बाउन्स चेकले बर्बाद

writer

सृजना खड्का

सोमबार, १६ असार २०७६


‘बाउन्स्ड चेकको केस बढेसँगै समाजमा एकअर्काप्रति दुश्मनी बढेको छ। देवानी मुद्दामा मानिसहरू एकैछिनमा मिलेर जान्छन्, ठूलो दुश्मनी हुँदैन। फौजदारी मुद्दा एकअर्काको रिसइबी साध्ने माध्यम बन्छ। एक जना फौजदारी मुद्दामा पर्नेबित्तिकै त्यहाँ ५०–६० जनाबीच दुश्मनी निम्तिन्छ। नौ महिनामा दर्ता भएको छ हजार मुद्दालाई मात्र हेर्ने हो भने तीन लाख मानिसबीच दुश्मनी हुन्छ।’ –डीएसपी विष्णु सोती


पहिलो दृश्य

सरकारी कर्मचारीः तपाईंले चेकमा काटेको रकम सुन्दै मेरो जीउमा काँडा उम्रियो। चेक सही गर्दैगर्दा तपाईंलाई चाहिँ केही भएन? अलिकति पनि डर लागेन?

आरोपीः परिबन्दमा परियो, सर।

सरकारी कर्मचारीः हेर, हेर, एउटा ५० लाख, अर्को ३० लाख। ओहो ! अर्को २० लाखको पनि रहेछ। कस्तो परिबन्द हो यो? बुझ्दै नबुझी त्यत्रो रकमको चेकमा भटाभट सही गर्ने? 

आरोपीः ब्याजमा पैसा लिएको थिएँ, सर। महिनाको एक लाखको ३६ हजारसम्म ब्याज बुझाउँथेँ। ब्याज खान पाउन्जेल केही गरेनन्। एक महिना ब्याज तिर्न ढिलो हुँदा दोब्बर पैसाको चेक कटाएर मुद्दा हाले, सर।

सरकारी कर्मचारीः  बुझ्दै नबुझी चेकमा सही गर्नुहुँदैन भन्ने थाहा थिएन?

आरोपीः चेक काट्नु हुँदैन भन्ने थाहा थियो, सर। तर, यो दिन आउला भन्ने  के थाहा र? 

सरकारी कर्मचारीः के काम गर्नुहुन्छ?

आरोपीः सामान्य दूध डेरी छ।

सरकारी कर्मचारीः त्यत्रो पैसा के गर्न लिएको?

आरोपीः ब्याज तिर्न, सर। ऋणको ब्याज तिर्दातिर्दै खाल्डोमा परेँ। ब्याजमा जति पनि पैसा दिने एक जना साथी थिई। उसको श्रीमान् हाइड्रोपावरको इन्जिनियर थियो। हाताहात कारोबार हुन्थ्यो। त्यो सबै त्यसको श्रीमान्को घुसको पैसा हो। मलाई यसरी फसाई। कुन दिन अख्तियारले त्यसको बूढालाई समाउँछ। 

सरकारी कर्मचारीः अब यो चेक नै उनको प्रमाण हो। हामी केही गर्न सक्दैनौँ। तपाईंलाई जसरी पनि कारबाही भइहाल्छ। अर्को कुरा भनौँ?
आरोपीः के कुरा, सर?  

सरकारी कर्मचारीः अब यो एक करोडको बिगोबमोजिमको जरिबानास्वरूप तपाईंले सरकारलाई अर्को एक करोड तिर्नुपर्छ। पीडित राहत कोषको अर्को चार प्रतिशत पनि तिर्नुपर्छ। यो सबै जोडेर कति हुन्छ, थाहा छ? 

आरोपीः (रुँदै) लौ न, सर, म त बर्बाद भएँ। यो मिटर ब्याज लिनेलाई चाहिँ कारबाही हुन्छ कि हुँदैन? कानुनमा के छ सर?’

दोस्रो दृश्य 

सरकारी कर्मचारीः हेर्दा त सानै उमेरको देखिनुहुन्छ, के काम गर्नुहुन्छ?

आरोपीः पीसीएल नर्सिङ सकेर बसेको सर।

सरकारी कर्मचारीः ७ लाख ५० हजारको चेक बाउन्सको मुद्दा छ। विद्यार्थी मान्छे खातामा पैसा नभएको चेक किन त्यसरी काटेर दिएको?

आरोपीः पढाइको लागि तीन लाख रुपैयाँ लिएको थिएँ। १०, १५, ३० हजार रुपैयाँ अलिअलि गर्दै तिर्दै थिएँ। ब्याजसमेत जोडेर ७ लाख ५० हजार बनायो सर। ‘चेक काटिनस् भने अफिसमा गएर बेइज्जत गर्दिन्छु’ भन्यो। डराएर काटिदिएँ। 

सरकारी कर्मचारीः यहाँ आएर चाहिँ इज्जत बढ्यो त अब? 

