टेलिभिजनको उदेकलाग्दो भाषा

writer

सुरेश पौडेल

बिहिबार, १२ असार २०७६


नेपालमा टेलिभिजन प्रसारण सुरु भएको ३५ वर्षभन्दा बढी भइसक्यो। यति लामो अवधिमा पनि नेपाली टेलिभिजन प्रसारण भाषिक मामिलामा परिपक्व हुन सकेको छैन। समाचारवाचक तथा प्रस्तोताहरू ‘पर्किर्ति’, ‘पर्सारण’, ‘पर्यास’ भनिरहेकै छन्। अनि, हिन्दी र अंग्रेजी मिसाएर भाषाको बिजोग गरिरहेका छन्। 


युरोप भ्रमणबाट फर्कनुभएको दुईतीन दिनपछि गर्नुभएको पत्रकार सम्मेलनमा गुठी विधयेकसम्बन्धी जवाफ दिनुहुँदै गर्दा प्रधानमन्त्रीले भन्नुभयो, ‘ हाम्रो टेलिभिजनले तपाईं भन्न कसैलाई जान्दैन। तपाईं भन्ने नेपाली भाषाको शब्दै हराइसक्यो।’

माथिका हरफमा प्रधानमन्त्रीको सम्मानार्थ भ्याएजति आदरार्थी शब्द लगाउँदा वाक्य बोझिलो भएको छ। टेलिभिजनले मात्र होइन, गोरखापत्रबाहेक प्रायः सबै दैनिक पत्रिकाले आए, गए, बसे नै लेख्ने गरेको पाइन्छ, जुन छरितो अनि सुहाउँदो पनि लाग्छ। तर, अन्तर्वार्ता गर्दा कसैले पनि ‘प्रधानमन्त्री आरामै छौ ? अब तिम्रो अर्को विदेश भ्रमण कहिले ?’ भनेर चाहिँे सोध्दैनन्। बाउ सामुन्ने हुँदा बाउलाई आदरार्थी शब्द हजुर, तपाईं भन्ने चलन यथावतै छ।
व्याकरणीय हिसाबले तृतीय पुरुषलाई मध्यम आदरार्थी सम्बोधनका रूपमा ‘उनी’ भन्ने चलन पुरानै हो। संवादमा मात्र होइन, अति उच्चआदरार्थी शब्द (आइबक्स्यो, गइबक्स्यो आदि) प्रयुक्त हुने राजारानीको जमानामा पनि उनीहरूका बारेमा बनाइएका गीतमा ‘चौतारीमा राजा भेटियो, चौतारीमा रानी भेटियो’ भनेर नै लेखियो, गाइयोे। त्यसैले प्रधानमन्त्रीले भनेजस्तो टीभीले ‘तपाईं’ भन्न नजानेको र ‘तपाईं’ शब्द हराएको होइन। यद्यपि, नेपाली टेलिभिजनहरूमा भाषिक समस्या नभएको पक्कै होइन। चासो दिएर हेर्ने हो भने एउटा खोज्दा २० वटा कमजोरी र त्रुटि भेटाइन्छन् ।  

एउटा उदाहरण उल्लेख गर्नु मनासिब होला। 

‘आज गुरुपूर्णिमा। आजको दिन विभिन्न स्कुल्सहरूका स्टुडेन्ट्सहरूले आ–आफ्ना टिचर्सहरूलाई विस गर्ने गर्दछन्...’ 
२०६७ सालको गुरुपूर्णिमाका दिन एक निजी टेलिभिजनकी ‘भीजे’ले बोलेको भाषा हो यो। नेपालीे र अंगे्रजीको योजत्तिको बिजोग अरू के हुन सक्ला ? तर, टेलिभिजनमा यस्तो भाषा प्रसारण भइरहेकै छ।
 
३५ वर्षभन्दा बढी भइसक्यो, नेपालमा टेलिभिजन प्रसारण आरम्भ भएको। यति लामो अवधिमा पनि नेपाली टेलिभिजन प्रसारण भाषिक मामिलामा परिपक्व हुन सकेको छैन।  यस लेखमा नेपाली टेलिभिजनमा देखापरेका तर सुधार गर्न सकिने केही भाषिक कमजोरीबारे चर्चा गरिएको छ।  

गलत उच्चारण

–धेरै प्रस्तोताका लागि अध्यक्ष ‘अदक्ष’, ‘अदक्षे’ वा ‘अदच्छे’ हुने गरेको छ। 

–‘प्र’बाट आरम्भ हुने अधिकांश शब्द ‘पर्’ भनेर उच्चारण गर्ने गरिन्छ। जस्तो, प्रकृतिलाई ‘पर्किर्ति’, प्रसारणलाई ‘पर्सारण’, प्रयास ‘पर्यास’, प्रमाणलाई ‘पर्माण’ उच्चारण गरेको सुनिन्छ। थुप्रै कार्यक्रम प्रस्तोता तथा समाचारवाचकले नेता प्रचण्डलाई सदा ‘पर्चण्ड’ भन्ने गरेका छन्। 

–विद्यालयलाई ‘विध्यालय’ वा ‘विधालय’ र विद्यार्थीलाई ‘विध्यार्थी’ वा ‘विधार्थी’ भनेको पनि प्रायः सुनिन्छ। अधिकांश प्रस्तोता ‘द्य’लाई शुद्ध उच्चारण गर्न जान्दैनन्।  

–त्योलाई ‘तो’ र प¥योलाई ‘परो’ उच्चारण गरेको पनि सुनिएकै छ।

–सम्भार, सम्हार र संहारबीचको भिन्नताबारे भनिरहनु नपर्ला। तर, पशुपतिनाथको पूर्वीद्वारको ‘मरम्मत सम्हार’ (सम्हार भनेको विनाश हो) गरिने कुरा बताइरहेका हुन्छन्, टेलिभिजनहरू।

–जनतालाई बोल्दा मात्रै होइन, लेख्दा पनि ‘जन्ता’ बनाइने गरिएको छ।  

–ब र व बाट आरम्भ हुने शब्द उच्चारण तथा लेखनमा सचेत हुने फुर्सद नभएरै होला, बत्तीस ‘वत्तीस’, बासिन्दा ‘वासिन्दा’, बाहुन ‘वाहुन’, बलवान् ‘वलवान्’ हुने गरेको छ। 

–फिल्म सही उच्चारण हो, तर प्रायः ‘फिलिम’ वा ‘फ्लिम’ उच्चारित भएकै छ। यसबारेमा अधिकांश सिने–कलाकार पनि अन्यौलमा छन्।

–जनावर सही उच्चारण हो, तर ‘जनवार’ पनि भन्ने गरिएको छ।  

–मेगावाट कतिका लागि ‘मेघावाट’ भएको छ।

–परिणाम नतिजा अथवा परीक्षाफल हो भने परिमाण संख्यात्मक नाप हो, तर परिणाम हुनुपर्नेमा परिमाण र परिमाण हुनुपर्नेमा परिणाम भनिएकै छ।  
–अझै गायन रियालिटी सोका निर्णायकहरू जज होइन, ‘जर्ज’ भएका छन्। मानौँ, ती जर्ज डब्लू बुस हुन्।   
यी त सर्ससर्ती हेर्दा भेटिएका केही उदाहरण मात्र हुन्। भाषा प्रयोगमा अनेकौँ लापर्बाही भइरहेका प्रशस्तै उदाहरण भेट्न सकिन्छ। छापामा चलेको ह्रस्व र दीर्घको बहस भने बेग्लै कुरा हो। 
 
गलत प्रयोग 

–ज्योतिष विधा हो र उक्त विधा जान्ने व्यक्ति ज्योतिषी कहलिन्छ। तर, ज्योतिषीले नै ‘नमस्कार, म ज्योतिष पण्डित फलानो...’ भनिरहेका हुन्छन्। आफू के हुँ भन्नेमा प्रष्ट नभएकाहरू त्रिकालदर्शी बनेर बसेका छन्। योभन्दा उदेकलाग्दो कुरा के हुन्छ ?

–जर्मनी देश हो भने जर्मनीका नागरिक जर्मन हुन्। तर, अच्छेअच्छे टक–सो होस्टहरू पनि जर्मनी र जर्मनमा चिप्लिन्छन्। 
–टेलिभिजनले चोरीशिकार र चोरीशिकारी अनि अफगानिस्तान तथा अफगानबीचको भिन्नता छुट्टयाएर बोल्ने जाँगर चलाएको पनि पाइँदैन। 

–‘घण्टौँ पेट्रोलियम पदार्थका लागि लाममा बस्नु नेपालीको दैनिकी नै भएको...’ भन्ने गरिन्छ। यहाँ दैनिकीको साटो दिनचर्या भन्नुपर्ने थियो। किनकि, दैनिकीे दिनभरको काम, घटनाक्रमलाई टिपोट गर्ने कार्य हो भने दिनचर्या दिनभर गरिने काम हो।

–दर्शकवृन्द भन्दा त्यसले समूहलाई सम्बोधन गरिसकेको हुन्छ तर दर्शकवृन्दले नपुगेर प्रस्तोताहरू एक कदम अगाडि बढेर ‘दर्शकवृन्दहरू’ भनेर सम्बोधन गरिरहेका हुन्छन्। त्यस्तै, नेपाली जनताले काम पुग्नेमा ‘नेपाली जनताहरू’ भनिएको सुनिन्छ। 

६. सौन्दर्यता... यस्तो खालको (अ)शब्द नेपाली शब्दकोशमा भेटिन्न। सुन्दरता वा सौन्दर्य मात्र हुन्छ। कार्यक्रममा मात्र होइन, विज्ञापनमै समेत यो (अ)शब्द बोलिएको हुन्छ। हुन त टेलिभिजनमा प्रसारण हुने र पत्रिकामा छापिने विज्ञापनको भाषा यति ‘भयावह’ हुन्छ कि त्यसबारे यहाँ विवेचना गर्न सम्भव छैन।  

–एकाई उल्लेख नगर्ने चलन पनि त्यत्तिकै भेटिन्छ। जस्तो कि, ८० लाखको लागतमा निर्माण सम्पन्न...। अब यो ८० लाख भनेको के हो ? कौडी पो हो कि ? नभए रुपैयाँ, डलर, युरो, पाउन्ड, दिनार, नागुल्ट्रम जे हो, त्यो बोल्नुपर्ने होइन र ?

–गणतान्त्रिक नेपाल अझै पनि कैयौँका लागि ‘नेपाल अधिराज्य’ नै छ। गणतन्त्र ल्याउन भूमिका निर्वाह गरेको बताउने कतिपय नेताज्यू एवं थुप्रै भूतपूर्व तथा बहालवाला जंगी, निजामती कर्मचारीले समेत सञ्चारमाध्यममा बोल्दा नेपाल अधिराज्य भन्ने गरेका छन्। त्यस्तै, नेपाली विज्ञापनहरूमा समेत गणतान्त्रिक नेपाल अझै पनि नेपाल अधिराज्य नै छ।   

–कतिपय कार्यक्रममा नेपाली र अंग्रेजी भाषा मिसाएर बोल्ने चलन ठीकै हो, तर ढंग नपुर्याइ यी भाषाको प्रयोग गरिदिनाले हलुवामा बालुवा मिसाएझँै हुन्छ। प्रस्तोताले यस्तै ‘निंग्लिस (नेपाली र इंग्लिस)’ बोल्ने अरू उदाहरण पनि छन्।  जस्तो, ‘जजेजहरू’ (जजहरू वा जजेज मात्र हुन्छ), ‘पार्टिसिपेन्ट्सहरू’ (पार्टिसिपेन्टहरू वा पार्टिसिपेन्ट्स मात्र हुन्छ), फिलिङ्जहरू (फिलिङ्हरू वा फिलिङ्ज मात्र हुन्छ)।         

–एउटै व्यक्तिलाई एउटै कार्यक्रममा एकछिनसम्म तपाईं, उहाँ, गर्नुहुन्छ, जानुहुन्छ जस्ता आदरार्थी शब्दबाट सम्बोधन गरिन्छ भने एकैछिनपछि उनी, तिनी, गर्छन, जान्छन् भन्दिने गरिन्छ। बिचरा, ती आगन्तुकलाई कति अप्ठेरो लाग्दो हो। एकछिन अघिसम्म तपाईं, हजुर, एकछिनमै तिमी, अलि बेर अझै बस्यो भने त तँ भन्न पनि के बेर ? 

अनावश्यक प्रयोग

–‘वास्तवमा भन्नुपर्दा नेपाल प्राकृतिक साधनस्रोतबाट सम्पन्न हुँदाहुँदै पनि नेपाली जनता गरिबीमा बाँच्न बाध्य छन्...।’ के वास्तवमा भन्नु नपर्दा चाहिँ नेपाल प्राकृतिक साधनस्रोतबाट वञ्चित रहने होे ? त्यस्तै, ‘नेपालमा विद्यमान राजनीतिक अस्थिरताका बारेमा कुरा गर्नुपर्दा राष्ट्रभन्दा पनि आफ्नो स्वार्थमा लिप्त नेताहरूलाई नै प्रमुख कारण मान्नुपर्ने हुन्छ...।’ यहाँ पनि त्यस्तै...। कुरा गर्नु नपर्दा चाहिँ राजनीतिक स्थिरता हुने हो र ? 

–एउटा रिपोर्टमा बोलिएको थियो– ‘विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको संरक्षणमा सरकारको ध्यान नपुगेकोले यो क्षेत्र विश्वसम्पदा सूचीबाट हट्नसक्ने खतरा बढ्दो...।’ यहाँ सूचीमा सूचीकृतजस्ता शब्दको दोहोरो प्रयोगबाट बच्न सकेको भए राम्रो सुनिन्थ्यो। विश्वसम्पदा सूचीमा समाविष्ट अथवा विश्वसम्पदामा सूचीकृत भनिएको भए पनि पुग्थ्यो। 

–‘नयाँ संविधान जारी गर्न केवल १० दिन मात्र बाँकी रहँदा दलहरू सत्ताप्राप्तिकै खेलमा लाग्नु दुर्भाग्यपूर्ण...।’ बिचरा, ‘१० दिन’ लाई अगाडि ‘केवल’ र पछाडि ‘मात्र’ बाट घेरिँदा कति उकुसमुकुस भयो होला।

–उचित वा सही उपयोग नै सदुपयोग भए पनि ‘सही सदुपयोग’ भनिएको प्रशस्तै सुनिन्छ। त्यस्तै, ‘अत्यन्त जरुरी महŒवपूर्ण विषय’, ‘छोटकरीमा संक्षिप्त चर्चा गरिन्छ’ जस्ता वाक्य तथा वाक्यांशले नेपाली टेलिभिजनको भाषिक सीपको धज्जी उडाइरहेका छन्।

–सर्वसाधारण भनेकै सामान्य अनि आम नागरिक हुन्। किन ‘आम सर्वसाधारण’ वा ‘सामान्य आम नागरिक’ भन्नुपरेको होला ? 

–के दिदीबहिनी भन्नाले पुरुषलाई पनि जनाउँछ ? नत्र किन ‘महिला दिदीबहिनी’ भन्नुपरेको ?

–ब्रेकमा जानुअघि प्रस्तोताले ‘पुनः फेरि उपस्थित’ हुने बाचा गर्छन्। एकसाथ पुनः र फेरिको प्रयोग निकै नमीठो लाग्छ। 

–स्थलगत ताजा जानकारी दिन नेपाली टेलिभिजनका समाचारवाचकले ‘ताजा अपडेट’ माग्ने गर्छन्, प्रत्यक्ष सम्पर्कमा रहेका संवाददातासँग। ‘अपडेट’ भनेकै ताजा जानकारी हो।

–समाचारमा भन्ने गरिन्छ, ‘दोहोरो भिडन्त’। भिडन्त दोहोरो नै हुने हो। भिडन्त दोहोरो र आक्रमण एकोहारो हुने रूपमा बुझ्नुपर्छ।

गलत लेखाइ   

प्रस्तुतिलाई प्रस्तुती, ध्वनिलाई ध्वनी, द्वारालाई द्धारा, कांग्रेसलाई काँग्रेस लगायत अन्य गलत लेखाइहरू पनि नेपाली टेलिभिजनमा देखिने गरेका छन्। त्यसबाहेक ब र वमा पनि निकै अन्योलग्रस्त छन्, टेलिभिजनका लेखकहरू।
 
अनावश्यक हिन्दी प्रयोग 
 
आफ्नै शुद्ध नेपालीको ‘अथवा’, ‘वा’ को साटो ‘यानेकि’, ‘यानिकि’ जस्ता हिन्दी शब्द प्रयोग गरेको बग्रेल्ती पाइन्छ। यसबाहेक ‘खैर’, ‘दर्ज’, ‘रवैया’, ‘बावजूद’, ‘अलावा’, ‘माहौल’, ‘धड्कन’ प्रयोग गर्नुका साथै ‘धावा बोल्ने’ पनि गरिएकै छ। बरु, नेपालीको जे होस्, दर्ता, व्यवहार, चालचलन, आनीबानी, बाहेक, वातावरण, ढुकढुकी, आक्रमण प्रयोग गरिदिने हो भने आफ्नै भाषाको प्रयोग बढेको ठहथ्र्यो। टेलिभिजनमा प्रयोग हुने अर्काे एउटा शब्द छ, ‘जबर्जस्त’। जो न नेपाली हो, न हिन्दी। शुद्ध बोल्ने हो भने हिन्दीको ‘जबर्दस्त’ (बेजोड, राम्रो वा तेज) नै प्रयोग गर्नु राम्रो हो। नेपाली शब्दकोशमै नभएको जबर्जस्त किन प्रयोग गर्नु ? नेपालीमा त जबर्जस्ती (बलात्) भन्ने शब्द हुन्छ। 


शुद्ध भाषाबाट सही सन्देश गएझैँ गलत भाषाबाट भ्रमपूर्ण वा गलत सन्देश जान्छ। फलस्वरूप टेलिभिजनकै विश्वसनीयतामा असर पर्छ। के बीबीसी, सीएनएन वा अलजजिरामा अशुद्ध बोलेको सुनिन्छ ? वा अशुद्ध हिज्जे लेखेको देखिन्छ ? दुर्लभ नै हुन्छ, ती च्यानलहरूमा भाषिक कमी–कमजोरी फेला पार्न। भाषिक कमजोरी हिन्दी च्यानलहरूमा पनि भेटिँदैन।

त्यस्ता टेलिभिजनको लोकप्रियता अनि विश्वसनीयता विश्वव्यापी हुनुमा तिनीहरूले अभ्यास गर्दैआएको शुद्ध भाषाको योगदान कुनै न कुनै रूपमा रहेकै होला। ‘ब्रोडकास्ट’मा बोलिने भाषामा अन्यत्र प्रयोग गरिनेभन्दा बढी सचेत हुनुपर्ने, होइन र ? एकैपटक लाखौँलाख घरमा पुग्ने भाषामा बिर्सेर पनि गल्ती हुन दिनु हँुदैन र भइहालेमा तत्काल सुधार गरिहाल्ने पारिपाटी बसाल्नु आवश्यक हुन्छ। किनकि, ती लाखौँ घरका दर्शक भाषिक अशुद्धता थाहा पाउन सक्ने हुँदैनन। 

नेपाली टेलिभिजन प्रसारण समृद्ध हुनुपर्छ र यसमा बढी ध्यान टेलिभिजनकर्मीले नै दिनुपर्छ। यो उनीहरूकै जिम्मेवारी हो। आरम्भमा कठिन हुन सक्छ, लागेको बानी छुटाउन। तर, भाषाको सही प्रयोगले टेलिभिजनकर्मीलाई सन्तुष्टि दिने त छँदै छ, त्योभन्दा पनि बढी भाषाको उचित अभ्यासमा ठूलो योगदान पनि पुग्छ। आखिर हाम्रो भाषालाई माया गर्ने र त्यसको सही प्रयोग गर्ने प्रमुख जिम्मेवारी हाम्रै हो। 
(पौडेल एपी वान टेलिभिजनका निर्देशक हुन्।) 
 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि