‘दालभात अभियन्ता’ रवि

लक्ष्मण पोखरेल
मङ्गलबार, ०३ असार २०७६
भैरहवाका निर्माण व्यवसायी रवि रौनियारले गरिब र मजदुरलाई २५ रुपैयाँमा खाना खुवाउने अभियान चलाइरहेका छन्। आमाको नाममा स्थापित फाउन्डेसनमार्फत हाल उनी महिनामा दुई दिन सस्तो मूल्यमा पाँच सय जनालाई शाकाहारी भोजन खुवाइरहेका छन्। उनलाई अचेल दालभात अभियन्ता भन्न थालिएको छ।
बुटवल :
२५ रुपैयाँमा खाना !
सुन्दै अचम्मलाग्दो। एक कप सामान्य चियाको पनि अहिले २० देखि ३० रुपैयाँ पर्छ। तर, रूपन्देहीको भैरहवामा २५ रुपैयाँमै खाना खुवाउने अभियान सुरु भएको छ। जसका अभियन्ता हुन्, रविकुमार रौनियार। आफ्नी आमाको सम्झनामा उनले ‘मायादेवी च्यारिटेबल फाउन्डेसन’ स्थापना गरेका छन्। त्यही फाउन्डेसनले ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउँदै आएको छ।
गाडीमा घुम्ती सेवामार्फत खाना खुवाइने गरिन्छ। अहिले हरेक १५÷१५ दिनमा खाना खुवाउन सुरु गरिएको छ। खाना शाकाहारी हुन्छ। निम्न आय भएकालाई खाना खुवाउने रवि बताउँछन्। ‘२५ रुपैयाँमा निम्न आय भएकालाई खाना खुवाउने हाम्रो उद्देश्य हो,’ उनी भन्छन्, ‘तर, निम्न वर्गका लागि मात्रै नभई २५ रुपैयाँमा हामीले सबैलाई खाना खुवाउने गरेका छौँ।’ विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरले काम गर्ने स्थानमा फाउन्डेसनले मिनी ट्रकमार्फत घुम्ती सेवा दिँदै आएको छ।
पहिलो चरणमा १५ दिनमा एक पटक खाना खुवाउने रवि बताउँछन्। ‘बिस्तारै २५ रुपैयाँमा प्रत्येक दिन खाना खुवाउने तयारीमा छौँ,’ उनी भन्छन्। उनको फाउन्डेसनले अस्पतालका कुरुवा, रिक्सा चालकलाई लक्ष्य गरी बिहानको समयमा र सरकारी विद्यालयमा दिउँसो खाजा खाने समयमा सेवा प्रदान गर्ने गरेको छ। २५ रुपैयाँमा दालभात, तरकारी वा रोटी, तरकारी वा कहिले खीर, तरकारीलगायत पालैपालो खुवाउने फाउन्डेसनको योजना छ। ‘यो सेवा दैनिक पाँच सय जनालाई उपलब्ध गराइने योजना छ,’ रवि भन्छन्, ‘अहिले घुम्ती सेवामार्फत सेवा उपलब्ध गराउँछौँ। केही महिनापछि भैरहवाको तीन स्थानबाट टेन्ट लगाएर खाना खुवाउने छौँ। बिस्तारै भैरहवाको सबै वडा र जिल्लाभर सेवा विस्तार गर्नेछौँ।’
२० जनाले खाना पकाउने र खुवाउने गर्छन्। करिब आठ वर्षअघि आमाको निधन भएपछि रविले आमाका सम्झनमा स्थापना गरेको फाउन्डेसनको २५ लाख रुपैयाँ बैंकमा जम्मा गरेका थिए। प्रत्येक वर्ष पाँच लाख रुपैयाँ थप्दै गएपछि अहिले खातामा ६० लाख रुपैयाँ पुगेको छ। सोही फाउन्डेसनको रकमले अहिले आफूले २५ रुपैयाँमा खाना खुवाउन सुरु गरेको उनी बताउँछन्।
‘हामीले खुवाउने एक छाक खानाको कम्ती ५० रुपैयाँ पर्छ,’ उनी भन्छन्, ‘त्यसैले ग्राहकबाट २५ रुपैयाँ लिएर बाँकी २५ रुपैयाँ फाउन्डेसनबाट गरी ५० रुपैयाँ पूर्ति गरिरहेका छौँ।’
उनलाई अचेल धेरैले दालभात अभियन्ता भन्न थालेका छन्। यो सम्बोधनले उनी हर्षित छन्।
यसरी मिल्यो प्रेरणा
सामाजिक अभियानमा लाग्ने प्रेरणा आफूलाई आमाबाट प्राप्त भएको रवि बताउँछन्। ‘विद्यार्थी जीवनमा निकै कष्ट बेहोरेको छु,’ उनी भन्छन्, ‘गरिबलाई खान निकै कठिन छ। त्यही बुझेर खाना खुवाउने योजना बुनेँ। शाकाहारी खानाको हिसाब निकालेँ, अनि मूल्य निर्धारण गरेँ, २५ रुपैयाँ।’
२५ रुपैयाँमा खाना खुवाउन सके ज्यालामजदुरी गर्ने, रिक्सा चालक, अस्पताल आएका सेवाग्राहीले केही राहत पाउने उनको भनाइ छ। २५ रुपैयाँमा खाना बेच्दा खर्च पक्कै उठ्दैन, त्यसका लागि उनले उपाय निकालेका छन्– खाद्यान्नलगायत सहयोग जुटाउने। भन्छन्, ‘मैले २५ रुपैयाँमा खाना खुवाउने नाफा लिन होइन, सेवा गर्न हो। त्यसैले यो सेवामा अरूलाई पनि सहभागी गराउँछु। खाद्यान्नलगायत विभिन्न सहयोग अरूबाट पनि लिने गर्छु।’ अन्नपूर्ण भोजनालय सञ्चालनका क्रममा दाताबाट खाद्यान्न सहयोग लिए पनि नगद नलिने उनी बताउँछन्। भन्छन्, ‘नगद सहयोग लिँदा आर्थिक कुरामा भोलिका दिनमा अनेक कुरा सुन्नुपर्छ। त्यसैले नगद नभई जिन्सी सहयोग गर्न अनुरोध गरेका छौँ।’
भारतका थुप्रै ठाउँमा त्यस्ता भोजनालय देखेका छन्, रविले। त्यसैले पनि आँट पलाएको उनी बताउँछन्। आगामी दिनमा शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि काम गर्ने उनको योजना छ। भन्छन्, ‘कोही भोको नरहोस्, सबैले शिक्षा पाउन्, सहज तरिकाको स्वास्थ्य सुविधा सबैको पहुँचमा होस्। यी तीन थोक हुनेबित्तिकै गरिबलाई केही राहत हुन्छ।’
फाउन्डेसनले अबको दुई वर्षभित्र जिल्लाका हरेक विद्यालयमा शुद्ध खानेपानी उपलब्ध गराउने योजना बनाएको छ। प्रदेश सरकारसँग समन्वय गरेर गरिबीको रेखामुनिका जनतालाई कम्तीमा १२ कक्षासम्म पूर्ण रूपले निःशुल्क प्राविधिक शिक्षा उपलब्ध गराउने कार्यक्रम पनि ल्याउने रवि सुनाउँछन्। ‘स्वास्थ्य क्षेत्रका लागि नगरपालिकासँग समन्वय गरेर नगरभित्र सय रुपैयाँमा एम्बुलेन्स उपलब्ध गराउने र जिल्लाभित्र तेल खर्चमा मात्र एम्बुलेन्स उपलब्ध गराउने योजना बनाएका छौँ।’
निर्माण व्यवसायीबाट समाजसेवी
रवि निर्माण व्यवसायी हुन्। परिवारमा श्रीमती र दुई बच्चा छन्। ‘यति भए पुग्यो मलाई,’ उनी भन्छन्, ‘बच्चाहरूको जीवनलाई राम्रो बनाउने र समाजका लागि केही गर्ने हो। चाहिनेजति मात्र पैसा कमाउँछु। केही समय व्यापार, केही समय परिवार, र केही समय सामाजिक क्षेत्रलाई दिनेछु।’
