कलेज चिनारी

writer

सम्पूर्ण

बिहिबार, १९ असार २०७६


काठमान्डू बर्नहार्ट कलेज

काठमाडौँ, बल्खुमा रहेको छ, काठमान्डू बर्नहार्ट कलेज। यहाँ प्लस टूमा विज्ञान र व्यवस्थापन संकायको अध्ययन गराइन्छ। बीए, बीएसडब्लू, बीबीएस, बीएसएसआईटीका लागि पनि कलेजमा भर्ना लिइने कलेजका अध्यक्ष भूपेश छत्कुली बताउँछन्। ‘हरेक विद्यार्थी हाम्रा लागि समान छन्,’ अध्यक्ष छत्कुली भन्छन्, ‘बेला–बेलामा अभिभावकसँग अन्तरक्रियासमेत गर्छौं।’ पारिवारिक वातावरणमा विद्यार्थीलाई पढाइने उनको भनाइ छ। ‘खेलकुद, चित्रकला, निबन्ध प्रतियोगिताका साथै विभिन्न विधामा विद्यार्थीलाई सक्रिय बनाइन्छ,’ छत्कुली भन्छन्, ‘कलेजका सात-आठ वटा बस छन्। प्लस टूका विद्यार्थीका लागि विषयअनुसार छुट्टाछुट्टै ल्याब छ। छात्रवृत्तिको व्यवस्था पनि गरेका छौँ।’ 

नोबेल कलेज 

काठमाडौँ, नयाँ बानेश्वरमा १७ वर्षअघि खुलेको थियो, नोबेल कलेज। कलेजका अध्यक्ष सुरेन्द्र श्रेष्ठ कलेजले अनुसन्धानलाई मुख्य विषय बनाएर कक्षा सञ्चालन गरिरहेको बताउँछन्। ‘हामी रिजल्टका लागि मात्र पढाउँदैनौँ,’ श्रेष्ठ भन्छन्, ‘जीवनमा उपयोगी हुने व्यावहारिक ज्ञान दिन्छौँ।’ इलेक्ट्रोनिक टिचिङ मेथड अपनाइरहेको यो कलेजको सुविधासम्पन्न भवन छ। यस संस्थाले हाल माध्यमिक, उच्च माध्यमिक र स्नातक गरी प्रत्येक वर्ष हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको छ। साथै, संस्थाले शिक्षण संस्थाकै आंगिक अध्ययनका रूपमा अहिले काठमाडौँको सिनामंगलमा नोबेल अस्पताल पनि सञ्चालन गरिरहेको छ। समयअनुसार प्रयोगात्मक, व्यावहारिक र समयसापेक्ष शिक्षा प्रदान गर्ने उद्देश्यले विज्ञान र व्यवस्थापन संकायका कक्षामा कुशल, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराउँदै आएको अध्यक्ष श्रेष्ठ बताउँछन्। 

कलेज अफ सेन्ट्रल स्टेट

काठमाडौँ, कालिमाटीमा अवस्थित कलेज अफ सेन्ट्रल स्टेटले शिक्षा क्षेत्रमा छुुट्टै पहिचान बनाएको कलेज प्रमुख रमेश घिमिरे बताउँछन्। ‘हाम्रो कलेज स्थापनाकालदेखि नै अभिभावक तथा विद्यार्थीको रोजाइमा पर्दै आएको छ,’ उनी भन्छन्, ‘यहाँ एसईई उत्तीर्ण विद्यार्थीले आफ्नो ग्रेडअनुसार विषय छनोट गरी पढ्न पाउँछन्।’ १५ वर्षअघि खुलेको कलेजमा प्लस टूमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन विषयका साथै बीए, बीएसडब्लू, बीबीएस, बीसीए, र एमबीएससम्मका कक्षा सञ्चालन हुन्छन्। भूकम्पप्रतिरोधी भवन, प्रोजेक्टरसहित फराकिला कक्षाकोठा, व्यवस्थित पुस्तकालय, प्रयोगशाला, कम्प्युटर ल्याब, सेमिनार हल, खेलमैदान, यातायात, होस्टेलको व्यवस्था कलेजमा रहेको घिमिरे बताउँछन्। ‘विद्यार्थीलाई विश्वस्तरमै प्रतिस्पर्धी बनाउनु यस कलेजको मुख्य उद्देश्य हो,’ उनी भन्छन्, ‘साथै, शैक्षिक क्यालेन्डरअनुसार निर्माणात्मक तथा निर्णयात्मक परीक्षा प्रणालीद्वारा विद्यार्थीको मूल्यांकन गरिन्छ।’ कलेजले यही वर्षदेखि विभिन्न कोटाअनुसार सय जना विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्तिको व्यवस्था गरेको कलेज प्रमुख घिमिरे बताउँछन्। 

साउथ वेस्टर्न स्टेट कलेज

पाँचौँ वर्षमा प्रवेश गरेको साउट वेस्टर्न स्टेट कलेज इन्टरनेसनल अर्गनाइजेसन फर स्ट्यान्डर्ड ९आईएसओ०बाट सर्टिफाइड छ। कलेजका भाइस–प्रिन्सिपल हरिसिंह केसीका अनुसार कलेजले सिकाइ, अनुसन्धान र सामाजिक कार्यलाई मूल प्राथमिकता दिन्छ। ‘हामी घोक्ने कामलाई निरुत्साहित गर्न चाहन्छौँ,’ उनी भन्छन्, ‘व्याहारिक र भ्यालू बेस्ड एजुकेसन दिन्छौँ।’ सेमिनार, वर्कसप र ट्रेनिङ समय–समयमा आयोजना गर्दै विद्यार्थीलाई मासमा प्रस्तुत हुने कला पनि कलेजमा सिकाइने केसी बताउँछन्। कलेजले लन्डन चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री ९एलसीसीआई० को समेत सम्बन्धन लिएको छ। विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिने उनी बताउँछन्। ‘कलेजमा आईटीको सेवा हरेक कक्षामा पाउन सकिन्छ,’ केसी भन्छन्। दुर्गम ठाउँ, दलित, जनजाति र ग्रेडअनुसार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था पनि कलेजमा रहेको छ। ‘पढाइका साथै अनुसन्धान तथा सामाजिक गतिविधिलाई पनि कलेजले ध्यान दिँदै आएको छ,’ केसी भन्छन्, ‘कलेजले बेला–बेलामा वर्कसप, सेमिनार आदि पनि गर्छ।’
 

पेन्टागन इन्टरनेसनल कलेज

लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशील व्यक्तिहरूद्वारा खोलिएको पेन्टागन इन्टरनेसनल कलेज काठमाडौँ, तीनकुनेमा छ। यस कलेजले स्थापनादेखि नै उत्कृष्ट नतिजा हासिल गर्दै आएको कलेजका प्रिन्सिपल गोविन्द घिमिरे बताउँछन्। ‘पारिवारिक वातावरणमा शिक्षण अभ्यास गर्छौं,’ घिमिरे भन्छन्, ‘शिक्षण क्षेत्रको लामो अनुभव प्रयोग गर्दै समयले माग गरेका दक्ष जनशक्ति उत्पादन गर्छौं।’ कलेजले प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकीका कक्षा सञ्चालन गर्छ। २ सय ५० विद्यार्थीलाई विभिन्न शीर्षकमा कलेजले छात्रवृत्ति पनि दिने गरेको घिमिरे बताउँछन्। ‘पढाइ मात्रै नभएर हामी अतिरिक्त क्रियाकलाप पनि सँगै लैजान्छौँ,’ उनी भन्छन्, ‘विद्यार्थीलाई किताबी ज्ञान मात्रै नभएर सामाजिक तथा प्रयोगात्मक ज्ञान पनि दिनु हाम्रो उद्देश्य हो।’ 

सन् २००१ मा स्थापित प्राइम कलेजमा व्यवस्थापन र विज्ञान विषय पढाइन्छ। काठमाडौँ, नयाँबजार, खुशिबुस्थित कलेजमा प्लस टूमा छ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। आईटी कलेजका रूपमा चिनिने यो कलेजले आईटीलाई पठनपाठनमा मात्र सीमित नगरेको प्रिन्सिपल कृष्णकुमार श्रेष्ठको दाबी छ। कलेजले समय–समयमा सञ्चार, समय व्यवस्थापन, नेतृत्वलगायत विभिन्न किसिमका तालिम पनि आयोजना गर्छ। ‘यस्ता तालिमले विद्यार्थीमा आत्मविश्वास बढाउँछ,’ प्रिन्सिपल श्रेष्ठ भन्छन्। ८५  प्रतिशतभन्दा बढी अंक ल्याउने विद्यार्थीलाई फुल स्कलरसिप दिने उनी बताउँछन्। बास्केटबलका लागि प्राइम कलेजका विद्यार्थी अब्बल मानिन्छन्। अरू खेलमा पनि यस कलेजका विद्यार्थीले राम्रो प्रदर्शन गरेका छन्। ‘पढाइका साथै खेलमा पनि अब्बल छौँ,’ श्रेष्ठ भन्छन्।  

 रिभेरा इन्टरनेसनल एकेडेमी

विद्यार्थीलाई समयसुहाउँदो व्यावसायिक तथा व्यावहारिक शिक्षा रिभेरा इन्टरनेसनल एकेडेमीले दिने कलेजका प्रिन्सिपल प्रज्वल कोइराला बताउँछन्। भन्छन्, ‘एक्काइसौँ शताब्दीको शिक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने नारा कलेजको रहेको छ।’ काठमाडौँ, चाबहिल, मैजुबहालस्थित कलेजमा प्लस टूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकाय सञ्चालित छन्। विद्यार्थीलाई किताबी ज्ञानसँगै स्थलगत अध्ययनका लागि विभिन्न ठाउँमा लगिने कोइराला बताउँछन्। ‘विभिन्न अतिरिक्त क्रियाकलाप गराउँछौँ,’ उनी भन्छन्, ‘हाम्रोमा सुविधासम्पन्न विज्ञान संकायका प्रयोगशाला छन्। अनुसन्धानमा आधारित शिक्षण सिकाइ कलेजको मुख्य विशेषता हो।’ गरिब तथा जेहेनदार विद्यार्थीका लागि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको उनी बताउँछन्। 

 टाइम्स कलेज

काडमाडौँ, डिल्लीबजार, चारखालमा रहेको टाइम्स कलेजका कार्यक्रम निर्देशक हुन्, दयाराम न्यौपाने। उनका अनुसार विश्वको सबैभन्दा ठूलो अमेरिकी शैक्षिक संस्था ‘एड्भान्स’ बाट नेपालमै पहिलो पटक मान्यताप्राप्त कलेज हो, टाइम्स। ‘सीमित विद्यार्थी भर्ना गरी उत्कृष्ट नतिजा हासिल गर्न सफल छौँ हामी,’ न्यौपाने भन्छन्। यहाँ प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकी संकायको पढाइ हुन्छ। स्नातकतर्फ बीबीएस र बीएसडब्लूसँगै एमबीएस प्रोग्राम सञ्चालित छन्। सैद्धान्तिक पढाइसँगै अतिरिक्त क्रियाकलापमा विशेष जोड दिने न्यौपाने बताउँछन्। ‘कलेजले नियमित रूपमा विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्तरक्रिया गराउँदै आएको छ,’ उनी भन्छन्, ‘विद्यार्थीको क्षमता अभिवृद्धिका लागि मनोवैज्ञानिक शैक्षिक परामर्शमा पनि ध्यान दिन्छौँ।’

सेन्ट लरेन्स कलेज

काठमाडौँ, चाबहिल, पीपलबोटमा छ, सेन्ट लेरन्स कलेज। दक्ष जनशक्तिका लागि कलेज प्रतिबद्ध रहेको कलेजका प्रिन्सिपल पुरुषोत्तम महर्जन बताउँछ। कलेजमा पढाइसँगै अतिरिक्त क्रियाकलाप पनि उत्तिकै हुने गर्छन्। प्लस टूमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायको पढाइ हुने यस कलेजमा स्नातकमा बीएससी, बीसीए, बीएसडब्लू, बीबीएस आदि पढाइन्छ। त्यस्तै, स्नातकोत्तरमा यस कलेजमा एमबीएसको पढाइ हुने महर्जन बताउँछन्। प्लस टूमा मात्रै १३ सय विद्यार्थी रहेको कलेजमा शैक्षिकसँगै व्यावहारिक क्रियाकलापमा विशेष ध्यान दिइने महर्जन बताउँछन्। 

