‘हाम्रो त घरै राजनीतिक’

writer

उपेन्द्र अर्याल

मङ्गलबार, ०३ असार २०७६


प्रदीप पौडेल  केन्द्रीय सदस्य, नेपाली कांग्रेस।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको परिवार राजनीतिक परिवार हो। उनका बुबा पञ्चायतविरोधी राजनीतिमा आबद्ध थिए। उनकी श्रीमती नेवि संघको केन्द्रीय सदस्य थिइन्। राजनीति बुझ्ने परिवार भएकाले उनलाई राजनीति गर्न सहज छ। 


तनहुँ जिल्लाको कोलम्फे मेरो जन्मथलो हो। कोलम्फे, स्याङ्जा र तनहुँको सिमाना हो। ४४ वर्षअघि मेरो जन्म भएको थियो। हाम्रो परिवार कृषिमा निर्भर थियो। त्यो बेला हजुरआमा–बुबा, आमा–बुबा, दाइ, म र मेरो बहिनी गरी सात जनाको परिवार थियो। हजुरआमा–बुबा एकदमै मेहनती हुनुहुन्थ्यो। गाई, भैँसी पालेका थियौँ। घाँसदाउरा गर्दै दिन बित्थे। बुबाका भने दुइटा परिचय थिए। एउटा शिक्षक र दोस्रो राजनीतिक अभियन्ता। त्यो समयमा बुबा नेपाली कांग्रेसको नेता हुनुहुन्थ्यो। गाउँलेले बुबालाई शिक्षक मात्र नभनी स्वतन्त्रताका लागि लड्ने व्यक्तिका रूपमा चिन्थे। यस्तो बुबाको छोरो हुन पाएकोमा मलाई गर्व लाग्थ्यो। बुबाका कारण मलाई पनि सबैले प्रेम गर्थे। 

मेरो पढाइ गाउँकै रजस्थल प्राथमिक विद्यालयबाट सुरु भएको थियो। पछि गाउँकै जनप्रिय मावि हँुदै बुबाले पढाउने विद्यालयबाट निमावि तह उत्तीर्ण गरेँ। कक्षा आठबाट भने काठमाडौँको सिद्धार्थ वनस्थलीमा पढ्न थालेँ। बुबा छोराछोरीको पढाइप्रति निकै सचेत हुनुहुन्थ्यो। हामीले पढ्ने वातावरण राम्रो पायौँ। वनस्थलीमा पढ्दादेखि नै २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर लागेँ। केही समयका लागि पक्राउ पनि परेँ। जसले गर्दा स्कुलले छोटो समयका लागि रस्टिकेट पनि ग¥यो। आन्दोलन सफल भएपछि मलाई पढ्न दिइयो। वनस्थलीबाट अस्कल कलेज पढ्न गएँ। पछि त्रिचन्द्र क्यम्पसबाट समाजशास्त्रमा स्नातकोत्तर तह उतीर्ण गरेँ। 

राजनीतिक परिवार 

अस्कल पढ्दाताका राजनीतिमा अलिक बढी सक्रिय भएँ। कलेजमा युनियनको सहसचिवमा चुनाव लडेँ। त्यो चुनावमा मेरो हार भयो। पछि नेविसंघको इकाई सहसचिव र अध्यक्षसम्म भएँ। २०५३ सालमा क्याम्पसको स्ववियुको सभापति पद जितेँ। त्यसले मेरो राजनीतिक उचाइ अलिकति बढायो। त्यसपछि २०५५ सालमा नेवि संघको केन्द्रीय सदस्य, २०५७ सालमा महामन्त्री भएँ। २०५८ देखि तीन पटक अध्यक्ष फेरिए पनि म भने तीनै पटक उपाध्यक्षमै कायम रहेँ। २०६४ सालमा भने नेवि संघको केन्द्रीय सभापति भएँ। त्यसपछि २०७२ सालको महाधिवेशनमा खुल्लातर्पmबाट छैटौँ भएर केन्द्रीय सदस्य भएँ। मेरो राजनीतिक मनोविज्ञान बन्नुमा बुबाको शतप्रतिशत हात थियो।

त्यस बेला कांग्रेस पार्टी एकदम राम्रो थियो। तत्कालीन समयमा न्यायको निम्ति लडेको, समाजमा रहेका विभेदको अन्त्य गर्न पार्टी लागिपरेको भन्ने एक खालको बुझाइ थियो। घरमा आउने पुस्तक होस् वा पत्रिका, सबै कांग्रेसलाई राम्रो लेख्ने मात्र आउने गर्थे। गाउँमा पञ्चायत भनेको खत्तम हो, यसले देश बर्बाद गर्छ भन्ने भावना थियो। कम्युनिस्टहरू भनेका विदेशी हुन्, यिनको दर्शन र मान्यता मौलिक होइन भन्ने बुझाइ थियो। समग्रमा कांग्रेसको मात्र राम्रो कुरा हुन्थ्यो। म पनि यिनै कुराबाट प्रभावित थिएँ। कक्षा पाँच पढ्दा बीपीको स्मृति मनाउन नदिँदा हामीले कक्षा बहिष्कार गरेको सम्झना अझै ताजा छ। कांग्रेसको सबै कार्यक्रममा सहभागी हुन्थेँ। खासमा मेरो बुबा शिक्षक हुनुहुन्थ्यो। तर, उहाँले कांगे्रस संगठनलाई महŒव दिएजस्तो देखिन्थ्यो। जहाँ कार्यक्रम हुँदा पनि उहाँ जानुहुन्थ्यो। संगठन विस्तार गर्न एकदमै धेरै काम गर्नुहुन्थ्यो। कांग्रेस संगठनका मान्छे आउँदा हाम्रै घरमा बस्थे। छलफल हुन्थे। बिस्तारै कांगे्रसप्रति मेरो सकारात्मक धारणा बन्दै गयो। यही क्रममा राजनीतिक साथसंगत पनि बढ्यो। पारिवारिक प्रभावकै कारण म राजनीतितिर तानिँदै गएँ।

घरमा राजनीतिक छलफल 

तीन वर्षअघि मेरो विवाह रामेछापकी एन्जिला न्यौपानेसँग भएको हो। हाम्रो विवाहलाई पूरै प्रेम पनि भन्न मिल्दैन, मागी बिहेजस्तै पूरै एकअर्कालाई नचिनेको पनि होइन। हामीले विवाहअघि एकअर्कालाई चिनेका थियौँ। राजनीतिमा लागेको मान्छेलाई पनि परिवारको उत्तिकै महŒव हुन्छ, जति अरूलाई। कामका लागि बाहिर हिँडे पनि बाँकी समय घरमा बस्न रुचाउँछु। घरपरिवारसँगै मेरो बढी समय बित्छ। परिवारले नै मलाई बढी सहयोग गरेको छ। 

हरेक मानिस परिवारसँग भावनात्मक रूपमा जोडिएको हुन्छ। एउटा ‘लिगेसी’ हुन्छ। त्यसैले परिवार सबैका लागि महŒवपूर्ण हुन्छ। मेरो सन्दर्भमा कुरा गर्दा मैले घरपरिवारलाई सहयोग गर्नुभन्दा परिवारले मलाई बढी सहयोग गरेको छ। आमा–बुबाले पनि मबाट अतिरिक्त अपेक्षा केही गर्नुभएको छैन। छोरा आफ्नो काममा सफल होस् भन्ने चाहनुहुन्छ। मेरो श्रीमतीको पृष्ठभूमि राजनीतिक भएकाले उनलाई पनि श्रीमान्ले सुखसुविधाको लागि धेरै केही गरिदिन्छ भन्ने अपेक्षा छैन। बरु, उनी मलाई सफल बनाउन आफूले के गर्न सकिन्छ भनेर चिन्तित देखिन्छिन्। अहिले उनी संगठनसँग जोडिएकी छैनन्। पहिला उनी नेवि संघकी केन्द्रीय सदस्य थिइन्। अहिले उनले घरव्यवहारको जिम्मेवारी सम्हालेकी छिन्।

मेरो परिवारमा बेला–बेलामा राजनीतिक गफ÷छलफल भइराख्छ। मबारे बाहिर आएका कतिपय टीका–टिप्पणीका विषयमा उहाँहरूले सल्लाह दिनुहुन्छ। कहिलेकाहीँ घटनाक्रमबारे कुराकानी हुन्छन्। सल्लाह–सुझाव दिने हिसाबले गफगाफ हुन्छ। परिवारका सबैको झुकाव कांग्रेस पार्टीप्रति रहेकाले पार्टी बलियो हँुदा उहाँहरू उत्साहित हुनुहुन्छ। अनि, पार्टी कमजोर हुँदा खिन्न बन्नुहुन्छ। आमाबुबा आफूले लगाव राखेकै पार्टीमा छोरो आबद्ध हुँदा खुशी हुनुहुन्छ। 

मठमन्दिर खूब घुमिन्छ 

कार्यक्रमको एकदमै चाप भए पनि परिवारलाई समय दिन्छु। सकेसम्म बेलुका घरै बस्छु। बिहान एकछिन छोरीसँग १० मिनेट घुम्न निस्कन्छु। घरमा पनि छोरो भ्याएसम्म आउँछ भन्ने छ। परिवारले चाहेजति समय दिन सक्ने अवस्था छैन। महिनामा मुश्किलले १० दिन काठमाडौँ बस्न पाउँछु। यहाँ बसेको बेलामा भ्याएसम्म परिवारलाई समय दिन्छु। परिवारमा पनि कसैले समय दिएन भनेर खासै गुनासो गर्नुहुन्न। सबैले बुझ्नुभएको छ। बेला–बेलामा परिवारसँग घुमफिर गर्न जान्छु। छोरी सानी भएकाले टाढा घुमाउन लगेको छैन। काठमाडाँै वरिपरि घुम्ने गरेका छौँ। मेरी आमा र श्रीमती दुवैलाई धार्मिक स्थल घुम्न मन पर्छ। विवाह भएपछि सबैभन्दा धेरै पशुपति गएँ होला। धार्मिक स्थल घुम्न लैजाँदा आमा र श्रीमती दुवै खुशी हुने हुनाले बढी मठमन्दिरतिर गइन्छ। बुबा आफैँ धेरै हिँडडुल गर्नुहुन्छ। गाउँतिर बढी जानुहुन्छ। छोरी सानै भए पनि घुम्नेडुल्ने कुरामा एकदमै खुशी हुन्छे। उसलाई बढी समय दिनुपर्छ भन्ने लागे पनि दिन सकिरहेको छैन। 

घरमा हुँदा श्रीमतीको काममा सहयोग गर्छु। तर, म व्यवस्थित ढंगले काम गर्न जान्दिनँ। जसले गर्दा सहयोगभन्दा असहयोग बढी हुँदो रहेछ। त्यसैले ‘ह्या तपाईं नगर्नु’ भन्छिन्। घरायसी काम गर्न पनि सिपालु हुनुपर्छ। हामी श्रीमान्–श्रीमतीबीच राम्रो तालमेल छ। एकअर्कालाई राम्ररी बुझ्छौँ। उनले मलाई मात्र होइन, राजनीति पनि बुझेकी छिन्। यो क्षेत्र नबुझ्ने भएको भए कतिपय कुरामा सायद मलाई अप्ठ्यारो हुन्थ्यो। उनले मेरो काम बुझेको कारणले दुई जनाबीच केही समस्या छैन। कहाँ जाने हो ? के कार्यक्रम छ ? अथवा, पुरानो कार्यक्रमको तालिकामा परिवर्तन भयो भने म यहाँ छु, अवस्था यस्तो छ आदि जानकारी चाहिँ उनलाई दिनुपर्छ। 

अहिले परिवारमा आमा–बुबा, श्रीमती, छोरी र म छौँ। दाइ–भाउजू अमेरिकामा बस्नुहुन्छ। नेपाल कमै आउनुहुन्छ। बहिनी पनि विवाहपश्चात् श्रीमान्सँगै छिन्। बुबा अहिले पहिलाजस्तो राजनीतिमा सक्रिय हुनुहुन्न तर उहाँमा गहिरो राजनीतिक समझ र रुचि छ। घरमा धेरैजसो काम बुबाले नै गर्नुहुन्छ। हाम्रो मुख्य अविभावक हुनुहुन्छ, उहाँ। हामी सबै बुबाप्रति एकदमै अनुगृहीत छौँ। आमा विशुद्ध गृहिणी हुनुहुन्छ। हामीलाई अथाह माया गर्नुहुन्छ। छोराछोरीकै चिन्ता बढी गर्नुहुन्छ। धार्मिक कुरामा रुचि राख्नुहुन्छ। मेरी श्रीमती अत्यन्तै सरल छिन्। उनी धेरै चाहना व्यक्त गर्दिनन्। सधँै मेरो हित चाहन्छिन्। मेरो राम्रोका लागि सल्लाह दिइरहन्छिन्। घरपरिवारलाई व्यवस्थित गर्न कसरी सहयोग पु¥याउने भन्नेमा उनी बढी चिन्तित हुन्छिन्। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि