‘आमाबाउलाई वृद्धाश्रममा छोड्नेको  मन कस्तो होला ?’

writer

मेनुका कोइराला

शुक्रबार, ०६ असार २०७६


काठमाडौँ, सिनामंगलस्थित ‘बिज्रवाटर इन्टरनेसनल कलेज’को क्यान्टिनमा सुजन सिलवाल, दीपेश थापामगर, सुजता कार्की, एरिका नेपाल, एन्जिला खत्री, सुमन गौतम गफिएका थिए। उनीहरू कक्षा १२ व्यवस्थापन संकायका विद्यार्थी हुन्।


सुजताः भोलि त मेरो जन्मदिन हो। सबै जना मिलेर रमाइलो गर्नुपर्छ है !
एरिकाः पार्टी गर्नुपर्छ भोलि । 
सुमनः बर्थडे कुन बेला मनाउने हो सुजता ?
सुजताः सबैको टाइम कुन बेला मिल्छ त्यही बेला मनाउनुपर्ला। म फोन गरिहाल्छु नि सबैलाई। 
सुजनः म त गिफ्टसिफ्ट केही दिन्न तँलाई। बहिनीजस्तो मान्छेलाई के गिफ्ट ल्याउनुपर्‍यो ?
एन्जिलाः उसलाई सबैभन्दा मन नपर्ने कक्रोच हो, त्यही प्याक गरेर दिनुपर्छ। 
सुजताः गिफ्ट जस्तो भए पनि माया भरिएको हुनुपर्‍यो। प्लस टू सकिएपछि पनि सबैको याद आउने खालको। 
एरिकाः घरमा बर्थडे मनाउने भएपछि बेलुका नै हुने होला है सुजता ?
सुजताः बाबाले हिजो घर आउन भ्याउदिनँ भन्नुभएको थियो। घरमा सबै जना व्यस्त हुनुहुन्छ। 
दीपेशः एक दिन छोरीको लागि बिदा लिन मिल्दैन रे बाबाले ?
सुजनः त्यही त कति दुःख गरेर हुर्काउनुभएको रैछ। छोरीको जन्मदिन मनाउन घर बस्नुहुन्न। 
सुजताः सधैँ परिवारसँग मनाउनुपर्छ भन्ने छैन नि ! कहिलेकाहीँ साथीभाइसँग मनाए पनि हुन्छ। 
एरिकाः चिन्ता नगर सुजता, तिम्रा जिग्री साथीहरू मिलेर बबाल बर्थडे मनाउँला। 
सुमनः सुजता, तिमी त लक्की छौ, परिवारसँग बस्छौ। म त वर्षमा एक चोटि घर जान्छु। अरू बेला सधैँ एक्लै। मम्मीबाबाले तिम्रै लागि दुःख गर्नुभएको छ। अफिसले बिदा दिएन होला। चिन्ता नगर, साथीहरू मिलेर रमाइलो गरौँला। 
एन्जिलाः छोराछोरीको माया कुन मम्मीबाबालाई लाग्दैन र ? उहाँहरूलाई पनि मन त होला। समय अभावका कारण आउन सक्नुभएन होला।
सुजताः तर, आजकल माया भन्ने कुरा नै स्वार्थ भइसक्यो। सबैले आफ्नो स्वार्थका लागि मात्र एकअर्कालाई माया गरेजस्तो गर्छन्। 
दीपेशः कडा दियो त सुजताले, माया भन्ने कुरा नै हराउन आँटिसक्यो। त्यसैले त  वृद्धाश्रममा आमाबुबा दिनहुँ बढिरहेका छन् भने काठमाडौँका सडकमा बच्चाहरू लावारिस भएर भौँतारिएका छन्। 
एन्जिलाः ठीक भन्यौ। आजभोलि हाम्रो हजुरआमाबाजस्ता वृद्धवृद्धा आश्रममा बढेको देख्दा माया भन्ने नै हराइसक्योजस्तो लाग्छ। 
एरिकाः हाम्रो कलेजअगाडि बूढी आमा मागेर बस्नहुन्छ, तिमीहरूले याद गरेका छौ ? उहाँलाई बुढेसकालमा बाटोमा छोडेर जाने छोराछोरीको मन कस्तो होला ? माया नभएर त होला नि ! आमाबाउलाई वृद्धाश्रममा छोड्ने सन्तानको मुटु ढुंगाकै हुनुपर्छ। 
सुमनः आमाबुबालाई वृद्धाश्रममा लग्ने सबै छोराछोरी गलत नै हुन्छन् भन्ने छैन। कतिपय आमाबुबाले आफैँ तीर्थ जान्छु भन्ने गर्छन्। उहाँहरूको इच्छा पूरा गर्नु परिहाल्यो। समाजले देख्दा वृद्धाश्रम लगेर राखेजस्तो देखिन्छ तर वास्तविकता अर्कै हुन्छ।
सुजनः ढिला आयो, कडा आयो है सुमन। म चाहिँ आमाबुबाको इच्छा छ भने वृद्धाश्रम पठाउनुलाई नराम्रो मान्दिनँ। बुढेसकालमा उनीहरूलाई घरमा बस्न मन लाग्दैन, उतै रमाउनुहुन्छ। त्यहाँ आफ्नो उमेरका बूढाबूढी भेट्नुहुन्छ नि !
सुजताः आफ्नो छोराछोरीसँग नबसेर वृद्धाश्रममा खुशी हुने आमाबा चाहिँ मैले त देखेको छैन है। जेजस्तो भए पनि उनीहरू आफ्नै परिवारसँग रमाउँछन्। 
दीपेशः हाम्रो समाजले नकारात्मक तरिकाले मात्र हेर्छ। विदेशतिर बूढाबूढीका लागि ओल्ड एज होम खोलिएका हुन्छन्। वृद्धाश्रम भन्नेबित्तिकै नराम्रो सोच्नुपर्छ र ?
एन्जिलाः घरजस्तो ख्याल र हेरचाह त्यहाँ कसले गर्छ ?
एरिकाः घरमा नातिनातिना हेर्दै बूढाबूढी कस्तो रमाउँछन्। यो सबै वृद्धाश्रममा कहाँ पाइन्छ ? त्यहाँ त बाध्यताले मात्र जाने हो। 
सुजनः केटीहरू तिमीहरूको यो सोचाइ गलत हो। कतिपय आमाबा आफ्नै रहरले पनि जान्छन्।
सुमनः मैले त त्यस्तो देखेको छैन।
सुजनः बूढाबूढीलाई बाटोमा अलपत्र पार्नुभन्दा वृद्धाश्रममा राख्नु ठीक हो। त्यहाँ उनीहरूले समयमा खाना, उपचार र अन्य सुविधा पाउँछन्।
एरिकाः सुजनको कुरा सुन्दा त भोलिपर्सि आफ्नो आमाबाबालाई वृद्धाश्रममा नै राख्छजस्तो छ। 
सुजनः उहाँहरूले जाने इच्छा गर्नुभयो भने लग्छु। समय–समयमा भेट्न जान्छु। हेरचाह भएको÷नभएको बुझ्छु। उहाँहरू त्यहाँ खुशी हुनुहुन्छ भने ठीक छ, हुनुहुन्न भने घर फर्काएर ल्याउँछु। छोराको कर्तव्य निर्वाह गर्छु।

तपाईको कमेन्ट