‘ड्रेस कोड घाँडो भएको छ’

writer

आशक्ति फुयाल

शनिबार, २१ असार २०७६


हरि तामाङ, चालक  जोरपाटी, काठमाडौँ बा २ ज ३२६५

ट्याक्सी चलाउन थालेको १५ वर्ष भयो। सुरुमा ट्याक्सी चलाएँ। त्यसपछि प्राइभेट गाडी चलाउने अफर आयो। राम्रो आम्दानी होला भन्ने आशाले प्राइभेट गाडी चलाउन  थालेँ। तर, साहूले खासै राम्रो पैसा दिएनन्। त्यसपछि फेरि ट्याक्सी लाइनमा छिरेँ। दुई वर्षजति भयो, ट्याक्सी चलाउन थालेको। 

यस पेशाको सबैभन्दा ठूलो समस्या मिटरको हो। सरकारले मिटरमा हिँड् भन्छ तर मिटरमा हिँड्दा तेल हाल्ने पैसा पनि उठाउन सकिँदैन। त्यसमाथि ‘मिटरमा हिँडिनस्’ भनेर ट्राफिकले त्यस्तै हैरान पार्छन्। हाउ मच कारबाहीमा पार्छन्। सरकारले वैज्ञानिक भाडादरको व्यवस्था गरिदिए हाम्रो समस्या समाधान हुन्थ्योजस्तो लाग्छ। हामीले लागतअनुसारको भाडा पाउनुपर्छ। त्यसपछि पनि मिटरमा हिँडेनौँ भने हामीलाई कारबाही गरे हुन्छ। 

कहिलेकाहीँ कोही–कोही प्यासेन्जर गाउँतिर जाऊँ भन्छन्। गाउँको बाटो उस्तै बिग्रेको हुन्छ। त्यसमाथि मिटरमा जाऊँ भन्छन्। गाउँको बाटो मिटरमा गए हामीलाई के कति फाइदा हुन्छ, यो त सबैले आफैँ बुझ्नुपर्ने कुरा हो।

मलाई यो ड्रेस कोड फिटिक्कै मन परेको छैन। यो त घाँडो भएको छ। सडक विभागका कर्मचारीले लगाउने डे«सजस्तो छ। ड्रेस भनेर छुट्याइसकेपछि तलदेखि माथिसम्म लगाउन पाइने हुनुपर्छ। यसले त न जाडोमा न्यानो गर्छ, न गर्मीमा शीतल दिन्छ। उल्टै पोलेर हैरान पार्छ। लगाइएन भने ट्राफिकले चिट काटिहाल्छ। 

राजधानीको बाटोको हालतले विरक्त बनाउँछ। बाटो सम्झिँदा ट्याक्सी लिएर हिँड्न मन लाग्दैन तर के गर्नु कामै यही हो। नगरी सुख छैन। खाल्डाखुल्डीले ट्याक्सी छोएर केही न केही सामान बिग्रिएकै हुन्छ। ट्याक्सी बनाउने सामान छोइसक्नु छैन। ट्याक्सी चलाएर त फाइदा छैनजस्तो महसुस हुन थालिसक्यो। तर, जानेको सीप यही हो। घरपरिवारको पेट पाल्न जानेको काम नगरे अरू के गर्नु?

तपाईको कमेन्ट

मुख्य समाचार