स्कुल रटाउने थलो होइन

writer

सुदर्शन सिग्देल

बिहिबार, १९ असार २०७६


अबको विद्यालय कोर्स रटाउने र तीनघण्टे परीक्षा लिने अनि प्रमाणपत्र दिने संस्थाका रूपमा मात्र रहन सक्दैन।  एसईईको प्रमाणपत्र बुझ्दै गर्दा विद्यार्थीले आफ्नो लक्ष्य पनि स्पष्ट किटान गर्ने अवस्था हुनुपर्छ। 


उदाहरण– १

एकजना किशोरसँग सोधियो–
‘के विषय पढ्दै हुनुहुन्छ ?’
‘पत्रकारिता।’
‘काम के गर्दै हुनुहुन्छ ?’
‘न्युरोडको कपडा पसलमा।’

उदाहरण–२

अर्की किशोरीको विवरण–
पढाइः कमर्स
अहिले गरिरहेको कामः रिसेप्सनिस्ट

नेपालमा पढाइ एउटा विषयमा, काम अर्कै भएका युवायुवती कति छन् होला ? यसको यकिन तथ्यांक आउन बृहत् अध्ययन नै हुनुपर्ला। नेपालमा अहिले यो ‘ट्रेन्ड’ अब समस्याकै रूपमा छ भन्दा हुन्छ। पढुञ्जेल ‘पकेट खर्च’ जुटाउन भनेर युवायुवती ‘जब मार्केट’मा संलग्न हुने गर्छन्। यसको दुई कारण छः एक त एसईई गरेपछि आर्थिक जोहो आफैँले गर्नुपर्ने अवस्थामा अध्ययन एउटा विषयमा काम अर्कै क्षेत्रमा भइरहेको छ। अर्काे, आफू सुहाउँदो विषयगत ‘स्कुलिङ’ वा जानकारी नहुँदा पनि पढेकै विषयमा काम गरिरहेका युवा देखिँदैनन्। यहाँसम्म कि १२ कक्षा सकेर स्नातक गरिरहेका विद्यार्थीले परीक्षा नतिजामा सहज अंक पाइने लालसामा ‘फंक्सनल’ विषय रोजेको पाइन्छ। कार्यमूलक पत्रकारिता विषय रोजेका विद्यार्थी एकाधबाहेक प्रायः अरू नै पेशामा संलग्न रहेको भेटिन्छ। 

पल्लो वा तल्लो घरका काका, ठूलोबुबा, दिदी अथवा साथीले भनेको भरमा विषय रोज्ने चलन छ। तर, त्यो विषयले आफ्नो जीवन धान्न सकिरहेको अवस्था छैन। यसले गर्दा व्यक्ति आफ्नो कामप्रति असन्तुष्ट त हुन्छ नै, निराशाले जागिरे मनस्थितिमै रहिरहन्छ। त्यसैले माध्यमिक शिक्षा परीक्षा (एसईई) पार गरिसकेको अवस्थामा कुन विषय पढ्ने भन्ने तीव्र जिज्ञासाको विद्यार्थी स्वयंले संयमतापूर्वक उत्तर खोज्नुपर्छ अनि निर्णयमा पुग्नुपर्छ। माध्यमिक शिक्षाको एउटा तह पार गरेर अर्काे तहमा टेक्दै गर्दा विषय रोजाइमा घर र समाजको ‘स्कुलिङ’ साँच्चै महŒवपूर्ण हुनु पर्नेछ। कुन करिअरलाई विद्यार्थीले रोज्नुपर्छ भन्नेमा नेपालको ‘ट्रेन्ड’ बदलिन जरुरी देखिन्छ। ‘टेबल वर्क’लाई मात्र सम्मानित पेशा ठान्ने र नयाँ पुस्ताले पनि त्यसैलाई आत्मसात् गरिरहेको पाइन्छ। नेपालको कुनै क्षेत्रमा गइयो भने गाउँका प्रायः सबै लोक सेवाको तयारीमा जुटिरहेका भटिन्छन्। कुनै ठाउँमा जाँदा एउटा क्षेत्र नै प्रहरी र सेनाका लागि तयारीमा रहेका भेटिन्छन्। यस्तो प्रवृत्ति हुनुमा बाबु–बाजे अनि साथीकै प्रभाव हो भन्ने बुझिन्छ। हुन त, विदेश जाने ट्रेन्डले सरकारी जागिर खानुलाई नै करिअर ठान्ने मान्यता पनि भत्किन थालेको छ। मूल कुरा स्कूल जानुअघिको स्कुलिङ नै हो, जसले व्यक्तिको पढाइ, काम र भविष्यलाई डो¥याइरहन्छ।        

कस्तो स्कुलिङ ?

विद्यार्थी जब निम्न माध्यमिक तह पार गरेर माध्यमिकमा पुग्छन्, उनीहरूका अगाडि वर्तमान विषय भविष्यका खातिर उभिदिन्छ। उनीहरूलाई वर्तमानमा कुन विषय अध्ययन गरे भविष्यमा आत्मनिर्भर, रोजगार, सुखी र प्रतिष्ठित हुन सकिन्छ भन्ने सन्दर्भ–सूचीसहित स्कुलिङ गर्न अर्थात् परामर्श दिन आवश्यक छ। विद्यार्थीको रोजाइ, मूल्य–मान्यता, योग्यता र व्यक्तिगत फरकपनका आधारमा करिअर परामर्श सेवा दिएर उनीहरूलाई मार्गनिर्देशन दिनुपर्ने हुन्छ। राम्रो परामर्शका क्रममा हुने छलफल र अभ्यासमार्फत आफूले पत्तै नपाएको विषयमा पनि विद्यार्थीको चाख बढ्न थाल्छ। विकसित मुलुकमा त करिअर परामर्श सेवा विद्यालयभित्रै दिइने गरिन्छ। कस्तो काममा के अवसर पाइन्छ र त्यसका लागि आफूलाई तयार राख्न के–के गर्नुपर्छ भन्नका लागि विद्यालयभित्रै ‘रिसोर्स लाइब्रेरी’ खोलिएका हुन्छन्। सँग–सँगै ‘जब सर्च म्यानुअल’ पनि विद्यार्थीले हेर्न पाउँछन्।

नेपालका विद्यालयमा करिअर परामर्श सेवा छँदै छैन भन्दा पनि हुन्छ। अभ्यास नभए पछि यसैमा आधारित विशेष अध्ययन–अनुसन्धान पनि कम हुने नै भए। युनेस्कोका निम्ति डा. सुशन आचार्यद्वारा सन् २०१४ मा गरिएको ‘जेन्डर, जब एन्ड एजुकेसनः प्रस्पेक्ट एन्ड रियालिटिज इन नेपाल’ अध्ययन रिपोर्टले विद्यार्थीको करिअर रोजाइबारे केही छोएको देखिन्छ। अध्ययन भन्छ– कक्षा १० का केटा वा केटी आफ्नो जीवनको लागि आवश्यकताका आधारमा, उच्चस्तरीय जीवन जिउन, समाज र देशका लागि केही गर्न करिअर छनोट गर्छन्। 

३० वर्षभन्दा मुनिका युवती शिक्षण, बैंकिङ तथा लोकसेवालाई रोज्ने गर्छन्। त्यस्तै, अभिनेता, चिकित्सक, नर्स, होटल व्यवस्थापक र इन्जिनियर हुन चाहन्छन्। उनीहरू आर्थिक रूपमा स्वतन्त्र हुन चाहन्छन्। त्यस्तै, यति नै उमेर समूहका युवाहरू शिक्षक, इन्जिनियर, व्यापारी, लोकसेवामार्फत कर्मचारी, खेलाडी, डाक्टर, बैंक म्यानेजर हुन चाहन्छन् भने स्वरोजगार बन्ने, अभिनय गर्ने र कृषिमा सक्रिय बन्ने इच्छा उनीहरूमा रहेको पाइएको छ। केटा र केटी दुवै २० देखि ३० वर्षका बीच बिहे गरेर सन्तानको भरणपोषण गर्ने समय हो भन्ठान्छन् र यही अवधिमा कामको पनि सुनिश्चितता चाहन्छन्। 

कक्षा ९ र १० का विद्यार्थीमाथि अध्ययन गर्दा एउटा धेरै मन परेको र अर्काे कम प्राथमिकतामा परेको पाँच वटा मुख्य करिअर रोज्दा केटा र केटी दुवैले उस्ताउस्तै छानेको पाइयो।  कृषि, सैनिक सेवा, चिकित्सा क्षेत्र, व्यापार–व्यवसाय, सवारी चालक, इन्जिनियरिङ, वैज्ञानिक, पाइलट र खेलकुद केटाहरूका लागि सुहाउने रोजाइ देखियो। त्यस्तै, नर्स, एयरहोस्टेस, शिक्षण, ब्युटिसियन, फेसन डिजाइनिङ, नृत्य, सामाजिक कार्य, सिलाइबुनाइ चाहिँ केटीका लागि सुहाउँदो करिअर भनियो। जबकि केन्द्रीय तथ्यांक विभागको सन् २००९ को तथ्यांकमा ७० प्रतिशत महिला कृषिमा आश्रित छन् भनेर देखाइएको थियो।

अध्ययनको महŒवपूर्ण ठम्याइ के छ भने नेपालका विद्यार्थी करिअर छनोट गर्दा एकअर्कामा प्रभावित भएर गर्ने गर्छन्। देशको सामाजिक तथा सांस्कृतिक अभ्यासले पनि छनोटलाई प्रभावित पार्दछ। नेपाली विद्यालय शिक्षा बढी नै सैद्धान्तिक र ‘मेरिटोक्रेटिक’ आधारमा रहेकाले करिअर छनोट पनि यसबाट अछुतो छैन। अभिभावक पनि सामाजिक इज्जतका रूपमा परीक्षाको अंकलाई बढी महŒव दिने गर्छन्, न कि करिअर रोजाइलाई पहिलो प्राथमिकता दिऊन्। त्यसैले करिअरभन्दा पनि एकेडेमिक कोर्समा मात्र बढी केन्द्रित छ, नेपालको विद्यालय शिक्षा। 

के गर्दै छ सरकार ?

करिअर छान्दा रोजगारमूलक शिक्षा नै पहिलो रोजाइ हुने गर्छ। यो नभएकै कारण निराश बनेका युवा विदेश पलायन भइरहेका छन्। त्यसैले यस्तो शिक्षा जसले सीप, प्रविधि र रोजगारी दिन सकोस् भनेर अहिले राष्ट्रिय योजना आयोग र सरकार केन्द्रित भइरहेको बताइएको छ। ७० प्रतिशत प्राविधिक शिक्षा दिने घोषणा सरकारले गरेको हो। यतिबेला राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालय मिलेर मानव संसाधन प्रक्षेपणको योजना बनिरहेको छ। मुलुकमा आउँदो २५ वर्षका लागि कुन क्षेत्रमा कस्तो जनशक्ति चाहिने हो भन्ने स्पष्ट मार्गदर्शन मानव संसाधन प्रक्षेपणले दिनेछ। यसमा ७८ वटा क्षेत्र तय गरिएका छन्। अब यो अन्तिम चरणमा छ। त्यसो त, शिक्षामन्त्री गिरिराजमणि पोखरेलका अनुसार सीपको कोणबाट अध्ययन गरिएको छ। सीपलाई चार तहमा बाँडिएको छ। पहिलो तहमा न्यून सीप भएका अदक्ष जनशक्तिलाई मानिएको छ। जो ६४ प्रतिशत छन्। त्यस्तै, दोस्रो तहका जनशक्ति भनेका मध्यमस्तरीय हुन्। अहिले देशमा यो खालको जनशक्ति २९ प्रतिशत मात्र छ।

देशलाई तत्काल चाहिएको मध्यमस्तरीय जनशक्ति भनेको ४२ प्रतिशत हो। त्यसकारण पहिलो लेभलको न्यून दक्षता भएका ६४ प्रतिशतबाट घटाएर ४७ मा झार्ने योजनामा सरकार छ। यो एक दशकभित्र गरिसक्ने सरकारी योजना हो। सीपको तेस्रो तहमा रहेका जनशक्ति भनेका उच्च दक्षता र सीप भएका व्यक्ति हुन्। चौथो तहमा उच्च र उत्कृष्ट जनशक्ति पर्छन्। शिक्षामन्त्रीले भनेका दोस्रो, तेस्रो, चौथो प्रकारको जनशक्ति बन्न विद्यार्थीलाई प्रेरित गर्ने मात्र होइन, अवसर दिनुपर्छ। यसका लागि स्कुलिङ महत्त्वपूर्ण छ। 

अबको विद्यालय कोर्स रटाउने र तीनघण्टे परीक्षा लिने अनि प्रमाणपत्र दिने संस्थाका रूपमा मात्र रहन सक्दैन र रहनु पनि हुँदैन। एसईईको प्रमाणपत्र बुझ्दै गर्दा विद्यार्थीले आफ्नो लक्ष्य पनि स्पष्ट किटान गर्ने अवस्था हुनुपर्छ। कम्तीमा विद्यालयको कक्षा ८ देखि नै परामर्श सेवा अनिवार्य दिने गरी शिक्षकलाई नै परामर्शदाताका रूपमा तालिमको व्यवस्था मिलाउन जरुरी छ। यति मात्र होइन, विद्यालय रटाउने, घोकाउने र बेरोजगार उत्पादन गर्ने संस्थाका रूपमा नभएर रोजगारदाताहरूसँग सम्पर्क गराउने, आफैँ रोजगारीको सम्भावना पहिल्याउने एक भरोसा केन्द्र हुन सक्नुपर्छ। सरकारले ९–१२ लाई माध्यमिक तह बनाइसकेको अवस्थामा यो तहमा पढ्न प्राविधिक वा साधारण पढाइ रोज्न सक्ने विकल्प पनि दिइएको छ। यो विकल्प रोज्न पनि विद्यार्थीलाई परामर्श अर्थात् स्कूलिङ नै चाहिन्छ, जुन अभिभावक र समाजबाटै हुन सक्छ।

कमसे कम आधारभूत तह (कक्षा ८) पार गर्दैमा यो खालको परामर्श हुने हो भने नेपालमा विद्यालय शिक्षा पूरा गरेका जनशक्तिमा निराशा होइन, कामप्रतिको सम्मान जाग्नेछ। रेमिट्यान्स बटुल्न प्रायः खाडी मुलुकमै परिश्रमरत बाध्य नेपाली युवा स्वदेशमै अथवा अब्बल विश्वबजारमा करिअर जमाउन सफल हुन सक्थ्यो। अनि आफूले पढेकै विषय र रोजेकै कामप्रति खुशी हुने दिन आउने थियो। व्यक्ति त्यसमा पनि युवा वर्गमा आफ्नो कामप्रति भइरहेको खुशीबाट मात्र सरकारले अहिले जपिरहेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारा यथार्थमा बदलिन सक्ला। 

(लेखक ‘आजको शिक्षा’ साप्ताहिकका सम्पादक हुन्।)

तपाईको कमेन्ट