले पनि यस्तो विकृति विकास भइरहेको छ। कसले कोसँग  कसरी कुरा गरिरहेको छ भन्ने कुरा बुझ्न असम्भव छ। यस्ता अवस्थामा सामाजिक सञ्जालकै माध्यमबाट महिलाले पर–पुरुषसँग सम्बन्ध बढाउने गरेका भेटिन्छन्। उनीहरूको यस्तो अनैतिक सम्बन्धबारे घरपरिवारले थाहा पाएमा घर भाँडिने डर हुन्छ। यस्तो अवस्थामा सुरक्षाका लागि श्रीमतीले श्रीमान्लाई फसाउने गरेको भेटिन्छ। 

राज्यले महिलालाई विभिन्न अधिकार दिएको छ। राज्यले दिएको अधिकारलाई गलत प्रयोग गरेर श्रीमतीले श्रीमान्माथि अनेक आरोप लगाउने गरेका भेटिन्छन्। आरोप लगाएपछि आफ्नो अधिकार भन्दै उनीहरूले सम्पत्ति अपचलन गरेर भाग्ने गरेको थुप्रै उदाहरण छन्।

कानुनमा वैवाहिक करणीको आरोपमा पाँच वर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ। तर, वैवाहिक करणीलाई नाप्ने, छुट्याउने एउटै मात्र अवस्था महिलाको भनाइ रहने गरेको छ। श्रीमान्–श्रीमतीबीच भएको शारीरिक सम्बन्धलाई सहमति वा जबर्जस्ती करणी भनेर छुट्याउन श्रीमतीको भनाइ नै प्रमाण हुने गरेको छ। यस्तो अवस्थामा पनि श्रीमतीले श्रीमान्लाई सहमतिमा भएको सम्बन्धलाई पनि करणी भनेर फसाउने गरेका भेटिन्छन्।

अहिले महिलाको नाममा सम्पत्ति राख्दा कर र अन्य दस्तुर पनि कम तिर्नुपर्ने प्रावधान छ। जसकारण धेरै जसोले आफ्नी श्रीमतीको नाममा आफ्नो सम्पत्ति राख्ने गरेको पाइन्छ। वैदेशिक रोजगारीमा जाने श्रीमान्ले श्रीमतीको नाममा सम्पत्ति छोडेर गएको हुन्छ। तर, श्रीमान्लाई फसाउने मनसाय हुँदा आफ्नो नाममा भएको सम्पत्तिलाई ‘बेचेर खाएँ’ भन्ने गरेको भेटिन्छ। नेपाली कानुनले ‘सम्पत्ति के गर्‍यौ ?’ खोज्छ। तर, ‘बेचेर के गर्‍यौ ?’ खोज्दैन। 

कानुनले बढीमा ‘एक जनाले मात्रै बेचेर हुँदैन’ भन्न सक्छ। तर, अदालती कठघरामै पुगिसकेपछि पनि बेचेको सम्पत्ति ‘खाई–लाई सकेँ’ भन्यो भने कानुनले केही भन्दैन। यस्तो प्रावधान भएका कारणले पनि वैदेशिक रोजगारीमा भएका श्रीमान्लाई फसाएर श्रीमतीले सम्पत्ति खाने–लाउनेमा सकिएको भन्दै लुट्ने गरेको भेटिन्छ। अंशियारले ‘आफ्नो अंश देऊ’ भनेर मुद्दा हाले पनि सम्पत्ति फर्किएर आउने सम्भावना न्यून हुन्छ।

श्रीमतीले श्रीमान्लाई छाडेर पर–पुरुषसँग विवाह गरेमा स्वतः सम्बन्ध विच्छेद हुन्छ। सम्बन्ध बिग्रिरहेको अवस्थामा श्रीमान्ले पनि श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गर्न पाउने कानुनी व्यवस्था छ। तर, यसरी सम्बन्ध विच्छेदको मुद्दा हाल्ने हरेक श्रीमान् पीडित भने भेटिँदैनन्। यसरी श्रीमान्ले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेपछि एक वर्षसम्म उनीहरूलाई सँगै बस्ने वातावरण सिर्जना गर्ने प्रयास गरिन्छ। तर, एक वर्षसम्म सम्बन्ध राम्रो नभएमा सम्बन्ध विच्छेद गर्नुपर्छ। यसरी सम्बन्ध विच्छेद गर्दा श्रीमतीलाई पनि अंश दिनुपर्ने हुन्छ। श्रीमतीले श्रीमान्लाई छाडेर अरू कोहीसँग भागेमा भने श्रीमतीको नाममा भएको सम्पत्ति श्रीमान्कै नाममा आउँछ। स्वतः सम्बन्ध विच्छेद हुने यस्तो अवस्थामा श्रीमतीकै नाममा भएपछि सम्पत्तिमा उसको हक हुँदैन। श्रीमान्को नाममा सम्पत्ति आउँछ।

पश्चिमा मुलुकमा चारपाँच महिनामा सम्बन्ध विच्छेद गर्दै अर्कोसँग विवाह गर्ने गरेको पाइन्छ। तर, त्यहाँ यस्ता घटना हुँदैनन्। पश्चिमा देशमा सम्पत्ति श्रीमान्–श्रीमती दुवैले आ–आफ्ना नाममा आ–आफ्ना कमाइबाट राख्ने गरेका हुन्छन्। तर, नेपालमा यस्तो छैन।

यो समस्याको तत्कालै निराकरण गर्न सक्ने अवस्था छैन। यसका लागि छुट्टै कानुनी प्रावधान हुनुपर्छ। नयाँ कानुन बनाउने, बहस हुने र त्यसमा निर्णय हुन आवश्यक छ। यसका लागि लामो समय चाहिन्छ। तत्कालका लागि भने व्यक्ति आफैँ सचेत हुनुपर्छ। सम्पत्ति किन्दा संयुक्त नाममा किन्न सकिन्छ। वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले पनि श्रीमतीसँगको संयुक्त नाममा खाता खोलेर रकम पठाउन सकिन्छ। यस्तो गर्दा श्रीमतीले श्रीमान्ले शंका गर्दो रहेछ भन्ने प्रश्न पनि उठाउन सक्छ। तर, दुवैको समन्वयमा भने संयुक्त सम्पत्ति अवधारणालाई लागू गराउन सकिन्छ। 



‘कति कुरिबस्नु त ?’ 

राधा खनाल

झापा : श्रीमान् विदेश गएको पाँच वर्ष भएको थियो। दुई वर्षसम्म त उनलाई खासै चासो थिएन। आउँछु भनेका थिए। बिदा मिलाउँदै होलान् भन्ने भद्रपुर नगरपालिका वडा नम्बर–२ बस्दै आएकी पार्वती चाम्लिङलाई लाग्यो। ‘छोरो तीन वर्ष पुग्यो,’ उनी भन्छिन्, ‘छोरो छ महिनाको हुँदा सासूससुरासँग राखेर हिँडेका थिए।’ श्रीमान्ले हिँड्ने बेलामा भनेका शब्द उनलाई अहिले पनि याद छ, ‘तिम्रै सुख र खुशीका लागि हिँडेको, राम्रोसँग आमाबुबा र बाबुको स्याहार गर्नू।’

विदेश गएका श्रीमान् पाँच वर्षसम्म पनि नआएपछि उनलाई कति कुर्नु भयो। श्रीमान्ले पठाएको करिब २० लाख रुपैयाँले जग्गा किनिन्। बैँकमा छुट्टै खाता खोलिन्। ‘सासूससुरा र बाबुको स्याहारमा व्यस्त थिएँ,’ उनी भन्छिन्, ‘पछि आफ्नै जिन्दगी देख्दा कहाली लाग्न थाल्यो। यो उमेर, यो समय म किन एक जनाको प्रतीक्षामा खेर फालिरहेकी छु भन्ने भयो। कति कुरिबस्नु त ?’ अनि, फेसबुकमा उनले एक जना साथी भेटिन्। जो पेशाले ड्राइभर थिए। ‘हाम्रो मन मिल्यो, सुखदुःख केही पेशा–व्यवसाय गरेर बस्ने भनेर नयाँ जीवन सुरु गरेँ,’ उनी भन्छिन्।

उनी घर छाडेर हिँडेको तीन महिनापछि श्रीमान् घर फर्के। ‘पाँच वर्ष कुर्दा नआएको मान्छे मैले छोडेको तीन महिनामा आयो,’ उनी भन्छिन्, ‘मैले उसको केही बिगारेकी छैन। अलिकति पैसा चाहिँ छोरा र आफ्ना लागि राखेकी छु। अहिले उसले मुद्दा हाल्नेबारे बुझ्दै हिँडेको छ भन्ने सुन्दै छु।’ 

बिर्तामोड–४ की २८ वर्षीया सोनी सापकोटा चिया बगानमा पात टिप्ने काम गर्थिन्। बिहे भएको एक वर्षपछि श्रीमा्न यूएई लागे। महिनाको ३५ हजार रुपैयाँ तलब थियो। महिनाको २५ हजार रुपैयाँ घर पठाउँथे। पैसा सोनीकै नाममा आउँथ्यो। विदेशिएको छ महिनापछि श्रीमान्ले उनलाई बगानको काम छोड्न भने। उनी घरमै बस्न थालिन्। फेसबुकमा उनको चिनजान झापाकै एक जनासँग भयो। उनीहरू नजिकिए। एकअर्काबिना बाँच्न नसक्ने भए। 

यता श्रीमान्ले पठाएको पैसा उही व्यक्तिका निम्ति खर्चिन थालिन्, सोनीले। घुम्न जाँदा होटलको खर्च आफैँ उठाउँथिन्। पछि प्रेमीले डेढ लाख रुपैयाँ सापटी भनेर लगे। पैसा दिने मिति नजिकिँदै गर्दा सम्पर्कमा आउन छोडे। विदेशमा पनि श्रीमान्लाई कसैले कुरा लगाइदियो। ‘श्रीमानले मलाई खुरुक्क निस्केर जा, नत्र भए म आएपछि निकाल्छु भनिसकेपछि म निस्केर हिँडेँ,’ सोनीले भनिन्, ‘अन्तिममा घरको न घाटको भइयो। अहिले फेरि चियाबगानमै काम सुरु गरेकी छु।’

झापामा वैदेशिक रोजगारीमा जानेको संख्या उच्च छ। देशभरिको अवस्था हेर्दा झापा वैदेशिक रोजगारमा जाने दोस्रो ठूलो जिल्लामा पर्छ। झापाबाट बर्सेनि १५ हजार ५ सय ११ जना पुरुष र महिला वैदेशिक रोजगारीमा जाने गरेका छन्। ‘यो त वैधानिक तथ्यांक हो, अनौपचारिक तथ्यांक झनै डरलाग्दो छ,’ सामी परियोजना, झापाका प्रमुख हरि मैनाली भन्छन्।
वैदेशिक रोजगारीमा जानेबित्तिकै श्रीमतीहरू एक्लो महसुस गर्छन्। ‘माया, भरोसा र विश्वासको मुख्य पात्रबाट बिछोडिएर बस्नुपरेको पीडामा कोही दोस्रो व्यक्तिले केही प्रेम, दया, देखाइदिँदा पनि दंग पर्ने र विश्वास गरिहाल्ने प्रवृत्तिले थुप्रै घर भताभुंग भएका छन्,’ भद्रपुर नगरपालिकाकी उपमेयर चन्द्रमाया श्रेष्ठ भन्छिन्। 

पछिल्लो समय स्थानीय निकायले पनि न्यायिक समितिमार्पmत स्थानीय क्षेत्रका मुद्दाहरू मेलमिलापमार्पmत हेर्दै आएको छ। उपमेयर श्रेष्ठका अनुसार न्यायिक समितिमा आउने मुद्दामध्ये ६० प्रतिशत वैदेशिक रोजगारीसम्बन्धी हुन्छन्। धेरैका घरबार र सम्बन्ध धरापमा परेपछि नै उनीहरू न्याय खोज्दै आउने गर्छन्। 

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार विदेशबाट श्रीमतीलाई विश्वास गरेर पैसा पठाउनेहरू घर फर्कंदा न श्रीमती भेट्छन्, न सम्पत्ति नै। ‘दिनहुँ करिब दुईदेखि तीनटा उजुरी आउने गर्छन्,’ उनी भन्छन्, ‘पछिल्लो समय सामाजिक सञ्जालका कारण पनि धेरैको घर भाँडिएको छ। बढ्दो आकांक्षा र देखासिकी पनि यसका लागि जिम्मेवार छन्।’ 



देश फर्किंदा पीडामाथि पीडा

लक्ष्मण पोखरेल

बुटवल: गुल्मीका रमेश शर्मा (नाम परिवर्तन) २० दिनअघि नेपाल फर्किए। चार वर्षअघि वैदेशिक रोजगारीका लागि यूएई, दुबई पुगेका उनकी श्रीमती बुटवलकै कलेज पढ्दै थिइन्। रमेशले आफू घर आउन लागेको भन्दै श्रीमतीलाई फोन गरे। सबै ठीकठाकै थियो। काठमाडौँ विमानस्थलमा पुगेपछि उनले श्रीमतीलाई फोन गरे। फोन स्विच अफ थियो। बुटवल पुगे, कोठामा श्रीमती थिइनन्। घरबेटीले अघिल्लो दिनदेखि नै कोठामा ताल्चा लगाएको बताए। 

आफन्त, ससुराली सबै ठाउँमा फोन गरे। श्रीमतीबारे पत्ता लागेन। त्यसपछि इलाका प्रहरी कार्यालयमा महिला हराएको निवेदन दर्ता गराए। केही दिनपछि श्रीमती भेटिइन् तर उनकी थिइनन्। उनले भागेर अर्कैसँग बिहे गरेकी रहेछिन्। रमेशको पाँच वर्षको वैवाहिक जीवन यही टुंगियो।

पछिल्लो वर्ष इलाका प्रहरी कार्यालय बुटवलमा महिला हराएका उजुरीको संख्या दोब्बर भएको छ। त्यसको प्रमुख कारण हो, वैदेशिक रोजगारी। हराउनेमध्ये करिब ९० प्रतिशत महिलाका श्रीमान् विदेश गएका हुन्छन् भने घरमा खटपट भएका महिला पनि हराउने गरेका छन्। 
इलाका प्रहरी कार्यालय बुटवलको महिला सेलकी प्रहरी सहायक निरीक्षक विष्णुकुमारी थापाका अनुसार गत वर्ष हराएका महिलाको संख्या ७२ थियो। यो वर्षको जेठसम्म १ सय ५१ महिला हराएको निवेदन प्रहरी कार्यालयमा छ। तीमध्ये १ सय २३ जना भेटिइसकेको जानकारी थापाले दिइन्। ‘हराउनेमध्ये धेरै दोस्रो बिहे गरेर जाने छन्,’ उनले भनिन्, ‘अज्ञानका 
कारण हराउनेको संख्या त नगन्य छ।’ प्रहरी कार्यालयमा उजुरी गर्नेमध्ये अधिकांश विदेशबाट फर्किएका श्रीमान् छन्। यो ११ महिनामा छ जना पुरुषले श्रीमती ठूलो रकमसहित हराएको भन्दै उजुरी दर्ता गराएका छन्। कतिपय महिला १५ महिनाको सन्तान नै छाडेर दोस्रो पुरुषसँग भागेका घटनासमेत प्रहरीकहाँ आएको प्रसनि थापाले बताइन्। 

कपिलवस्तु बुद्धभूमि, वडा नम्बर १ का कृष्णप्रसाद भुसालले वैदेशिक रोजगारीमा २० वर्ष बिताए। ५० लाख रुपैयाँभन्दा बढी कमाए। जब विदेशको यात्रा टुंग्याएर घर फर्किए, न त कमाएको पैसा थियो, न श्रीमती र छोराछोरी नै। साउदी अरबमा  काम गरेर फर्किएका उनी अहिले घरबारविहीन छन्। ‘मासिक ८० हजारदेखि १ लाख २० हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो,’ उनले सुनाए,  ‘सबै रकम श्रीमतीको नाममा पठाउँथेँ।’ उनले पठाएको पैसाले वीरपुरमा १५ वर्षअघि एकतले घर बन्यो। गोरुसिंगेमा ९ लाख ५० हजारमा नौ धुर घडेरी किनियो। 

‘सबै श्रीमतीकै नाममा पास गरिदिएँ,’ उनले भने, ‘श्रीमतीकै आग्रहमा टिपर किन्न राजी भएँ।’ पार्टनरसिपमा १० लाख खर्चिएर किनिएको टिपर आफूलाई फलाम नफाप्ने भनेपछि श्रीमतीकै आग्रहमा छिमेकी प्रमोद पोखरेलको नाममा पास गरे। घरमै बसेर केही गर्नुपर्छ भनी स्वदेश आएका कृष्णलाई श्रीमतीले फेरि विदेश जान दबाब दिन थालिन्। उनी विदेश जान मानेनन्। त्यसपछि श्रीमतीले उनीविरुद्ध अंशबण्डा, मानाचामल र घरेलु हिंसाको मुद्दा दर्ता गरिन्। ‘विदेशमा कमाएको सबै पैसा एक रुपैयाँ पनि आफूसँग नराखेर पठाएँ, अहिले घरमा उल्टै मलाई भित्रसमेत जान दिँदैनन्,’ उनले भने, ‘‘घरमा पसिस् भने ज्यान लिन्छु’ भन्छन्। छोराले पनि ‘तँलाई मार्छु’ भन्छ। मलाई कसले दिन्छ न्याय ?’ 

प्रहरी कार्यालयको उजुरी र अदालतको सम्बन्ध विच्छेदको तथ्यांकले वैदेशिक रोजगारीले ठूलो सामाजिक समस्या निम्त्याएको देखिन्छ। जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा समेत महिला हराएको उजुरी अत्यधिक छ। २०७३/०७४ मा ३२ जना महिला हराएका थिए। ती महिला पैसा, गरगहनासहित हराएको उजुरी परेको छ। गत वर्ष ७८ जना महिला हराएका थिए। हराएकामध्ये ६४ जना फेला परे उनीहरूका श्रीमान् विदेश गएका थिए। यस वर्ष ४५ जना महिला हराएका छन्। हराएकामध्ये ३७ जना फेला परिसके। तीमध्ये १८ जना विदेश गएकाहरूका श्रीमती रहेको प्रहरीको भनाइ छ। 


उजुरी बढे पत्नीपीडितका 

राजकरण महतो

जनकपुरधाम : उदयपुर, बेलका–२, करैयाका ३५ वर्षीय दुर्गानन्द चौधरीले अढाई वर्ष कतारमा पसिना बगाए। पाँच लाख रुपैयाँ कमाए। दुई सन्तानको शिक्षादीक्षा, पालनपोषण, घरखर्चका लागि उनले पैसा श्रीमतीको नाममा पठाए। विदेशबाट घर आएपछि हिसाबकिताब मागे। त्यसको केही दिनमै श्रीमती अर्कैसँग भागेको उनी बताउँछन्। ‘छोराको जुत्ता किन्न बजार गएकी उनले छिमेकीलाई जुत्ता पठाइन्,’ उनी भन्छन्,    ‘कमाएको त उडाई–उडाई, समूह र सहकारीबाट लिएको ६५ हजार ऋण पनि लिएर टाप कसिन्।’ 

श्रीमती खोज्दै उनी जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेल पुगे। श्रीमतीमाथि उनले उदयपुरस्थित इलाका प्रहरी कार्यालय ठोक्सिलामा उजुरी गरेका छन्। श्रीमतीको मोबाइलले धनुषाको जनकपुर लोकेसन देखाएको भन्दै साथीको सहयोगमा उनी जनकपुरस्थित जिल्ला प्रहरी कार्यालय पुगेका थिए।

धनुषा, कमला नगरपालिका–८ हरिनेका कारी गोहितमान यादव पनि वैदेशिक रोजगारीमा जाँदा श्रीमतीबाट पीडित भएका छन्। उनले पनि विदेशमा कमाएको पैसा श्रीमतीलाई पठाए। घर फर्किंदा अर्कैसँग विवाह गर्न लागेको थाहा पाएपछि उनले श्रीमतीविरुद्ध जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी गरे। ‘विदेशमा कमाएर घर पठाएको रकमले केही गरौँला भन्न सपना बोकेर आएको थिएँ,’ यादव भन्छन्, ‘तर, घरमा न श्रीमती छ, न पैसा।’

धनुषाका अर्का युवा डम्बरबहादुर राई पनि यसरी नै पीडित छन्। गणेशमान चारनाथ–१ का उनी विदेशिएका थिए। परिवारको खुशीका लागि मनग्गे कमाए।  सबै रकम घर बसेकी श्रीमतीलाई पठाए। विदेशबाट घर फर्किंदा कुमार लामा भन्ने युवकसँग श्रीमती भागेको भन्दै उनले प्रहरीमा उजुरी हाले। 

यस्ता थुप्रै उजुरी प्रहरीमा परेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलकी असई श्यामवती राजवंशी बताउँछिन्। ‘वैदेशिक रोजगारीमा गएका पुरुष पत्नीपीडित भएको उजुरी प्रहरीमा बढ्न थालेको छ,’ उनी भन्छिन्। चालु आर्थिक वर्ष २०७५–०७६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा महिलाबाट पुरुष पीडित भएको ३६ वटा उजुरी परेका छन्। अरू फछ्र्यौट भए पनि १९ वटा अझै फछ्र्यौट हुन बाँकी छन्।

                           
 

तपाईको कमेन्ट

छुटाउनु भयो कि