आफन्त सिध्याउने आफन्त

writer

गोपाल दाहाल

सोमबार, २७ जेठ २०७६


गत जेठ १४ गते मंगलबार बिहानै एउटा दुःखद खबर फैलियो, ‘भोजपुरमा एउटी आमाले नाबालक छोराको हत्या गरिन्।’ त्यसको केही समयपछि दुई टुक्रा भएको बालकको शवको फोटोसहित सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरूमा समाचार भाइरल भयो। ‘कस्ती निर्दयी आमा’ लेख्दै धेरैले उक्त फोटो र घटना सेयर गरे। 

मंगलबार बिहान भोजपुर बजारको पानीट्यांकी बस्ने २५ वर्षीया सम्झना थापा बस्नेतले  २२ महिनाको छोरा सम्बोधनलाई घरको छतमा लगेर अचानोमा राखी खुकुरीले घाँटी काटेर हत्या गरिन्। छोराछोरीका लागि ‘ममताकी खानी’ भनिने आमाबाटै यस्तो क्रूर हत्याले सिंगो देशलाई स्तब्ध बनायो। 

भोजपुरको बासिखोरा गाउँपालिकाकी सम्झना बस्नेतको तीन वर्षअघि सूर्य थापासँग विवाह भएको थियो। विवाह भएको केही समयपछि सम्झना बिरामी हुन थालिन्। सम्झनाकी दिदी सविना बस्नेतका अनुसार सम्झनालाई ‘छोप्ने बिराम’ले भेट्यो। सम्झना कुल देउता रिसाएर यस्तो भएको सुनाउँथिन्। 

सम्झनाका दुई दिदीहरू भोजपुर बजारको पानीट्यांकीमा बस्थे। सम्झना पनि बासिखोराबाट दिदीहरू भएकै ठाउँमा गइन्। त्यहीँ सानो पसल चलाउँथिन्। छोरा सम्बोधन जन्मिएपछि पसल हेर्ने र बच्चा स्याहार्ने दुवै कामको भारदेखि उनी दिक्क हुन्थिन्। श्रीमानले घरायसी काममा सहयोग नगरेको भन्दै दिदीहरूसँग गुनासो गर्थिन्। बच्चाकै विषयमा बेलाबेला उनीहरूको झगडा पनि पथ्र्यो। उनको रोग झन् बढ्न थाल्यो। दिदी सविनाका अनुसार सम्झना बेलाबेला सानो छोरालाई देखाएर ‘मेरो छोरा राक्षसजस्तो भएर आयो, मलाई आक्रमण गर्न लाग्यो’ भन्दै अरूको काखमा फ्याँकिदिन्थिन्। कहिलेकाहीँ ‘नानीले मलाई शिवजी बनेर विष रोप्न खोज्छ, म यसलाई मारेर आफू पनि मर्छु’ भन्थिन्। 

केही समयअघि उनलाई मानसिक समस्या भएपछि आफन्तले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचार गराएका थिए। त्यसपछि उनी औषधि खाइरहेकी थिइन्। डेढ वर्षसम्म सँगै बसेका उनका पति सूर्य पछिल्लो समय बेग्लै बसेका थिए। सम्झना आफैँ पसल गरेर व्यवहार चलाउँथिन्। पछिल्लो समय सम्झनाकी दिदी सविना पनि सम्झना र सम्बोधनसँगै बस्थिन्।

बालक सम्बोधन आफ्नी आमालाई ‘सम्झना’ भनेर बोलाउँथे भने ठूलीआमा सविनालाई चाहिँ ‘ममी’ भन्थे। सविनासँग साह्रै झ्याम्मिन्थे। उनीसँगै खाने, सुत्ने गर्थे।

घटनाको अघिल्लो दिन सविना घरमा थिइनन्। सम्बोधन बिरामी थिए। राति आमासँग झगडा गरेर धेरै बेर रोए। पल्लो घरमा बस्ने सम्झनाकी जेठी दिदीले उनलाई सुताइन्।   

सम्झनाले बिहानै उठेर चिया, नास्ता पकाइन्। अरूलाई पनि दिइन् र आफूले पनि खाइन्। उनले दिदी सविनालाई फोन गरेर ‘कति बेला घर आउने ?’ भनेर सोधिन्। दिदीले ‘आउँदै छु’ भनेकी थिइन्। बच्चा चाहिँ दिदीकै घरमा अरूसँग दूध र पाउरोटी खाँदै थिए। सविनाका अनुसार लुगा सुकाउन छतमा गएकी सम्झनाले बच्चा पठाइदिन आग्रह गरिन्। तर, उनले बच्चा नपठाई आफैँ गइन्। त्यसको केही बेरपछि उनी आफ्नै काममा व्यस्त भइन्। 

एकछिनपछि सम्झना छतबाट तल आएर ‘मैले बच्चा मारेँ’ भनिन्। उनका कुरा नपत्याएर छतमा उक्लिएकी उनकी दिदीले बच्चा दुई टुक्रा भएको देखेपछि रुवावासी चल्यो। त्यसपछि सम्झनाले भनिन्, ‘पुलिसले तपाईंहरूलाई समाउँछ भनेर मात्र सुनाउन आएकी हुँ, अब म छतबाट हाम्फालेर मर्छु।’ उनी यसो भन्दै दौडिन्। सविनाले समातेर जान दिइनन्। त्यतिबेला सम्झनाको अनुहारमा कुनै पिर, चिन्ता थिएन। उनी समान्य अवस्थामा झैँ चुपचाप बसिन्। आँखामा एक थोपा आँशु पनि थिएन। 

सम्झना अहिले प्रहरी हिरासतमा छिन्। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

पाँचथरको मिक्लाजुङ गाउँपालिका, आरुबोटेका धनराज सेर्मा लिम्बूलाई बिसञ्चो भएपछि जेठ ६ गते घरमा धामी बोलाइएको थियो। धामीले जोखाना हेर्दै ग्रहदशा नराम्रो भएको भन्दै झारफुक गरिदिए। 

धामी गएपछि धनराज, उनकी श्रीमती जस्मिता फियाक र छोरीहरू योवना, मुना र इक्सा मस्त निदाए। धनराजको ससुराली घरमा पनि ससुरा बमप्रसाद फियाक, सासु पुर्चीमाया फियाक, उनीहरूकी छोरी मनकुमारी, अर्की छोरीपट्टिका नातिनीहरू आशिका खजुम र सीता खजुम मस्त निदाएका थिए। 

धनराजको घरबाट धामी गएको केही घण्टापछि एक जना मकुन्डोधारी व्यक्ति हातमा खुकुरी बोकेर सुरुमा बमप्रसादको घरमा पुगे। त्यहाँ जथाभावी खुकुरी प्रहार गरेर चार जनाको हत्या गरे। सीता भागेर बाँचिन् अरू सबैको नृशंस हत्या भयो। त्यसपछि धनराजको परिवारको पनि उसै गरी क्रूर तरिकाले हत्या भयो।

एकैरात नौ जनाको हत्या भएको विषयमा भोलिपल्ट बिहान अनुसन्धान गर्न घटनास्थल पुगेका प्रहरी र स्थानीयहरूले अनुसन्धान सुरु नहुँदै अर्को खबर सुने, ‘बमप्रसादका ज्वाइँ र धनराजका साढुभाइ मानबहादुर माखिम लिम्बूले झुन्डिएर आत्महत्या गरे।’  

बमप्रसादकी कान्छी छोरी मनकुमारी र मानबहादुर माखिमको केही समयअघि विवाह भएको थियो। विवाहपछि उनी विदेश गए। मानबहादुरलाई मानसिक समस्या देखियो। यता गाउँमा मनकुमारी ‘अर्कैसँग लागेको’ चर्चा चल्यो। मानबहादुर विदेशबाट फर्किएपछि पनि उनीहरूबीच सम्बन्ध राम्रो भएन। त्यसपछि मनकुमारी माइती बस्दै आएकी थिइन्। मानबहादुर दुई वर्षदेखि मानसिक समस्याको औषधि खाइरहेका थिए। स्थानीय बासिन्दाका अनुसार उनले विराटनगरमा जाँच गराएर औषधि खाने गरेका थिए।

श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनी एक्लै घरमा बस्दै आएका थिए। मनकुमारीले मानबहादुरसँग बस्न नसक्ने भनेपछि उनका बुवा बमप्रसाद र भिनाजु धनराजले माइतीमै बस्न सुझाव दिएका थिए। उनीहरूले सम्बन्ध विच्छेदको प्रक्रियाका लागि सहयोग पनि गरेका थिए।

घटनाको केही साताअघि मात्र गाउँमा ढाका बुन्ने तालिम सञ्चालन भएको थियो। धनराजकी श्रीमती जस्मिता तालिमकी प्रशिक्षक पनि थिइन्। उनकै घरमा प्रशिक्षार्थीहरूले खाजा भएका थिए। खाजा खाने सबै जना बिरामी भएपछि अनुसन्धान गर्दा नुनमा सिसाको धुलो मिसिएको पाइएको थियो। नुनमा त्यसरी सिसाको धुलो आफ्नै साढुभाइ मानबहादुरले मिसाएको दाबी गर्दै धनराजले प्रहरीमा जानकारी पनि गराएका थिए। तर, प्रहरीले त्यस विषयमा अनुसन्धान गरेन। त्यसपछि मानबहादुर साढुदाइ धनराजसँग झनै रिसाएका थिए।

यिनै घटनाक्रमको आधारमा प्रहरी मानबहादुरले नै नौ जनाको हत्या गरेर आत्महत्या गरेको निष्कर्षमा पुगेको छ। मानबहादुरको शव भेटिएको नजिकै खुकुरी, दाप र रगत लतपतिएको लुगा भेटिएको थियो भने मानबहादुरको घरमा पनि रगतको दाग लागेको लुगा र मानबहादुर झुन्डिएकै जस्तो डोरी पनि भेटिएको थियो। पाँचथर जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेन्द्र कुँवर विभिन्न घटनाक्रम र भेटिएका प्रमाणले मानबहादुरले नै हत्या गरेको पुष्टि भएको बताउँछन्। सुरुमा आफन्तले मानबहादुर एक्लैले यस्तो हत्या गर्न नसक्ने भन्दै थप अनुसन्धानको माग गरेका थिए। तर, पछिल्लो समय स्थानीय र आफन्त पनि हत्या उनैले गरेको निष्कर्षमा पुगे। भागेर बाँचेकी सीताको एक नम्बर प्रदेश सरकारले शिक्षादीक्षाको जिम्मा लिएको छ।

गत वैशाख २६ गते दार्चुलाको व्यास गाउँपालिका–५, चुकपानीमा आफ्नै आमाबाबुले नाबालक छोरी जलाएर मारे। चुकपानीका नवीन विष्ट र आमा शिला विष्टले आफ्नै १० महिनाकी छोरीलाई रातको समयमा खरको थुप्रोमा राखेर आगो लगाइदिएका थिए। उनीहरू घटनापछि भाग्दै गरेको अवस्थामा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। 

वैशाख २६ मा ललितपुरका उज्ज्वल महतले आफ्नी भाइबुहारी अञ्जना लामा महतको खुकुरी प्रहार गरेर हत्या गरे। 

हत्या गरेपछि उनले आफ्नी आमालाई ‘बुहारी मारेँ’ भनेर जानकारी दिएका थिए। हत्यापछि उनी निर्धक्क घरमै बसिरहेको थिए। प्रहरीले घरमै गएर उनलाई पक्राउ गरेको थियो। महानगरीय प्रहरी वृत्त, चापागाउँ स्रोतका अनुसार घटना हुनुअघिबाटै उज्ज्वल भाइ प्रज्वल र बुहारी अञ्जनासँग असन्तुष्ट थिए। ‘हामीलाई बयान दिने क्रममा उनले बुहारीसँग पहिल्यैदेखि झगडा भइआएको स्विकारेका छन्,’ चापागाउँ प्रहरीका एक अनुसन्धान अधिकारीले बताए। उनका अनुसार भाइबुहारीले घर बन्धकी राखेर क्यानडा जाने प्रक्रिया थालेलगत्तै उनले असन्तुष्टि व्यक्त गरेका थिए। उज्ज्वल चर्चित गीत ‘सुन साइँली’ का रेकर्डिस्ट पनि हुन्। प्रहरीका अनुसार उनलाई मानसिक समस्या थियो।

वैशाख १० गते ललितपुरको गोदावरी नगरपालिका–१, बिसंखु, गोदामचौरमा श्रीमतीको टाउको बोकेर हिँड्दै गरेका ४२ वर्षीय जयबहादुर वाइबालाई प्रहरीले पक्राउ गर्‍यो।