आरोपीः कहाँ बढ्नु? सबैले थाहा पाएर कत्रो बेइज्जत भइसक्यो। अब के हुन्छ, सर?

सरकारी कर्मचारीः सात लाखको १४ लाख तिर्नुपर्छ। तपाईंलाई अब फौजदारी अपराधको मुद्दा लाग्छ। भर्खर पढ्दै गरेको मान्छे भोलि देश विदेश जानुपर्ला। अब भएन बर्बाद ! अब नआत्तिने। कानुनअनुसार जे सजाय छ, भोग्ने। अर्को पटकदेखि सोचविचार गरेर मात्र चेक काट्ने।

आरोपीः एउटा चेकको सिग्नेचरले यतिविधि गर्ला भन्ने के थाहा, सर? (रुँदै र हात जोड्दै) यही एउटा चेकले गर्दा मेरो त जिन्दगी बर्बाद भयो, भयो, परिवारले समेत दुःख पायो। 

तेस्रो दृश्य

आरोपीः सर, म त बर्बाद भएँ। 

सरकारी कर्मचारीः ८१ लाखको चेक बाउन्समा परेको रहेछ, बर्बाद त हुने नै भयो नि !

आरोपीः जानीजानी होइन सर, अन्जानमा भयो। सहकारीले मलाई डुबाउनु डुबायो।

सरकारी कर्मचारीः यत्रो रकमको कारोबार केका लागि? के काम गर्नुहुन्छ?

आरोपीः गहना बनाउने काम गर्छु, सर। न्युरोडमा सानोतिनो सुनपसल छ ।

सरकारी कर्मचारीः सहकारीले डुबायो भन्नुहुन्छ। कसरी डुबायो सहकारीले?

आरोपीः सहकारीसँग राम्रै कारोबार चल्दै थियो। केही समयअगाडि मलाई ऋण चाहिएको थियो। सहकारीले जग्गासग्गा धितो केही मागेन। धरौटीका रूपमा ८१ लाखको चेक माग्यो। एउटा चेक त हो भनेर काटिदिएँ। ऋण लिएको पैसा पनि आधाउधी बुझाइसकेँ। अहिले आएर सहकारीले चेक बाउन्स गराइदियो।

सरकारी कर्मचारीः अब हामीले गर्न सक्ने केही छैन। कानुनबमोजिम जे हुन्छ त्यही भोग्नुस्। 

आरोपीः (हात जोड्दै) सरलाई थाहा भइहाल्यो, यसमा मलाई सहकारीले फट्याइँ गरेको हो। मेरो केही गल्ती छैन। अरू केही उपाय छैन, सर? घरमा बच्चा सानै छ, श्रीमतीले पिर गरेको गरै छिन्।

सरकारी कर्मचारीः दुईमा दुई जोड्दा कति हुन्छ?

आरोपीः चार। 

सरकारी कर्मचारीः हो, यो कसुरमा बनेको कानुन दुईमा दुई जोड्दा चार हुन्छ भनेको जस्तै छ। यसलाई न घटाउन मिल्छ, न जोड्न। कानुनमा जे छ, त्यही भोग्नैपर्छ। 
 
चेक बाउन्ससम्बन्धी मुद्दामा परेर एक सरकारी कार्यालयमा बयान दिने क्रममा भेटिएका पात्रहरूको बयानको लाइभ दृश्य हुन् यी। उक्त कार्यालयमा दैनिक २० देखि २५ वटा यस्तै चेक बाउन्सका मुद्दा आउँछन्। कार्यालयका सम्पूूर्ण कर्मचारीलाई दिनैभरि तिनै मुद्दा हेर्न भ्याइ–नभ्याइ हुन्छ। उजुरी परेका चेक बाउन्सका मुद्दा लाखदेखि करोड रुपैयाँसम्मका हुने गरेका छन्। 

आफन्तले गराउँछन् आफन्तकै चेक बाउन्स

केही समयअघि महानगरीय प्रहरी परिसर काठमाडौँमा एउटा केस आयो। श्रीमतीले आफ्नै श्रीमान्को चेक दुरुपयोग गरिन्। घर श्रीमतीको नाममा थियो। श्रीमतीले आफूबाट टाढा हुन खोजेको लक्षण देखाएपछि श्रीमान्ले काठमाडाँै जिल्ला अदालतमा अंश मुद्दा हाले। अंश मुद्दा हाल्नेबित्तिकै श्रीमान्को खाताबाट चेक काटेर श्रीमती आफैँले बाउन्स गराइन्। श्रीमान्लाई बैंकमा खाता खोलेको मात्र थाहा थियो। बैंकमा उनले अहिलेसम्म कारोबार गरेका थिएनन्। लेखपढ गर्न नजान्ने उनलाई श्रीमतीले ४० लाख रुपैयाँको चेक काटी बैंकमा लगेर बाउन्स गराएर जाहेरी हालिन्। श्रीमान् अहिले थुनामा छन्। 

