सोनमको मुखै बैरी: ऐश्वर्यालार्इ आन्टी, रणवीरलार्इ नालायक

writer

एजेन्सी

शुक्रबार, ०९ कार्तिक २०७५


अभिनेत्री सोनम कपुरले सन् २००७ मा रिलिज फिल्म ‘साँवरिया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्। ३५ किलो वजन घटाएर उनले बलिउडमा प्रवेश गरेकी थिइन्। यसअघि उनको वजन करिब ९० किलो थियो। उनी उम्दा अभिनेत्रीभन्दा पनि फेसन आइकनका रूपमा प्रसिद्ध छिन्। बलिउडका केही स्टार उनका मित्र हुन् भने कतिपयलाई उनले आफ्ना तीक्ष्ण वचनको तारो बनाउने गरेकी छिन्। 

ऐश्वर्या ‘आन्टी’
सोनमले अभिनेत्री ऐश्वर्या रायलाई ‘आन्टी’ भनेकी थिइन्। ऐश्वर्याले सोनमका बुबा अनिल कपुरसँग काम गरेकी छिन्। ‘उनले मेरो बुबासँग काम गरेकी छिन्,’ सोनमले भनेकी थिइन्, ‘उनलाई आन्टी नभनेर के भनेर बोलाउने त ?’ उनको यस्तो अभिव्यक्तिपछि ऐश्वर्याका प्रशंसक सोनमदेखि रिसाएका थिए। एउटा कस्मेटिक ब्रान्डले सोनमको ठाउँमा ऐश्वर्यालाई आफ्नो ब्रान्ड एम्बेसडर बनाएपछि उनले यस्तो अभिव्यक्ति दिएकी थिइन्। 

‘निर्लज्ज’ कट्रिना
सोनमले अभिनेत्री कट्रिना कैफलाई लाजसरम नभएको बताएकी थिइन्। ‘म कट्रिनालाई फूलको गुच्छा पठाउन चाहन्छु,’ उनले भनेकी थिइन्, ‘मलाई थाहा छैन उनी कसरी यस्तो गर्न सक्छिन् ? केही काम गर्नका लागि प्रतिबद्धता र निर्लज्जता जरुरी हुन्छ। त्यस्ता फिल्म गर्न मैले पहिला निर्लज्ज हुनुपर्छ।’ 

‘मूर्ख’ सोनाक्षी
अभिनेत्री सोनाक्षी सिन्हाले एक अन्तर्वार्तामा सोनमलाई अभिनेत्रीभन्दा बढी फेसन आर्टिस्ट भएको बताएकी थिइन्। सोनाक्षीको अभिव्यक्तिको जवाफमा सोनमले भनेकी थिइन्– ‘त्यो उमेरमा म पनि यस्ता मूर्खतापूर्ण कुरा गर्थें। म हरेकलाई गल्ती गर्ने अवसर दिन्छु।’

रणवीर ‘नालायक ब्वाइफ्रेन्ड’ 
अभिनेता रणवीर कपुरलाई सोनमले राम्रो साथी मात्र हुन सक्ने खालको मान्छे बताएकी थिइन्। ‘रणवीर मेरो राम्रो साथी हो,’ उनले भनेकी थिइन्, ‘तर, ऊ ब्वाइफ्रेन्ड हुने खालको छैन। दीपिका पादुकोण यति लामो समयसम्म कसरी रणवीरसँग प्रेम सम्बन्धमा रहिन् भनेर म छक्क पर्छु।’ रणवीर र सोनमले फिल्म ‘साँवरिया’ बाट करिअरको सुरुवात गरेका थिए। सुटिङका क्रममा उनीहरूबीच प्रेम झांगिएको बताइन्छ। तर, पछि रणवीर दीपिकाको प्रेममा परे।

दीपिकासँग शीतयुद्ध
अभिनेत्री दीपिका पादुकोण र सोनम कपुर एकअर्कालाई देखिसहँदैनन्। रणवीर कपुरसँग ब्रेकअप भएपछि ‘मानसिक स्वास्थ्य ठीक नभएकाले काम नगर्ने निर्णय गरेको’ भनेर दीपिकाले ट्वीट गरेकी थिइन्। उनको यस ट्वीटमाथि टिप्पणी गर्दै सोनमले भनेकी थिइन्– ‘म कुनै कारणले काम गर्दिनँ भने सामाजिक सञ्जालमा पोस्ट गरेर सबैलाई जानकारी दिन्नँ।’

‘सेन्सरसिपमा विश्वास छैन’
फिल्म ‘प्लेयर्स’ को प्रमोसनका क्रममा सोनमले मिडियालाई माझी औँला देखाएकी थिइन्। पत्रकारले ‘सेन्सरसिपबारे के भन्नुहुन्छ?’ भनी सोध्दा सोनमले भनेकी थिइन्– ‘मलाई सेन्सरसिपमा विश्वास छैन। कसैलाई मन परोस् या नपरोस्, मलाई फरक पर्दैन। म यति मात्र चाहन्छु कि दर्शक आऊन् र मेरो फिल्म हेरून्।’

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट