‘जिन्स र ड्याम बुटमा ठाँटिन्थेँ’

writer

सम्पूर्ण

बुधबार, ०४ असार २०७६


कृष्ण मल्ल, कलाकार।

अतीतको फेसन–कृष्ण मल्ल, कलाकार

स्कुल पढ्दाताका बेल बटम प्यान्ट फेसनमा थियो । ठूलो–ठूलो बुट्टा भएको सर्ट र बेल बटम प्यान्ट धेरैले लगाउँथे । सर्टलाई प्यान्टभित्र हाल्ने चलन थिएन । सर्टको बाहुला पट्याएर माथिसम्म पुर्‍याएर लगाइन्थ्यो । कलाकारदेखि साधारण मानिस सबैले बेल बटम प्यान्ट लगाउँथे । 

स्कुलमा पढ्दा मलाई फेसनले छोएको थिएन । मेरा लागि स्कुलको ड्रेस नै विशेष पहिरन थियो । कलेज पुग्दासम्म भने बेल बटम प्यान्ट हराइसकेको थियो । फेसनमा जिन्स प्यान्ट आइसकेको थियो । खुकुलो सर्ट र जिन्समा तन्नेरी सजिन्थे । पाकाहरू भने कपडाको प्यान्ट लगाउँथे । जिन्सको प्यान्ट कम्मरभन्दा माथिसम्म लगाएर हाफ बाहुले टिसर्ट लगाउँथे । कलेजमा सबै जना जिन्समै देखिन्थे । 

जिन्स प्यान्ट लगाउँदा आफू ह्यान्डसम भएको महसुस हुन्थ्यो । त्यति बेला हेयर स्टाइलमा कपाल अगाडि लामो राख्ने गरिन्थ्यो । कसैले लामो कपाल ठाडो, कसैले चुच्चो बनाउँथे । अगाडिको कपाल लामो पालेर जेल लगाएर ठाडो बनाउने गर्थे । केटीहरू कुर्ता–सुरुवाल लगाउँथे । कुर्ता घुँडाभन्दा मुनिको हुन्थ्यो । अहिलेको जस्तो छोटो कुर्ता हँुदैन थियो । केटीहरूले लामो कपाल राख्थे । सानो हिल भएको जुत्ता लगाउँथे । 

म कलाकार भएपछि फेसनमा निकै परिवर्तन भयो । ‘गाजलु’, ‘लगनगाँठो’, ‘गोठालो’ फिल्ममा काम गर्दा फेसन बदलिसकेको थियो । सर्ट र प्यान्ट नै भए पनि विभिन्न डिजाइन गरिन्थ्यो । टाइट सर्ट र चुज प्यान्ट फेसनमा आएको थियो । सर्टका रङ चम्किला हुन्थे । रातो, पहेँलो, हरियोलगायत रङका सर्ट बढी लगाइन्थ्यो । बाहुले सर्टभन्दा हाफ सर्टको फेसन चलेको थियो । अहिलेजस्तो कम्मरमुनि प्यान्ट लगाउने चलन थिएन । सबैले कम्मरभन्दा माथि बेल्ट लगाएर प्यान्ट लगाउँथे । सर्ट पनि प्यान्टभित्र हालेर लगाइन्थ्यो । पछि हाफ सर्टमा इस्टकोट लगाउने फेसन आयो । त्यति बेला बिहेमा लगाउने कोट पनि अहिलेको भन्दा फरक हुन्थ्यो । कोटमा धेरै बटन हुन्थे । औपचारिक कार्यक्रममा सर्ट प्यान्ट नै लगाइन्थ्यो । 

त्यतिखेर ड्याम जुत्ता एकदमै चलेको थियो । मैले पनि त्यो जुत्ता धेरै लगाएँ । एक पटक फिल्मको कार्यक्रममा गएको थिएँ । त्यति बेला ड्याम बुट भर्खरै फेसनमा आएको थियो । मलाई साथीले विदेशबाट आउँदा ल्याइदिएको थियो । कार्यक्रममा लगाएर गएँ । त्यहाँ जुत्ता फुकाल्नुपर्ने थियो । मैले पनि फुकालेर राखेको थिएँ । कार्यक्रम सकाएर बाहिर आउँदा त मेरो जुत्ता थिएन । धेरै खोजेँ तर पाइनँ । पछि चप्पल लगाएर घर फर्किएँ । हाफ टिसर्ट, जिन्स प्यान्ट र ड्याम जुत्ता लगाएपछि आफू एकदमै स्मार्ट देखिएको महसुस हुन्थ्यो । 

त्यति बेला मान्छे खासै ब्रान्ड कन्सस थिएनन् । फिल्ममा लगाएका लुगा नै फेसन बन्थे । फिल्ममा हिरोले लगाएको लुगा कसैलाई मन पर्‍यो भने त्यही फेसन बन्थ्यो । 

प्रस्तुतिः मेनुका

तपाईको कमेन्ट

छुटाउनु भयो कि