आफ्नै भाइले दिदीाको चेक बाउन्स गराएका केस पनि प्रहरीकोमा  आउने गरेका छन्। केही समयअघि भाइले दिदीको खाताबाट नौ लाखको चेक काटेर लगे। चेक जग्गा दलाली गर्ने आफ्ना एक पार्टनरलाई दिए। बैंकमा चेक बाउन्स भयो। भाइ फरार छन्। दिदी त्यही एउटा चेक काटिदिएको निहुँमा अहिले थुनामा छिन्।  

लामो समयदेखि क्यानडा बस्दै आएका शम्भु पाण्डे आफ्नै भतिजाले हालेको पाँच लाखको चेक बाउन्सको मुद्दामा परेका छन्। ‘भतिजो जग्गाको कारोबार गथ्र्यो,’ उनले भने, ‘पैसा नभएको खाताको पाँच लाखको चेक माग्यो। बाउन्स गराएर मैमाथि ‘१० लाख रुपैयाँ दे’ भन्दै बार्गेनिङ गर्न थाल्यो। पैसाको मामलामा आफ्नै रगतको पनि विश्वास नहुने रहेछ।’ 

बुबालाई एक लाख रुपैयाँको चेक काटिदिएको निहुँमा प्लस टू पढ्दै गरेकी छोरीलाई प्रहरीले समातेको छ। बुबाले छोरीको पैसा नभएको खाताको चेक अरू कसैलाई दिएर कारोबार गर्दा चेक बाउन्स भयो। छोरी चेक बाउन्सको केसमा कारबाहीमा परेकी छिन्। 

मकवानपुर, हेटौँडाका ढक्कल तामाङ सरकारी शिक्षक हुन्। उनी आफ्नै मितले हालेको चेक बाउन्सको मुद्दा खेपिरहेका छन्। ‘मितको एक जनासँग कारोबार रहेछ,’ उनले भने, ‘‘पैसा नभएको खाताको एक लाख रुपैयाँको चेक काटेर दिनुस् न मितज्यू’ भन्नुभयो,’ उनले भने, ‘विश्वास गरेर दायाँबायाँ केही नसोची चेक दिएँ। चेक दिएपछि आफ्नै मितज्यू पनि आफ्ना भएनन्।’ गाउँपालिकाको प्रमुख र मित मिलेर स्कुलको जागिरबाट हटाउन आफूमाथि षडयन्त्र गरेको उनले बताए। ‘मितज्यू र मैले मान्ने राजनीतिक पार्टी फरक–फरक थियो,’ उनले भने, ‘मलाई हटाएर आफ्नो पार्टीको मान्छेलाई जागिरमा राख्न मलाई यसो गरेका रहेछन्। एउटा चेकमा यत्रो ठूलो राजनीति घुसेको हुन्छ भन्ने मलाई के थाहा !’

नौ महिनामा छ हजार मुद्दा

काठमाडौँ प्रहरी परिसरमा बैंकिङ कसुर मुद्दा अनुसन्धानमा आबद्ध डीएसपी विष्णु सोती नौ महिनामा छ हजार चेक बाउन्सका मुद्दा दर्ता भएको बताउँछन्। ‘फाइनान्स र ट्राभल एजेन्सीका मात्रै दिनको २५ देखि ३० वटा मुद्दा आउने गरेका छन्,’ उनले भने, ‘एउटै फाइनान्सका १० देखि १५ वटा फाइल आउँछन्। हामीले थेग्नै नसक्ने स्थिति छ।’ चेक अनादरको केस बढेसँगै समाजमा एकअर्काप्रति दुश्मनी बढेको डीएसपी सोती बताउँछन्।

‘देवानी मुद्दामा मानिसहरू एकैछिनमा मिलेर जान्छन्, ठूलो दुश्मनी हुँदैन,’ उनले भने, ‘फौजदारी मुद्दा एकअर्काको रिसइबी साध्ने माध्यम बन्छ।’ एक जना फौजदारी मुद्दामा पर्नेबित्तिकै त्यहाँ ५०–६० जनाबीच दुश्मनी निम्तिने उनले बताए। ‘नौ महिनामा दर्ता भएको छ हजार मुद्दालाई मात्र हेर्ने हो भने तीन लाख मानिसबीच दुश्मनी हुन्छ,’ उनले भने, ‘यो हिसाबले १० लाख मानिसको दुश्मनी हुन तीन वर्ष पनि लाग्दैन। यस्ता केसले समाजमा विखण्डन र शत्रुता बढाएको छ।’

विशेष सरकारी वकिल कार्यालय, काठमाडौँका सह–न्यायाधिवक्ता मुरारी पौडेल पनि बाउन्स्ड चेकको भयावह अवस्था देखेर हैरान छन्। ‘चेक बाउन्सका मुद्दा अत्यधिक रूपले आइरहेका छन्,’ पौडेलले भने, ‘यसमै अधिकांश समय बिताउनुपर्दा बैंकिङ कसुरका अरू ठूलठूला मुद्दा ओझेलमा परेका छन्।’

आफ्नो खातामा मौज्दात नभएको जानीजानी चेक काट्नु हुँदैन भन्नेसम्म मानिसहरूलाई थाहा नभएको उनले बताए। ‘श्रीमान्ले श्रीमती भनेका छैनन्, छोराछोरीले आमाबाउ भनेका छैनन्, काकाले भतिज भनेका छैनन्,’ उनले भने, ‘आफन्तले आफन्त भनेका छैनन्। बिजोग छ। यो अवस्था बढ्दै जाने हो भने प्रत्येक घरबाट चेक बाउन्सका मुद्दा आउने स्थिति छ।’ उनका अनुसार उच्च अदालत पाटनमा यो केस हेर्ने पहिला जम्मा दुइटा बेन्च थिए। अहिले चारपाँच वटा बेन्च छन्। तिनलाई पनि भ्याइ–नभ्याइ छ। 

यसरी फस्छन् निर्दोष 

चेक बाउन्सको मुद्दामा दोषी भनेर ल्याइएको कतिपय निर्दोष हुने गरेका छन्। तर, कानुनले उनीहरूलाई निर्दोष मान्दैन। चेक सही गरिसकेपछि त्यो चेक बैंकमा बाउन्स भयो भने सही गर्ने व्यक्तिलाई जेल सजायलगायत कानुनी कारबाहीका लागि अरू प्रमाण जुटाइरहनुपर्देन। ‘दाइले भनेर’, ‘बाले आग्रह गर्नुभयो’, ‘छोराले मागिहाल्यो’ भनेर आफ्नो खातामा पैसा नभएको थाहा हुँदाहुँदै चेकमा सही गर्नेहरूले चेक बाउन्सको उजुरी पर्नेबित्तिकै फौजदारी अभियोगअन्तर्गत पक्राउ परेर कारबाही भोग्नुपर्ने हुन्छ। चेकलाई धेरैले अर्काको पैसा उठाइदिने माध्यम, बदला लिने शैली, रिस उठेकोलाई फसाउने जालका रूपमा प्रयोग गर्न थालिएको जानकारहरू बताउँछन्।  

सह–न्यायाधिवक्ता पौडेलले केही समयअगाडि एउटा केस हेरे। ‘१० लाखको कारोबार थियो,’ उनले भने, ‘चेक काटेर दिनेको खातामा ९ लाख ९५ हजार रहेछ। बैंकले पर्याप्त रकम देखाएन। पैसा झिक्ने मनिसले जानीजानी कहिलेको रिस फेर्न चेक बाउन्सको मुद्दा हालिदियो। मुद्दा हालिसकेपछि फिर्ता लिन मिल्दैन। अब उसले कानुनअनुसार दोब्बर पैसा तिर्नुपर्ने हुन्छ।’ 

कतिपय हराएका चेकहरू समेत बाउन्स भएर आउने गरेको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता प्रा.डा. लक्ष्मीप्रसाद मैनालीले बताए। ‘चेक भेटेको मानिसले बाउन्स गराउँछ, मुद्दा हाल्छ र बार्गेनिङ गर्न थाल्छ,’ उनले भने, ‘यसमा सरासर बैंक दोषी छ। कहिलेकाहीँ बैंकले बुझ्दै नबुझी चेक बाउन्स गराउँछ। यसले निर्दोष मानिसलाई समेत दोषी बनाउँछ।’

काठमाडौँ, न्युरोडमा कपडा व्यापार गर्ने दीपक तामाङ हालै पाँच लाख रुपैयाँको चेक बाउन्समा परेका छन्। मिटरब्याज खानेलाई चोखो बनाएर निर्दोषलाई हतकडी लगाएको उनको गुनासो छ। ‘व्यवहार चलाउन चर्को ब्याजमा पैसा लिएँ,’ उनले भने, ‘लाखको दिनको हजार रुपैयाँका दरले समेत ब्याज तिरेँ। समयमा पैसा तिर्न नसकेर चेक काटेर दिएँ। आज यो दिन आयो।’

उनले आफ्नी श्रीमती र सासूको नामको पनि पाँच–पाँच लाख रुपैयाँको चेक काटेर दिएका छन्। ‘मुख बुझो लगाउन ‘जुनबाट हुन्छ, त्यसबाट पैसा निकाल’ भन्दै चेक काटेर दिएँ,’ उनले भने, ‘श्रीमतीलाई पनि केही दिनअगाडि प्रहरीले समात्यो। उनको केही गल्ती थिएन। कुन दिन सासूआमालाई पनि समातेर ल्याउने हो, थाहा छैन। पाँच लाखको कारोबारमा अब ३० लाख तिर्नुपर्ने भयो।’

चेक बाउन्सको मुद्दामा परेर आएका दोषीले तिर्ने गरेको ब्याज सुनेरै तर्सिन्छन्, सह–न्यायाधिवक्ता पौडेल। ‘पाँच लाखको १५ दिनको ७५ हजार रुपैयाँ ब्याज तिर्नेसम्म आउँछन्,’ उनले भने, ‘बाहिर अर्थिक कारोबार गर्नेहरू ब्याज मिटरमा होइन, किलोमिटरमा कुदाइरहेका छन्।’

चेकको बढ्दो दुरुपयोग 

अस्टे«लिया, क्यानडा, अमेरिका पठाउँछु भन्दै पैसा उठाएर दलाली गर्नेदेखि जुवाडे, मिटरब्याजी सबैले पछिल्लो समय चेकको दुरुपयोग गरेको डीएसपी विष्णु सोती बताउँछन्। ‘चेकलाई अस्त्र बनाएर जहाँबाट सकिन्छ, त्यहाँबाट फाइदा लिने क्रम बढ्दो छ,’ उनले भने। 

चेक दुरुपयोग बढ्दै गएकोमा नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला पनि चिन्तित छन्। ‘चेकको दुरुपयोगले गर्दा मानिसमा चेकप्रतिको विश्वास हराउँदै गएको छ,’ उनले भने, ‘यसले बैंकिङ कारोबारलाई असर पु¥याएको छ। यसमा हामी निकै चिन्तित छौँ।’

चेक अनादरको मुद्दामा परेका एवीन्द्र  नेपालविरुद्ध १४ लाख ७५ हजार रुपैयाँको चेक बाउन्सको मुद्दा परेको छ। सिन्धुपाल्चोक घर भई हाल भक्तपुर, लोकन्थली बस्ने उनी फ्लेक्स बोर्ड बनाउने काम गर्छन्। ‘मेरो एक जनासँग सात लाख बराबको कारोबार थियो,’ उनले भने, ‘तीन लाख तिरिसकेको थिएँ, चार लाख बाँकी थियो।

एक दिन राति घरमा मान्छेहरू लिएर आएर धम्काएर १४ लाख ७५ हजारको चेकमा जबर्जस्ती साइन गर्न लगायो।’ ज्यान जोगाउनका लागि आफूले चेकमा साइन गर्नुपरेको उनले सुनाए। विदेश जाने तयारीमा रहेको उनी अहिले झमेलामा परेका छन्। ‘ज्यान बचाउनका लागि चेकमा सही गरियो,’ उनले भने, ‘अहिले त्यही चेकले ज्यान लेलाजस्तो भयो।’

आमसञ्चार विषयमा स्नातकोत्तर सकेर बसेका रमेश दुलालले साथीसँग मिलेर विज्ञापन एजेन्सी खोले। विभिन्न खालका डकुमेन्ट्री बनाउने उनको आफ्नै प्रोडक्सन हाउस पनि छ। हालै उनी दुई लाख रुपैयाँको चेक बाउन्स केसमा परेका छन्। ‘साथीसँग लिएको पैसा घरमा नभनी आफै सल्टाउँछु भन्दाभन्दै आज यो दिन आयो,’ उनले भने, ‘भनेको समयमा पैसा दिन नसकेपछि पैसा नभएको बैंकको चेक जानीजानी काटेर दिएँ। अहिले फन्दामा परियो।’ 

मोरङका राजेन्द्रप्रकाश श्रेष्ठ किरानापसले हुन्। उनी पाँच लाख रुपैयाँको चेक बाउन्सको केसमा परेका छन्। ‘लिएको पैसा जग्गा बेचेर मिलाउँछु भन्दाभन्दै मिलेन,’ उनले भने, ‘पैसा नतिरेपछि उसले कानुनी बाटो खोज्यो। अहिले कानुनबमोजिम सजाय भोग्ने तयारीमा छु।’

फरक–फरक प्रकृतिका चेक बाउन्सका केस प्रहरी र अदालतमा अनगिन्ती छन्। काठमाडौँको सोल्टी होटलमा दुइटा कार्यक्रम गरेबापत एक जनाले होटललाई चेक दिए। होटल चेक साट्न जाँदा पैसा नभएर चेक बाउन्स भयो। सोल्टीले उजुरी ग¥यो। चेक दिने व्यक्ति पक्राउ परे।  

एक भारतीय नागरिक ठमेलको एउटा होटलमा बसे। परिवारसहित १५ दिन बसेर तीन लाख रुपैयाँको बिल उठाए। श्रीमती र छोराछोरीलाई भारत पठाए। होटललाई चेक काटेर दिए। चेक बाउन्स भयो। उनी कारबाहीमा परे। 

‘अरूको पैसा खाएर तिर्न सक्दैनन्, तिर्न नसकेपछि चेकको सहारा लिन्छन्,’ डीएसपी सोतीले भने, ‘एक जना एक करोडको चेक काटेर थुनामा छन्। बिगो र बिगो बमोजिमको जरिवाना गरेर उनले दुई करोड रुपैयाँ बुझाउनुपर्छ। उनको घर खेत सबै बेच्दा पनि तिर्न सक्ने अवस्था छैन।’  

सम्पत्तिको स्रोत खोज्न थालिएपछि चेक बाउन्सका मुद्दामा केही कमी आएको डीएसपी सोतीले बताए। ‘पहिला एकै जनाले तीन–चार करोडको चेक बोकेर आउँथे,’ उनले भने, ‘तर, उनीहरूको जीवनस्तरमा भने कुनै परिवर्तन देखिँदैनथ्यो। चेक बाउन्समा परेको ब्ल्याक मनी अदालतमा गएर ह्वाइट भएर निस्किने अवस्था थियो।’

अहिले सा्रेत खोज्न थालिएपछि कम रकमको चेक काटेर बाउन्स गराउने गरेको सोतीले बताए। ‘एक करोडको चेकमा स्रोतको खोजी हुन्छ भनेर कम रकमका धेरै वटा चेक काट्ने गरिएको पाइएको छ,’ उनले भने, ‘यता हामीले एउटा उपाय अपनाउँदा उनीहरूले उता अर्को उपाय निकालिसकेका हुन्छन्।’ 

यो कसुरसम्बन्धी अहिले अर्को कानुन थपिएको सह–न्यायाधिवक्ता पौडेल बताउँछन्। उनका अनुसार अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ (३) ले पीडित राहत कोषका लागि बिगोअनुसार चार प्रतिशत क्षतिपूर्ति रकम तोकेको छ। बिगो, बिगोबमोजिम जरिबाना र एक महिना कैदसहित चार प्रतिशत क्षतिपूर्ति शुल्क तिर्र्नुपर्ने व्यवस्था कानुनमा रहेको उनले बताए। 

त्यस्तै, अदालतले बिगो बमोजिमको धरौटी मागे पनि फैसला हुँदैमा तुरुन्तै धरौटी नपाइने सह–न्यायाधिवक्ता पौडेलले बताए। ‘अदालतले त्यो पैसा जरिबानामा हाल्छ,’ उनले भने, ‘धरौटी राखेको पैसा तुरुन्तै जाहेरीवालाले पाउँदैन। ‘कानुनअनुसार म्यादभित्र प्रतिवादीको जायजेथा देखाई दाबी गर्न आएबापत भराइदिनू’ भनेर फैसला सुनाउँछ। ‘मेरो मुद्दाको फैसला भयो, मैले जितेँ’ भनेर खुशी हुने अवस्था छैन।’ मुद्दा जितेका धेरै मानिस हातमा टोपी बोकेर चप्पल पट्काउँदै वर्षौंसम्म भौँतारिएर हिँड्नुपरेको उनले बताए। ‘कागजमा जितेको जस्तो देखिन्छ,’ उनले भने, ‘तर, नेपालमा उसको जायजेथा कुन ठाउँमा छ भन्दै खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ। 

अर्थशास्त्री नीलमणि पोखरेल चेक बाउन्सका केसले बिस्तारै बैंकप्रति विश्वास हराउँदै गएको बताउँछन्। ‘रकम नभएको चेक एकअर्कामा साटासाट भएर बाउन्स हुँदा मानिसको बैंकप्रतिको विश्वास घट्दै जान्छ,’ उनले भने, ‘यस्तै हो भने बिस्तारै बैंकिङ कारोबारप्रति नै विश्वास रहँदैन।’ चेक बाउन्ससम्बन्धी कानुनले चेकको माध्यमबाट हुने ठगी घटेको उनी बताउँछन्। ‘अहिलेको जमाना क्यासको भन्दा पनि चेक र कार्डको छ,’ उनले भने, ‘हामी बैंकिङ युगका मानिस हौँ। एउटा कार्ड बोकेर संसार घुम्ने बेलामा यस्ता समस्याको कडा कानुनी उपचार हुनु राम्रो कुरा हो।’

समाधान के?

बाउन्स्ड चेकका केस अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकका गर्भनर, उच्च अदालतका मुख्य न्यायाधीश, अर्थ मन्त्रालय र कानुन मन्त्रालयका सचिव, नेपाल प्रहरीका प्रमुखबीच छलफल र विमर्श भइरहेको सह–न्यायाधिवक्ता पौडेलले बताए। ‘छलफलबाट केही निर्णय निस्केला भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने। 

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौला चेक बाउन्स अनौपचारिक क्षेत्रमा हुने कारोबारले निम्त्याएको विकृति भएको बताउँछन्। ‘पहिला खुसुक्क बाहिर मिटरब्याजमा हाताहात कारोबार गर्छन्,’ उनले भने, ‘पैसा तिर्न नसकेपछि चेक काट्छन्। त्यसपछि अनेक समस्या आउँछन्। अनौपचारिक कारोबार र मिटरब्याजीहरूलाई रोक्न सकेको खण्डमा यो समस्या आफैँ समाधान भएर जान्छ।’


‘एउटा हस्ताक्षरले बित्यास पार्न सक्छ’ 

प्रा.डा. लक्ष्मीप्रसाद मैनाली
वरिष्ठ अधिवक्ता, सर्वोच्च अदालत

आवश्यकता परिपूर्ति र खाँचो टार्नका लागि मानिसले पैसाको कारोबार गर्छ। पैसाको कारोबारमा ब्याज पनि जोडिएर आउँछन्। खाँचो टार्ने बेलामा जस्तोसुकै चर्को ब्याजमा पनि मानिसहरू पैसा लिन तयार हुन्छन्। आफन्तको हकमा विश्वास गरेर कुनै पनि लिखत नगरी कारोबार गरेका हुन्छन्। निश्चित समयमा पैसा बुझाउन नसक्दा अलमल्याउनका लागि चेक थमाइदिन्छन्। चेक बाउन्स भएपछि मानिस कानुनको फन्दामा पर्छ। त्यसैले चेकमा कारोबार गर्दा एकदमै सचेत हुनुपर्छ। अन्यथा, एउटा हस्ताक्षरले बित्यास पार्न सक्छ।  

चेक बाउन्ससम्बन्धी कानुनी रूपमा दुइटा आधार छन्। एउटा देवानी विषयसँग सम्बन्धित कानुनी बाटो र अर्को फौजदारी मुद्दाको बाटो समातेर अदालतमा न्यायका लागि जान सकिन्छ। देवानी कार्यविधिअनुसार चेक अनादर मुद्दा ‘विनिमेय अधिकार पत्र ऐन–२०३४’ अनुसार सम्बन्धित जिल्ला अदालतमा जान्छ। चेक अनादर भएको मितिले अदालत जान पाँच वर्षको हदम्याद छ। यसै ऐनको दफा (१०८) ले हदम्यादको व्यवस्था गरेको छ। पीडित पक्षलाई सोही ऐनको दफा (१०७) ले क्षतिपूर्तिको व्यवस्था पनि गरेको छ। दफा १०७ (क) ले भने सजायको व्यवस्था गरेको छ। बिगोको चेक अनादार भएको मितिसम्मको कानुन बमोजिमको ब्याज पीडित पक्षलाई भराउने भनिएको छ। त्यस्तै, चेक अनादार गर्नेलाई तीन महिनासम्म कैद, तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनेको छ। यसको क्षेत्राधिकार जिल्ला अदालतलाई छ।

बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन–२०६४ ले चेक अनादरको मुद्दालाई सरकार वादी हुने फौजदारी मुद्दामा समावेश गरेको छ। यो ऐनको दफा (३) को खण्ड (ग) मा आफूले खाता खोलेको बैँकमा पर्याप्त मौज्दात छैन भन्ने जानीजानी कसैलाई चेक काटिदिएमा बैकिङ कसुर हुने बताइएको छ। यो ऐनको दफा (१५) ले सजायको व्यवस्था गरेको छ। जसमा बिगो भराई बिगोबमोजिमको जरिबाना र तीन महिनासम्म कैदको व्यवस्था गरेको छ। यो मुद्दा अहिले उच्च अदालतले हेरिरहेको छ। 

एउटै किसिमको कसुरमा दुइटा कानुनी व्यवस्था छ। एउटा ऐनले देवानी कारबाही र अर्को ऐनले फौजदारी मुद्दाको कारबाही गर्छ। यो अलि अव्यावहारिक देखिन्छ। त्यसैले यो विषयसँग सम्बन्धित दुवै ऐनलाई परिमार्जन गरेर एकै किसिमबाट सम्बोधन गर्दा सहज र व्यावहारिक हुने देखिन्छ। 

