सपुतले नकाम गरेको आरोप

writer

गोपाल दाहाल

सोमबार, ०२ असार २०७६


निकै वर्षअघि गायक शम्भु राईले गाएको ‘आऊ नाचौँ साथी हो कम्मर कसेर’को लयसँग ‘गलबन्दी’को लय ठ्याक्कै मिल्यो। त्यसपछि सपुतले चोरी गरेको आरोप खेपिरहेका छन्।


गलबन्दी च्यातियो तिम्ले तानेर
बोलाउन खोजेको आफ्नै ठानेर

गायक प्रकाश सपुत र शान्तिश्री परियारको स्वरमा जेठ ११ गते ‘गलबन्दी’ बोलको यो गीत रिलिज भयो। युट्युबमा रातारात लाखौँले यो गीत हेरे। धेरैले टिकटक बनाए। तीन सातामा यो गीत एक करोडभन्दा बढीले हेरिसकेका छन्। यो गीतलाई धेरैले मौलिक गीत भनेर खूब चर्चा पनि गरे। गुरुङ समुदायको रोदी बस्ने परम्परा झल्किने गरी प्रस्तुत गीतले मौलिकता जोगाउन प्रयत्न गरेको भन्दै धेरै वटा अनलाइन, रेडियो, टेलिभिजन र पत्रपत्रिकाले सपुतको तारिफ गरे। कतिले नेपाली संगीतका ‘ट्रेन्ड सेटर’ पनि भने।

यो गीत सुनेपछि सपुतलाई नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले समेत फोन गरेर ‘राम्रो र मौलिक गीत पस्कनु भएकोमा धन्यवाद’ भनेछन्। यो कुरा सपुतले फेसबुक स्ट्याटस लेख्दै सार्वजनिक गरेका थिए। ‘म जहाँ पुगेको छु, त्यहाँ ‘गलबन्दी’ को सफलताको चर्चा मात्रै भएको छैन, लोकसंगीत र मौलिकताको सवालसमेत दरो गरी उठेको छ,’ प्रकाशले फेसबुकमा लेखका छन्, ‘हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भए पनि आईजीपी सर्वेन्द्र खनालज्यूले फोन गरेर राम्रो र मौलिक गीत पस्कनुभएकोमा धन्यवाद दिँदै यसलाई निरन्तरता दिन आग्रह गर्नुभएको थियो।’

अरूले मात्र होइन, सपुत आफैँले पनि ‘मौलिक गीत’ भनेर हाइलाइट गरिरहेका थिए। उनकै शब्द र संगीत भनिएको ‘गलबन्दी’ को चर्चा चलिरहेका बेला मौलिक भनिएको यो गीतलाई चोरीको आरोप लाग्यो।

निकै वर्षअघि गायक शम्भु राईले गाएको ‘आऊ नाचौँ साथी हो कम्मर कसेर’को लयसँग ‘गलबन्दी’को लय ठ्याक्कै मिल्यो। त्यसपछि सपुतले चोरी गरेको आरोप खेपिरहेका छन्। गीत चोरीको आरोप लागे पनि उनले भने आफूले चोरी नगरेको दाबी गरे। उनले आफूले राईका अरू धेरै गीत सुनेको तर ‘आऊ नाचौँ साथी हो’ गीत पहिला नसुनेको बताए। ‘त्यस्तो चर्चा सुनेपछि मात्र मैले यो गीत सुनेँ। लय मिलेको रहेछ तर यो मैले नियतवश गरेको होइन,’ उनले भने। 

सपुतका गीतहरू पहिला पनि सार्वजनिक भएका थिए। उनको ‘दोहोरी ब्याटल’ले चर्चा कमाए पनि उनी आम स्रोतामाझ खासै चिनिएका थिएनन्। एक वर्षअघि ‘बोल माया’ गीत सार्वजनिक भएपछि उनी चर्चाको शिखरमा पुगे। हालसम्म १ करोड २० लाखभन्दा बढीले युट्युबमा हेरेको ‘बोल माया’ सुन्दा देशमा मात्र होइन, विदेशमा रहेका नेपालीका पनि आँखा रसाए। नेपालीको वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता र त्यसले नेपाली समाजमा देखिएका समस्याको कथा प्रस्तुत गरिएको ‘बोल माया’ हिट भएपछि सपुत यही गीत गाउँदै देश–विदेश घुमे।

‘बोल माया’ हिट भएपछि उनको पहिलाको ‘दोहोरी ब्याटल’को खोजी भयो। दर्शक, स्रोताले खोजी–खोजी ‘दोहोरी ब्याटल’ सुने र हेरे। अनि, धेरैले यसलाई पनि नयाँ प्रयोग, मौलिक प्रयोग भनेर प्रतिक्रिया दिए। तर, यो गीत पनि कतैबाट कपी गरिएको आरोप लाग्यो। धेरै अघि नारायणगोपालले गाएको एउटा गीत यस्तो थियोः 

बहिनीको दया छ भने
रोदी घर दाइ नाच्यो नभने

सपुतले प्रीति आलेसँग गाएको ‘दोहोरी ब्याटल’ नारायण गोपालको यही गीतसँग मिल्छ। गीत मिलेपछि चोरी भएको भनेर चर्चा चल्यो। त्यसपछि सपुतले आफ्नै युट्युब च्यानलबाट अपलोड गरेको यो गीतको भिडियोमा ‘सेन्सरपछि’ भनेर यो गीत लोकदोहोरी गीत नभएको उल्लेख गरे। उनले लेखेका छन्, ‘भिडियो हेरिसकेपछि यसलाई नेपाली मौलिकता बोकेको लोकदोहोरी गीतसँग तुलना नगरिदिनुहोला।’

नेपाली संगीत क्षेत्रमा नक्कल र चोरीका चर्चा नयाँ होइनन्। यसअघि पनि गायक तथा संगीतकार आल्मोडा राना उप्रेती, टंक बुढाथोकी, कालिप्रसाद बास्कोटा लगायतलाई गीत चोरी गरेको आरोप लागे। धेरै पुराना सर्जकका गीत नयाँ संगीतकारले कपी गरेर त्यसको श्रेय आफैँले लिने गरेका छन्। त्यसकारण बेलाबेला विवाद उत्पन्न हुने गरेका छन्। नेपालमा कपिराइटसम्बन्धी कानुन भए पनि उजुरी भने कम पर्ने गरेका छन्। 

‘ढिला आयो कडा आयो’

‘गलबन्दी’ गीतको भिडियोलाई सपुतको अघिल्लो चर्चित गीत ‘बोल माया’को सिक्वेल बनाउन खोजिएको छ। ‘बोल माया’को भिडियोमा विदेश गएका श्रीमान् उतै वितेर शव ल्याइएपछि घरमा रहेकी श्रीमतीको बिलौना प्रस्तुत गरिएको छ। ‘गलबन्दी’को भिडियोमा भने ‘बोल माया’की तिनै श्रीमतीबाट जन्मिएको छोराले गाउँको रोदीमा रमाइलो गरेको कथा छ। रोदीमा दोहोरीमार्फत ढिलो जवाफ आएपछि भनिएको शब्द हो, ‘ढिला आयो, कडा आयो।’

यही वाक्य अहिले सामाजिक सञ्जालमा हिट छ। सामाजिक सञ्जालका प्रयोगकर्ता अहिले कसैको स्ट्याटस मन परे कमेन्टमा लेख्छन्, ‘ढिला आयो, कडा आयो।’ यिनै शब्दलाई लिएर धेरै ट्रोल पनि बनेका छन्।

‘गलबन्दी’ गीतमा अन्य भिडियो जोडेर ट्रोल बनाउने लहर पनि चलेको छ। त्यसमध्ये पछिल्लो समय एउटा ट्रोल भिडियो सामाजिक सञ्जालभरि छरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ठाउँमा बोलेका फुटेज र नेकपा अध्यक्ष पुष्पकमल दाहाल, पत्रकार ऋषि धमलालगायत नाचेको भिडियो सम्पादन गरेर गलबन्दी गीतको ट्रोल बनाइएको छ। सामाजिक सञ्जाल ‘ढिलो आयो, कडा आयो’ नामका ग्रुपसमेत बनेका छन्। 

तपाईको कमेन्ट

छुटाउनु भयो कि