धरानमा डेंगू त्रास

writer

गोपाल दाहाल

बिहिबार, ३० जेठ २०७६


धरानमा धुवाँबाट लामखुट्टे मार्ने फगिङ मेसिन ।

धरानमा डेंगू फैलिएपछि उपमहानगरपालिकाले धुवाँबाट लामखुट्टे मार्ने फगिङ मेसिन खरिद गरेको छ। प्रभावित क्षेत्रमा दैनिक फगिङ गरिरहेको छ। तर, डेंगू संक्रमितको संख्या दैनिक बढ्दो छ।


धरान : ‘धरानमा डेंगू आतंक, आजदेखि डेंगूले हाम्रो घरपरिवारमा पनि हमला सुरु ग¥यो छोरीबाट। नगर सरकार यो महामारी अन्त्यको लागि अझ विशेष पहल चालियोस्। र, सर्वसाधारणलाई ज्वरो आउनेबित्तिकै हस्पिटल जानुहोस् भनेर अनुरोध गर्न चाहन्छु।’

नेकपाका स्थानीय नेता अइन्द्रविक्रम बेघाले जेठ २४ गते फेसबुकमा लेखेको स्ट्याटस हो यो। बेघाको परिवारजस्तै धरानका घर–घरमा अहिले लामखुट्टेको टोकाइबाट हुने डेंगूको त्रास छ। वैशाख ३१ देखि धरानमा देखिएको डेंगू नियन्त्रण हुनुको साटो झन् फैलिरहेको छ। एक महिनामा धरानका करिब चार सय जनामा यो रोग देखिएको छ। 

चिकित्सकका अनुसार डेंगू संक्रमित एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेबाट मानिसमा सर्छ। यो लामखुट्टे जमेको सग्लो पानीमा बस्ने गर्छ। त्यस्तो पानीमा यसका प्युरा र लार्भा हुन्छन्। पानी सुके पनि यसको अण्डा वर्ष दिनसम्म रहिरहने भएकाले डेंगू नियन्त्रण गर्न मुश्किल भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव बताउँछन्। विशेष गरी, धरानका वडा नं. १५ र ८ बाट फैलिएको डेंगू धरानका अन्य वार्डसँगै इटहरी र मोरङको पथरी शनिश्चरेमा पनि देखिन थालेको छ। धरान उपमहानगरपालिकाले वडा नं. ८ र १५ लाई ‘स्वास्थ्य संकटग्रस्त क्षेत्र’ घोषणा गरेको छ।

डेंगू फैलिएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र धरान उपमहानगरपालिकाले यसलाई नियन्त्रण गर्न ¥यापिड रेस्पोन्स टिम नै गठन गरे। टिमले प्रभावित क्षेत्रमा पुगेर अध्ययन गर्दा ९८ प्रतिशत घरमा डेंगूका अण्डा, लार्भा र प्युपा फेला परेको रेस्पोन्स टिमका सदस्य महेश्वर राईले बताए। 

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तथा रेस्पोन्स टिमका सह–संयोजक रामबाबु यादवका अनुसार घरमा फूल रोप्न राखिएका गमला, प्लास्टिकका बोतल, टायर, जुठेल्नामा राखिएको भाँडा, बिर्कोबिनाको खानेपानी ट्यांकीमा डेंगूका अण्डा, लार्भा र प्युपा फेला परेका थिए। नियन्त्रणबाहिर गएपछि स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका महानिर्देशक डा. गुणराज लोहनीसहितको टोली नै आएर अनुगमन ग¥यो तर अझै डेंगू नियन्त्रण हुन सकेको छैन। प्रदेश सरकारले डेंगू नियन्त्रणका लागि ८० लाख रुपैयाँ बजेट छुट्याएको छ।

गत वर्ष झापा, दमकका विभिन्न ठाउँमा डेंगूबाट करिब दुई दर्जन बिरामी परेका थिए भने धरानमा पनि गत कात्तिकमा आठ जनामा यो रोग देखिएको थियो। डा. मुकेशकुमार साहका अनुसार डेंगूका बिरामीलाई सामान्य ज्वरो आउने, जीउ दुख्ने, जोर्नीहरू दुख्ने, टाउको दुख्ने र आलस्य हुनेजस्ता लक्षण देखिन्छन्। डा. साहका अनुसार यसअघि डेंगूबाट झापाको काँकडभिट्टामा दुई बिरामीको मृत्यु भएको पुष्टि भएको थियो। ‘रोग पहिचान भएपछि बिरामी आत्तिन्छन्, त्यसो गर्नु हुन्न,’ डा. साह भन्छन्, ‘यस रोगको नियन्त्रण र उपचार दुवै सम्भव छ।’ यसलाई सामान्य ठानेर सरकारले चासो नदिने हो भने विकराल रूप लिन सक्ने र धेरैको ज्यान जान सक्ने डा. साह बताउँछन्।
धरानमा डेंगू फैलिएपछि उपमहानगरपालिकाले धुवाँबाट लामखुट्टे मार्ने फगिङ मेसिन खरिद गरेको छ। र, प्रभावित क्षेत्रमा दैनिक फगिङ गरिरहेको छ। तर, पनि डेंगू संक्रमितको संख्या दैनिक बढ्दो छ। हाल छ थान फगिङ मेसिन प्रयोग गरेर संक्रमित क्षेत्रमा अल्फासाइपरमेथ्रिन छरिने गरेको छ। तर, यसले मात्र नियन्त्रण हुन नसक्ने ¥यापिड रेस्पोन्स टिमले निष्कर्ष निकालेको छ। फगिङ गर्दा लामखुट्टे मर्छ तर अण्डा, लार्भा र प्यूपा नमर्ने भएकाले पानी नै सुकाउनुपर्ने ¥यापिड रेस्पोन्स टिमका सदस्य तथा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सामान्य प्रशासन महाशाखाका वरिष्ठ सहायक अधिकृत महेश्वर राई बताउँछन्। भन्छन्, ‘घर–घरमा सबै सचेत नभएसम्म डेंगू नियन्त्रण हुन गाह्रो छ।’ 

धरानमा टाइप टू

बीपी प्रतिष्ठानका माइक्रोबायोलोजी विभागका एडिसनल प्रोफेसर डा. नारायण भट्टराईका अनुसार डेंगूका चार प्रकारका भाइरस हुन्छन्। त्यसमध्ये धरानमा डेंगू टू टाइपको संक्रमण फैलिएको हो। डेंगू वान संक्रमण भएको व्यक्तिलाई टू वा थ्री भाइरस संक्रमण भए खतरा हुन्छ। तर, जुन भाइरसबाट संक्रमण भएको हो, सोही भाइरसले फेरि संक्रमण गरेमा खतरा हँुदैन। ‘तर, धरानमा देखिएको टाइप टू भाइरस संक्रमण भइरहेको बेला टाइप थ्री व टाइप फोर भाइरसको संक्रमण भएमा खतरा हुन्छ,’ भट्टराई भन्छन्, ‘त्यसका लागि डेंगूको अण्डा, लार्भा र प्युपा नष्ट गर्नुको विकल्प छैन।’ 

धरानमा डेंगू फैलाउने एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टेसँगै एडिस एल्बो पिकस प्रजातिको लामखुट्टे पनि फेला परेको छ। यो प्रजातिको लामखुट्टेले केही समयअघि पोखरामा पनि डेंगू फैलाएको पत्ता लागेको थियो।  

पथरीमा पनि डेंगू 
मोरङको पथरी, शनिश्चरे क्षेत्रमा पनि डेंगू देखापरेको छ। यो फैलिन नदिन नगरको दैवीय प्रकोप तथा महामारी रोग नियन्त्रणको ¥यापिड सेन्पोन्स टिमले अनुगमन अघि बढाएको छ।
नगरप्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, रेस्पोन्स टिमका संयोजक एवं स्वास्थ्य संयोजक मुरारी आचार्यसहितको टोलीले नगरको सरसफाईको अवस्थाबारे अवलोकन गर्दै सफा पानी जम्ने ठाउँबाट पानी नष्ट गर्न तथा टायर, बट्टामा पानी जमेको भए नष्ट गर्न सचेत गराएको छ। घना बस्ती रहेको पथरी बजार क्षेत्रमा टायर, बट्टासहित सफा पानी जम्ने ठाउँ प्रशस्त रहेकाले लगातार डेंगूको संक्रमण देखिँदै आएको छ। 

छिटो फैलिने रोग  
डा. मुकेशकुमार साह विश्वमा लामखुट्टेको टोकाइबाट अति नै शीघ्र फैलिने भाइरसको संक्रमणबाट हुने रोगमध्ये डेंगू पनि पर्ने बताउँछन्। उनका अनुसार विश्वभर नै यो रोगको फैलावट भए पनि एसिया खास गरी भारत र नेपालमा पछिल्लो समयमा समस्याका रूपमा देखिएको छ।
यो रोगले ग्रस्त भएका क्षेत्रका मानिसको आर्थिक, शारीरिक र मानसिक बोझ हुने गरेको विश्व स्वास्थ्य संगठनका प्रतिवेदनमा उल्लेख छ। नेपालजस्तो कमजोर आर्थिकस्तर भएको समाजमा यो रोगको प्रकोपबाट धेरै प्रभाव पर्ने भएकोले सरकारले समयमा नै समाधान खोज्नुपर्ने उनको तर्क छ।
बिरामीको लक्षण र अस्पतालमा गरिने परीक्षणबाट यो रोगको पहिचान गर्न सकिन्छ। रगतमा श्वेत कोषिका कम भएको, प्लेटलेटको संख्या कम भएको वा रगतमा उक्त भाइरसको एन्टिजेन एनएसवानएजी पोजिटिभ आएमा सो भाइरसको बोझ शरीरमा रहेको पत्ता लाग्ने डा. साह बताउँछन्। उक्त भाइरसविरुद्ध मानिसको शरीरले बनाउने एन्टिबडीमध्ये आईजीएम र आईजीजी पनि पोजिटिभ हुन सक्ने उनी बताउँछन्। शरीरमा हेमाटोक्रिटको मात्रा उच्च हुने ल्याब परीक्षण यस रोगको पहिचानमा सफल मानिन्छ।
डेंगूको उपचार सुरुमा चिकित्सकको निगरानीमा लक्षणअनुसार गरिन्छ। शरीरमा पानीको मात्रा कम भए सोहीअनुसार पानीको मात्रा कम हुन नदिन सलाइन चढाइन्छ। तर, शरीरमा प्लेटलेटको मात्र कम भएमा कम्पोनेन्ट ब्लड (सेतो रगत) चढाइन्छ। बिरामी सिकिस्त भएमा सघन उपचार कक्षमा चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्नुपर्ने हुन्छ।
 

तपाईको कमेन्ट

मुख्य समाचार


छुटाउनु भयो कि