त्यस्तै चेक बाउन्सको मुद्दा हाल्ने व्यक्तिको गल्ती भएको ठहरिएमा उसलाई सजाय हुने व्यवस्था कानुनमा राखिएको छैन। समयसापेक्ष रूपमा कानुन संशोधन गर्दै लैजानुपर्छ। व्यापारी, बैंकिङ क्षेत्र, प्रहरी, कानुन व्यवसायी, न्याय सम्पादन गर्ने न्यायालय आदि बीच व्यापक अन्तक्र्रिया र छलफल गरेर यो समस्याको समाधान निकाल्नुपर्छ। यसलाई ‘क्रिमिनल’भन्दा ‘सिभिल म्याटर्स’मा लैजाँदा राम्रो हुन्छ। कठोर दण्ड दिँदैमा अपराध निर्मूल हुँदैन। यो विषयमा दण्डात्मकभन्दा सुधारात्मक प्रकृतिको सजाय व्यवस्था गर्नुपर्छ। 


‘चेक बाउन्सले प्रहरीको समय खाइदिएको छ’ 

वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदी 
प्रमुख, महानगरीय प्रहरी परिसर, काठमाडौँ

महानगरीय प्रहरी परिसरको ८० प्रतिशत समय यस्तै आर्थिक कारोबारसँग सम्बन्धित कसुर हेर्नमा बितिरहेको छ। यो दुर्भाग्यपूर्ण कुरा हो। यसले अन्य सामाजिक अपराध र जनताका गुनासामा ध्यान दिनुपर्ने हाम्रो समय खाइदिएको छ। 

आर्थिक अपराध धेरै किसिमका हुन्छन्। त्यसको एउटा पाटो हो, बैंकिङ कसुर। चेक बाउन्सलाई बैंकिङ कसुर भनिएको छ। तर, यो विशुद्ध चेक अनादर हो। नक्कली कागजात पेश गरेर ऋण लिने÷दिने, बैंकिङ सिस्टम ह्याक गर्ने, सेवाग्राहीको रकम हिनामिना गर्ने जस्ता कुरा बैंकिङ कसुरभित्र पर्छन्। यस्ता मुद्दालाई मात्र फौजदारी अपराधमा राख्नुपर्छ। तर, चेक बाउन्सलाई फौजदारी अपराध मान्नु भनेको प्रहरीमा अपराधको तथ्यांक बढाउनु हो। चेक बाउन्समा परेको मनिस दोषी हो। तर, फौजदारी अपराध नै लाग्नुपर्ने खालको दोषी भने होइन। चेक बाउन्सको केस प्रहरीले नहेर्ने हो भने यो तथ्यांक घटेर जान्छ। 

लेनदेनमा आधारित चेक बाउन्सका केसहरू अदालतलाई दिनुपर्छ। अधिकांश बंैकिङ कसुर फैसला हुने बेला चेक अनादरमा जान्छ। त्यसैले यसको जिम्मा अदालतले लियो भने प्रहरीकोमा यसको ‘फ्लो’ कम हुन्छ। अदालतमा लामो समय लाग्छ भनेर कतिपय अवस्थामा अदालतले हेर्ने केस पनि हामीले हेरिरहेका छौँ। यस्ता सानातिना केसको उतैबाट समाधान भए राम्रो हुन्थ्यो। सरकारले मिटरब्याजीहरूको मुद्दा लडिदिनुपर्ने अवस्था छ। 

यो समस्या हल गर्नका लागि हामीले केही कदम चालेका छौँ। जाहेरी आउनेबित्तिकै एकै पटक केस दर्ता गर्दैनौँ। यता जाहेरी दिएर बाहिर पीडकले पीडितलाई बार्गेनिङ गर्दै हिँड्ने अवस्था आएको हुनाले अर्को पक्षको पनि केही भनाइ सुन्ने गरेका छाँै। उनीहरूलाई हामी तीन पटक फोन गरेर बोलाउँछौँ। र, हप्तादिनपछि मात्रै प्रक्रिया अगाडि बढाउँछाँै। त्यस्तै, सक्कली चेकबिना केस दर्ता गर्दैनौँ।

१० लाख रुपैयाँभन्दा बढीको चेक आयो भने स्रोत खोज्छाँै। सम्पत्ति शुद्धीकरणमा लैजान्छौँ। हाम्रो यो प्रयासले यो समस्यालाई कम गर्न केही हदसम्म सहयोग मिलेको छ। हामीले यसलाई कम गर्नका लागि एउटा समिति पनि गठन गरेका छाँै। प्रचलित कानुनको परिधिभित्र रहेर यसलाई व्यवस्थित गर्ने अभियानमा लागेका छाँै। ‘मेट्रोपोलिटन कोर्ट’ गठन गरेर यस्ता मुद्दा हेर्ने व्यवस्था गर्ने हो भने प्रहरीमा चेक बाउन्सका केसको चाप घट्छ।

तपाईको कमेन्ट

छुटाउनु भयो कि