 रिलायन्स इन्टरनेसनल एकेडेमी 

काठमाडौँ, चाबहिल, सरस्वतीनगरमा रहेको रिलायन्स इन्टरनेसनल एकेडेमीमा प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकी पढाइन्छ। २०५० सालमा स्थापना भएको यस एकेडेमीमा २०६० सालदेखि प्लस टूको पढाइ सुरु भएको हो। अहिले यस कलेजमा नर्सरीदेखि स्नातकोत्तरसम्मका कक्षा सञ्चालन हुन्छन्। स्नातकमा बीसीए, बीबीएस, बीए र स्नातकोत्तरमा एमबीएको पढाइ हुन्छ। यस वर्षदेखि ‘कानुन’ विषयको पढाइ सुरु गर्ने तयारी भइरहेको प्रिन्सिपल रविन्द्र थापा बताउँछन्। आधुुनिक प्रयोेगशाला, व्यवस्थित पुस्तकालय भएको कलेजमा समय–समयमा अतिरिक्त क्रियाकलाप पनि आयोजना हुने गरेको प्रिन्सिपल थापा बताउँछन्। भन्छन्, ‘अभिभावक, विद्यार्थीसँग नियमित अन्तरक्रिया कार्यक्रम गर्छौं। यसले सिकाइलाई थप प्रभावकारी बनाउँछ।’

 एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट 

सन् १९९९ मा काठमाडौँ, नयाँ बानेश्वरमा एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट स्थापना भएको थियो। पोखरा विश्वविद्यालयबाट सम्बन्धनप्राप्त यस कलेजमा व्यवस्थापन मात्र पढाइन्छ। व्यवस्थापन क्षेत्रमा करिअर बनाउन चाहनेका लागि कलेज उपयुक्त गन्तव्य हुने कलेजका मार्केटिङ म्यानेजर रोशन राणा बताउँछन्। ‘पढाइसँगै विद्यार्थीको व्यक्तित्व विकासमा पनि ध्यान दिन्छौँ,’ उनी भन्छन्, ‘विद्यार्थीको आत्मविश्वास बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्छौं।’ कलेजमा अत्याधुनिक ल्याब र लाइब्रेरी रहेको उनी बताउँछन्।

हिमालय कलेज

काठमाडौँ, कोटेश्वरस्थित हिमालय कलेजले आफ्नो मान्यता निर्धारण गरेको छ, ‘ड्युटी, डिभोसन एन्ड सिन्सेरिटी फर क्वालिटी एजुकेसन’। यस सूत्रले विद्यार्थीमा कर्तव्य र लक्ष्यको भावना जगाउने कलेजका प्रिन्सिपल रामहरि सिलवाल बताउँछन्।  २०४५ सालमा हिमालय इंग्लिस बोर्डिङ स्कुल स्थापना भएको थियो। २०५६ सालयता यसले विभिन्न संकाय र तहको पढाइ सञ्चालन गर्दे आएको छ। अहिले प्लस टूअन्तर्गत व्यवस्थापन, मानविकी र शिक्षा संकायमा कक्षा सञ्चालन भइरहेको प्रिन्सिपल सिलवाल बताउँछन्। स्नातक तहमा बीबीएस, बीए, बीएसडब्लू कक्षा सञ्चालन भइरहेका छन् भने स्नातकोत्तरमा एमबीएसको पढाइ यहाँ हुने गरेको छ। ‘गुणस्तरीय शिक्षाका लागि शिक्षक छनोटमा विशेष ध्यान दिन्छौँ,’ प्रिन्सिपल सिलवाल भन्छन्, ‘लाइब्रेरी, कम्प्युटर ल्याबलगायत आवश्यक सबै सुविधा  उपलब्ध छन् कलेजमा।’ विद्यार्थीको रुचि र क्षमतालाई ध्यानमा राखी योग, डान्स, म्युजिक क्लाससमेत कलेजमा सञ्चालन हुन्छन्। 

