‘काम केटाको र केटीको भन्ने हुँदैन’

writer

मेनुका कोइराला

सोमबार, २७ जेठ २०७६


काठमाडौँ, चाबहिल, सरस्वतीनगरस्थित रिलायन्स कलेजको क्यान्टिनमा राजन शाक्य, विनिता लामा, मदन लामिछाने, कविता गौतम, स्वस्ति खड्का, मान्सवि प्याकुरेल चियाखाजा खाँदै गफिएका थिए। उनीहरू सबै ‘ब्याचलर्स इन बिजनेस स्टडिज’ का विद्यार्थी हुन्। 


मदनः कविता, एक बोतल पानी लिएर आऊ न, क्यान्टिनको बोतलमा पानी सकिएछ। 

कविताः म सक्दिनँ, तिमी आफैँ जाऊ।  

मदनः जाऊ न, मलाई अल्छी लागिरा’छ। केटीहरू जाँगरिला हुन्छन् भनेर काम अह्राको नि। 

मान्सविः अरूलाई काम अह्राउनुको साटो आफैँ गरेको भए राम्रो हुन्थ्यो।

स्वस्तिः त्यही त केटा र केटीको किन तुलना गर्नुपर्‍यो ? आफ्नो काम आफँै गर। 

राजनः तुलना गरेको होइन, केटीहरूलाई प्राथमिकता दे’को है मदन ! 

विनिताः काम लगाउँदा प्राथमिकता हुन्छ ? जे पनि भन्छ।

मदनः केटीहरूको काम हो नि त ! त्यही भएर तिमीहरू गर भनेको।

कविताः काम सबैको बराबर हुन्छ। केटाकेटी भनेर किन छुट्याउनुपर्‍यो। 

राजनः केटा र केटीको काम भनेर बच्चैदेखि सुन्दै हुर्किएकाले होला छुट्याउने बानी लागेको। 

मदनः ठीक भन्यौ राजन, म पनि घरमा आफू खाएको थाल कहिल्यै माझ्दिनँ। ममीले ‘दिदीले गर्छे, तँैले गर्नु पर्दैन’ भन्नुहुन्छ। म पनि नमाझी हिँड्छु।

राजनः महिलाहरू हक र अधिकारको कुरा गर्छन्। तर, उनीहरू आफ्नो अधिकारको सदुपयोगभन्दा दुरुपयोग बढी गर्छन्। ससुराले बुहारी कुट्यो भनेर कमै सुनिन्छ तर सासू–बुहारीको झगडा नसुनेको दिनै हँुदैन। 

स्वस्तिः हाम्रो समाज अचम्मको छ। यहाँ महिला नै महिलाको खुट्टा तानिरहेका हुन्छन्। महिला भएर पनि एकले अर्काको समस्या बुझ्दैनन्। 

मान्सविः त्यसैले त समाजमा महिला सधैँ पछाडि हुन्छन्। आमाले आफ्नो छोरीको पीडा बुझ्नुहुन्छ, त्यही आमाले बुहारीलाई देखिसहनुहुन्न। 

राजनः बुहारीले छोरो खोसेर लगी भनेर आरोप लगाउँछन् र आफ्नो छोरीलाई चाहिँ ज्वाइँले सधैँ माया गरोस् भन्ने चाहन्छन्। 

विनिताः सासू र बुहारीको सम्बन्ध आमा र छोरीको जस्तो नभएसम्म काम छैन। 

मदनः घरभित्रको मात्र के कुरा गर्नु ? बसमा हेर न महिला सिट छुट्याइएको छ। तर, बसमा कोही महिला बच्चा बोकेर आउँदा महिलाले नै सिट दिँदैनन्। पुरुषले सिट छोड्नुपर्छ। 

कविताः महिला आफूले आफैँलाई कमजोर सोच्छन्। व्यवहारले पनि कमजोर देखाउँछन्। अनि, पुरुष त्यही कमजोरीको फाइदा उठाउँछन्। 

मान्सविः बसमा मात्र हैन, हरेक क्षेत्रमा एउटा महिलाले अर्को महिलाको कुरा बुझ्दैन। 

राजनः महिलाले महिलाको कुरा बुझ्दैनन् भने पुरुषले कसरी बुझून् ? त्यसैले हो वृद्धाश्रम बढ्दै गएको। बुहारीले सासूको कुरा बुझ्दिन। 

विनिताः सबै एकनासे हुँदैनन्। कोही–कोही सासू–बुहारी आमाछोरीजस्ता पनि हुन्छन्। 

मदनः अपवादका रूपमा मात्र हुन्छन्। तर, समाज परिवर्तन हुन यतिले मात्र पुग्दैन नि ! हरेक महिलाले अर्को महिलाको समस्या बुझ्नुपर्‍यो। बल्ल पो भेदभाव कम हुन्छ। 

कविताः हाम्रो समाजमा पुरुषलाई बढी प्राथमिकता दिइन्छ। 

स्वस्तिः यस्तो समाजमा महिला–पुरुष बराबर हुन गाह्रो छ। 

विनिताः हो भन्या, छोरीले कमाएर घरखर्च चलायो भने ‘हाम्रो छोरी छोराजस्तै छे’ भन्छन्। छोरासँग किन तुलना गर्नुपर्‍यो ? उसको पनि आफ्नै अस्तित्व छ। छोरीको अस्तित्वलाई अभिभावकले स्वीकार गर्नुपर्‍यो।

कविताः हो नि ! छोराले अलिकति घरको काम गर्‍यो भने ‘छोरीजस्तै काम गर्ने रैछ’, ‘बुहारी’ भनेर जिस्काइन्छ। उसले काम गर्नै छोड्छ।

मदनः छोराको काम यो हो, छोरीको काम यो हो भनेर पहिलादेखि छुट्याइएको हुनाले यस्तो व्यवहार गरिन्छ। 

स्वस्तिः समाज पहिलाभन्दा निकै बदलिसक्यो। तर, सोच भने अहिले पनि उस्तै छ। 

राजनः छोरालाई छोरा नै बनेर घरको काम गर्न दिने र छोरीलाई छोरी नै बनेर काम गर्न दिने हो भने महिला–पुरुषबीचको भेदभाव हट्छ। काम केटाको र केटीको भन्ने हुँदैन। काम काम हुन्छ। 


 

तपाईको कमेन्ट