बन्जीमार्फत खाना डेलिभरी

writer

सम्पूर्ण

मङ्गलबार, १७ असार २०७६


गत शनिबार ‘द बेइजिङ न्युज’ले एक जना साहसी महिलाको भिडियो सार्वजनिक गरेको थियो। भिडियोमा ती महिला बन्जीको डोरी लगाएर अग्लो ठाउँमा उभिएकी छिन्। उनले कम्मरमा खानाको झोला भिरेकी छिन्। बन्जी कोच उनलाई घचेट्छन्। उनी तीन सय मिटर उचाइबाट तलतिर खस्छिन्। 
यसरी साहसिक खेलमार्फत खाना डेलिभरी गर्ने महिला हुन्, वान तियान्दी। उनी चीनको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने चोङ्किन नगरपालिकाकी कर्मचारी हुन्। पहाडी भेगमा रहेको नगरपालिकाको कार्यालय डाँडाको टुप्पामा छ। फेदीमा दर्जनौँ कर्मचारी काम गर्छन्। तियान्दीको काम नगरपालिकाका दुई सयभन्दा बढी कर्मचारीलाई खाना पुर्‍याउनु हो। 
डाँडाको फेदीमा रहेका कर्मचारीलाई तात्तातो खाना पुर्‍याउनका लागि तियान्दी बन्जी जम्प गर्छिन्। कारबाट खाना पुर्‍याउने हो भने आधा घण्टा लाग्छ। बन्जीमार्फत भने दुई मिनेटमै खाना पुर्‍याउन सकिन्छ। 
एक वर्षअघि डाँडाको फेदीमा काम गर्ने कर्मचारीलाई तात्तातो खाना पुर्‍याउनका लागि तियान्दीले बन्जी प्रयोग गर्ने निधो गरिन्। नगरपालिकाले उनलाई अनुमति दियो। 
हालसालै सार्वजनिक भएको भिडियोमा रेकर्ड गर्ने एक जना व्यक्ति तियान्दीलाई सोध्छन्, ‘तपाईंलाई डर लाग्दैन?’ उनी हाँसेर जवाफ दिन्छिन्, ‘अहँ, लाग्दैन।’ तियान्दी यसरी खाना डेलिभरी गर्दा आफूलाई खुशी लाग्ने बताउँछिन्। 
चीनको सामाजिक सञ्जाल सिना विबोमा तियान्दीको भिडियो व्यापक भएको छ। एक जना प्रयोगकर्ताले उनलाई स्वर्गबाट झरेकी परी भनेका छन्। आफ्नो सुरक्षामा पर्याप्त ध्यान दिन उनलाई सञ्जाल प्रयोगकर्ताले सुझाव दिएका छन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि