शहरमा किताब बटुलेर गाउँ पुर्‍याउँदै

writer

सम्पूर्ण

सोमबार, ०२ असार २०७६


कलेज अध्ययन गरिरहेका ३० जना विद्यार्थीको समूहले ‘शिक्षा तथा अनुसन्धान केन्द्र’ खोलेका छन्। शिक्षासम्बन्धी काम गरिरहेको यस संस्थाले अहिलेसम्म विभिन्न गाउँमा तीन वटा पुस्तकालय खोलेको संस्थाका अध्यक्ष राम न्यौपाने बताउँछन्। ‘एक वर्षमा ग्रामीण भेगमा तीन वटा पुस्तकालय खोल्यौँ,’ उनी भन्छन्, ‘हालै सिन्धुपाल्चोकका हेलम्बुमा पुस्तकालय खोलेका छौँ।’

‘आफूसँग भएको ज्ञान, सीप ग्रामीण क्षेत्रका विद्यार्थीमा बाँड्न पाउँदा खुशी लाग्छ,’ न्यौपाने थप्छन्, ‘विभिन्न विद्यालयमा पुस्तकालय बनाउने मात्र नभई विद्यार्थी र शिक्षकलाई पढ्न सहयोग पुगोस् भनेर पनि काम गरिरहेका छौँ।’ संस्थाले शैक्षिक सामग्रीसँगै नेतृत्व क्षमता अभिवृद्धि गराउने तालिमलगायत कार्यक्रम पनि सञ्चालन गरिरहेको न्यौपाने बताउँछन्। भन्छन्, ‘‘शिक्षा र अनुसन्धान हाम्रो पहिचान, क्षमतालाई निखार्ने हाम्रो युवा अभियान’ भन्ने नारा लिएर संस्था अघि बढिरहेको छ,’ 

कलेजका विद्यार्थीले ग्रामीण भेगका विद्यार्थीका लागि गरेको काम प्रशंसनीय रहेको सिल्धुपाल्चोक, हेलम्बुस्थित सर्वोदय माविका प्रधानाध्यापक रामचन्द्र लामिछाने बताउँछन्। ‘यस संस्थाले हाम्रो विद्यालयमा पुस्तकालय निर्माण गरेर स्कुले विद्यार्थीलाई ठूलो सहयोग गरेको छ,’ उनी भन्छन्, ‘क्षमता अभिवृद्धि तालिममार्फत विद्यार्थी आफूले नबुझेका कुरा बुझ्न सक्ने, सबैका अगाडि उभिएर बोल्न सक्ने भएका छन्।’

आफूहरूले चिनेका व्यक्ति र संस्थाबाट पुस्तक जम्मा गर्ने संस्थाका अध्यक्ष न्यौपाने बताउँछन्। ‘हामी आफूले चिनेको संस्था र व्यक्तिबाट किताब जम्मा गर्छौं,’ उनी भन्छन्, ‘जम्मा भएका किताब पुस्तकालय नभएको विद्यालयमा दिन्छौँ।’ 

]पुस्तक जम्मा पार्ने काम निकै गाह्रो रहेको संस्थाका सदस्य सञ्जोग फुयाल बताउँछन्। ‘किताब जम्मा पार्न एकदमै गाह्रो हुन्छ,’ उनी भन्छन्, ‘केटाकेटी भनेर कसैले पनि हामीलाई पत्याउँदै पत्याउँदैनन्।’ पहिला काम गरेका तस्बिर देखाउँदा अब केहीले पत्याएर सहयोग गर्ने अवस्था रहेको फुयाल बताउँछन्। ‘कतिपयले फोटो देखेपछि पत्याउनुहुन्छ,’ उनी भन्छन्, ‘कतिले स्याबासी पनि दिनुहुन्छ।’ 

संस्थाका सदस्यबाट पैसा उठाएर स्कुले विद्याथीका लागि कपी, कलम र खेलकुद सामग्री किन्ने गरेको फुयाल बताउँछन्। ‘एक हप्ता विद्यालयमा पुस्तकालय निर्माण गर्न लाग्छ,’ उनी भन्छन्, ‘त्यसपछि आफूले लगेको कपी, किताब, खेलकुद साम्रगी विद्यालयलाई दिएर फर्किन्छौँ।’ 

स्कुल पढ्दाताका आफूहरूले पुस्तकालयको अभाव भोगेको बताउँछिन्, संस्थाकी सदस्य दिप्सा श्रेष्ठ। ‘हामीले भोगेजस्तो अभाव अरू विद्यार्थीले भोग्न नपरोस् भनेर गाउँ–गाउँ पुगेर संस्थाले पुस्तकालय निर्माण गर्ने गरेको छ,’ उनी भन्छिन्, ‘सानो सहयोगले कसैले पढ्न पाउँछ भने यो हाम्रो लागि ठूलो उपलब्धि हो।’

तपाईको कमेन्ट

पपुलर पोस्ट


छुटाउनु भयो कि