उनी एकाबिहानै श्रीमती ४१ वर्षीया मनमाया वाइबाको हत्या गरेर टाउको झुन्ड्याएर हिँडिरहेका थिए। प्रहरीका अनुसार जयबहादुरलाई मानसिक समस्या थियो। उनले प्रहरीसँग श्रीमतीले सधँै किचकिच गरेकाले हत्या गरेको बयान दिएका थिए। उनले श्रीमतीले सधँै तनाव दिएपछि खुर्पाले टाउको छिनाएर मारेको बताएका थिए। प्रहरीका अनुसार जयबहादुर काँचो इँटा बनाएर बेच्ने काम गर्थे। आर्थिक अवस्था कमजोर भएका उनीहरूका दुई सन्तान छन्। आर्थिक कारणले नै परिवारमा बेलाबेला झगडा हुने गरेको थियो। केही समयदेखि डिप्रेसनको औषधि खाइरहेका जयबहादुरको अनुहारमा श्रीमतीको हत्या गरेकोमा कुनै पश्चात्ताप, चिन्ता देखिँदैनथ्यो।

जेठ ७ गते सिराहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नं. ११, बस्तीपुरमा चन्देश्वर यादवले आफ्नी पत्नी २९ वर्षीया ऋतुदेवी यादवको घाँटी थिचेर हत्या गरे।

स्थानीयका अनुसार उनी ऋतुदेवीलाई ‘छोरा नजन्माएको’ भन्दै सधैँ कुटपिट गर्थे। त्यस दिन पनि छिमेकीले हत्या गरेको थाहा पाएपनि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। 

वैशाख १२ गते सप्तरीको कल्याणपुर–८, अरङ्की २१ वर्षीया कञ्चन मण्डललाई उनकै पति बेचु मण्डल र सासू मिलेर शरीरमा मट्टितेल खन्याएर आगो लगाए। कञ्चनको उपचारका क्रममा भोलिपल्ट निधन भयो।

वैशाख १९ मा सिराहा नगरपालिका, खिरौनाकी २१ वर्षीया मनीषाकुमारी मण्डलको पति रामनरेश मण्डल र सासू तारादेवी मण्डलको कुटपिटबाट मृत्यु भयो।

निर्दयी आफन्त 

नेपाल प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२÷०७३ मा आफन्तबाट मारिनेको संख्या १ सय ५७ अर्थात् कुल हत्याको २६ प्रतिशत थियो। आव ०७३÷७४ मा यो संख्या बढेर १ सय ७७ अर्थात् कुल हत्याको २९ प्रतिशत पुग्यो। त्यसै गरी, ०७४÷०७५ को तथ्यांकलाई हेर्दा यो संख्या बढेर २ सय ६ जना अर्थात् कुल हत्याको ३३ प्रतिशत पुगेको छ। 

यस आर्थिक वर्ष ०७५÷७६ फागुन मसान्तसम्मको तथ्यांकलाई हेर्ने हो भने १ सय ४४ जनाले आफन्तबाट ज्यान गुमाएको देखिएको छ। तथ्यांकमा सबैभन्दा बढी श्रीमान्ले श्रीमतीको हत्या गरेको पाइएको छ। 

नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल समाजमा मानवीय संवेदना हराउँदै गएकाले यस्ता घटना दिन प्रतिदिन बढ्दै गइरहेको बताउँछन्। ‘समाजमा संस्कार, मूल्य र मान्यता भन्ने कुरा हराउँदै गए,’ उनले भने, ‘प्रविधिको विकाससँगै नकारात्मक सोच र विचारहरू पनि भित्रिए। सुविधासम्पन्न, झन्झटमुक्त र सहज जीवनको अपेक्षामा मानिसहरू व्यक्तिवादी बन्दै गए र मानवीय संवेदना हराउँदै गयो।’ 

पारिवारिक झै–झगडा, व्यवहार, आचरण, रोजगारी, आर्थिक अवस्था, सामाजिक परिवेश र सोचका कारण यस्ता घटना हुने गरेको उनले बताए। ‘यस्ता घटना हुनुअघि दुई पक्षबीच ठूलो विवाद हुन्छ,’ उनले भने, ‘अपराधीले पीडितलाई हेर्ने दृष्टिकोण नकारात्मक हुन्छ। नकारात्मक सोचले सीमा नाघ्दै गएपछि अप्रिय घटना हुन सक्छ।’

पारिवारिक घटनामा घटना अप्रिय नभएसम्म बाहिर नआउने उनले बताए। ‘असल सम्बन्ध भएका श्रीमान् र श्रीमातीको रात कति बेला खराब हुन्छ पत्तै हुँदैन,’ उनले भने, ‘परिवारको कुरा बाहिर आउँदा मान, सम्मान र प्रतिष्ठामा असर पर्छ भनेर धेरैले लुकाउँछन्। ‘श्रीमान् श्रीमतीको झगडा परालको आगो’ भन्दै चुपचाप बस्ने चलन छ, तर कहिलेकाहीँ त्यही परालको आगोले भयानक रूप लिन सक्छ।’ 

मनोचिकित्सक प्रा.डा. रवि शाक्यलाई भने ‘मानवीय संवेदना हराउँदै गएर यस्ता अपराध बढेको’ भन्नेमा विश्वास छैन। मानसिक रोगबारे जानकारी नहुनुलाई उनी यसको प्रमुख कारण मान्छन्। ‘मानसिक रोगलाई मानिसहरूले महत्त्व नदिएकाले यस्ता घटना बढेका हुन्,’ उनले भने, ‘मानसिक रोगबारे चेतना भए यस्ता घटना धेरै कम हुन्थे। अहिले बाहिर आएका सबै हत्याका घटना मानसिक स्वास्थ्यसँग जोडिएका छन्।’
यस्ता घटना पहिला पनि हुने, तर बाहिर नआउने डा. शाक्यको अनुभव छ। उनका अनुभवमा यस्ता धेरै घटना छन्। तीमध्ये केहीलाई उनले अहिलेसम्म बिर्सिन सकेका छैनन्। 

केही वर्षअघि नातिले आफ्नै हजुरआमा–हजुरबुबालाई लखेटीलखेटी बञ्चरोले हानेर हत्या गरे। त्यो केसलाई डा. शाक्यले नजिकबाट नियालेका थिए। उनका अनुसार हत्या गर्ने व्यक्तिलाई ‘कम्प्लेक्स पार्सियल सिजर’ भन्ने एक किसिमको छारे रोग थियो। बयानमा ती व्यक्तिले भनेका थिए, ‘मैले कहाँ बाजेबज्यैलाई मारेको हो त ? जंगलबाट दुइटा जंगली जनावर आएर घरभित्र छिरे, मैले तिनीहरूलाई मारेको हो।’ यस्तो मानसिक रोग लाग्दा व्यक्तिले अनौठो अनुभव गर्ने डा. शाक्य बताउँछन्। ‘अनौठो व्यवहार गर्ने उनीहरूको दिमागमा भ्रम भरिएको हुन्छ,’ उनले भने, ‘यस्तो अवस्थामा दिमागले सही र गलत मूल्यांकन गर्न सक्दैन र व्यक्तिबाट जघन्य अपराध हुन जान्छ।’ 

डा. शाक्य धरानमा कार्यरत हुँदा श्रीमतीले आफ्नै श्रीमान्लाई काटेर गाडेको घटना पनि उनी सम्झन्छन्। ‘तिनै गाडेको श्रीमान्को मासु टुक्रा पार्दै झिकेर आफू पनि खाँदै छोराछोरीलाई पनि खुवाउँदै गरेकी थिइन्,’ उनले भने, ‘उपचारका लागि ल्याउँदा उनले ‘मेरो श्रीमान् विदेश गएको छ, कसको खसी मेरो घरमा आएछ, मैले त्यही खसी काटेको हुँ’ भनेकी थिइन्।’ डा. शाक्यका अनुसार उनलाई ‘सिजोफ्रेनिया’ भन्ने मानसिक रोग लागेको थियो।

डिमेन्सियाको कारण ७९ वर्षीय एक जना रिटायर्ड अफिसरले आफ्नी ७२ वर्षीया श्रीमतीलाई शंका गरेर खुकुरी लिएर लखेटेको पनि उनले सम्झिए। ‘यो केसमा धन्न उनको परिवारले उनलाई बचायो,’ उनले भने, ‘नत्र उनको पनि ज्यान जान्थ्यो।’ सही समयमा उपचार भएन भने मानसिक रोगले विभिन्न अपराध निम्त्याउने उनले बताए। ‘मानसिक रोगी भएको थाहा पाए समाजमा प्रतिष्ठा जाने डरले धेरैले लुकाउँछन्,’ उनले भने, ‘तर, मानसिक रोगलाई हेलचेक्य्राइँ गर्नु हुँदैन। निको भयो भनेर बीचैमा औषधि खान पनि छाड्नु हुँदैन। मानसिक रोगलाई नलुकाई यसको उपचार गर्नुपर्छ।’


‘समाज संवेदनहीन हुँदै गयो’

डीआईजी विश्वराज पोखरेल, प्रहरी प्रवक्ता

मानिसको जीवनमा खुशी र सुखले धेरै अर्थ राख्छन्। आफ्नो खुशीमा कसैले आघात पुर्‍याउनेबित्तिकै त्यो दुश्मन बन्छ। यसरी परिवारमा द्वन्द्व सिर्जना हुन थाल्छ। द्वन्द्वले अप्रिय घटना निम्त्याउँछ। कुनै कुरा वा व्यक्ति बाधक बन्नेबित्तिकै मानिस त्यसलाई समाप्त गर्नतिर लाग्छ।

आजभोलि मानिसहरू व्यक्तिगत खुशीमा रमाउन थाले। पारिवारिकभन्दा व्यक्तिगत सुख ठूलो हुन थाल्यो। पहिलो प्राथमिकता ‘म’ हुन थाल्यो। हिजोका दिनमा ‘म मेरोभन्दा तिम्रो खुशी देख्न चाहन्छु’ भन्ने संस्कार थियो। आफू दुःखी भए पनि श्रीमान्–श्रीमती, छोराछोरी खुशी होऊन् भन्ने चाहना हुन्थ्यो। आफूले कोदाको ढिँडो खाएर छोराछोरीलाई भात खुवाउने चलन थियो। अब समाज त्यस्तो रहेन। समाज संवेदनहीन हुँदै गयो। आफ्नै परिवारको पनि मतलब नराख्ने भयो। यस्तो अवस्थामा कतिपय घटना योजनाबिना र कतिपय घटना आक्रोशको अन्त्य गर्न योजनाबद्ध रूपमा हुन्छन्। आक्रोशको सीमा नाघेपछि मानिसले मानिसलाई निर्मम प्रहार गर्छ। त्यसबाट उसलाई खुशी मिल्छ। 

परिवार जीवनसँग प्रत्यक्ष जोडिन्छ। उनीहरूको जीवन एकअर्कासँग गाँसिएको हुन्छ। एकअर्कासँग प्रत्यक्ष जोडिएको हुनाले उनीहरूबीच मनमुटाव हुन्छ। त्यही मनमुटाव कहिलेकाहीँ अपराधतिर मोडिन सक्छ।

मान्छे मार्नु हुँदैन भन्ने कुरा सबैले बुझ्छन्। तर, यो अपराध गर्दा म यति वर्ष जेल बस्नुपर्छ भन्ने सबैलाई थाहा नहुन सक्छ। कानुनको ज्ञानले मानिसको आक्रोशलाई रोक्न सहयोग गर्छ। घटनापछि मानिस पश्चात्तापको घडीमा हुन्छ। त्यो बेला उसलाई सजाय खासै ठूलो लाग्दैन।

कसैले कसैमाथि हिंसा गरिरहेको छ भने यसविरुद्ध कानुन छ भन्ने कुरा बुझ्नुपर्छ। राज्यलाई गुहार्नुपर्छ। राज्यले नागरिकलाई सुरक्षाको अनुभूति गराउन सकेको खण्डमा पनि यस्ता घटनामा कमी आउँछ। जस्तोसुकै कमजोर आर्थिक अवस्था भएको मानिस पनि सरकारले सुरक्षा दियो भने आफू पनि मर्दैन, अरूलाई पनि मार्दैन। 

पछिल्लो समय धेरै बालबालिका हत्या र हिंसाको शिकार भएका छन्। बालबालिका भनेको प्रतिवाद र प्रतिरक्षा गर्न नसक्ने समूह हो। प्रतिवाद गर्न नसक्ने समूह प्रायः निसानामा पर्छ। उनीहरूविरुद्ध भएको षडयन्त्रलाई उनीहरू समयमा आँकलन गर्न सक्दैनन्। 

अहिलेको प्रमुख समस्या भनको नकारात्मक सोच हो। लामो समयसम्म नकारात्मक सोच भएको मानिसमा डिप्रेसन भएको देखिन्छ। त्यही डिप्रेसन अप्रिय घटना निम्त्याउने अर्को कारण हो। 


‘रोगले असल मान्छेलाई पनि अपराधी बनाउँछ’

प्रा.डा. रवि शाक्य, मनोचिकित्सक 

मिक्लाजुङको जस्तो घटना अहिले मात्र होइन, पहिलादेखि नै हुँदै आएका छन्। अहिले बाहिर आउन र मानिसले थाहा पाउन मात्र थालेका हुन्। मानसिक स्वास्थ्यकर्मीको हिसाबले हामी दाबीका साथ भन्छौँ, यस्ता घटनामा संलग्नहरू कुनै न कुनै मानसिक रोगले आक्रान्त भएको हुनुपर्छ। दाइजो वा अरू केहीका लागि कसैलाई मार्नु समाज र संस्कृतिसँग जोडिन्छ। यो सामाजिक विकृति हो। तर, अहिले जति पनि घटना बाहिर आएका छन्, ती मानसिक स्वास्थ्यसँग जोडिएका घटना हुन्। 

पाँचथर, मिक्लाजुङको केसमा ‘मुड डिसअर्डड’ वा ‘साइकोसिस’ मध्ये कुनै एउटा समस्या भएको हुन सक्छ। अस्वाभाविक रूपमा भ्रम हुनु साइकोसिस हुनु हो। केस नहेरी ठोकुवाका साथ भन्न त सकिँदैन, तर मानसिक स्वास्थ्यकर्मीको हैसियतले अन्दाज भने गर्न सकिन्छ। साइकोसिस हुँदा मानिसले सत्य र असत्य छुट्याउन सक्दैन। अनौठो खालको भ्रम हुन्छ। इन्द्रियहरूमा गडबडी हुन थाल्छ। मानसिक रोगीले आफ्नै परिवारका सदस्यलाई पनि शत्रु देख्न थाल्छ। यस्तो अवस्थामा ‘भेष बदलेर मलाई नै मार्न आइरहेको छ कि’ भन्ने अनुभव पनि हुन्छ। 

भोजपुरको २२ महिने छोरालाई मारेको केस ‘पोस्टपार्टम डिप्रेसन’ हो। सुत्केरी अवस्थामा यस्तो खालेको डिप्रेसन हुन्छ। उपचारका लागि आउने केही आमाले ‘मेरो बच्चा मरे पनि हुन्थ्यो’, ‘कसैले लगिदिए हुन्थ्यो’, ‘हुर्काउन सक्दिनँ’, ‘बेकारमा बिहे गरेको’, ‘बेकारमा बच्चा जन्माएको’ भन्दै आफ्ना नकारात्मक विचार पोख्छन्। 

आवेगमा आएर हत्या गर्नेमा भने ‘इम्पल्स कन्ट्रोल डिसअर्डर’ भन्ने मानसिक समस्या हुन्छ। यो आवेगलाई नियन्त्रण गर्न नसक्ने अवस्था हो। मानसिक रोगसँगै लागुपदार्थको पनि जोडिँदा यस्ता घटना झन् बढ्छन्। लागुपदार्थ वा नशालु पदार्थ प्रयोगकर्ताले खान नपाएपछि अनौठो अनुभव गर्छ। यस्तो अवस्थामा कि आफूलाई कि अरूलाई नोक्सान पुर्‍याउँछ। 

नेपालमा यस्ता घटनालाई मानसिक स्वास्थ्यको हिसाबले विश्लेषण गर्ने चलन छैन। सबैलाई सीधा वकिल लगाएर जेल पठाइन्छ। मानसिक रोगीलाई अरू अपराधीसरह व्यवहार गर्न मिल्दैन। समाज र कानुन दुवैले मानसिक रोगीलाई अन्य अपराधीभन्दा फरक हिसाबले हेर्नुपर्छ। उनीहरूलाई सजायभन्दा उपचारतिर लैजानुपर्छ। यसको मतलब उनीहरूलाई सजाय नै नदिने भन्ने होइन।

उनीहरूको मानसिक अवस्थाबारे बुझ्नुपर्छ। उनीहरूको केस अलग्गै किसिमले चलाउनुपर्छ। तर, हाम्रोमा मानसिक रोगी अपराधीलाई उपचार गर्ने गृह छैन। कहिलेकाहीँ रोगले असल मान्छेलाई पनि अपराधी बनाउँछ। तर, यसको मतलब सबै मानसिक रागीले अपराध गर्छन् भन्ने चाहिँ कदापि होइन।

तपाईको कमेन्ट