रविमा सानैदेखि सेवाभाव थियो। ‘स्कुल पढ्दाताका कोही मान्छे सडकमा देखेँ भने आफूसँग भएको पाँच÷दश रुपैयाँ दिइहाल्थेँ। टिफिन खाने पैसा अरूलाई दिएर आफू भने भोकै बस्थेँ।’ जाडो याममा अचेल पनि बाटोमा सुतेका मान्छे देख्दा नरमाइलो महसुस हुने उनी बताउँछन्। ‘दुःख पाएकालाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ,’ उनी भन्छन्।
आमा मायादेवी गुप्ताको २०६२ सालमा निधन भएपछि उनको परिवारले च्यारिटी खोल्ने निर्णय गर्यो। आमा निकै सहयोगी र सामाजिक भावनाको भएको रवि बताउँछन्। ‘गाउँमा जाँदा कसैको विवाह भयो भने उसलाई दालचामल पुर्याइदिने, कसैलाई लत्ताकपडा चाहिन्छ भने त्यो उपलब्ध गराइदिने, घर बनाउन लागेकालाई पाँचदश हजार दिने गर्नुहुन्थ्यो,’ आमालाई सम्झिँदै रवि भन्छन्, ‘उहाँको निधनपछि उहाँले छोडेर गएको धनलाई हामीले आपसमा नबाँडी सामाजिक काममै लगाएका हौँ।’ आमाले सञ्चित गरेको रकम अनि त्यसमा केही थपेर च्यारिटी स्थापना गरेको उनी सुनाउँछन्।
कष्टका ती दिन
रविले पोखरा विश्वविद्यालयबाट इन्जिनियरिङ गरेका छन्। तर, इन्जिनियरिङ पेशा नगरी उनी निर्माण व्यवसाय गरिरहेका छन्। अरुण निर्माण सेवा उनको कम्पनी हो। जसले औद्योगिक पूर्वाधार निर्माण गर्ने गर्छ। इन्जिनियरिङको पढाइ सकेपछि एउटा निर्माण कम्पनीमा उनले डेढ वर्ष प्रोजेक्ट म्यानेजर भएर काम गरे। पछि आफ्नै निर्माण कम्पनी खोलेका हुन्।
सन् २०११ तिर उनको निर्माण कम्पनीले नराम्रोसँग घाटा बेहोर्यो। त्यसबेला आफूलाई ठूलो आर्थिक संकट भएको रवि सम्झन्छन्। ‘पोखराको गण्डकी मेडिकल कलेजको निर्माणका लागि १८ करोड ठेक्का सम्झौता भयो,’ उनी भन्छन्, ‘त्यहाँको माहोल र कलेजको आफ्नै समस्याले म एडजस्ट हुन सकिनँ। त्यसैले मलाई ठूलो आर्थिक घाटा भयो। एक वर्ष मलाई निकै कष्ट भयो।’ त्यो समयमा श्रीमतीले आफूलाई धेरै सहयोग गरेको उनी बताउँछन्। ‘घरमा खाना पकाउने सामान जोहो गर्नसमेत गाह्रो थियो,’ उनी सुनाउँछन्, ‘दुईतीन सय रुपैयाँले हप्ताभरको रासन चल्थ्यो। दुःखको बेलामा एक–एक गहना बेचेर श्रीमतीले मलाई सहयोग गरिन्।’ एक वर्षपछि भने आफू बिस्तारै सहज अवस्थामा आएको उनी बताउँछन्। ‘एक वर्षपछि लेनदेन सबै क्लियर गरेँ,’ उनी भन्छन्, ‘त्यसपछि बिस्तारै जीवनले लय समात्यो। अहिले आर्थिक रूपमा स्थिर छु।’
तपाईको कमेन्ट
मुख्य समाचार
-
पायलले लगाइन् कश्यपमाथि आरोप
बुधबार, ०७ असोज २०७७ -
‘मनोबल दह्रो हुने सन्देश दिनुपर्यो’
बुधबार, २४ भदौ २०७७ -
कस्ता मास्क कसरी लगाउने ?
आइतबार, २१ भदौ २०७७ -
‘आफ्नै भाका ल्याउन मन छ’
आइतबार, १४ भदौ २०७७