अँध्यारोमा बलेकी ज्योति

writer

सृजना खड्का

बिहिबार, ०८ कार्तिक २०७५


ज्योति अर्याल (२९), ह्विलचियर बास्केटबल खेलाडी हुन्। बास्केटबल उनको ‘प्यासन’ हो। ‘बेस्ट प्लेयर’, ‘हाई स्कोरर’, ‘विनर’ भनेर ठूला अक्षरमा लेखिएका ट्रफीले उनको कोठा भरिएको छ। यी ट्रफी उनले बास्केटबल खेलेरै जितेकी हुन्। ‘ट्रफी जितेपछि बास्केटबल खेल्न थप हौसला मिल्छ,’ उनी भन्छिन्, ‘जुनसुकै ह्विलचियर रेसमा पनि प्रायः फस्ट, सेकेन्ड त भइरहन्छु।’

 

जीवनमा एक पटक जसरी भए पनि ओलम्पिक खेलमा सहभागी हुने सपना बुनेकी छिन्, ज्योतिले। अहिले ह्विलचियरमा बस्न बाध्य उनी सधैँ यस्ती भने थिइनन्। ‘सानोमा एकदमै चकचके थिएँ,’ उनी भन्छिन्, ‘मलाई जे नगर्नु भनिएको हुन्थ्यो, त्यही गर्थें।’ २०५८ सालतिर कक्षा सातमा पढ्दाताका बुटवलकी ज्योतिलाई बुबाले ‘घरबाट कतै नजानू, रूख त झन् चढ्दै नचढ्नू’ भनेका थिए।

 

‘बुबाको कुरा नसुनेर आँपको रूखमा चढेर जमुना टिप्न खोज्दा लडेर भुइँमा पछारिएँ,’ उनी भन्छिन्, ‘लडेपछि बेहोश भए। अस्पतालको बेडमा पुगेपछि बल्ल होश आयो।’ उनलाई स्पाइनल कर्ड इन्जुरी भयो। दुवै खुट्टा राम्रोसँग चलेनन्। छ महिना अस्पतालमा बिते। ‘दुई वर्षसम्म केही उपचार नलागेपछि खुट्टा निको हुने आश मर्‍यो,’ उनी भन्छिन्, ‘त्यतिबेला मलाई संसार नै अँध्यारो लाग्यो।’


परिवारले पढ्न प्रोत्साहित गरे पनि उनको मन पढाइमा जान सकेन। ‘पहिला हिँडेको, डुलेको मात्र याद आइरहन्थ्यो,’ उनी भन्छिन्, ‘उफ्रिँदै–कराउँदै हिँडेको मान्छे ह्विलचियरमा कसरी निस्किनुजस्तो लाग्थ्यो। मान्छेले के भन्लान् ? भनेर सोच्दासोच्दै एक वर्ष बित्यो।’ एक वर्षपछि उनी काठमाडौँमा होस्टलमा बसेर खगेन्द्र नवजीवन केन्द्रमा पढ्न थालिन्। त्यहीबाट एसएलसी दिइन्। प्लस टू पास गरिन्। मानविकीमा स्नातक, व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी उनले एलएलबीसमेत गरेकी छिन्। ‘अझै पढ्न पुगेको छैन,’ उनी भन्छिन्, ‘अर्थशास्त्रमा मास्टर्स गर्ने इच्छा छ।’ 

साधारण मानिससरह जीवनयापन गर्न चाहन्छिन्, ज्योति। त्यसका लागि आफूलाई कुनै आरक्षण र छुटको आवश्यकता नरहेको उनी बताउँछिन्। फरक क्षमता भएका व्यक्तिले सुरक्षित र स्वतन्त्र भएर हिँड्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

नयाँ कलेजमा जाँदा सुरुमा असहज हुने गरेको उनी सुनाउँछिन्। ‘नयाँ साथीहरूले के भन्लान्, ट्वाइलेटको सुविधा छ÷छैन यस्तै कुरा दिमागमा आउँथ्यो,’ उनी भन्छिन्, ‘यस्ता कुरा सोचेरै मेरो पहिलो परीक्षा सधैँ बिग्रिन्थ्यो। पछि बिस्तारै यस्ता सोच मनबाट निकालेर फ्याकेँ।’ ‘अरूले के भन्ला ?’ भन्ने सोच मनबाट नफ्याँकेको भए अहिलेसम्म पनि आफू घरभित्रै हुने उनी बताउँछिन्। ‘घरबाट बाहिर निस्केपछि आफूजस्ता धेरै साथीलाई देखेर चित्त बुझाउँछु,’ उनी भन्छिन्, ‘घरबाहिर निस्केपछि मनभित्र पालेको डर पनि हराउँदो रहेछ।’ 

 

अहिले उनी त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा कम्प्युटर अपरेटर छिन्। उनले त्यहाँ काम गर्न थालेको पाँच वर्ष भयो। ‘बुबाले लोकसेवा पढ भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘सरकारी जागिर खायो भने छोरीको भविष्य सुनिश्चित हुन्छ भन्ने बुबालाई लाग्दो हो। तर, मलाई त्यतातिर चासो छैन।’ 

 

खेलकुद क्षेत्रमा शारीरिक रूपमा सबल खेलाडीलाई नै सरकारले नहेरेको बेला आफूजस्ता फरक क्षमता भएका खेलाडी झनै ओझेलमा परेको उनी बताउँछिन्। ‘शारीरिक रूपले अशक्त मनिसलाई घरबाट बाहिर निकाल्ने सबैभन्दा उत्तम उपाय खेलकुद हो,’ उनी भन्छिन्, ‘खेलको माध्यमबाट हामीलाई बाहिर आउन सजिलो हुन्छ।

यसरी एक पटक बाहिर निस्किएको मानिस फेरि कहिल्यै डिप्रेस्ड भएर घरभित्र बस्दैन।’ आत्मनिर्भर भएर हिँडेपछि मानिसले आफूलाई हेर्ने दृष्टिकोणमा फरक आउने उनी बताउँछिन्। ‘मानिसले मलाई भेट्नुभन्दा पहिला कस्ती होली भनेर सोच्दै आउँछन्,’ उनी भन्छिन्, ‘भेटिसकेपछि मेरो क्रियाकलाप देखेर डिसेबल हो भन्ने नै बिर्सिन्छन्।’


ह्विलचियर प्रयोगकर्तालाई सार्वजनिक यातायातमा यात्रा गर्दा गाह्रो हुने उनी बताउँछिन्। ‘पब्लिक बसमा अपांग सिट त राखिएको हुन्छ तर त्यहाँसम्म पुग्नकै लागि संघर्ष गर्नुपर्छ,’ उनी भन्छिन्, ‘कतिले त गाडीमा चढाउँदै चढाउँदैनन्।’ सार्वजनिक यातायातमा भोग्नुपर्ने सास्तीबाट दिक्क भएर अहिले उनी स्कुटर चलाउँछिन्। ‘स्कुटर र ह्विलचियर मेरा सहयात्री बनेका छन्,’ उनी भन्छिन्। 


इन्डिपेन्डेन्ट लिभिङ सेन्टरकी सचिवसमेत रहेकी ज्योति आफू पनि साधारण मानिससरह जीवनयापन गर्न चाहने बताउँछिन्। ‘म अरू मानिसजस्तै बाँच्न चाहन्छु,’ उनी भन्छिन्, ‘त्यसका लागि कुनै आरक्षण र छुटको आवश्यकता छैन। तर, घरबाट बाहिर निस्किदा पूर्वाधारको राम्रो व्यवस्था चाहिँ हुनुपर्छ। त्यो भएमा मजस्ता धेरै अपांगको जीवन सहज हुने थियो।’

 

फरक क्षमता भएका व्यक्तिले सुरक्षित र स्वतन्त्र भएर हिँड्न पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ। ‘त्यसका लागि उचित बाटोघाटो र अपांगमैत्री वातावरणमा जोड दिनुपर्छ,’ उनी भन्छिन्।  खेलकुदको सिलसिलामा उनी जापान र कोरिया पुगेकी छिन्। ‘त्यहाँका खेलाडी बिहानदेखि बेलुकासम्म गेमको लागि अभ्यास गर्छन्,’ उनी भन्छिन्, ‘हामीले महिनाको एक दिन पनि अभ्यास गर्ने मौका पाउँदैनौँ।’ 

शारीरिक रूपले अशक्त मनिसलाई घरबाट बाहिर निकाल्ने सबैभन्दा उत्तम उपाय खेलकुद भएको ज्योति अर्याल बताउँछिन्। एक पटक घरबाहिर निस्किएको फरक क्षमता भएको मानिस फेरि कहिल्यै ‘डिप्रेस्ड’ भएर घरभित्र नबस्ने उनको तर्क छ। 


राजनीतिमा चासो राख्छिन्, ज्योति। भविष्यमा राजनीतिमा सक्रिय हुने उनको योजना छ। ‘अशक्तहरूको क्षेत्रमा काम गर्ने इच्छा छ,’ उनी भन्छिन्, ‘अरूका लागि केही गर्न पहिला आफू सक्षम हुनुपर्छ। सक्षम हुन भविष्यमा राजनीतिमा सक्रिय हुने सोच छ।’ शहरमा भन्दा गाउँमा बस्ने फरक क्षमता भएका व्यक्तिको अवस्था अप्ठ्यारो रहेको उनी सुनाउँछिन्। ‘हामी शहरमा भएका डिसेबललाई त बाँच्न यतिधेरै गाह्रो छ,’ उनी भन्छिन्, ‘गाउँमा भएका डिसेबलको हालत् झन् के होला ?’ 


ज्योति आफू जहाँ पुग्छिन्, त्यहाँ केही परिवर्तन् होस् भन्ने चाहन्छिन्। ‘पद्म कन्या कलेजदेखि एयरपोर्टसम्म आफूले काम गरेको ठाउँलाई ह्विलचियर मैत्री बनाएकी छु,’ उनी भन्छिन्, ‘भोलि त्यो ठाउँमा भइनँ भने पनि मजस्तै अर्को साथीले आरामले पढ्न र काम गर्न पाउँछ।’ 
किताब पढ्न, फिल्म हेर्न र घुम्न ज्योतिलाई एकदमै मन पर्छ।

 

‘जस्तोसुकै परिस्थिति आए पनि जीवन रमाइलो तरिकाले बाँच्नुपर्छ भन्ने लाग्छ,’ उनी भन्छिन्, ‘केटीहरूले यो गर्नुहुन्छ, त्यो गर्नु हुँदैन भनेको मलाई मन पर्दैन। केटी पनि केटासरह सक्षम छिन्।’ कहिलेकाहीँ ह्विलचियरमै साथीहरूसँग टाढा–टाढासम्म घुम्न जाने गरेको उनी बताउँछिन्। ‘देशका विभिन्न ठाउँमा पुगिसकेँ,’ उनी भन्छिन्, ‘मनाङ–मुस्ताङ जाने ठूलो इच्छा छ। त्यो दिन पनि छिट्टै आउँछ।’ 

तपाईको कमेन्ट