यार्सागुम्बा नेपाली भिएग्रा

writer

सम्पूर्ण

शनिबार, २१ असार २०७६


यार्सागुम्बालाई नेपाली भिएग्रा भनिन्छ। साँचो हो?        

जिज्ञासा : पी, चितवन

सर्वप्रथम पुरुष लिंग कसरी उत्तेजनामा आउँछ भन्ने कुरा बुझ्नु आवश्यक छ। पुरुष लिंग विशेष किसिमको तन्तुले बनेको हुन्छ। विशेषतः दुई थरीका तन्तु कर्पस क्याभेर्नोसम (जुन दुई वटा हुन्छ) र मूत्रनलीको वरिपरि रहेकोलाई कर्पस स्पोन्जियोसम भनिन्छ। यसरी पुरुष लिंग कर्पस क्याभेर्नोसम नामक बलियो फाइब्रस तन्तुले घेरिएको हुन्छ। सामान्य अवस्थामा ती तन्तुमा खासै रगत हुँदैन। त्यसैले लिंग लुलो हुन्छ। 

यौन उत्तेजनासँगै नाइट्रिक अक्साइडको मात्रा बढ्छ र विशेष तन्तु (कर्पोरा क्याभेर्नोसा) मा रहेका धमनी बढी खुल्न गई त्यहाँ बढ्ता रगत प्रवेश गर्छ। यसरी रगत भित्र पस्ने जारी रहे ती तन्तुमा भएका सबै स्थान सक्दो भरिन्छ। फाइब्रस तन्तुले घेरेको ती तन्तुमा दबाब बढ्दै जान्छ र लिंग कडा, मोटो र ठूलो हुन्छ। त्यसै बेला इस्चियो क्याभेर्नोसम र बल्बो स्पोन्जिओसिस नामका मांसपेशीले पुरुष लिंगभित्रका शिरालाई थिचिदिने हुनाले लिंगमा जम्मा भएको रगत सहजै बाहिर निस्कन नपाई कडा एवं उत्तेजित अवस्थामा रहिरहन्छ। उत्तेजनाको स्थिति रहेसम्म यो प्रक्रिया जारी रहन्छ। अर्थात्, वीर्य स्खलनलगत्तै तथा यौन सोचमा कमी वा यौनांग चलाउने कार्यमा कमी आएसँगै नाइट्रिक अक्साइडको लेभल घट्न, कर्पोरा क्याभेर्नोसामा संकलित रगत बाहिरिन थालेसँगै लिंगमा शिथिलता आउँछ।

यार्सागुम्बा

एक प्रकारको च्याउ र लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो, यार्सागुम्बा। यो झुसिलकिराजस्तै आकार र रङको देखिन्छ। मृत लाभ्रे किराको टाउकोमा ढुसी लागेर च्याउ उम्रेपछि यार्सागुम्बा बन्छ। दुर्लभ र बहुमूल्य जडीबुटी हो यो। यसको वैज्ञानिक नाम ओफिओकोर्डिसेप्स साइनेन्सिस हो। तिब्बती भाषामा यसलाई यार्चाकुन्बु भनिन्छ। ‘यार’ को अर्थ वर्षा र ‘चा’ को अर्थ झार भन्ने बुझिन्छ भने ‘कुन’ को अर्थ हिउँद र ‘बु’ को अर्थ किरा भन्ने बुझिन्छ। वर्षायाममा झारका रूपमा रही हिउँदमा किरामा रूपान्तरण हुने भएकाले हिमाली भेगमा यार्चाकुन्बु नाम रहन गएको र अपभ्रंश भई यार्सागुम्बा भन्न थालिएको विश्वास छ। यार्सालाई किरा, घाँस, किरा झार, सञ्जीवनी आदि नामले पनि चिनिन्छ। 

फोक्सो र मिर्गौलाको समस्यामा प्रयोग गरिने भए पनि यार्सागुम्बाको उपयोग लिंग उत्तेजनाका लागि पनि लाभदायक हुन्छ भनेर प्रचार बढी गरिएको पाइन्छ। यार्सागुम्बाको सेवनले रोगसँग लड्न सक्ने क्षमता मजबुत बनाउने, थकान मेटाउने, रगत बढाउने, कोलेस्टेरोल घटाउनेलगायत मुटुको चाल गडबडी, हेपाटाइटिस बी, रक्त अल्पता, श्वास प्रश्वास रोग, मुटु रोग र कलेजो रोगलाई पनि फाइदा पु¥याउँछ। यसका साथै बुढ्यौली रोक्ने, सुगर घटाउने, क्यान्सरविरुद्ध काम गर्ने पनि विश्वास गरिएको छ। व्यापारिक तवरमा यार्सागुम्बाको कृत्रिम तरिकाले उत्पादन गर्न सकिएको छैन ।

तीनदेखि पाँच हजार मिटर उचाइमा पाइने यार्सा टिबेटन प्लेट तथा उच्च हिमाली भेगमा मात्र पाइन्छ। पश्चिमा मुलुकमा औषधियुक्त च्याउका नामले प्रख्यात यार्सामा औषधिजन्य गुण अन्तरनिहित छ। जेठ महिनाको सुरुदेखि असारको मध्यसम्म यार्सागुम्बा संकलन गरिन्छ। चीनका साथै सिंगापुर, मलेसिया, कोरिया, थाइल्यान्ड, जापान, बेलायत, अमेरिका यार्साका प्रमुख बजार हुन्।

भिएग्रा

भिटामिन भी, द ब्लू पिल तथा ब्लू डायमन्डको नामले चिनिने भिएग्रा बेलायतले पत्ता लगाएको भए पनि हाल यसको मार्केटिङ अमेरिकी कम्पनीले गरिरहेको छ। दुई दशकअगाडिदेखि यौन उत्तेजनासम्बन्धी समस्या भएकालाई लक्ष्य गरी फाइजर कम्पनीले बजारमा ल्याएको भिएग्राको सेवनले पुरुष यौनांगको रक्तप्रवाहमा अदलीबदली गरी त्यसमा उत्तेजना ल्याउँछ।

यसले यौनेच्छा बढ्ने, यौन क्षमता बढ्ने, यौनांगको आकार बढ्ने धारणाका कारण पछिल्ला वर्षमा अधबैँसेमाझ यो औषधि लोकप्रिय हुँदै आएको छ। भिएग्राको सेवनपछि यौनसम्पर्कपश्चात् अर्थात् वीर्य स्खलन भइसकेपछि पनि यौनांगको आकार तुरुन्त घट्न दिँदैन। नीलो रङमा बनाइएका भिएग्रा हिरा आकारका हुन्छन्। यौन दुर्बलता भएकाले यौन सम्पर्क कार्यको आधादेखि चार घण्टा अगाडि बढीमा एक पटक मात्र २५ देखि सय मिलिग्राम मात्र सेवन गर्न मिल्छ। एक दिनमा योभन्दा बढी सेवन गरेको खण्डमा नकारात्मक असर देखिन थाल्छ। 

यसको नकारात्मक असरको कुरा गर्दा धेरैजसोलाई टाउको दुख्ने, तातो अनुभव हुने, नाक रसिलो हुने, आँखा धमिलो हुने, उज्यालोमा हेर्न कठिनाइ हुने कतिपयले सबै कुरा निलो देख्ने हुन्छ। बिरलैलाई मात्र यौनांग निरन्तर रूपमा उत्तेजित भइरहने, रक्तचाप स्वाट्टै घट्ने, हृदयाघात हुने, मस्तिष्काघात हुने, एक्कासि कान नसुन्ने हुन्छ। एकथरी उच्च रक्तचापको औषधि सेवन गरिरहेका तथा एचआईभीको औषधि सेवन गरिरहेकाले भिएग्रा खानु हुँदैन। किनकि, यसले नकारात्मक असर बढाउँछ। मुटुका औषधि खाइरहेका, यौन सम्पर्क राखेमा हृदयाघातका जोखिममा रहेका, कडा खालको कलेजो तथा मिर्गौल रोगी, हालसालै मस्तिष्काघात तथा हृदयाघात भएका व्यक्तिले यो औषधि सेवन गर्नै हुँदैन।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि