बकवास सामग्री किन भाइरल हुन्छन् ?

writer

सम्पूर्ण

शुक्रबार, ०६ असार २०७६


इन्टरनेटको बोलवाला रहेको आजको दुनियाँमा कुनै पनि सामग्रीले प्रसिद्धि प्राप्त गर्न गुणस्तरको कुनै मापदण्ड पूरा गर्नुपर्दैन। इन्टरनेटमा भाइरल भएका थुप्रै सामग्री अर्थहीन र हास्यास्पद छन्। जस्तोसुकै सामग्री पनि भाइरल बन्न सक्छ। भाइरल बन्न कुनै गतिलो कारण चाहिन्न।


सन् २०१७ को नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान भ्रमण गर्ने भए। भूराजनीतिक दबाबमा रहेको जापानले संस्थापनलाई हराउँदै चुनाव जितेका ट्रम्पलाई खुशी पार्नैपर्ने आवश्यकता थियो। अमेरिकाले दशकौँदेखि अपनाउँदै आएको नीति एकाएक परिवर्तन गरिरहेको समय थियो त्यो। अमेरिकी राष्ट्रपतिको मन जित्न नसके जापानका लागि अप्ठ्यारो सिर्जना हुने थियो। 

यस्तो अवस्थामा ट्रम्पलाई मनोरञ्जन दिलाउन जापानी प्रधानमन्त्री सिन्जो आबेले कुनै कसर बाँकी राखेनन्। उनले ट्रम्पसँग गल्फ खेले। उच्च सम्मान प्रकट गरे। ट्रम्पका लागि आयोजित रात्रिभोजमा गायक पिकोतारोलाई बोलाएर गीत गाउन लगाए। ट्रम्पको मुड राम्रो बनाइराख्न आबेले पिकोतारोलाई रोजेको बताइएको थियो। 

पिकोतारोले रात्रिभोजमा आएर आफ्नो सबैभन्दा चर्चित गीत ‘पीपीएपी’ गाए र ट्रम्प र आबेसँग तस्बिर खिचाए। यसरी कूटनीतिक भूमिकासमेत खेलेको उनको यो गीत किन लोकप्रिय छ त ? के छ यो गीतमा ?  

वास्तवमा कलाका हिसाबले पिकोतारोको गीतमा केही पनि छैन। ४५ सेकेन्ड लामो यो गीतमा एक हातका औँलामा गन्न सकिने शब्द छन्, ‘पेन पाइनापल एप्पल पेन।’ संगीत पनि त्यस्तो बेजोड केही छैन। तर, यो गीतलाई भाइरल बन्नबाट कसैले रोक्न सकेन। यो गीतको लामो भर्सन अहिले युट्युबमा २६ करोडभन्दा बढीले हेरेका छन् भने अन्य कयौँ भर्सनमा करोडौँ भ्युज छ। 

इन्टरनेटको बोलवाला रहेको आजको दुनियाँमा कुनै पनि सामग्रीले प्रसिद्धि प्राप्त गर्न गुणस्तरको कुनै मापदण्ड पूरा गर्नुपर्दैन भन्ने उदाहरण हो यो गीत। किनभने, पछिल्ला वर्षमा इन्टरनेटमा भाइरल भएका थुप्रै सामग्री अर्थहीन र हास्यास्पद छन्। खासमा जस्तोसुकै सामग्री पनि भाइरल बन्न सक्छ। भाइरल बन्न कुनै गतिलो कारण चाहिन्न। सन् २००९ मा रिलिज भएको गालीगलौजयुक्त गीत ‘आई एम अन अ बोट’ लाई उदारहणका रूपमा लिन सकिन्छ। इन्टरनेटमा मुर्खतापूर्ण ‘च्यालेन्ज’ पनि भाइरल हुने गरेको छ। ‘आइस बकेट च्यालेन्ज’, ‘कन्डम च्यालेन्ज’ पनि  लाखौँले पछ्याएका छन्। 

यस्तो प्रवृत्ति कुनै एक देशमा मात्र सीमित छैन। वास्तवमा भाइरल संस्कृति संक्रामक हुन्छ। सन् २०१६ मा पाकिस्तानका एक ‘चायवाला’ युवाको फोटो रातारात भाइरल बन्यो। १८ वर्षीय अरसद खानले इस्लामाबादको बजारमा गिलासमा चिया खनाउँदै गरेको फोटो जावेरिया अलीले खिचेका थिए। खानको सुन्दरता र नीलो आँखाले तत्काल इन्टरनेटमा सनसनी मच्चायो। ट्वीटरमा हजारौँ हजारले ह्यासट्याग चायवाला भाइरल बनाए। खास गरी, दक्षिण एसियाका युवतीहरूको ‘क्रस’ बन्न पुगे उनी। कतिसम्म भने खानको जीवन नै फेरियो। केही दिनमै उनी प्रसिद्ध मोडलका रूपमा स्थापित भए। 

त्यसको केही समयपछि नै नेपालमा भाइरल भइन्, ‘तरकारीवाली।’ गोरखा, भुम्लीचोककी कुसुम श्रेष्ठ डोकोमा तरकारी बोकेर हिँड्दै गरेको फोटो भाइरल बन्यो। लगत्तै उनीबारे सबै मिडियाले सामग्री पस्के। नेपालमा मात्र होइन, भारतीय मिडियाले समेत उनको प्रसिद्धिको कथा छापे। त्यसपछि उनले फिल्म र म्युजिक भिडियोहरूमा अभिनय गरिन्। 

त्यसअघि नै सन् २०१५ मा बंगलादेशी नागरिक असरफुल अलोम सइद आफ्नो उट्पट्याङ अभिनय कौशलका कारण चर्चित भइसकेका थिए। ट्रोलको शिकार भए पनि अहिले हिरो अलोमका रूपमा चर्चित छन्। 

पुर्तोरिकोका गायक लुइस फोन्सी र ड्याडी यांकीको गीत ‘देस्पासितो’ले लोकप्रियताको लगभग सबै रेकर्ड तोड्यो। युट्युबमा ६.२ अर्बभन्दा बढीले यो गीत हेरिसकेका छन्। यसका अन्य भर्सन पनि धेरै लोकप्रिय बने। तर, संगीतको दृष्टिले यो गीत त्यति उत्कृष्ट नभएको समीक्षकहरूको भनाइ छ। अर्थात्, गुणस्तरका कारण यो गीत प्रसिद्ध भएको होइन, बरु कर्णप्रियता र अपिलका कारण धेरैले यसलाई मन पराएका छन्।  

भाइरल अर्थात् भावनाको व्यापार

१० मार्च, २०१७ मा अमेरिकी प्राध्यापक रोबर्ट केली बीबीसीलाई भिडियो अन्तर्वार्ता दिइरहेका थिए। पुसान नेसनल युनिभर्सिटीका प्राध्यापक केली आफ्नै बासस्थानबाट दक्षिण कोरियाली राष्ट्रपति कार्प गुन हेको महाअभियोगबारे बोल्दै थिए। अचानक उनका चार वर्षीया छोरी र नौ महिनाको छोरा उनको कोठामा प्रवेश गरे। त्यसपछि उनकी पत्नी जुङ ए किम भित्र पसेर दुई बच्चालाई तानेर बाहिर निकालिन्। बीबीसी हेरिरहका दर्शकले यो दृश्य देखे। त्यसपछि पनि अन्तर्वार्ता चलिरह्यो। यो भिडियो तुरुन्तै भाइरल बन्यो। यसका अनेक मिम बने। बेलायतमा एकै दिनमा यो युट्युब ट्रेन्डिङको नम्बर १ मा पुग्यो। यसबारे १४ मार्चमा केलीले परिवारसहित स्टुडियोमै आएर अन्तर्वार्ता दिए। यो भिडियो किन भाइरल भयो त ? किनभने, यसले धेरैलाई रमाइलो दिएको थियो। पारिवारिक जीवनको रोचकतालाई हास्यरसमार्फत प्रकट गरेको थियो। 

सामाजिक सञ्जालको विकासका कारण आजभोलि एउटा वर्गको उदय भएको छः ‘सोसल मिडिया इन्फ्लुएन्सर’। हरेक युट्युबर, इन्स्टाग्रामर भाइरल बन्न चाहन्छन्। उनीहरू बढीभन्दा बढी फलोअर्स, भ्युज, सब्सक्राइबर्स र सेयर पाउन चाहन्छन्। मानिसहरूलाई प्रभावित पार्ने सामग्री तयार गर्न उनीहरू जुनसुकै हदसम्म जाने गर्छन्। तर, किन कुनै सामग्री भाइरल हुन्छ र अरू हुँदैनन् ?

वास्तवमा यसको पछाडि एउटा कारण छ। यो बुझ्न भाइरल सामग्रीको पोस्टमार्टम गर्नुपर्ने हुन्छ। भाइरल हुनुको रहस्य हो, सकारात्मक होस् वा नकारात्मक, यसले मानिसको भावनालाई उत्तेजित गर्नुपर्छ। 

आश्चर्यः पाठक वा दर्शकमा यो त हुनै नसक्ने चिज हो, अर्थात् आश्चर्यको भावना जगाउने सामग्री यसअन्तर्गत पर्छन्। 

आक्रोशः भारतीय लेखक पंकज मिश्रले वर्तमान समयलाई ‘आक्रोशको युग’ का रूपमा परिभाषित गरेका छन्। विश्वभर भइरहेका राजनीतिक घटनाक्रममा आम मानिसको आक्रोश प्रतिविम्बित भइरहेको उनको टिप्पणी छ। भाइरल सामग्रीको सन्दर्भमा पनि जुन सामग्रीले सामूहिक आक्रोशलाई जगाउँछ, त्यो बढी सफल हुने गरेको छ। टेलिभिजनमा त अझ यस्ता सामग्रीको बोलवाला नै छ। अमेरिकी फक्स न्युजका प्रस्तोता हुन् वा नेपालका रवि लामिछाने, दर्शकमा आक्रोशको आगो बालेकैले तिनका कार्यक्रम सफल भइरहेका छन्। जब तपाईं मानिसमा क्रोध जगाउनुहुन्छ, उनीहरूमा न्यायको चाहना, आफ्नो आवाज सुनाउने चाहना बढ्न जान्छ। त्यसकारण यस्ता सामग्री भाइरल बन्न पुग्छन्। 

डरः ‘यही वर्षभित्र पृथ्वी ध्वस्त हुँदै छ’, ‘अबको एक हप्ताभित्र ठूलो भूकम्प जाँदै छ’– यस्ता शीर्षकका सामग्री मानिसले किन हेर्छन् ? जबकि यो कुनै पनि कोणबाट तर्कसंगत वा सम्भव छैन। किनभने, यसले पाठक वा दर्शकमा भयको भावना जगाउँछ। त्यसैकारण युट्युबमा हावादारी भविष्यवाणी गर्ने किशोरको भिडियोले पनि लाखौँ दर्शक पाउँछ। आफूसँग जे छ, त्यो गुमाउनुपर्ला कि भन्ने डर मानिसमा सदैव कायम रहन्छ। त्यसैले त्यस्ता सामग्रीप्रति मानिसको ठूलो अभिरुचि हुन्छ। 

आनन्द ः मान्छेको मनोविज्ञानमा एउटा अनौठो गुण हुन्छ। आफूलाई चिट्ठा परेको समाचारले भन्दा अरूलाई चिट्ठा परेको समाचारले मानिस बढी आनन्दित हुन्छ। यसमा पनि खास गरी कुनै समाज वा देशले गरेको प्रगतिप्रति भन्दा पनि खास व्यक्तिले प्रगति गरेको सुन्दा मानिस बढी खुशी हुन्छ। सफलता, प्राप्ति, खुशीका खबर तिनका लागि अझ बढी अर्थपूर्ण हुन्छन्, जो दुःखमा जीवन बिताइरहेका हुन्छन्। त्यस्तो खबरले उनीहरूमा आशा जगाउँछ, जीवनलाई सकारात्मक रूपमा हेर्न सिकाउँछ।

कामवासना ः कामवासनाप्रति मानिसको आकर्षण इन्टरनेटको आविष्कार होइन। इतिहासका ठूलठूला घटनाका कारणका रूपमा यौन आकर्षण, सम्बन्ध, सुन्दरता आदिका आधारमा व्याख्या गर्ने चलन युगौँ पुरानो हो। त्यसैले इन्टरनेटमा पनि यस्तै सामग्री भाइरल हुनु अनौठो होइन। अझ भन्ने हो भने मानिसहरू यौनप्रति मात्र मोहित हुँदैनन्। पैसा, सुन्दरता, सफलता, प्रसिद्धिप्रति पनि उनीहरू आकर्षित हुन्छन्। 

समग्रमा भन्ने हो भने मानिसमा भावनात्मक प्रतिक्रिया जन्माउने सामग्री भाइरल बन्ने सम्भावना बढी हुन्छ। र, नकारात्मकको तुलनामा सकारात्मक भावना जगाउने सामग्री बढी प्रभावकारी हुने गर्छन्। 



कस्ता सामग्री भाइरल भइरहेका छन् ?

समाजले अस्वीकार गर्ने सामग्री 

समाज वा राज्यले अनुचित भनेर अस्वीकार गरेका सामग्री प्रायः भाइरल बन्ने गरेका छन्। नेपालकै उदाहरण हेर्ने हो भने ‘लुट्न सके लुट कान्छा’ गीत वा प्रनेश गौतमको गालीगलौजयुक्त फिल्म समीक्षा राज्यका तर्फबाट प्रतिबन्धित गर्न खोजेपछि भाइरल बन्यो। पछिल्लो समय गालीगलौजका शब्द अत्यधिक प्रयोग गरिएका गीत, स्ट्यान्डअप कमेडी चर्चित भइरहेका छन्। खास गरी, यौन, झुट, अन्तरंग प्रसंग समेटिएका सामग्रीले चाँडो दर्शक पाउँछन्। 

नौलो सामग्री 

हामीले हरेक दिन देख्ने भोग्ने गरेभन्दा अलग किसिमका सामग्री छिट्टै चर्चित हुन्छन्। यद्यपि, यस्ता सामग्री पूरै नौलो हुनुपर्छ भन्ने छैन। त्यसको प्रस्तुति नौलो भए पनि काम चल्छ। 

अपमानजनक सामग्री 

पछिल्लो ट्रेन्ड हेर्ने हो भने कुनै समूह र समुदायलाई अपमान गर्ने सामग्रीहरूले चाँडो भ्युज बटुलेको देखिन्छ। जातीय समूह वा सांस्कृतिक समूहमाथि प्रहार गरिएका कमेडी भिडियोहरू भाइरल बनेका देखिन्छन्। यस्ता सामग्रीले दर्शकमा आक्रोश र उत्तेजना फैलाउँछन्। यी सामग्री हाँसोउठ्दा पनि हुन सक्छन्। 

हाँसोउठ्दा सामग्री

हाँसो फैलाउने सामग्री जहिले पनि भाइरल बन्ने सम्भावना ज्यादा हुन्छ। अझ कमेडीको क्षेत्रमा त ‘रिसउठ्दो प्लस हाँसोउठ्दो’ सामग्री सुरुदेखि नै प्रसिद्ध छन्। यद्यपि, यो प्रस्तोताका लागि सुहाउँदो पनि हुन आवश्यक छ। अन्यथा, यसको उल्टो असर पर्न सक्छ। 

रचनात्मक सामग्री

कुनै पनि रचनात्मक सामग्रीले मानिसको ध्यान चाँडो खिच्छ। रचनाकारको सिर्जनात्मकतामा गुणस्तर झल्किने सामग्री भाइरल बन्न सक्छन्। खास गरी, दर्शक वा पाठकको जीवनमा मूल्य थप्ने सामग्रीहरू धेरैले मन पराउँछन्। 

गोप्य सामग्री 

कुनै पनि सामग्री गोप्य हो भनेपछि त्यसप्रति मानिसको चाख छिटो बढ्छ। यद्यपि, त्यस्तो सामग्री अत्यन्त गोप्य नै हुनुपर्छ भन्ने छैन। तर, आम मानिसको पहुँचबाहिरको सामग्रीप्रति चाख बढी हुने गर्छ।

–एजेन्सीको सहयोगमा कवि आचार्य 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि