‘महिला शिक्षित भए  सात पुस्ता शिक्षित हुन्छन्’

writer

मेनुका कोइराला

सोमबार, ०२ असार २०७६


काठमाडौँ, बौद्धस्थित ‘समता कलेज’को क्यान्टिनमा मदन लिम्बू, शंकर सिग्देल, कल्पना तामाङ, हिरामाया तामाङ, प्रकाश तामाङ, वसन्ती श्रेष्ठ गफिँदै थिए। उनीहरू बीबीए दोस्रो वर्षका विद्यार्थी हुन्।


कल्पनाः साथीहरू, आज कलेज आइपुग्न ढिला भयो। सरले गेटबाट भित्र छिर्न दिनुभएन। लास्ट वार्निङ दिनुभएको छ।
शंकरः म पनि ढिला भएको थिएँ। मेरो फोनमा अलार्म नै बजेनछ। फस्ट पिरियड छुटाएँ नि मैले।
प्रकाशः ठिक्क पर्‍यो, रातभरि केटीसँग च्याट गरेर बस् कसले भनेको छ ? अनि, बिहान उठ्न ढिला भइहाल्छ नि !
शंकरः कति गलत सोचाइ छ है, प्रकाश तिम्रो। रातभरि अनलाइन भएँ भन्दैमा केटीसँग च्याट गरेर मात्रै बसिन्छ कि क्या हो।
कल्पनाः त्यही त अरू काम पनि हुन सक्छ नि ! के थाहा रातभर पढेर पो बसेको हो कि ? 
प्रकाशः मैले त शंकरलाई केही भन्नै हुँदैन। कल्पनालाई रिस उठिहाल्छ। के हो के, बुझ्नै ग्राहो।
हिराः मिल्ने साथीको सपोर्ट गरेको नि कल्पनाले। धेरै दिनपछि कलेज आइयो। म त बिहान छिट्टै आइपुगेकी थिएँ। म आउँदा कोही थिएन कक्षामा।
मदनः हिरा, तिमी किन यत्रो दिन कलेज नआ’को ? सरले पनि सोधिरहनुभएको थियो। 
शंकरः धेरै दिनपछि देख्दै छु तिमीलाई। बिरामी थियौ ?
हिराः होइन, के गर्नु कलेज आउन मन त लाग्छ तर बच्चालाई स्कुल पनि पुर्‍याउनुपर्छ, घरको काम पनि गर्नैपर्‍यो। त्यसैले कहिलेकाहीँ समय मिलाएर कलेज
आउँछु।
मदनः तिमी विवाहित हो, हिरा ? मलाई त आजसम्म थाहा थिएन।
कल्पनाः हो नि ! उसको तीन वर्षको छोरा पनि छ।
प्रकाशः कति छिट्टै बिहे गरेकी त ?
हिराः के गर्नु ? पहिला बिहे गरेपछि के–के न होलाजस्तो भयो। अहिले पछुताउँदै छु। पढाइ र घरव्यवहार सँगसँगै लग्न एकदमै गाह्रो रहेछ। पढेन भने अहिलेको समयमा कामै छैन। जागिर नगरे पनि छोराछोरीलाई सिकाउनका लागि पनि पढ्नैपर्छ।
कल्पनाः पढ्नु त परिहाल्यो नि ! मैले पनि नौ वर्षपछि पढाइको महत्त्व बुझेर फेरि ब्याचलर्समा भर्ना भएँ। 
मदनः हो र ? तिमीहरू दुवै जना एकदमै मेहनती रहेछौ।
कल्पनाः हो। म १२ सकेर विदेश गएकी थिएँ। त्यहाँ त पढाइको महत्त्व धेरै हुने रैछ। नपढेकाले काम पनि सानै पाउँछन्, पढेलेखेकाले राम्रो कामसँगै इज्जत पनि पाउँछन्। म पनि पढ्नुपर्छ भनेर नेपाल फर्किएँ। 
शंकरः हामी चाहिँ पढाइ सकिएपछि विदेश जानुपर्छ भनेर सोचिरहेका छौँ। तिमी गएको मान्छे किन फर्किएको ? कमाइ कस्तो थियो ? पैसा कमाए भइहाल्यो नि। पढाइ किन चाहियो ? पैसा कमाउनका लागि त पढ्ने हो हैन र ? 
प्रकाशः पढेर काम गर्नु र नपढी काम गर्नुमा फरक छ। पढेको मान्छे भनेपछि सबैले इज्जत गर्छन्, नपढेको भनेपछि सबैले हेप्छन्। पढेको मान्छेले कामको सम्मान गर्छ। पैसा कमाएर मात्र पनि हँुदैन। 
मदनः पढाइको महत्त्व धेरै हुन्छ। त्यही बुझेर हिरा पनि पढ्न आएकी हुन्। झन् कल्पनाको कुरा सुनेर त मलाई विदेश जान मन लागेन। 
हिराः आज बिहान कलेज आउँदा मैले बाटोमा ३०÷३५ वर्षकी महिलालाई १२ को जाँच दिन जाँदै गरेको देखेकी थिएँ। आजकल शिक्षाको महत्त्व सबैले बुझेका छन्। 
कल्पनाः ज्ञान पाउन उमेरले छेक्दैन। करिश्मा मानन्धर यसको गतिलो उदाहरण हुन्। 
शंकरः हो नि ! अबको जमानामा पनि कसैले पढेन भने भविष्यमा प्रगति गर्न सक्दैन। 
कल्पनाः प्रगतिभन्दा पनि आफूले सिकेको ज्ञान आफूभन्दा सानालाई सिकाउन पाइन्छ। समाजमा पढेलेखेको मान्छेको कुरा सबैले सुन्छन्। त्यसैले त म विदेशबाट पढ्नकै लागि फर्किएँ। 
हिराः ठीक भन्यौ कल्पना, मलाई पनि घरमा पढेकी बुहारी भनेर इज्जत गर्छन्। आफ्नो छोरालाई घरमा होमवर्क सिकाउँछु, बच्चाका लागि भए पनि पढ्नुपर्छ। 
मदनः पहिलाजस्तो समाज अहिले कहाँ छ ? महिलाहरू धेरै अगाडि बढिसकेका छन्। देख्दा खुशी लाग्छ। अहिलेका महिला चुलोचौकामा मात्र सीमित छैनन्।
प्रकाशः भनिन्छ, एउटा महिला शिक्षित भए उसका सात पुस्ता शिक्षित हुन्छन्। अब बिस्तारै हाम्रो देशले प्रगति गर्छ होला। 

तपाईको कमेन्ट

मुख्य समाचार


पपुलर पोस्ट


छुटाउनु भयो कि