 तक्षशिला एकेडेमी 

सन् १९९८ बाट काठमाडौँ, सामाखुसीस्थित तक्षशिला एकेडेमीको सुरुवात भएको हो। यस एकेडेमीमा प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकीको पढाइ हुन्छ भने स्नातक तहमा बीबीएस कक्षा सञ्चालन हुने गरेको छ। कलेजले सिकाइको वातावरण बनाउने बताउँछन्, तक्षशिलाका प्रिन्सिपल राजेन्द्रमान श्रेष्ठ। ‘व्यावहारिक ज्ञान र नैतिक शिक्षामा बढी जोड दिने गरेका छौँ,’ उनी भन्छन्, ‘गुणस्तरीय शिक्षामा विश्वास गर्छौं।’ पढाइसँगै विद्यार्थीको व्यक्तित्वमा विशेष ध्यान दिने श्रेष्ठ बताउँछन्।

 काठमान्डू वर्ल्ड स्कुल    

भक्तपुरको गुन्डुमा रहेको छ, काठमान्डू वल्र्ड स्कुल। शान्त वातावरणमा रहेको यस स्कुलमा प्लस टूमा विज्ञान र व्यवस्थापन संकायको अध्ययन गराइन्छ। ५५ रोपनीमा फैलिएको यस स्कुलमा विद्यार्थीका लागि आवश्यक पर्ने सबै सेवा–सुविधा छन्। स्कुलमा ल्याब, लाइब्रेरी, खेलमैदान आदि पूर्वाधार छन्। 

 आशा कलेज 

२०५३ सालमा स्थापना भएको आशा कलेज काठमाडौँ, नयाँ बानेश्वर, शान्तिनगरमा छ। कलेजमा कानुन, व्यवस्थापन, मानविकी संकाय अध्ययन गराइन्छ। सात सय विद्यार्थी क्षमता रहेको कलेजको मूल मन्त्र ‘जीवन उपयोगी शिक्षा हाम्रो पहिचान’ रहेको कलेजका संस्थापक एवं मार्केटिङ म्यानेजर बालमुकुन्द मैनाली बताउँछन्। ‘व्यावहारिक शिक्षामा जोड दिएका छौँ,’ मैनाली भन्छन्, ‘हरेक दुई महिनामा विद्यार्थीलाई एब्रोड प्लेसमेन्ट गराउँछौँ। जसले गर्दा विद्यार्थीले विदेशको शिक्षा प्रणालीबारे थाहा पाउँछन्। नयाँ कुरा सिक्ने अवसर पाउँछन्।’ कलेजमा ई—लाइब्रेरी, ल्याब, खेलकुद मैदान आदि पूर्वाधार रहेको मैनाली बताउँछन्।

 न्यू मिलेनियम कलेज 

करिब १९ वर्षअघि स्थापना भएको काठमाडाँै, धुम्बाराहीस्थित न्यू मिलेनियम कलेजमा प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकीको पढाइ हुन्छ। स्नातक तहमा बीए, बीबीएस, बीएचएम, बीएड रहेको छ भने स्नातकोत्तरमा एमए अंग्रेजी पढाइने कलेजका सञ्चालक एवं मार्केटिङ म्यानेजर दीपकराज जोशी बताउँछन्। ‘यस वर्षदेखि ओभरसिज र अन्य टेक्निकल विषयका अध्ययनसमेत सञ्चालन गर्ने योजना रहेको छ,’ उनी भन्छन्, ‘बिहान र साँझ गरी दुई सिफ्टमा कक्षा सञ्चालन गर्छौं।’ कलेजमा दक्ष शिक्षकद्वारा अध्यापन गराइने पनि जोशी बताउँछन्। ‘विषयवस्तु हेरेर कहिलेकाहीँ विदेशबाट प्रोफेसर पनि बोलाउँछौँ,’ उनी भन्छन्, ‘डिजिटल शिक्षा पद्धतिलाई ध्यानमा राखेर सबै कक्षा कोठामा प्रोजेक्टरको व्यवस्था रहेको छ।’ कलेजमा ई–लाइब्रेरी, कम्प्युटर ल्याब, खैल मैदान, होस्टेल, क्यान्टिन आदिको राम्रो व्यवस्था भएको जोशी बताउँछन्।

विनायक शिक्षा निकेतन

मध्यपुर, थिमी, भक्तपुरमा रहेको छ, विनायक शिक्षा निकेतन। विद्यार्थीको सीप, प्रविधि र संस्कारमा जोड दिँदै आएको विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति बताउँछन्। ‘३० वर्षदेखि गुणस्तरीय शिक्षाका लागि प्रद्धिबद्ध छौँ,’ प्रिन्सिपल प्रजापति भन्छन्, ‘विद्यार्थीलाई परीक्षामुखी शिक्षाभन्दा पनि जीवनोपयोगी शिक्षामा जोड दिने विद्यालयको उद्देश्य रहेको छ।’ गत वर्षदेखि कक्षा ११ मा व्यवस्थापन र मानविकी संकायको अध्ययन सुरु भएको विद्यालयमा यस वर्षदेखि कानुन विषय पनि पढाउने तयारी भइरहेको छ।

टेक्सस इन्टरनेसनल कलेज

टेक्सस इन्टरनेसनल कलेज चाबहिल, मित्रपार्क, काठमाडौँमा सञ्चालित छ। शान्त वातावरणमा रहेको सुविधासम्पन्न यस शैक्षिक संस्थाले पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापमा पनि जोड दिँदै आएको छ। कलेजले प्लस टूमा विज्ञान, व्यवस्थापन र मानविकी संकाय सञ्चालन गरिरहेको छ। साथै, यहाँ बीबीए, बीबीएस, बीएसडब्लू, बीए, बीआईटी, बीएसएसआईटी, बीबीएम, बीसीए लगायतको पढाइ पनि हुने गर्छ। कलेजले मास्टर्समा एमबीए र एमबीएस सञ्चालन गर्दै आएको छ। सन् २००९ मा स्थापना भएको कलेजले व्यावहारिक तथा प्रयोगात्मक शिक्षामा ध्यान दिँदै आएको कलेजका सहायक प्रिन्सिपल श्यामसुन्दर श्रेष्ठ बताउँछन्। कलेजमा विभिन्न संकायअनुसार ल्याबको व्यवस्था छ। ‘विद्यार्थीलाई सकारात्मक सोचका साथ अगाडि बढाउनु आजको आवश्कता हो,’ उनी भन्छन्, ‘कलेजले विद्यार्थीका लागि काउन्सिलिङको समेत व्यवस्था गर्दै आएको छ।’ टेक्ससमा बस, इन्टरनेटको सुविधा पनि रहेको छ। मानविकी संकायअन्तर्गत कानुन विषयलाई पनि समेट्ने तयारी भइरहेको सहायक प्रिन्सपल श्रेष्ठ बताउँछन्।

ग्रिनविच कलेज 

२०६५ सालमा स्थापना भएको ग्रिनविच कलेज, काठमाडौँ, पेप्सिकोला टाउन प्लानिङमा अवस्थित छ। यसअघि कलेजमा प्लस टू लेभलका व्यवस्थापन र मानविकीका कोर्स पढाइ हुँदै आएका थिए। यो वर्षबाट कानुन र विज्ञान विषय पनि थपिएका छन्। ब्याचलर्सतर्फ यहाँ ब्याचलर्स अफ बिजनेस स्टडिजको पढाइ हुन्छ। कलेजकी सीईओ भवानी केसी चुस्त व्यवस्थापन र दक्ष प्राध्यापक कलेजको विशेषता रहेको र विद्यार्थीलाई अनुशासित वातावरणमा पढाइने गरेको बताउँछिन्। भन्छिन्, ‘हाम्रोमा पढाउने शिक्षक आफ्नो विधाकै एकदमै दक्ष हुनुहुन्छ र हामीले आवश्यक परेका विद्यार्थीलाई अतिरिक्त कक्षा लिएर पनि परीक्षाका लागि तयार गर्ने गरेका छौँ। पढाइसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै सक्षम बनाउने गरेका छौँ।’ कलेजले जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति दिँदै आएको छ भने होस्टेल बसेर पढ्न चाहने विद्यार्थीका लागि होस्टेलको सुविधा पनि रहेको छ। 
 

तपाईको कमेन्ट