‘फोहोर टिप्ने मान्छेको भूमिका गरेँ’

writer

आशक्ति फुयाल

सोमबार, १६ असार २०७६


अर्पण थापा, अभिनेता।

अभिनयमा मेरो सानैदेखि रुचि थियो। हिरो बन्ने सपना नै थियो भन्दा नि हुन्छ। सानो हुँदा अरूको क्यारिकेचर गर्थें। सपनालाई साकार गर्न अभिनय सिकाउने कलेजमा पढेँ। ‘सिक सिटी’ मेरो डेब्यू फिल्म हो। यो फिल्म सन् २०१० मा रिलिज भएको थियो। फिल्मका निर्देशक मुरे केर थिए। उनी लन्डनका थिए। उनीसँग मेरो भेट कलेजमै भएको थियो। उनी एउटा फिल्म बनाउने सोचमा थिए। यसै क्रममा उनले मलाई ‘फिल्म खेल्ने हो त ?’ भनेर सोधे। हिरो बन्ने पहिलेदेखिको सपना। हिरो बन्ने भनेपछि नाइँ किन भन्थेँ ? हुन्छ भनेँ।

फिल्ममा मेरो चरित्रको नाम कृष्ण थियो। पहिलो पटक क्यामरा फेस गर्दा खासै अप्ठ्यारो लागेन। झन् सपना पूरा भएको देख्दा खुशी लाग्यो। अभिनय कलेजमा पढिरहेकाले त्यहाँ क्यामेरा फेस गर्न पनि सिकाइन्थ्यो। त्यसैले खासै डर लागेन। 

फिल्म खेल्दाका भुल्न नसक्ने धेरै क्षण छन्। फिल्म थोरै बजेटमा बनेको थियो। त्यस कारण हामीले निकै समस्या झेल्नुप¥यो। टिममा पनि हामी चार जना मात्र थियौँ। थोरै बजेटमा पनि राम्रै फिल्म बन्यो। फिल्मको धेरैजसो सुटिङ ठमेलमा गरियो। फिल्ममा हिरो भए पनि सडकमा बस्ने, फोहोर टिप्ने मानिसको भूमिका निर्वाह गरेँ। लुगा पनि त्यस्तै थिए थोत्रा। सुटिङ गरिरहँदा ठमेल आवतजावत गर्ने मानिसले मलाई साँच्चिकै सडकमा बस्ने मान्छे ठान्थे। स्थानीयहरूले ‘यहाँ फोहोर छैन, यहाँबाट गइहाल’ भन्थे। काम साह्रै गाह्रो थियो। दुईतीन टेकमा सिन ओके हुन्थ्यो।

बजेटको अभावले गर्दा हामीसँग न मेकअप गर्न मान्छे थिए, न डे«सअप मिलाउने मान्छे थिए। जेजति गरियो, आफैँ गरियो। हुन त क्यारेक्टरअनुसार खासै मेकअपको आवश्यकता पनि थिएन। फाटेको टिसर्ट, प्यान्ट र जुत्ता लगाउँथेँ। त्यस्तो अवस्थामा सुटिङ गर्दा साँच्चिकै सडकमा जीवन बिताउनेहरू कति अप्ठ्यारोमा रहेछन् भन्ने महसुस हुन्थ्यो। 

फिल्म रिलिज भएपछि राम्रो प्रतिक्रिया आएको देख्दा खुशी लाग्यो। त्यस फिल्मकै कारण यस क्षेत्रमा अगाडि बढ्ने हौसला मिल्यो। यस फिल्मपछि मलाई फिल्मका अफर आउन थाले।

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट